‘इथ्नोबोटनी’ शब्द मेरो लागि एकदमै नयाँ थियो। कृषि तथा पशु विज्ञान संस्थानमा भर्ना भएपछि मात्र म यो शब्दको गहिराइ नियालेँ। यो हाम्रो पाठ्यक्रममा समावेश गरिएको थियो। कक्षामा इथ्नोबोटनी पढाउने प्राध्यापकको अन्तर्दृष्टि सुनेर यसले मेरो हृदयमा रुचि जगायो।
त्यसपछि मैले एथ्नोबोटनिकल ज्ञानमा मेरो अनुसन्धान सुरु गरेँ। मैले पाएँ कि ‘इथ्नोबोटनी’ मेरो लागि नयाँ थिएन। विश्लेषणबाट मलाई थाहा भयो कि ‘इथ्नोबोटनी’ भनेको मानिस र बोटबिरुवा बिचको घनिष्ठ सम्बन्धको अध्ययन हो। म हुर्किएको मेरो थारु समुदाय पनि यस्तो ज्ञानले समृद्ध छ।
प्रा.डा. धर्मराज डंगोलले नेपालको चितवन जिल्लाका थारु समुदाय र बोटबिरुवा बिचको सम्बन्धबारे गहन अध्ययन गरेका छन्। उनको अनुसन्धान पत्र ‘इथ्नोबोटनी अफ थारु पिपल अफ चितवन’ मा औषधीय वनस्पतिबारे मुख्यतया खोज केन्द्रित रहेको छ। यसले मलाई जानकारी दियो कि विभिन्न जातिमा विभिन्न नामले बोलाइने वनस्पति ज्ञानको प्रमुख आधार हो र थारु समुदाय वनस्पतिको सदुपयोगको परम्परागत ज्ञानमा धेरै नै समृद्ध रहेको छ।
थारु समुदाय प्रकृतिसँग गहिरो रूपमा जोडिएको छ। तिनीहरू प्रकृतिबाट मद्दत लिन्छन् र बदलामा संरक्षणमा सहयोग गर्छन्। प्राचीन कालदेखि थारु समुदायले आफूलाई उत्थान गर्न वनजन्य उत्पादनहरू प्रयोग गर्दै आएका छन्। थारु समुदाय जातीय वनस्पति ज्ञानले भरिपूर्ण छ। परम्परागत उपचार, आयुर्वेदिक ज्ञान र जैविक कृषि प्रणालीहरूमा पनि राम्रो अन्तर्दृष्टि राख्छ। तिनीहरूलाई बोटबिरुवाहरूको विभिन्न प्रयोगबारे थाहा छ, जुन उनीहरूको जीवनशैलीलाई दिगो बनाउने तरिका हो।
त्यसैले मेरो विचारमा थारु समुदायको परम्परागत ज्ञान जातीय वनस्पति शास्त्रको उत्कृष्ट उदाहरणहरू मध्ये एक हो र प्रकृति प्रतिको उनीहरूको विविध ज्ञान जातीय वनस्पति शास्त्र अध्ययन गर्नको लागि रोचक पक्ष हो।
एक दिन म सोचिरहेको थिएँ कि यो संसार कति सुन्दर सन्तुलित छ। कृषि वनस्पति विज्ञान र पारिस्थितिकको विद्यार्थी भएको नाताले मेरा विचारहरू प्रकृतीय दृष्टिकोणबाट उत्पन्न हुन थालेका छन्। मलाई मेरो बर्दिया, मयुर बस्तीका गाउँका महिलाहरू हृदयदेखि सम्झनामा आए जो मेरो ठुलो आमाको घरमा ढकिया, गोंरी बुन्न भेला हुन्छन्। अहिलेको आधुनिक संसारमा जहाँ महँगो भौतिकवादी चीजहरूको माग छ, मुन्ज वा कास भनिने सुनौलो घाँसबाट बुनेका ढकियाले विशेष स्थान बनाएका छन्।
ढकियाको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बढेको छ। मेरो गाउँका महिलाहरूले फुर्सदको समयको सदुपयोग गर्दै आफ्नो जीवनस्तर उकासेका छन्। गाउँको महिला समूहकी प्रमुख रहेकी मेरी ठुलोआमासँग ढकिया बुन्ने अभ्यासको बारेमा मेले थुप्रै जानकारी प्राप्त गर्ने अवसर पाएँ।
ढाकिया बुनाइ
