काठमाडौं महानगरपालिकाले धेरै युवालाई एकैपटक सीप सिकाउने गरी सीप मेलाको आयोजना गरेपछि अहिले यसबारेमा सर्वत्र चर्चा भइरहेको छ।
ठूलो जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमै रोजगारीको अवसर सृजना गर्नका लागि स्थानीय तहले गरेको यो कार्यलाई सबैले उच्च महत्वका साथमा हेरेका छन्।
केही समययता विभिन्न परियोजनाका नाममा केही स्थानीय तहमा यस्ता कार्यक्रमहरू सञ्चालन नभएको पनि होइन तर पालिकाकै पहलमा एकैपटक ठूलो संख्यामा यस खालको कार्यक्रम सञ्चालन भएको भने यो केही फरक अवश्य हो।
नेपालमा सीपमूलक तालिम प्रदान गर्न थालिएको लामो इतिहास छ। विभिन्न तालिम प्रदायक संस्थाहरूले हालसम्म सीपमूलक तालिम प्रदान गरेको संख्यालाई हेर्ने हो भने नेपालको जनसंख्याको तेब्बर संख्यामा यस्तो तालिम प्रदान गरिएको देखिन्छ। तर किन उपलब्धी हुन सकेन? किन रोजगारको बजारमा सीप सिकेकाहरूले मूल्य पाउन सकेनन्? यस बारेमा भने केही गहन ढंगले सोच्नुपर्ने देखिन्छ।
अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्ने हो भने सीपमूलक तालिम प्रदान गरेर मात्रै युवाहरूले रोजगारको बाटो समातेको तथ्यांक निकै कमजोर छ, अझ भनौं लाजमर्दो छ। अब यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने अर्को महत्वपूर्ण कुरा हो।
काठमाडौं जस्तो विशाल जनसागर भएको ठाउँमा १० हजारले मात्रै आवेदन दिनुले सीपमूलक तालिमतर्फको आकर्षण त्यति धेरै लोभलाग्दो मान्न सकिँदैन।
तुलनात्मक रूपमा यो कमजोर संख्या हो। विदेश जाने होस् या पढ्ने या अन्य कुनै काम गर्ने सवालमा देशको ठूलो जनसंख्या काठमाडौंमा छ।
अहिले करिब २ हजार बढीले २९ प्रकारका विभिन्न तालिम लिइरहेका छन्। ८ हजार जति तालिम लिन्छु भन्दाभन्दै पनि अवसरबाट बन्चित भएका छन्। तथापि महानगरपालिकाले सबैलाई सम्बोधन गर्ने प्रतिबद्धता पनि गरेको छ।
तालिम प्रदान गरिएको कुरालाई मात्रै चर्चा गरेर यसको सम्पूर्ण पक्षको मूल्यांकन हुन सक्दैन। त्यसका लागि तालिमपश्चात् कति युवाहरूले आफूलाई काममा लगाए भन्ने कुरा महत्वपूर्ण देखिन्छ। सीपमूलक तालिमकै कुरा गर्ने हो भने हरेक वर्ष प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले छोटो अवधिको तालिम भनेर पहिलो लेबलको ३ सय ९० घण्टाको तालिम बर्सेनि हजारौं युवाहरूलाई प्रदान गरिरहेको हुन्छ। अझ त्यसमा दैनिक खाजा सुविधा र सीप परीक्षण समेत गरिन्छ।
नेपालैभरिका विभिन्न प्राविधिक विषय अध्यापन गराउने शिक्षालयमार्फत् तालिम सञ्चालन गर्दा पनि पछिल्लो समय सीपमूलक तालिममा खासै उत्साह देखिँदैन। तालिममा के सिकाइन्छ भन्दा पनि भत्ता कति छ भन्ने खालको प्रश्न बढी देखिन्छ।
म आफै पनि प्राविधिक शिक्षालयको नेतृत्व गरेका कारणले गर्दा छोटो अवधिको तालिममा युवाहरूको उत्साह हराउँदै गएको देख्छु। तालिम प्रदान गरिएका व्यक्तिहरूको अवस्थामा कुनै पनि खालको परिवर्तन नआउँदा यस्तो आकर्षण कमजोर भएको हो। तालिमको गुणात्मकता या तालिमपश्चात निरन्तर निगरानी र उचित मार्गनिर्देश के कुराको कमी हो भन्ने छुट्याउनु पर्ने देखिन्छ।
यस विषयमा सिटिइभिटीको मात्रै नभएर अन्य संस्थाले सञ्चालन गरेको तालिममा पनि अवस्था उस्तै पाइन्छ।
अहिले काठमाडौंले सुरू गरेको सिकाइ मेला उत्साहप्रद कुरा हो। देशैभरि अधिकांश स्थानीय तहहरू भौतिक संरचना निर्माणमा बढी केन्द्रित भएको अवस्थामा जनशक्तिको क्षमता वृद्धिका लागि सीप सिकाउने योजना आफैमा प्रशंसायोग्य हो। तर यस्ता कार्यहरू प्रशंसा बटुल्नभन्दा पनि परिणाम दिनका लागि हुनुपर्दछ। समय सुहाउँदो र सिकेपछि कम लगानीमा तत्काल बजारमा प्रवेश गर्न सकिने खालको सीपलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ।
