अनन्य मित्र सूर्यमान शाक्यसँग दुई दशकको गहिरो मित्रता थियो। हामी प्रायः उनकै कारमा सवार हुन्थ्यौं। जोडी बाँधेर काठमाडौंबाट धुलिखेल जान्थ्यौं, काठमाडौं विश्वविद्यालय।
एकपटक सूर्यमान र मैले नेपाली सेनाका तत्कालीन प्रवक्ता रहेका इन्जिनियर दीपक गुरूङलाई स्नातक तहको कक्षामा अतिथि प्राध्यापकका रूपमा निमन्त्रण गर्यौं।
दीपकले कक्षा अविस्मरणीय बनाए। उनले कक्षामा सुनाएको एउटा चुट्किला मलाई अझै याद छ।
गुहेश्वरीबाट तिलगंगासम्म प्रशोधित पानी बग्ने सुरूङ नेपाली सेनाले बनाएको हो। एकपटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्माण कार्यको अवलोकन गर्न गएछन्। निर्माण कार्यमा खटिएका सेनाका जर्नेल र प्रधानमन्त्रीको बीचमा रोचक संवाद भएछ।
'एउटा टोली गुहेश्वरीबाट सुरूङ खन्दै आएको छ, र अर्को टोली तिलगंगाबाट। दुबै टोलीको भेट भएपछि सुरूङ तयार हुनेछ।'
प्रधानमन्त्रीले सेनाको प्रशंसा गर्दै जिज्ञासा राखेछन् – दुई टोलीको भेट भएन भने के हुन्छ?
जर्नेलले मुस्कानसाथ उत्तर दिएछन् – त्यसो भयो भने एउटै खर्चमा नेपाली सेनाले दुइटा सुरूङ बनाइदिन्छ।
प्रधानमन्त्री मुस्कुराएछन्। उनले थाहा पाए– भेट नहुने सम्भावना नै हुँदैन।
दीपक र सूर्यमानको जोडी असाधारण थियो। मेरो जीवनमा भेटिएका यी दुई व्यक्ति उच्च हास्यव्यंग्य चेतका उदाहरण थिए। जेजस्तो परिस्थितिमा पनि हाँसो उमार्न सक्ने अद्वितीय क्षमता उनीहरूसँग थियो। आफ्नो कामको क्षेत्रमा त उनीहरूको दक्षताको कुरै अर्को थियो।
यी दुई सत्पात्रहरूसँग काम गर्ने जोकोहीले पनि उनीहरूलाई आँखामा राख्दा पनि नबिझाउने व्यक्तिको रूपमा चिनेका छन् होला भन्ने मलाई लाग्छ।
सूर्यमान र म फोहोरमैला व्यवस्थापनसँग जोडिएका क्षेत्रमा काम गर्थ्यौं। एकपटक विद्यार्थीहरूलाई तालिम दिएर त्यस बेलाका ५८ वटा नगरपालिकामा सर्वेक्षणका लागि पठाउने काम थियो।
जावलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण केन्द्रमा तालिम आयोजना गरियो। तालिमका मुख्य स्रोतयक्ति सूर्यमान नै थिए। तालिमका सहभागीहरूलाई खाजा र खानाको प्रबन्ध प्रशिक्षण केन्द्रकै चमेनागृहमा गरिएको थियो।
तालिम सुरू भएको तेस्रो दिन चमेनागृहका सञ्चालकले सूर्यमानसँग एउटा गुनासो गरेछन् – म भोलिदेखि तपाईंका विद्यार्थीलाई खाना खुवाउन सक्दिनँ।
'किन? के भयो र त्यस्तो?'
'तपाईंले विद्यार्थीलाई जिरो वेस्ट भनेर पढाउनु भएछ। तपाईंले दिएको ज्ञान विद्यार्थीहरूले ढुंगाकै अक्षरजस्तै ठान्दा रहेछन्।'
'त्यो त हो नि, खाना किन नखुवाउने त?'
