धेरै समयपछि एक जना आफन्तसँग भेट भयो। उहाँको आफ्नै व्यवसाय छ, दश जना कर्मचारीलाई रोजगारी दिनुभएको छ। समाजमा उहाँको सम्मानित स्थान छ, सार्वजनिक बिदाको दिन पनि उहाँलाई भ्याइनभ्याई हुन्छ, यो वर्तमानको कुरा भयो।
यो अवस्थासम्म आइपुग्दाको कहालीलाग्दो इतिहास भने निकै विरक्तलाग्दो छ। हामी केवल वर्तमानको मूल्यांकन गर्छौं तर विगतको इतिहास बिर्सन्छौं। उहाँको कुरा सुन्दा, उहाँको अनुभव नियाल्दा यो भोगाइ धेरै पात्रको जिन्दगीसँग, भोगाइसँग मेल खाने ठानेर उजागर गर्ने कोसिस गरिएको छ।
***
आजभन्दा लगभग बाह्र वर्षअघि एक आफन्तको बिहेमा सरिक भएको थिएँ। म परिवारको कान्छो छोरा हुँ, तीन जना दाइहरूको जस्तो देखिने पेशा मेरो थिएन। जहिले, जहाँ भेटिए पनि सबैको एउटै प्रश्न हुन्थ्यो, कहाँ के गर्छस् कान्छा? सानोतिनो विजनेस गर्छु.... रेडिमेड जवाफ यही हुन्थ्यो मेरो।
तर दाइहरूको स्तर माथिल्लै दर्जाको थियो। उनीहरूसँग आफन्तको कुरा गर्ने शैली नै बेग्लै हुन्थ्यो। 'ओहो ठूलो बाबु तिम्रो त प्रोमोसन पो भएछौ है! कति चाँडो प्रगति गरेको? अहिले कुन मन्त्रालयमा पो छौ रे? तिमी त सचिव पक्का हुन्छौ भाइ। अनि माइलो, साइलो भाइहरू कता छन्? तीनै भाइ पढाइमा छुरा छौ।'
छेउमै बसेर यी तारिफका फुर्काहरू सुनिरहेको हुन्थेँ तर मलाई मतलब लाग्दैनथ्यो। सबै जनाले एउटै पेशा अंगाल्नुपर्छ भनेर कहीँ लेखेको छैन क्यारे! अनि मलाई तिनै आफन्तहरूले छेड हान्दै सुनाउँथे, 'साँच्ची कान्छा तँ कति सालको रे? मेरो छोरी र तँ एकै सालको होइन र? छोरीले त पोहोर सुब्बामा नाम निकाली, यसपालि अधिकृत हुन्छु भनेर घुँडा धसेकी छे'
मलाई भित्रभित्रै पारो तात्थ्यो, यत्रो भूमिका बाँधेर मलाई कटाक्ष हान्नुको साटो तेरो लोक सेवामा खुला प्रतियोगितामा फर्म भर्ने उमेर जान लागिसक्यो, ३५ वर्ष पुग्न आँटिस्, तेरा दाइहरूले प्रगति गरे, मेरो छोरीले पनि तैंलेभन्दा प्रगति गरी, तँ केही गर्न सकिनस् भनेको भए भइहाल्थ्यो नि!
जब उनकी छोरी र म एउटै महिनाको भन्ने थाहा रहेछ , फेरि किन तँ कति सालको रे कान्छा भन्नुपर्ने? आफैंले आफैंलाई प्रश्न गर्थेँ।
समाज र आफन्तको सोच र विचार हेर्छु अनि आफूलाई मूल्यांकन गर्छु। मेरा दाइहरू महिनाभरी अफिस गएर एकदिन तलब बुझ्छन् तर म दिनदिनै थोरै किन नहोस् पैसा चलाउन पाएको छु, कोही कसैसँग हात फैलाउन परेको छैन। तीन जना कर्मचारी राखेको छु, उनीहरूको रोजीरोटी मसँग जोडिएको छ। म स्वयम् अब्बल हुन कोसिस गर्दैछु तर समाजले दाइहरूसँग तुलना गर्छ र मलाई कमजोर बनाउन खोज्छ।
मेरा दाइहरूले लोक सेवा पढे, पास गरे, आफ्नो काम गरेका छन्। म पनि मास्टर्स पढेको छु, आफ्नै क्षमतामा विजनेस सञ्चालन गरेको छु, मेरो जिन्दगी म जसरी पनि चलाउन सक्छु नि!
