भारत हाम्रो छिमेकी देश मात्रै होइन, हामीसँग भाषा, संस्कृति र सभ्यता पनि मिल्ने देश हो।
त्यसमाथि खुला र बेरोकतोक आवागमन गर्न पाइने भएकाले हामी दुई अलग देशका नागरिक हौं भन्ने भावना उति धेरै हुँदैन। यस्तो सोच अहिले युरोपेली युनियनले आफ्ना २९ सदस्य राष्ट्रहरूमा जगाउँदै छ जहाँ एक आपसमा आवतजावत गर्न सीमाको बन्देज छैन।
हामी नेपाली यस अर्थमा भाग्यमानी छौं। हामीले भारत र नेपालमा यस्तो सुविधा युगौंदेखि पाएका छौं। यसबाट हामी नेपालीलाई भरपूर फाइदा भएको छ।
यस्तो सुविधाको फाइदा मात्र छैन, बेफाइदा पनि छ। नेपालसँग भारतका विहार र उत्तर प्रदेशको सिमाना जोडिएको छ। यी दुई प्रदेशले हामीमा भारत भनेको गरिबी, अभाव, असभ्यता र झैझगडाले भरिएको देश हो धारणा बनाइदिएका छन्।
दक्षिण भारत धेरै पहिलेदेखि फरक छ; समृद्ध, सुखी र सभ्य छ भन्ने सुनेको थिएँ। दक्षिण भारतका धेरै सहरहरूमध्ये एक हो बैंगलुरू जहाँ अहिले पढाइ र रोजगारीका सिलसिलामा पनि हजारौं नेपालीहरू बस्छन्, घुम्न पनि जान्छन्।
म एक दशकअघि बैंगलुरू गएको थिएँ। त्यो सहरले मेरो मस्तिष्कमा पारेको फरक प्रभाव र छाडेको छाप अहिले पनि ताजा छ।
म एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत हुँदा स्थानीय गैरसरकारी संस्थाहरूसँग मिलेर काम गर्ने शैली बुझ्ने सिलसिलामा बैंगलुरू गएको थिएँ। त्यहाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू स्थानीय गैरसरकारी संस्थाहरूसँग मिलेर काम गर्थे।
हाम्रो टोली दिल्ली हुँदै साँझपख बैंगलुरू पुगेको थियो। भोलिपल्ट सम्बद्ध गैरसरकारी संस्थाको कार्यालय पुग्नु थियो। हामी संस्थाको कार्यालय आसपासमा त पुग्यौं तर फेला पर्न सकेन। दुई-तीन पटक ओहोरदोहोर गर्दा पनि फेला परेको थिएन।
स्थानीय एक व्यक्तिले हामी त्यसरी ओहोरदोहोर गरेको विचार गरेका रहेछन्। तिनले हामी आहोरदोहोर गर्नुको कारण सोधे, अंग्रेजी भाषामा बोलेका थिए। कार्यालयको नाम भनेपछि अघि लागेर त्यहीँ पुर्याइदिए, अलिक कुनातिर भएकाले हामीले फेला नपारेका रहेछौं।
अपरिचित आगन्तुकलाई उनले निसंकोच सहयोग गरेका थिए। यसरी सहयोग गर्नुलाई मैले बैंगलुरूका बासिन्दाको सभ्यता हो भन्ने ठाने।
सहरका विभिन्न ठाउँमा गैरसरकारी संस्थाहरूले गरेका कामको अवलोकन गर्नु थियो। हामीले दिनभरिका लागि एउटा अटोरिक्सा लिनु उचित ठान्यौं। ट्याक्सी वा अटोरिक्सा भन्नेबित्तिकै चालकहरूले सहरबाहिरको यात्रुसँग बढी भाडा असुल्छन् भन्ने धेरैको बुझाइ हुन्छ। काठमाडौंमा पनि त्यस्तै हुन्छ भन्ने गुनासो सुनिन्छ।
काठमाडौंमा ट्याक्सी चालकहरू यात्रुलाई सित्तैमा गुन लगाएजस्तो व्यवहार गर्छन्। मिटरमा चलाउन मान्दैनन्। माने भने पनि मिटरको कुनै भरोसा हुँदैन भन्ने आमधारणा पाइन्छ।
