स्कुटरमा हुइँकिँदा सधैं आउने चोकमा हरियो बत्ती बलिरहेको होस् भन्दै कामना गरी हिँड्ने गर्छु। हरियो बत्ती बलेको बेला पुग्दा जाममा बस्न परेन भन्दै भाग्यमानी ठान्छु। अनि हरियो बत्तीप्रति अनुगृहित हुन्छु।
मेरो बसाइ बूढानीलकण्ठ हो र ट्राफिक बत्तीको यात्रा नारायण गोपाल चोकबाट सुरू हुने गर्छ। हरेक चोकमा रातो बत्तीमा कुर्दा स्कुटरको यात्रालाई सिनेमाका कथा वा उपन्यासको रूपमा कल्पिँदै अनेक पात्रमध्ये आफूलाई एक पात्र ठानेर प्रस्तुत हुन्छु। त्यसैले सडकमा यात्रा गर्दा अनेक दृष्टान्त प्रत्यक्ष देख्ने गर्छु।
एकदिन म भद्रकालीबाट माइतीघर-थापाथलीतर्फ जाँदै थिएँ। त्यतिबेला सिंहदरबार चोकको जाममा रोकिएको तीन मिनेट जति भइसकेको थियो।
ट्राफिक प्रहरीले माइतीघरबाट आइरहेका सवारी साधन पास गराउँदै थियो। दुई मिनेट ट्राफिक लाइटको रातो बत्तीको सिलसिला सुरू भइसकेको थियो। जामको बीच भागमा थिएँ म।
मेरो छेउमा २२-२५ वर्षका दुई युवा बुलेट बाइकमा थिए। ट्राफिक लाइटमा कुर्नुपर्दा उनीहरू निकै अस्थिर भएका थिए, मानौं कि उनीहरूलाई कुनै आपत् नै परेकै कारण हतारमा थिए।
त्यहीबेला एक जनाले 'केटाहरू भेट्न ढिला भयो।'जि' खान लेट हुने भयो भनेको कुरा प्रष्टै सुनेँ। आजभोलि युवाहरूले गाँजालाई 'जि' हान्ने भन्छन्। त्यसपछि पछाडि बस्ने युवाले चालकलाई हर्न नबजाएसम्म छोड्दैन भनेर उकास्यो। उसले पनि बजाउन सुरू गरिहाल्यो। नभन्दै ननस्टप हर्न बज्न थाल्यो। त्यो देखासिखी गर्दै सबैले एकाएक हर्न बजाउन सुरू गरे। चर्को एकोहोरो हर्नले आइल्यान्डमा खटिएकी महिला ट्राफिक प्रहरी निक्कै हड्बडाउन थालिन्। ठिक मेरो पछाडि एउटा स्कुटरमा एक दम्पती थिए, पछाडि बस्ने महिलाले सानो काखे नानी च्यापेकी थिइन्। हर्नको कर्कस आवाजले तिनी सानी नानी यसरी चिच्याउन थालिन् कि उनकी आमा निकै अत्तालिइन्।
गाँजा तान्ने युवाबाट सुरू भएको हर्नको सुइँसँगै सयौं मिसिँदै अन्तत्वगत्व एउटी अबोध काखे नानीको कानमा कर्कस आवाज पुग्यो। अधिकांशले ट्राफिक लाइटमा केही मिनेट धैर्य गर्ने शिष्टता राखेनन्। एकछिनमा जाम खुल्यो, अनि सबैजना हुइँकिए।
काठमाडौंमा बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि कतै निस्कन पर्यो भने ट्राफिक केही खुकुलो भएको देखिन्छ। तर यी समयमा कमै यात्रा गर्ने हुँदा त्यो अनुभव पाएको छैन। सडकमा यात्रा गर्दा चालकको मानसिकता, उनीहरूले सडकमा देखाउन व्यवहार र हाउभाउ पनि नियाल्ने बानी छ। दुईपांग्रे सवारी चलाउने चालक हुन् वा अन्य कुनै सबैको बडी ल्याङ्वेज अक्सर नियाल्ने गर्छु। त्यसबाहेक पैदलयात्री, साइकलयात्री सबैको हाउभाउमा चासो राखेर मानसिकता पढ्ने कोसिस गर्छु। त्यही भएर होला मैले कैयौं पटक अनेक दृष्टान्त प्रत्यक्ष देखेको छु। त्यसैले त आफूलाई यी सबै दृष्टान्तको पात्रभित्रको एउटा पात्र देख्ने गर्छु।