दसैँ बिदामा गाउँ गएको थिएँ। गाउँ गएको बेला गोठालो जाने गर्थेँ। गोठालो जाँदा एक जना दाजुलाई भेटेँ। कुराकानी गर्दै गर्दा दाइले दुःखका कुरा सुनाउनु भयो।
‘के गर्नु भाइ, उबेला संकटकालमा राम्रोसँग पढ्न पाइएन। घरको आर्थिक स्थिति कमजोर त्यही माथि माओवादीको त्रास; कक्षाकोठामा पढ्दा पढ्दै माओवादीहरू आएर हामीसँग हिँड भन्दै लगेर जान्थे। पढाइ बिचैमा छोडेर भारततिर लागियो। भारतीय सिमानामा प्रवेश गर्ने बित्तिकै सुरु हुने हेपाइ तथा ज्यादती अनि श्रमको अनुचित मूल्याङ्कनका बाबजुद कैयौँ वर्ष उतै बिताइयो तर केही उपलब्धि होला जस्तो लागेन। अब कुनै अन्य देश तिर जाने सोचाइमा छु।’
सोही दिन भर्खर कक्षा १२ को परीक्षा दिएर बसेका अर्का भाइसँग भेट भयो। कुराकानी अघि बढाउँदै गर्दा मैले सोधेँ, ‘अब के गर्ने सोचाइ छ त बाबु?’
भाइको सिधा जवाफ आयो, ‘विदेश जाने। सके अस्ट्रेलिया, अमेरिका या क्यानडा नत्र अरू देश।’
किन नि त्यस्तो?
भाइको सटिक जवाफ आउँछ, ‘नेपालमा भविष्य नै छैन।’
मैले अलि ठट्यौली शैलीमा भनेँ, ‘किन नेपालमा भूत र वर्तमान मात्रै हुन्छ र?’
भाइको जवाफ आयो, ‘नेपालमा बस्यो, कति खर्च गरेर पढ्न पर्छ काम पाइँदैन। काम पाउन आफ्नो मान्छे हुनपर्छ। पाइहाले पनि राम्रो कमाइ हुँदैन। मेरो मामाको छोरा अस्ट्रेलिया बस्छ। महिनाको ४ लाख कमाउँछ रे। यहाँ बसेर कहिले कमाउनु त्यत्रो? व्यापार गर्नलाई पैसा चाहिन्छ, त्यो पनि कति बेला डुब्छ थाहा छैन। म त जसरी हुन्छ विदेश जाने हो। साथीहरू सबै विदेशको तयारीमा लागिसके।क’
माथिका दुई पात्र फरक थिए तर प्रसङ्ग एउटै थियो। दुई फरक पात्रको उद्देश्य एउटै थियो तर वास्तविकता अलि भिन्न।
सुरुमा कुरा गर्ने दाइको आशयलाई उल्था गर्दा अहिलेको देशको अवस्था अनि व्यक्तिगत तथा पारिवारिक अवस्थाले भारतमा बसेर काम गर्नुभन्दा अन्य बाह्य मुलुकमा गई उचित पारिश्रमिक पाइन्छ अनि अन्य देशको अवस्था बुझिन्छ घुमिन्छ भन्ने प्रस्ट हुन्छ। कुरा उचित पनि लाग्छ। तर भाइको विषयमा भने अलिक फरक मत छ मेरो। यसो हेर्दा सबै कुराहरू तथ्यपरक छन्। अहिलेको युवा जमातले भोगिरहेका समस्या हुन् तर भाइ स्वयंले भोगेको छैन; देखेको मात्र हो सुनेको मात्र हो।
परिवारको एक्लो छोरा, बा आमाले दुःख गरेर पढाउन सक्षम छन् र तयार पनि। नेपालमा पढेर लोक सेवा लड्न नसके अथवा अन्य कुनै क्षेत्रमा जागिर खान नसके व्यवसाय गर्न सकिने अवस्था छ। कृषि गरे पर्याप्त घर खेत छ तर त्यो बालकले १२ को नतिजाको पर्खाइमा छँदा पास भएर विदेश जाने सपना बुनिसकेको हुन्छ। आखिर त्यो चेतना कसरी विकास भयो?
