केही महिना अगाडि एक जना आफन्तको मृत्यु भयो। अन्त्येष्टिको लागि पशुपति आर्यघाटमा लगियो। समवेदना दिन राजधानीमा भएका आफन्तहरू आए, दुःख व्यक्त गरे, कापीमा नाम लेखे अनि विभिन्न बहानाहरू जस्तै अफिस, व्यवसाय, पढाइलगायत बनाएर फर्किहाले। अन्त्येष्टि सकिँदा मुस्किलले चार-पाँच जना मात्रै बाँकी हुँदा हुन्।
हामीहरू प्रायजसो हतारमै हुन्छौँ। हस्पिटलमा बिरामी भेट्न जाँदा पनि हतारै हुने। कतै बिहे, भोज, पार्टीतिर गयौँ भने पनि हतारै हुने। खाना खान पनि हतारै हुने। कसैसँग बोल्ने फुर्सद पनि नहुने। छोराछोरीलाई दिने समय पनि नहुने। बाटोमा ट्राफिक लाइटमा १/२ मिनेट कुरुन्जेल पनि हतार भएर हर्न बजाइरहने। यतिसम्म कि आफ्नै बिहेको दिन बिहे चाडै सकाउन पण्डितलाई अतिरिक्त दक्षिणा दिनेहरू पनि हुँदा रहेछन्।
सहरिया बसाइले जीवनशैली एकदम व्यस्त बनाएको छ। हुन पनि हामीसँग सीमित समय छ र त्यो समयलाई भरपुर प्रयोग गरिएन भने आफ्ना आवश्यकता पूरा गर्न चुनौतीपूर्ण हुन्छ जसले गर्दा सहरिया बसाइ नै कठिन हुन सक्छ। सफल बन्ने, आवश्यकता पूरा गर्ने, प्रतिष्ठित बन्ने, विलासिताको जीवनयापन गर्ने आदिको दौडधुप त छँदै छ। यो भागदौडमा कतै हामीले आफ्नो जीवनका अमूल्य पलहरू त गुमाइरहेका छैनौँ! यही भागदौडमा लागेर हामी अमानवीय बन्दै गइरहेका त छैनौँ!
आखिर यो भागदौड केको लागि?
हामी भागेर कहाँ पुग्न खोज्दै छौँ?
व्यस्तताले गर्दा कति समय भयो आफन्त, साथीभाइ, घरपरिवारसँग समय बिताउन नपाएको, सामाजिक कार्यमा संलग्न हुन नसकेको, आफ्ना परिवारसँग बसेर दुःख सुख नगरेको, आफ्नो लागि समय नछुट्टाएको, आफूले मन पर्ने काम गर्न नपाएको? कहिल्यै सोच्नु भएको छ?
आजभन्दा २०-३० वर्ष अगाडिको समय हेर्ने हो भने हाम्रा बा, हजुरबाहरूलाई केही हतार थिएन। कति धैर्य थिए उनीहरू। हरेक कुरालाई पर्खिन जानेका थिए उनीहरूले। आवश्यकताहरू सीमित थिए र पनि अहिलेका हामीहरूभन्दा कयौँ गुणा खुसी थिए। मर्दा-पर्दा जीउ ज्यान लगाएर निःस्वार्थी भावनाले सहयोग गर्दथे। समुदायमा हुने विवाह, पूजाआजामा पूर्ण रूपले सक्रिय सहभागिता जनाउँदथे, काम फत्ते नहुन्जेलसम्म कसैले साथ छाड्दैन थिए। सबैमा एक किसिमको आत्मीयता थियो।
तर अहिले हामीलाई मृत्यु शय्यामा छटपटिएको बिरामीलाई भेट्ने फुर्सद छैन। समाजमा हुने सामाजिक गतिविधिहरू, जात्रा, महोत्सव, मेला पर्वमा सहभागी हुने फुर्सद मिल्दैन। हामी साँच्चिकै व्यस्त छौ कि समय व्यवस्थापन गर्न सकिरहेका छैनौँ?
टिकटक स्क्रोल गर्न, फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युबमा झुन्डिइरहन हामीसँग घण्टौँ समय हुन्छ तर ट्राफिक लाइटमा २ मिनेट कुर्ने धैर्यता हुँदैन।
१५ सेकेन्डको टिकटक, रिल्स र युट्युब सर्ट्सहरू हेर्दा हेर्दै हामीले धैर्यता गुमाउँदै गइरहेका छौँ। धैर्यता सँगसँगै हाम्रा सामाजिक व्यवहार, सामाजिक सम्बन्ध, मानवीय गुण, सामाजिक दायित्व, पारिवारिक जिम्मेवारी पनि गुमाउँदै गइरहेका छौँ।
मोबाइल, इन्टरनेट, सामाजिक सञ्जालले हाम्रो ध्यान अवधि घटाइरहेको छ, हामीमा एकाग्रता घट्दो छ जसले हामीमा छिटो-छिटो नयाँ कुरा खोज्ने बानीको विकास हुँदै गएको देख्न सकिन्छ। यस्ता बानीले गर्दा पनि हामीले जानी नजानी हतार गरिरहेका हुन्छौँ
हामीमाथि छिटो सफल बन्ने जुन सामाजिक दबाब छ जस्तो एउटा निश्चित समयसम्म जागिर खानै पर्ने, विवाह गर्नै पर्ने, घर गाडी जोड्नै पर्ने आदि आदिले हामीलाई जसरी भए पनि सफल बन्नै पर्ने अवस्था सिर्जना गराएको छ जसले हामीलाई हतार गर्न बाध्य बनाएको छ। धेरै पैसा कमाउने, राम्रो पदमा पुग्ने, समाजमा नाम कमाउने दौडले हामीलाई यसरी बेचैन बनाएको छ कि हामीलाई अरू सबै कुरा महत्त्वहीन लाग्छ।
कोहीलाई व्यस्त हुनु सफल हुनु वा विशेष हुनु हो भन्ने लाग्दो रहेछ, त्यस्ता मानिसहरू अरूलाई देखाउनको लागि व्यस्त भएको ढोङ गरी हतार गरिरहन्छन्। हतार र हताशले गर्दा हामीले कैयौँ पटक गलत निर्णय गर्न पुगेका हुन्छौँ। हामीमा गहिरो सोच र सिर्जनात्मक कला हराउँदै गएको छ।
अन्त्यमा,
हामीसँग निश्चित समय छ, त्यो समयमा आफ्नो प्राथमिकता तय गर्ने, कुन कुरा कति महत्त्वपूर्ण छ त्यसका आधारमा काम छनोट गर्ने, एकै चोटि धेरै काम गर्ने प्रयास नगर्ने, आफूलाई चिन्ने, समाज, परिवार, साथीभाइको दबाबमा परेर कुनै निर्णय नगर्ने, आफूले के गरिरहेको छु भन्ने कुरामा सचेत हुने, समय व्यवस्थापनमा जोड दिने, मोबाइल, इन्टरनेट चलाउनलाई निश्चित समय छुट्टाउने, आफू र आफ्नासँग गुणस्तरीय समय बिताउने, अरू अगाडि पुगिसके म मात्रै पछाडि छुटे भन्ने हीन भावना कम गर्ने, योग, ध्यानमा समय बिताउने र हरेक काम धैर्यताका साथ गर्ने जस्ता कुराहरूमा जोड दिन सकियो भने यो भागदौडलाई कम गरेर अर्थ पूर्ण जीवन बिताउन सकिन्छ।
त्यसैले ‘गो स्लो, गो लङ।’