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र सञ्चालित दुई हजार किलोमिटर पक्की सडकमा प्रतिदिन करिब १२-१३ लाख सवारी साधन गुड्ने गर्छन्। यी सवारी साधन व्यवस्थापनको लागि करिब १८ सय ट्राफिक प्रहरी खटिएका हुन्छन्। त्यसमध्ये पनि काठमाडौं जिल्लाभित्र अत्यधिक सवारीको चाप हुने हुँदा १५ सय ट्राफिक त काठमाडौंमा मात्र खटिन्छन् भने बाँकीले ललितपुर र भक्तपुरको व्यवस्थापन धानेका छन्।
ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन बाहेक बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिलाई पिक आवर मान्छन्। अर्थात् त्यो समयावधिमा अत्यधिक सवारी साधन सडकमा गुड्ने गर्छ। ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनको हिसाबले समेत त्यो अवधिलाई सकसपूर्ण र निकै चुनौतीपूर्ण ठान्दछन्।
पिक आवरमा ट्राफिक प्रहरीको सकस साँच्चिकै अवलोकन योग्य हुन्छ। खटिएका ट्राफिक प्रहरीका दुबै हात यति चलायमान हुन्छन् कि सेतो टोपीभित्र भिजेको निधार पुस्न समेत फुर्सद ती हातलाई हुँदैन। ओठमा च्यापेको सिठ्ठीले बोल्ने फुर्सद पाउँदैन, मात्र फिर्र-फिर्र मात्र पार्छन्।
ब्यारेकमा धोएर चिटिक्क स्त्री गरी लगाएको पोशाक २ घण्टामै हेरिनसक्नु हुन्छ। अनुहार र आँखा धुलोको पत्रले ढपक्कै ढाकेको हुन्छ। घरिघरि रेडियो सेट एक हातले उठाउँदै कानसम्म पुर्याउँछन् र अर्को एक हातले गाडी चलाउन इसारा दिन्छन्। सेट कानसम्म पुगेको बेला के-के सुन्छन् अनि मुखको सिठ्ठी फुत्त निकालेर छोटोमा जबाफ फर्काउँछन्।
फेरि उही कर्ममा व्यस्त! कहिले-कहिले चिनजानका व्यक्ति त्यही बाटोबाट पास हुँदैछन् भने अर्धमुस्कानको हाँसोले रेस्पोन्स दिन पनि भ्याउँछन्। कताको साइडमा धेरै लाम लाग्यो भनेर फनक-फनक घुमेर घाँटी तन्काइ हेर्छन्। कुनैबेला एकादुई बेलगाम सवारी साधनले ट्राफिकको आँखा छलेर गलत लेनमा भागेको दृष्य देखिन्छ। त्यतिबेला ट्राफिकले लामो सिठ्ठी लगाउँदै लखेट्ने प्रयास गरेर समात्छ। यी सबै दृष्य हामी जो कोहीले मिहीन ढंगले नियाल्ने हो भने सहजै देख्छौं। म पनि दैनिक देख्छु।
मुख्य सडकको बीच चौराहाको आइल्यान्डमा सेतो टोपीवालाले हल्लाउने हात र ट्राफिक सिग्नल (ट्राफिक लाइट) दुवैतिर रोकिएका चालक दलको आँखा गाढिएको हुन्छ। चोकमा रोकिएका चालक वर्गको हाउभाउ करिब दुई मिनेट कटेपछि हेर्न लायकको हुन्छ। लेनमा लामबद्ध मोटरसाइकल विस्तारै-विस्तारै लेन मिच्न सुरू गर्छन्। बायाँतर्फ जाने लेनमा क्रमश: मोटर साइकलवालाले मिच्न सुरू गर्छन् र अलि लामो रातो बत्ती रहेछ वा म्यानुअल्ली नै रोकेको रहेछ भने एउटा यस्तो अवस्था बनाइदिन्छन् कि अब बायाँ जाने सवारी पास नहुने ५ फिटे गल्लीमा परिणत हुन्छ।