कक्षा १२ मै उसले देशको अर्थनीति, आर्थिक अवस्था, रोजगारीको यथार्थ स्थिति, भविष्यको पूर्वानुमान देशमा रोजगारी गरी रहेकाहरूको ‘जब स्याटिस्फ्याक्सन’, ‘क्वालिटी अफ वर्क लाइफ’ अनि विदेशमा हुने कमाइ रोजगारीको सुनिश्चितता सबै अध्ययन गरिसक्यो! त्यो चेतना विकास हुनुको कारण हाम्रो समाज देश संचार जगत् आदि सबै हुन्।
एक विद्यार्थी स्नातक वा स्नातकोत्तर पढाइ सक्दासम्म राज्यको तर्फबाट कति खर्च भएको हुन्छ। तर त्यो लगानीअनुसार प्रतिफल नआउनुमा स्वयम सरकार, शिक्षा प्रणाली, शिक्षण संस्थाका भित्री तथा बाह्य वातावरण, अभिभावक जिम्मेवार छन्। तर विद्यार्थी स्वयम बढी जिम्मेवार छन्। विद्यालय तहसम्म अभिभावकले डोर्याउँछन्, बाटो देखाउँछन्। कतिपयले त्यही बाटोबाट विचलित हुन थालिसकेका हुन्छन्। उच्च शिक्षा पढ्दा पनि बुवा आमाको लगानी, मेहनत, परिश्रमको वास्ता नगरी गलत बाटोमा लाग्ने गर्दछन्। फलस्वरूप अहिलेको प्रतिस्पर्धात्मक बजारलाई चाहिने गुणस्तरीय शिक्षा, ज्ञान, सीप आर्जन गर्न सक्दैनन् र आफूलाई बिकाउन सक्दैनन्। परिणाम स्वरूप बेरोजगार वा अर्धबेरोजगार हुन पुग्छन्। उमेर बढ्दै जाँदा काँधमा जिम्मेवारी आइलागेपछि यो देशमा केही हुन सक्दैन, यो देशले मलाई केही दिन सकेन भन्दै देशलाई दोष थुपारेर बिदेसिन बाध्य हुन्छन्।
नेपालबाट दक्ष, अर्धदक्ष र अदक्ष विभिन्न रूपमा कामदार विभिन्न श्रम गन्तव्यमा गइरहेका छन्। यसको मुख्य कारण नेपालमा रोजगारीको अभाव हुनु, लुप्त बेरोजगारीको समस्या, गुणस्तरीय जीवन जिउने वातावरण नहुनु, नीतिगत आर्थिक तथा प्राविधिक समस्याले व्यवसाय फस्टाउन नसक्नु आदि मुख्य कारण हुन्। यसमा सायदै फरक मत होला तर सम्पूर्ण युवाको हकमा यो लागू नहुन सक्छ। युवा पलायनको मुख्य कारणहरूका अतिरिक्त अन्य कारणहरूले पनि भूमिका खेलेका छन्। जसले गर्दा नेपालमा केही हुँदैन विदेश नै जानु पर्छ भन्ने मानसिकता पलाएको देखिन्छ।
नेपाली समाजमा फलानोले जे गर्यो सोही गर्ने प्रचलन व्याप्त छ। अरूले लिएको निर्णय मेरा लागि पनि उपयुक्त हुन्छ या हुँदैन विचार नगरी कैयौँ निर्णय लिने गरिन्छ। सबै विदेश जान्छन् रे म किन बस्नु भन्ने भावना आउँछ। अनि यो देशमा केही हुँदैन भन्दै बिदेसिने निर्णयमा पुग्छन्।
कहीँ कतै एउटा स्ट्याटस पढेको थिएँ- छोराले हातमा राखिदिएको औषधी निल्दै बा भन्नु हुन्छ- ;एउटा छोरा अमेरिका छ, अर्को क्यानडा। यो कान्छोले केही गर्न सकेन। यतै कोदाली खनिरहेको छ।’ यसबाट प्रस्ट हुन्छ आफ्नै परिवारले कस्तो विभेदले हेर्छन् भन्ने कुरा।
विदेशमा भएको छोराले बुवा-आमाको मुख हेर्ने दिनमा अथवा जन्मदिनमा एउटा तस्बिर पोस्ट गरिदिए बा-आमा मक्ख पर्छन् तर स्वदेशमा भएको छोराछोरीले दिनरात सेवा गरेको देख्दैनन्। परिवार अनि समाजलाई आफ्नो सन्तान तथा इष्टमित्र विदेशमा छ भन्दै फुइँ लाउन पाए पुग्छ। यसले गर्दा इज्जत कमाउन पनि विदेश नै जानु पर्छ भन्ने मानसिकता बन्ने गर्छ।
पछिल्लो समय नेपालमा जति कमाइ गरेको होस् अथवा जागिर वा व्यवसाय गर्ने केटा अथवा केटीलाई नपत्याउने। बिहे गर्न विदेश गएर पिआर भएको, भर्खरै गएको अथवा जाने तयारीमा रहेको खोज्ने प्रचलन व्याप्त छ। यसले गर्दा पनि विदेशप्रतिको मोह बढ्दो छ।
नेपाली संचार जगतमा विमानस्थलबाट बाहिरिएकाहरूको मात्र प्रायः समाचार सम्प्रेषण हुन्छ। विदेशबाट सीप सिकेर नेपालमा केही गर्न लागेका युवा समेटिँदैनन्। किसानद्वारा तरकारी सडकमा फालेको वा दूध पोखेको घटना मात्र स्थान पाउँछन् तर माटोमा पाखुरा बजारी राम्रो आम्दानी गरिरहेकाहरू अटाउँदैनन्। यसले गर्दा युवाहरू कृषिमा लाग्न निरुत्साहित हुन्छन् र यो देशमा केही हुँदैन भन्दै बिदेसिन्छन्।
माथि उल्लेखित कुराहरू सबै व्यक्ति, परिवार तथा समाजको हकमा लागू नहुन सक्छन् तर बहुसंख्यामा वास्तविकता पस्किने प्रयास हो। गुणस्तरीय शिक्षा आर्जन गर्न, सीप तालिम लिन, तथा अन्य निर्धारित लक्ष्य हासिल गर्न विदेश रोजौँ। विदेश जानै पर्ने अवस्था आए पनि स्वविवेकले निर्णय लिऊ। फलानोले यति कमाइ गरेको छ, म पनि जान्छु भन्दा पनि फलानोको जति आर्थिक लगानी म गर्न सक्छु? जोखिम बहन गर्न सक्छु? विदेश गएको केही दिनमै साहु ढोकामा आयो भने बाउआमाले सहन सक्छन्? अनि फलानोको जति दुःख म गर्न सक्छु? आदि कुरा मनन गरौँ।