'आज बिहान उनीहरू हुल बाँधेर आए। एक स्वरमा नारा लगाएझैं कुर्लिए – सूर्यमान सरले जिरो वेस्टको मर्म बुझेर काम गर्नू भन्नुभएको छ भन्दै भान्सामा ४० जनाजति पसे अनि एकैछिनमा सबै स्वाहा पारे।'
अहिले 'जिरो वेस्ट' अर्थात् 'शून्य फोहोर' सिद्धान्त सर्वव्यापी छ। शून्य फोहोरका बारेमा पढाउँदा मैले सूर्यमान शाक्यलाई उद्धृत गर्दै यो चुटकिला धेरैलाई सुनाएको छु। यो तरिकाले ज्ञान र हाँसो दुबै एकसाथ पस्किन्छ।
ल्याटेरल थिंकिङ अर्थात् 'पार्श्वसोच' का जन्मदाता एडवार्ड डी बोनोले हास्य चेतका बारेमा रोचक व्याख्या गरेका छन्।
उनका अनुसार मान्छेको दिमागमा उत्पन्न हुने अवधारणा वा सोचको धार परिवर्तनका तीन विशेष कारण हुन्छन्। यीमध्ये हास्यव्यंग्य पनि प्रमुख हो। समस्या पर्गेल्ने, विचार निर्माण गर्ने र संसारलाई फरक आँखाले हेर्ने काममा हास्यव्यंग्यको अहम भूमिका हुन्छ भनेका छन् उनले।
हास्य चेतनाको पोको बोकेर हिँड्ने मान्छे थोरै हुन्छन्। त्यो सानो समूहमा पर्नेमा मेरी एक जना जेठीसासू पनि हुनुहुन्छ। एकपटक उहाँलाई बससम्म छोडेर म कोटेश्वर चोक गएको थिएँ, काठमाडौंबाट धरान जानुपर्ने थियो। आकाशे पुलको आडैमा माइक्रोबस रोकिएको थियो। हामी पुग्दा अरू यात्रु बसमा चढिसकेका थिए।
जेठीसासूभित्र पस्नै लाग्नुभएको थियो, उहाँलाई पुष्टकारी बेच्ने तीन-चार जनाले छोपिहाले – पुष्टकारी लानुस् हजुर, कोसेली हुन्छ, एकदम ताजा छ र मिठो छ।
जेठीसासूले पुष्टकारी व्यापारीसँग तर्किँदै भन्नुभयो – यस्तो राम्रो पुष्टकारी लिएर यति बिहानै हाम्रो सेवामा जुट्नुभएको छ तर के गर्नु, मेरा त बुढालाई मधुमेहको रोग छ, बुढीले ल्याएको भनेर बडो प्रेमले खालान् अनि पुर्लुक्क ढले भने के गर्नु!
माइक्रोबस हाँसोले भरियो।
कक्षा कोठामा विद्यार्थीलाई, भाषणमा श्रोतालाई वा कार्यालयमा सहकर्मीहरूलाई हँसाउन धेरैले सक्लान् तर मेरी जेठीसासूले जसरी प्रत्युत्पन्न शैलीमा अपरिचित दर्शक-श्रोताका सामु भईपरी आएको परिस्थितिको त्यान्द्रो समातेर दाम्लो बनाउनु चानचुने क्षमता होइन।
यो विषय आफ्नो मूलधारमा पारेर हास्यव्यंग्य कलामा आफूलाई निखार्ने प्रयास पनि थोरैले मात्र गर्छन्।
प्रत्युपन्नमतिकी धनी जेठीसासूको ज्वाइँ न परेँ! मैले पनि सार्वजनिक जीवनमा यस्तो केही प्रयास गरेको छु।
एकपटक म एक जना फरासिला व्यापारीको पसलमा पुगेँ। उनको पसलमा तरकारी र फलफूल पाइन्थ्यो। डोरीले बाँधेर केरा झुन्ड्याइएको हुन्थ्यो। एक दिन त्यसमा मेरो ध्यानाकर्षण भयो।
साहुजीले मुस्कुराउँदै सोधे – के हेर्नु भो त्यसरी नियालेर?
'केरा हेरेको, भएमध्येको सबैभन्दा राम्रो छान्ने बानी छ मेरो त।'
उनले 'ए हो र...!' भने अनि बर्खाको नदीको भेलझैं हाँसे।
'सबैभन्दा राम्रो छानेर लगेपछि घरबुढी खुसी हुन्छिन्। मौका परे त्यही केरा देखाउँदै साथीहरूलाई भन्छिन् – हाम्रा घरमूली सामान छान्न खप्पिस छन्। उहिले मलाई पनि धेरैमध्येबाट सबैभन्दा राम्री छानेर बिहे गरेका हुन्।'
राम्रो केराप्रतापको प्रसारण कहाँसम्म होला भन्ने अनुमान नगरेका पसलेको हाँसोको भेल उर्लिनुसम्म उर्लियो।
भक्तपुरलाई कर्मथलो बनाएका लोकप्रिय हास्यव्यंग्य लेखक सूर्यबहादुर पिवा हास्यव्यंग्य र अन्य साहित्यिक विधाबारे यसो भन्छन् – अरू रचना लेख्नु भनेको मौरीपालन, कुखुरापालन, माछापालन हो; हास्यव्यंग्य रचना गर्नु बिच्छीपालन र सर्पपालन हो; खतरनाक हुन्छ।
'ई बी ह्वाइट' ले चुट्किला वा हास्यप्रधान रचना विश्लेषण गर्ने विज्ञानको रोचक व्याख्या गरेका छन्।