अहिले राइड सेयरिङ एप हेरेर ट्याक्सीमा यात्रा गर्न पाउने सुविधा भएकाले केही सहज भएको छ। एपको सुविधा प्रयोग गर्न नजान्ने यात्रु पनि धेरै हुन्छन्।
हाम्रो टोली गएको समय बैंगलुरूमा ट्याक्सी र अटोमा भाडाको समस्या थिएन। हाम्रो गन्तव्य अफिसका सहकर्मीहरूले कुन ठाउँ पुग्दा कति भाडा लाग्छ, त्यो पनि बताइदिएका थिए। हामीलाई यात्रा गराउने चालकले हाम्रा भारतीय साथीहरूले भनेअनुसारकै भाडा लिए। कुनै पनि चालकले यति दिन्छौ भने मात्रै पुर्याउँछु भनेन।
दक्षिण भारतमा हिन्दी भाषा चल्दैन। बाहिरबाट जाने व्यक्तिले स्थानीय भाषा वा अंग्रेजी बोल्नु पर्छ। अटोरिक्साका र ट्याक्सीका चालकहरू भने हिन्दी बोल्न जान्ने भेटिए। हामीले भेटेका सबै चालक उत्तर भारतका थिए।
हामी दिनभरिको काम सकेर फर्किँदा रातको ११ बजेको हुन्थ्यो। हाम्रो टोलीका सबै सदस्य पुरूष थियौं। त्यति राति महिलाहरू सडकमा निस्फिक्री हिँडेका देखिन्थे। हामीलाई बैंगलुरू सहर महिलाका लागि निकै सुरक्षित रहेको महसुस भयो।
बैंगलुरू पुगेपछि त्यहाँका दर्शनीय स्थलहरू नघुम्ने कुरै भएन। बैंगलुरू पुग्ने यात्रुले त्यहाँको पर्यटकीय बसको चढेर सहरबाट मैसुर जाने अवसर गुमाउनु हुँदैन भन्ने मलाई लाग्छ।
पर्यटकीय बस मैसुर जान बिहान करिब ५ बजे बैंगलुरूबाट छुट्दो रहेछ। केही घण्टाको यात्रामा पुगिँदो रहेछ, बिहान गएर घुमफिर गरेर बेलुका अलिक अबेरसम्ममा फर्किन सकिने गरीको।
हामीले यात्रा गरेको बस सरकारी रहेछ; बाटोमा खाना खुवाउने ठाउँ पनि सरकारी नै, सरकारद्वारा प्रवर्द्धित। खानाको गुणस्तर र सरसफाइ उत्कृष्ट थियो, मूल्य अत्यन्त सामान्य।
यता नेपालमा बसका चालकले अनौपचारिक सम्झौताअनुसार होटलअगाडि गाडी रोक्छन्; न खानाको गुणस्तर राम्रो, न सरसफाइ राम्रो, मूल्य निकै महँगो, बोलीवचन रूखो। चालक र तिनका सहकर्मीहरू होटलको मेजमान खान्छन्, यात्रुहरू ठगिन्छन्।
बैंगलुरूको सरकारी पर्यटक बसले दिने सेवा मध्यमवर्गीयका लागि उत्कृष्ट हुँदो रहेछ।
मैसुरको मुख्य आकर्षण ‘मैसुर दरबार’ रहेछ। पौराणिक कथामा वर्णित महिषासुर राक्षसको नामबाट नै ‘मैसुर’ नाम रहेको रहेको भन्ने किम्बदन्ती रहेछ। दरबार बाडियार वंशका शासकको रहेछ, सिंगो कर्णाटक राज्यको गौरव।
दरबारमा देखिने भव्यता र कलाकारिता वर्णन गरेर साध्य नै छैन। अकवर र वीरबलको हस्यप्रधान कथामा आधारित टेलिफिल्मको छायांकन त्यही दरबार भएको थियो भनेर हाम्रा गाइडले हामीलाई बताए।
मैसुर दरबार दिनभर घुमे पनि धित नमर्ने खालको रहेछ। दरबार भ्रमणपछि हाम्रो बस वृन्दावन जान्छ भनियो। एउटा वृन्दावन त उत्तर प्रदेशको मथुरामा छ भन्ने सुनेको हो, यताको वृन्दावन कुन रहेछ भन्ने खुल्दुली भयो।