अनि बायाँ जान नपाएर पछाडि रोकिएका चालक मुर्मुरिँदै गाली गर्ने शैलीमा जोडले हर्न बजाउन थाल्छन्। त्यसैगरी, त्यो लाम अलि लामो रहेछ भने पछाडिबाट आएका चार पांग्रे तथा ठूला सवारी साधन पनि चोकमा पुग्दा खुलिहाल्छ नि भन्ने सोचेर बायाँबाट मिच्न सुरू गर्छन्। त्यसरी बायाँबाट मिच्ने सवारीले बदनियत साथ गति प्रतिघण्टा ५ किलोमिटरभन्दा माथि हुँइकाउँदैनन् र हरियो बत्ती बलेर जाम खुलेपछि हुइँकाउँछन्। नत्र त बाधा पुर्याएर बिस्तारै गाडी चलाउँछन्।
अनि चोकमा पुगेर ट्राफिकलाई गाली गर्दै भन्छन्- हैट! हाम्रो देश त खत्तम छ के, यति जाबो ट्राफिक व्यवस्थापन पनि गर्न सकेका छैनन्। विदेशमा कस्तो राम्रो सिस्टम हुन्छ यहाँ भद्रगोल बनाएको छ।
जाममा रोकिएर बसेकाले एकअर्कालाई चिन्दैनन्, किनकि सबै जना आ-आफ्नो गन्तव्यमा पुग्न हिँड्दा ती सबै संयोगले मात्र सँगै रोकिएका हुन्छन्। तर ५ मिनेट जति जाममा पर्यो भने ट्राफिक प्रहरीलाई गाली गर्न र इरिटेट बनाउन सबै एकाकार हुन्छन्।
सडकमा उभिने ट्राफिक धुलो-धुवाँ खाएर न्यूनतम तलबसुविधामा यस किसिमको प्रवृतिसँग पौठेजोरी खेल्न रहर उनीहरूलाई कहाँ हुँदो हो र? उपत्यकाका लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीको मेडिकल जाँच गराउँदा अधिकांशमा फोक्सोको समस्या देखिएको बिभिन्न अध्ययनले देखाइरहेका छन्।
दिनभर लुडो खेलेर साँझ भोक लागेर म:म खान निस्केकाहरूलाई अस्पतालमा बिरामीको लागि रगत खोज्न निस्केको कुरूवालाई भन्दा हतारो हुन्छ। दिनभरि म्यारिज खेलेर साँझ पर्न लाग्दा घरकाले खोजेपछि घर पुग्न हतार हुनेले एम्बुलेन्सलाई साइड दिन फुर्सद हुँदैन, मानवीय मूल्यको उसलाई हेक्का हुँदैन।
विवाह पार्टीमा संलग्न भई घण्टौं गफिएर पार्टीमा मस्त हुनेलाई त्यो जाममा धैर्य गर्न साह्रै सकस हुन्छ र लेन मिच्न हतारिन्छ। र, अनि पार्टी खाँदै भन्छ- नेपालको सिस्टम खत्तम छ, यो देशमा नियमै छैन, यो देश कहिल्यै बन्दैन।
धेरै स्थानमा देखिन्छ- मापसे गरेर टिल्ल भएकालाई मापसे चेकमा कारबाही गर्न खोज्यो भने ठाडो उत्तर दिँदै भनेको सुनिन्छ- म त विदेश बसेर आएको ट्राफिक दाइ। सबै नियम थाहा छ, सिस्टम के हो विदेशमा हेर्नुपर्छ, यहाँ त सिस्टमै छैन। वादविवाद बढ्दै जान्छ र मातेको सुरमा ड्युटीमा खटिएको ट्राफिकलाई अनेक धमास छेड्छ। २-४ पटक फोन पनि घुमाउँछ। केही नलागेपछि यो संस्कार नभएको देश भनेर अश्लील शब्दमा संस्कारको परिभाषा सिकाउने प्रयास गर्छ। अनि लास्टमा कस्तो संस्कार नभएको देश नेपाल, यो देश कहिल्यै बन्दैन भन्छ। ट्राफिक प्रहरीका असई सापले होला सर हामी त विदेश नपुगेको मान्छे, यहाँ जे नियम छ त्यही पालना गराउने हो भन्दै चिट काटेर पठाउँछ।
भनिन्छ-कुनै पनि देशको सभ्यता हेर्न सडकको अवलोकन गर्नुपर्छ, वास्तवमा हाम्रो राजधानी लगायतका ठूला सहरहरूका चोकचोकमा देखिने दृष्यले किञ्चित ट्राफिक प्रहरीसँगको घम्साघम्सी मात्र चित्रित गर्दैन। अन्य धेरै कुराको संकेत गर्छ- पछिल्लो पुस्ता यति अधैर्य र विचलित भावको प्रभावमा देखिन्छन् कि उनीहरू सबै समस्याको समाधान चुट्कीमा समाधान होस् भन्ने चाहन्छन्।