उनी भन्छन् – चुट्किलाको विश्लेषण गर्नु भ्यागुताको शल्यक्रिया गर्नुजस्तै हो, यस्तो काममा थोरैको मात्र रूचि हुन्छ तर विडम्बना यो प्रक्रियामा भ्यागुताको मृत्यु हुन्छ।
काठमाडौंको कोटेश्वरमा शिवमन्दिर रहेको ठाउँलाई महादेवस्थान भन्छन्। मेरो उमेर समूहका अवकाशप्राप्त केही साथीभाइ त्यहाँको एक चिया पसलमा हरेक बिहान जम्मा हुन्छन्।
त्यसरी जम्मा हुनुका दुई प्रमुख कारण छन्।
एक – कागतीपानी, चिया, सेलरोटी आदि खानु; दुई – आपसमा गफ गर्नु, गफ सुन्नु र हाँस्नु।
त्यो समूहमा खर्च बेहोर्ने शैली पनि निकै मौलिक छ – जो धेरै बोल्छ वा आफ्ना धेरै कुरा सुनाउँछ, ऊ नै अध्यक्ष हुन्छ र त्यो दिनको दाता पनि उही हुन्छ। जीवन पद्धति व्यवस्थापनका गुरू रवीन शर्माको चर्चित पुस्तकको हवाला दिँदै मैले यो समूहको नामकरण गरेको छु – फाइभ एम क्लब।
म अस्ट्रेलियामा करिब तीन महिना बसेर केही दिनअघि फर्केँ। भोलिपल्ट चकलेटको पोको बोकेर महादेवस्थानको त्यही चियापसलमा पुगेँ जहाँ फाइभ एम क्लबका साथी भेला हुन्छन्। चकलेटको बट्टा लामो आकारको थियो, मैले सहभागीहरूतिर बढाएँ।
एक जनाले भने – चकलेट निकाल्न हात त लामै हुनुपर्ने रहेछ।
बट्टाबाट चकलेट निकाल्दै गरेका महाशयलाई संकेत गर्दै अर्कोले थपे – उहाँ सरलाई निको छ, किनभने तलैसम्म जाने उहाँको बानी छ।
नजिकै रहेको पिपलको रूखका पात नै बज्ने गरी हाँसो सिर्जना भयो।
फाइभ एम क्लबमा कहिलेकाहीँ मात्र झुल्किनेहरूको अमृत वाक्य पनि सुनिन्छ – लाख तिरे पनि यो हाँसो पाइँदैन।
त्यहाँ यसरी हाँसोको भ्यागुते चिरफार हुन्छ –
'यहाँको हाँसो व्यापक छ।'
'हाँसो प्रत्येक मान्छेको मौलिक प्रकृति हो।'
'मुक्त हाँसो कालजयी हुन्छ।'
'काखको बालकले हाँस्न थाल्नु खुसीको अभिव्यक्ति हो, वृद्धको हाँसो रोकिनु जीवन विश्रामको संकेत हो।'
हास्यव्यंग्य रचनाका महारथी भैरव अर्यालले भनेका छन् – वियोग, विसंगति, विषाद र विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा यस्तो टनिक वा ट्रान्कुलाइजर हो जसले मान्छेको शारीरिक र मानसिक स्वरूप विकसित र संयमित पार्न सहयोग गर्छ।
मानौं, तपाईं कुनै सार्वजनिक स्थलमा हुनुहुन्छ। तपाईंका वरिपरि अन्य व्यक्ति छन्। तपाईंलाई आदेश दिइयो – एक अपरिचित व्यक्ति रोज्नुहोस् र उसलाई काउकुती लगाउनुहोस्।
यसरी काउकुती लगाएर हँसाउन आदेश दिने अध्येता हुन् हास्य चेतनामा अनुसन्धान गरेर ख्याति कमाएका प्राध्यापक पिटर म्याकग्र।
'टेड टक' नामको सामाजिक सञ्जालमा 'हास्य चेतना' बारे उनका प्रवचनको रेकर्ड सुन्न पाइन्छ।
अर्कालाई काउकुति लगाउने कुरो सुन्दै पनि धेरै मान्छे हाँस्छन्। हाम्रा भैरव अर्यालले आफ्नो एक पुस्तकको नामै राखेका 'काउकुती' राखेका छन्।
आजकाल सामाजिक सञ्जाल प्रयोग गर्ने मानिस धेरै छन्। मेरा एक मित्रले केही समयअघि अर्का सज्जनको तस्बिरमा टिप्पणी गरे – तस्बिर त सुन्दर छ तर हातको व्याकरण मिलेन।
तस्बिरमा देखिएको हातले गोप्य अंग समाएको जस्तो लाग्थ्यो। मित्रको टिप्पणीले हाँसो सिर्जना गरेको थियो तर प्रायोजित थिएन।
केही चिन्तन र अभ्यासले आफ्नो जीवनशैलीमा हास्यव्यंग्य मिसाउन सकिन्छ भन्ने मेरो मान्यता छ।
'पहिलो २० घन्टाको नियम' शीर्षकको शृंखलाको एक अध्यायमा जोस काफम्यानले भनेका छन् – २० घन्टाको सारगर्भित अभ्यासबाट जुनसुकै नयाँ सीप सिक्न सकिन्छ।
सामान्य वार्तालाप, भाषण, अध्यापन वा अन्य दर्शक-श्रोतासँग जोडिने औपचारिक कार्यमा हास्यअस्त्र प्रयोग गर्न सकिन्छ। अरू केही गर्न सकिएन भने पनि सूर्यमान शाक्य वा दीपक गुरूङजस्ता हास्यचेतका विद्यासागरहरूको संगत गर्न अवश्य सकिन्छ, प्रत्यक्ष नभए परोक्ष रूपमै पनि।