अहिलेसम्म तालिम प्रदायक संस्थाहरूले तालिम प्रदान गर्नुलाई मात्रै आफ्नो जिम्मेवारीमा राखेको देखिन्छ। तालिमपश्चात् उनीहरू रोजगारको बजारमा प्रवेश गरे या गरेनन्? तालिम लिनेहरूले केके गरिरहेका छन्? तालिममा सिकेको सीप प्रयोग गर्नमा एकाध वैदेशिक लगानीमा सञ्चालन भएका परियोजनाहरूले गरेको एउटा अभ्यास निकै प्रभावकारी मानिन्छ। अर्थात् तालिम लिएकाहरू मध्येबाट व्यावसायिक ढंगले अगाडि बढ्न चाहनेहरूलाई केही बिउ पुँजीको सहयोग या आवश्यक उपकरण अनुदानमा दिने कुरा निकै महत्वपूर्ण हुन्छ। नेपालमा लघु उद्यम कार्यक्रमले यसरी नै कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसलाई केही प्रभावकारी कार्यक्रमका रूपमा लिने समेत गरिन्छ।
स्थानीय सरकारले सीपसँगै त्यसलाई व्यवसाय र उद्यमशीलतामा रूपान्तरण गर्नका लागि के गर्न सकिन्छ भन्ने योजनाका साथै आवश्यक आर्थिक स्रोतको पनि व्यवस्थापन गरिनुपर्दछ।
सीप सिकाउनुको पहिलो शर्त स्वरोजगार या उद्यमशिल बनाउनु हो। व्यक्तिले सीप सिक्दैमा जीवनमा परिवर्तन ल्याउँछ भन्ने होइन।
सीप भनेको आफूलाई अगाडि बढाउने एउटा आधार हो र त्यही आधारमा टेकेर आर्थिक उपार्जनसँग त्यसलाई कसरी जोड्ने भन्ने कुरालाई पनि सीपमूलक तालिमले सम्बोधन गर्नुपर्दछ।
उपमहानगरले पनि तालिम प्रदान मात्रै गर्ने हो भने उसले गरेको यो खर्च केवल करको दुरूपयोग मात्रै हो। सामान्य केही दिनको तालिमले न त व्यक्ति दक्ष हुन्छ, न त उसले आफूलाई कुनै लेवलको औपचारिकता दिनका लागि सीप परीक्षण नै दिन पाउँछ।
यसरी यता न उताको हुने अवस्था सृजना हुँदा सीपमूलक तालिमप्रतिको अहिलेको नकारात्मक धारणालाई थप मलजल पुग्ने देखिन्छ।
स्थानीय सरकारहरूले कुनै निश्चित समय तोकेर सामान्य केही दिनका लागि सीप मेला आयोजना गर्नुभन्दा आफ्नो क्षेत्रमा रहेका प्राविधिक शिक्षालयहरूलाई उपयोग गरेर वर्षैभरी यस्ता तालिम प्रदान गर्न सक्छन्।
नेपालका अधिकांश पालिकाहरूमा प्राविधिक शिक्षालय छन्। त्यहाँ सीप सिकाउनका लागि आवश्यक उपकरणसँगै जनशक्तिको पनि उपयुक्त व्यवस्था गरिएको छ। त्यसलाई केही सुधार गर्न छ भने स्थानीय सरकारले केही लगानी गरेर संरचना समेत निर्माण गर्न सक्छ।
स्थानीय सरकारमार्फत् हुने हरेक तालिमहरूलाई हामीले शिक्षालयसँग जोडेर सञ्चालन गर्न सक्यौं भने त्यसले एकातिर आर्थिक लगानीलाई घटाउने गर्दछ भने युवाहरूले आफूले चाहेको समयमा तालिम लिन सक्दछन्। यसका साथै यस्तो तालिम केही दिनका लागि भन्दा पनि सीप परीक्षणको परीक्षा दिन पाउने गरी सञ्चालन गर्नु मनासिव हुन्छ।
काठमाडौं महानगरपालिकाभित्र पनि राम्रो संरचना भएका कैयौं शिक्षालयहरू छन्। त्यहाँ भएका ल्याब, वर्कसप र उपकरणहरू पनि पर्याप्त मात्रामा रहेका छन्। तिनै शिक्षालयहरूलाई परिचालन गरेर महानगरपालिकाले सीप परीक्षण गराउने गरी तालिम सञ्चालन गर्ने नीति ल्याउनुपर्दछ।
केही दिनमा मात्रै सिकेको सीपले व्यक्तिलाई श्रम बजारमा निर्धक्कसँग अगाडि बढ्नका लागि खासै उत्प्रेरणा प्रदान गर्दैन।
सीपमूलक तालिम प्रदान गर्ने कुरा केवल औपचारिकतामा मात्रै सीमित हुनु हुँदैन। व्यक्तिलाई तोकेको उद्देश्य पूरा गर्ने गरी तालिम पश्चातका सबै प्रक्रिया पूरा गर्ने गरी तालिम प्रदान गर्यौ भने मात्र त्यसले तालिम प्रदान गर्ने कुरालाई साचो अर्थमा न्याय पुर्याउँदछ।
(लेखक तुलसीपुर बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख हुन्।)
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)