वृन्दावन जान रात पर्दै थियो। दिउँसै नलगेर कि रात पारेको होला भन्ने पनि लाग्दै थियो। झमक्क साँझ परेपछि मात्र हामीलाई वनभित्र लगे।
राति लैजानुको त खास कारण रहेछ। रातमा वनविहारले हामीलाई अकल्पनीय ढंगले मोहित बनायो।
वन रहेछ कावेरी नदी किनारमा। कावेरी नदीको पानी बाँडफाँटमा कर्नाटक र तमलिनाडु राज्यको झगडा चलिरहन्छ। नदीको पानी छेक्न विशाल बाँध निर्माण गरिएको रहेछ। बाँधको ठीक विपरीत पर्खालमुनि छिपछिपे पानीमा रूखबिरूवा रहेछन्। पानीका फोहरासहितको संरचनामा रंगीचंगी बत्ती भव्य ढंगले सजाइएका थिए।
पर्यटकहरूको घुइँचो थियो। त्यो वृन्दावनका बारेमा पहिले केही पनि सुनेको थिएन। अचानक त्यहाँ पुग्दा आश्चर्यको सीमा नै रहेन। यस्तो आकर्षक र भव्य होला भन्ने सोचेकै थिइनँ। करिब दुई घण्टा बिताउँदा रातको ९ बजेको थियो।
बस चालकले हामीलाई राति नै बैंगलुरू फर्किनुपर्छ भने। फर्किँदा पनि खाना खान पहिलेकै होटलमा पुर्याए। रातको खुला सडकमा तीव्र गतिको बस यात्राबाट हामी राति ११ बजेर केही मिनटमा बैंगलुरू पुग्यौं। हाम्रो भ्रमण अत्यन्त रमणीय रह्यो।
बैंगलुरूमा हाम्रा एक जना सहकर्मी थिए जगदीश राजा। उनी सञ्चार क्षेत्रका विज्ञ र रंगकर्मी पनि थिए। हामीले एक पटक नगरकोटमा दक्षिण एसियास्तरीय सम्मेलन आयोजना गरेका थियौं, उनी पनि आएका थिए। मैले उनलाई सिन्धुपाल्चोकको विकट मानिने इचोक पुर्याएको थिएँ।
त्यही यात्राको प्रेमले होला उनले हाम्रो टोलीलाई उनी आफू पनि सदस्य रहेको बैंगलुरू क्लबमा खाजा र कफी खुवाउन लगे। हामी गयौं तर त्यो ठाउँको महत्व थाहा थिएन। सामान्य होटल सम्झेका थियौं।
त्यहाँ उनले हामीलाई निकै पुरानो र ठूलो एउटा ढड्डा देखाए। त्यो ढड्डामा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको नाम र दस्तखत रहेछ।
भारतमा बेलायती शासन चलेका समय बैंगलुरू क्लब अंग्रेजहरूको शान बनेको रहेछ। दोस्रो विश्व युद्धमा बेलायतलाई सफल नेतृत्व दिएका प्रधानमन्त्री विन्स्टन चर्चिल पनि त्यो क्लबका सदस्य बनेका रहेछन्। त्यसको भित्री सजावट र बाहिरको गल्फ मैदान हेर्दा बेलायतीहरूले भारतमा शासन मात्र गरेका होइन रहेछन्, केही उत्कृष्ट काम पनि गरेका रहेछन् जस्तो लाग्यो। बेलायती उपनिवेशबाट छुटकारा पाएपछि बैंगलुरू क्लब धनाढ्य भारतीयहरूको शान र मान बनेको रहेछ।
मेलै भारतका धेरै सहरहरू घुम्ने मौका पाएको छु। मलाई कसैले भारतको कुनै सहरमा बस्ने छनोट दियो भने म बैंगलुरू नै रोज्नेछु।
बैंगलुरू केही गर्मी ठाउँ हो तर मध्यम किसिमको हावापानी छ। त्यहाँका बासिन्दाहरू सहयोगी र मित्रवत छन्। अपराधका घटना नगण्य हुन्छन्। त्यस्तो सहरले मान्छेको मन नलोभ्याउने कुरै भएन।
हिरा विश्वकर्माका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्