मनसुनपूर्व समयमा प्रायः नदी किनारमा हुने, कलिलो सुनौलो घाँसलाई निश्चित उचाइमा पुगेपछि काटेर सुकाइन्छ, यसलाई कुञ्ज वा काँस ‘गोल्डन ग्रास’ भनिन्छ। ढकिया बनाउन प्रयोग गर्नुअघि धूपमा सुकाएर तयार काँसलाई पानीमा राखेर नरम बनाइन्छ। त्यसलाई हातैले या ब्लेडले प्रयोग गर्न मिल्ने र फोल्ड गर्न मिल्ने आकारमा चिरिन्छ, जसलाई कसुङ्गना भनिन्छ। कसुङ्गनासँगै कलिलो खरको रूपमा प्रयोग गरिने घाँसजन्य वनस्पति पनि प्रयोग हुन्छ। यसलाई पनि काटेर सुकाइएको हुन्छ। यस्तो तयारी घाँसलाई मुञ्ज भनिन्छ।
थारु महिलाहरू एउटा घरमा भेला हुन्छन् र कसुङ्गना तथा मुञ्ज बिच समान रूपमा बाँड्छन् र पहिले आधार बुन्न थाल्छन्, जसलाई ढोंरी सिर्जैलक भनिन्छ। यसको आधार प्रायः गोलाकार हुन्छ। आधार पूरा भएपछि तिनीहरूले चौडा माथिल्लो भाग बनाउँछन्। आधुनिक पेन होल्डरहरू र फूलका टोकरीहरूका लागि पनि उही रणनीति प्रयोग गरिन्छ। ढकियालाई रंग प्रयोग गरेर विभिन्न डिजाइन र रंगहरूमा बुन्न सकिन्छ।
थारु महिलाहरूले बनाएका ढकियालगायत यी हस्तकलाको नेपालका सहर बजार र र अन्तर्राष्ट्रिय बजारहरूमा पनि राम्रो माग छ। जैविक सामग्रीबाट बनेको हुनाले यी कलाकृतिहरू वातावरणमैत्री छन्। त्यसैले धेरैले यी उत्पादनहरू मन पराउँछन्। बुन्नेहरूले सामग्री पुर्याउन सकिरहेका छैनन्।
ढकियाको सांस्कृतिक महत्त्व
पहिले पहिले थारु समुदायमा छोरीको विवाहमा महँगा उपहार दिन नसक्ने भएकाले उनीहरूले प्रेमको प्रतीकको रूपमा ढकिया उपहार दिने गर्दथे। धातुको भाँडोको सट्टा ढकिया प्रयोग गरिन्थ्यो। किनकि धातुको भान्साको सामान भण्डारणका सामानहरू महँगा हुन्थे। थारु महिलाहरूले प्रकृतिमैत्री कम लागतमा ढकिया बनाएका थिए। ढकिया अन्न भण्डारण गर्नदेखि अन्य घरायसी सामानहरू राख्न प्रयोग गरिन्छ। यस समुदायको अन्त्येष्टिमा समेत मृतकहरूलाई ढकिया चढाइन्छ।
विगतमा ढकिया बुनाई हराउँदै गए पनि हाल थारु महिलाहरूले आफ्नो परम्परागत ज्ञानलाई पुनर्जागरण गर्दै छन्। विशेषज्ञ थारु महिलाहरूले आफ्नो समुदायका र अन्य समुदायका महिलाहरूलाई ढकिया बुन्न तालिम दिन्छन्। भान्सा र कृषि क्षेत्रमा व्यस्त भए पनि थारु महिलाहरूले आय आर्जनको बाटो पनि बनाएका छन्। उनीहरूलाई घर खर्चको लागि पुरुषहरूमा निर्भर हुनुपर्दैन। थारु महिलाहरूको एक सिजनमा ५० हजारदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको बताउँछन्। यो बजार र उपभोक्ताको माग र आपूर्तिमा निर्भर गर्दछ।
थारु समुदाय पर्यावरणमैत्री र दिगो उपयोगिताको उत्कृष्ट उदाहरणहरूमध्ये ढकिया बुनाइ एक हो। यसबाट तिनीहरूले प्रकृतिको संरक्षण मात्र गर्दैनन्, लाभ पनि पाउँछन्। यसलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्न सक्नुपर्छ। प्रकृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो जसले दिने र लिने चक्रलाई सन्तुलनमा राख्छ। यसका लागि सबै सरोकारवालाहरूलाई समेट्ने सहभागितामूलक नीतिगत व्यवस्था गर्नुपर्छ।
तस्बिर: बर्दियाको मयुर बस्ती गाउँका थारु महिलाहरू।