मेरो कुनै शत्रु छैन किनकि मेरो कुनै अभिलाषा, ख्वाब या लक्ष्य छैन। यस कारण कवि मनुमन्जिलले भनेझैँ मैले औधी माया गर्ने शत्रु या दुस्मन छैन, न म उसलाई फूल झैँ माया गर्छु, ऊ मलाई घृणा गर्छ।
‘इख नभएको मान्छे र विष नभएको सर्पको कुनै काम लाग्दैन’ भन्छन्। यस कारण न मेरो इख छ न त शत्रु नै। त्यसै कारण म काम नलाग्ने मानिस हुँ।
बा गाउँमा राति राति वनको अँध्यारो अनि उकालो बाटो आउनु हुन्थ्यो। हजुरआमाले बालाई सोध्नु हुन्थ्यो- ‘बाबु, किन यस्तो राति गरेको? कसैले बाटोमा केही गरे भने!’
बुबाको उत्तर थियो- ‘मैले आजका दिनसम्म कसैलाई केही गरेको छैन। यस कारण मलाई कसैले केही गर्छन् जस्तो लाग्दैन। डर नै छैन।’
मेरो दुस्मन छ धेरै भन्ने गीत प्रख्यात भयो। दुस्मन को के खुलाइएको छैन। आखिर गीत नै भयो। तर दुस्मन भन्ने शब्दमा सबैको लागि अप्रिय छ।
शत्रु नभएको मानिस कोही होला त सायदै होला पनि। तपाईं शत्रु कमाउन केही गर्न पर्दैन। केही गर्नुस्, अगाडी बढ्न मात्र पाइला बढाउनुस् अनि थाहा हुन्छ शत्रु कति हुन्छन्, को हुन्छन् भनेर। यस कारण शत्रु कमाउन केही गर्नु पर्दैन, मात्र लक्ष्यमा विचलित नभई अगाडी बढे मात्र पनि पुग्छ।
‘शत्तुरको आँखा नलागोस् कानमा नपरोस्’ भन्ने कथन थियो गाउँमा। यहाँ त घरबाट निस्केपछि सबै शत्रु जस्तो मान्नुपर्छ किनकि सबैले ठगको दोकान खोलेका छन्। ‘यता पनि लुट उता पनि लुट नेपालमै छ छुट’ भने जस्तो छ यसो भन्दै गर्दा शासकहरूलाई च्वास्स घोच्छ होला तर हो नै। तपाईं ठगीबाट जोगिने कसरत गर्न पर्यो, तब शत्रु हुन्छन् बढ्छन्। आफै आउँछन्। अधिकारको लागि बोल्नुस्, आवाज गर्नुस्, शत्रु ह्वात्तै बढ्छन्। शत्रु खोज्न बस् कहीँ जान पनि पर्दैन, केही कसैलाई बिराम गर्न पनि पर्दैन, शत्रु आपसेआप बढ्छन्, हुन्छन्।
कुरा २००६ सन तिरको हो। बिहान ६ बज्दै थियो। भाइ र म दाल रोटीको जोहो गर्न सडक रिङरोडमा निस्केका के थियौँ, एउटा माइक्रोबस आएर हाम्रो नजिकै रोकियो। मानिसहरू चिच्याउने, कराउने, रुने गरिरहेका थिए। बसभित्र हामी दुई भाइ रोकिएर के भएको हो बुझ्न गएको र सोधेको मात्र के थियौँ ४/५ जना भुस तिघ्रे गाडीबाट झरे।
हामीले के भएको हो भनेर सोध्यौँ, तिनीहरू नै पाकेटमार रहेछन्। तिमीहरू बढ्ता बोल्छौ भनेर हामीहरूलाई गुरगुर्ती पार्दै लखेटे। सायद तिनीहरूले धेरै यात्रुलाई लुटेको रहेछन् बिहानको झिसमिसे उज्यालोमा। यसैले अरूलाई सोधखोज, सहयोग, मद्दत गर्न पनि नहुने रहेछ; मान्छेले मार्लान् कि भन्ने डर कस्तो जमाना आयो।
बाटोमा प्रायः हिँड्न रुचाउने भएकोले सडकतिरको रमिता धेरै महसुस पनि गर्छु। लाग्छ हाम्रा शासकहरू पनि यदाकदा सडकमा पैदल यात्रा गर्ने हो भने देश चिन्थे कि जस्तो लाग्छ।
सडकमा हिँड्दै गर्दा बटुवालाई सकस छ; एकातिर पेटीमा पसल ठेला छन्, अर्का तिर बग्रेल्ती बाइक र ट्याक्सी छन्। हिँड्न मुस्किल छ। किन यसरी बाटोमा तेर्साएर राखेको बाइक, ठेला, ट्याक्सी भन्नुस् मात्रै कुटाइ खाइन्छ। कस्तो जमाना आयो! बोल्न नहुने, अर्घेलो विषयमा कुरा उठाउन डराउनु पर्ने!
राजनीतिमा भनाइ छ कि ‘शत्रुसँग आफै जोगिन्छु, आफन्तसँग जोगाऊ।’ यो वास्तविक नै छ तर अन्य क्षेत्रमा पनि यो लागु हुन्छ।
कति मात्र हिँड्ने बस चढौँ भनेर बस चढ्यो, कहिले सुकेधारामा गएर यात्रु झारी अर्को बसमा पठाउँछ, कहिले वनस्थलीमा झारेर हामी यहाँसम्म मात्रै हो अर्कोमा जानुस् भन्दछ। यो त रिङरोडको रमिता भयो। लामो रुटमा पनि यस्तै छ।
पोखरामा एउटा मुद्दा थियो, तारिक धाउन जान पर्ने। हरेक पटक कलंकीबाट बिहान ५ बजे चढ्यो, दमौली पुगेपछि ओह्रालेर अर्कोमा जानुस् भन्छ। विवश यात्रु चुपचाप झर्छ, अर्को बसमा चढ्छ। बोलेर विरोध गरेर काम हुन्न। शत्रु बेसाउनु मात्रै हो।
यस्तै छ हजुर यहाँको चलन, चलिन्जेल चल्ने हो नसकेपछि भगवानले अर्को बाटो लाउलान् नि।