वास्तविक जीवन र डिजिटल ग्याजेटले देखाएको डिजिटाइज्ड जीवनको बीचमा ठूलो खाडल छ भन्ने भेउ पाउन सकेका छैनन्। नेपालमा सिस्टम छैन, यो देशमा केही हुँदैन भन्ने भाष्य यसरी जकडियो कि त्यसको भरणपोषण समाजका जान्नेबुझ्ने दस्ताले नै गरिराखेका छन्। कम मेहनतमा ठूलो परिणाम हात पार्ने होड चलेको छ। कर्म र मेहनतले जे प्राप्त छ, त्यसैमा सन्तोष मान्ने परिपाटी हराउँदै गएको आभाष हुन्छ। जसरी पनि सबैलाई छिटो सम्पन्न हुनु छ। सबैलाई सपनाको सहर काठमाडौंमै टिकेर जतिसक्दो छिटो सेलिब्रेटी बन्नु छ, भाइरल हुनु छ। त्यो पनि भएन भने यो देशको सिस्टमलाई दुत्कार्दै सडकमा हुँकार छाड्नु छ।
सामाजिक सञ्जालको यसरी दुरूपयोग हुन थालेको छ कि त्यो कसैको हुर्मत लिने र मानमर्दन गर्नमै सीमित भएको छ, समाजको एउटा पढेलेखेको पङ्ति त्यसमै कमेन्ट थपेर रमाइरहेको छ र अशान्ति मच्चाउन उद्दत छ।
आम सञ्चारले पनि सही सूचना प्रवाह गरेर समाजलाई दूषित भाव जगाउनबाट रोक्न भूमिका खेल्न पर्दछ। हो, आलोचना गर्नुपर्दछ तर तथ्यलाई नटेकी सतही हल्लालाई आमसञ्चारले समाचारको विषय बनाउँदा धेरै स्थानमा ट्राफिक प्रहरी त्यसको शिकार बन्नु परेको छ। यसको गतिलो उदाहरण- गठ्ठाघर घटना हो।
ट्राफिक प्रहरीले लुकेर एम्बुस थाप्ने हिसाबले चेकिङ गर्दा स्कुटर चालकलाई ट्रकले किचेर मृत्यु भयो भन्ने जस्ता भ्रामक समाचार प्रशस्तै आए। ट्राफिक प्रहरीलाई लखेटी-लखेटी आक्रमण गर्ने प्रयास भए। आखिर अनुसन्धान गर्दा वास्तविकता अर्कै देखियो। यो एउटा प्रतिनिधि घटना मात्र हो, गलत समाचारका कारण कैयन् ठूला क्षति व्यहोर्नु परेको उदाहरण प्रशस्तै छन्। सामाजिक सञ्जालको त चर्चा गरिसाध्य छैन, कुरै नगरौं।
सडकको निर्बाध उपयोग सबैको अधिकार हो, यसमा कुनै बहसको आवश्यकता छैन। साथसाथै सभ्य तवरबाट सडकको प्रयोग पनि सबै नागरिकको कर्तव्य हो। हरेक भट्टीदेखि पाँचतारेसम्म, चौतारोदेखि डबलीसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म ट्राफिक प्रहरीको व्यवहार र सिस्टमको बहस गरेर नथाक्ने हामी स्वयंले सडक प्रयोगमा देखाउने व्यवहार कुन स्तरको छ भन्ने कहिले स्वमूल्याङ्कन गरेका छौं? अबको हाम्रो बहसमा यो पनि थप्न जरूरी छ।
राज्यका निकायको कानुन कार्यान्वयनमा जति जिम्मेवारी र जबाफदेहिता हुन्छ, नागरिक कर्तव्य पनि त्यति नै हिस्सेदार हुन्छ भन्ने कहिल्यै बिर्सन हुँदैन। माथि विवेचित आधार- तथ्यहरू पस्किनुको तात्पर्य हो पनि होइन- सबै ट्राफिक प्रहरी ठिक छन्। ट्राफिक प्रहरी पनि यही समाजको उत्पादन हो, उसमा पनि केही कमीकमजोरी अवश्य छन्। तर नागरिक प्रवृत्ति? उत्तर तपाईंको मनले नै दिइसक्यो, भित्रभित्रै।