म पनि फलानो मन्त्रालयको फलानो पदको नभनेसम्म समाजमा, टोल छिमेकमा इज्जत नहुने हो भने अलग कुरा नत्र म खुसी छु, म सन्तुष्ट छु भने अरूको लागि म किन फलानो पदको भइदिनुपर्ने? किन फलानो मन्त्रालयको भनेर चिनिनुपर्ने? यो प्रश्नको जवाफ पाएको छैन।
उनै आफन्तको आफ्नो भोगाइ।
'हेर बैनी जब पैसाले मलाई चिन्न थाल्यो त्यसपछि समाज, आफन्तहरूले मलाई चिन्न थालेका हुन्। दाइहरू बढुवा भए, नाम कमाए, दाम पनि कमाए, समाजले, आफन्तले सबैले चिने, सबैलाई चिनाए पनि। दाइहरूको प्रगतिमा म खुसी छु। तर दु:खको कुरा मेरो प्रगतिमा मेरा दाइहरू खुसी छैनन्। महिनामा लाखभन्दा बढी मेरो आर्जन हुँदा पनि दाइहरू आफन्तलाई सुनाउँथे रे, बेलामा लोक सेवा पढ् भन्दा कानमा तेल हालेर बस्यो, अहिलेको क्षणिक एक लाख गनेर मस्त हुन्छ। भोलिको भविष्य के देखेको छ त्यसले? म दाइहरूलाई भन्थेँ, 'भोलिको भविष्य तिमीहरूले पनि के देखेका छौ र? तलबको मात्रै भर परेको भए, साँच्चिकै इमानदार भएर कमाएको भए, तिमीहरूको जस्तो सान, मान र इज्जत अहिले छ नि त्यो सपनामा पनि हुने थिएन।
कसरी आर्जन गरेका छौ भन्ने कुरा थाहा नपाएको हो र? भन्न पो नभएको त भन्ने मन पनि लाग्छ तर भन्दिनँ त्यो अलग कुरा हो।
जागिरे दाइहरूले आफ्नै फिल्डका भाउजूहरू भित्राए, मैले सरकारी जागिर नखाएकी केटी रोजेँ, ताकी भोलि मेरो व्यवसायमा सहयोग गर्न सकोस्। भगवानले नै जोडी जुराउँछन् भन्ने हो रहेछ भने लाग्छ, श्रीमतीको र मेरो सोच ठ्याक्कै मिल्यो, मेरा हरेक निर्णयमा श्रीमतीको साथ र सहयोग हुन थाल्यो। म झन् हौसिन थालेँ। हामी व्यवसायको शाखा विस्तार गर्ने योजनामा पुग्यौं, एउटा शाखा श्रीमतीले हेर्ने अर्को मैले।
हामीले सहरको राम्रै स्थानमा जग्गा किन्यौं, घर बनायौं, पहिले तीन जना कर्मचारी भएकोमा दुई वटा शाखामा गरेर दश जना कर्मचारी राख्यौं। अब अलिअलि समाजले, आफन्तले चिन्न थालेका थिए। घरपूजामा आफन्तलाई बोलाइयो, बोलाए जतिका आफन्तहरू त आउने नै भए, नबोलाएका आफन्तहरू पनि घर सोध्दै, खोज्दै आएछन्।
यिनीहरूलाई त मैले बोलाएकै थिइनँ कसरी आए भन्ने पनि लाग्यो तर उनीहरूको कुरा अर्कै रहेछ । आफ्नै भतिजले यत्रो प्रगती गरेको सुन्दा, देख्दा कहाँ मनले मान्थ्यो र ? यही परसम्म आउने काम थियो, तैले नबोलाएपनि घर हेर्न आएको बाबु..... साईनो लगाउँदै घर भित्र बाहिर हेर्थे। धेरै जना त्यसरी आए, उनीहरूको मनसाय बुझिहालेँ।
समाजमा,परिवारमा चिनिनको लागि पैसै कमाउनुपर्ने रहेछ। हिजो तँ कति सालको रे? तँ र मेरी छोरी सँगैको हौ, मेरी छोरीले त नाम निकालिसकी भन्नेहरू आज आफ्नै भतिजको प्रगति भन्दै चेपारो घसेको देख्दा उदेक लाग्थ्यो।
पैसा कमाउनुपर्ने रहेछ हेर बैनी, गोरु बेचेको साइनो नभएकाहरू पनि तेह्रदिने दाजुभाइ बन्दै आउने रहेछन्, मेरो जिन्दगीको सबैभन्दा ठूलो भोगाइ यही हो। बाआमालाई मेरो ठूलो पिर थियो, यसले केही गरी खाने भएन, यसको के कमाइ छ र? योसँग कहाँ बस्न सकिन्छ? हामीलाई कसरी पाल्न सक्ला? यस्तै यस्तै।
तर अहिले तीनै बाआमा कान्छाको घर फराकिलो छ, सबैतिरबाट घाम आउँछ, घरमा तातोचिसो पानीको सुविधा छ, हामीलाई यतै सहज हुन्छ भन्छन्। रगतको नाता पनि पैसाको भोको हुने रहेछ भन्ने आफ्नै बाआमा देखेर थाहा पाएँ।
आफ्ना बाआमा त सन्तानको लागि सबैभन्दा प्रिय हुन्छन्, सबैभन्दा नजिकका हुन्छन्, उनीहरूको माया निस्वार्थ हुन्छ भनिन्छ। तर वास्तवमा त्यो होइन रहेछ मेरो साँचो भोगाइले गलत सावित गरिदियो।
जिउँदो भगवान मानिएका बाआमा पनि पैसा कमाउने छोरा र नकमाउने छोराको तुलना गर्ने रहेछन्। हैसियत हुने र नहुने छोराको तुलना गर्ने रहेछन्। आफ्नै कोखबाट जन्मिएका सन्तान बेग्ला बेग्लै प्रतिभा लिएर जन्मिएका छन् भन्ने कुरा बाआमाले नै भेउ नपाउने रहेछन्।
दाइले जे गर्यो भाइले त्यही गरोस् भन्ने चाहना हुने रहेछ। बाआमाको सकारात्मक सोचलाई सधैं सम्मान गर्छु तर आफ्नै छोराको हैसियतको, औकातको मापन गरेर किन तुलना गरिन्छ? अरूको अगाडि आफ्ना छोराको तुलना गरेर माथि चढाउने र तल खसाल्ने काम बाआमाले किन गर्छन्? आफ्नै सन्तानलाई होलोहोचोको भाव किन गरिन्छ? बाआमाले यस्तो व्यवहार गरेपछि समाज, आफन्त भनेका त त्यसै पनि स्वार्थको, पदको झुन्डमा लोलोपोतो गर्ने पात्र न हुन्, उनीहरू त्यसै गरिहाल्छन् नि होइन र? केही गरिखाँदैन भन्नुको साटो भगवानले स्वस्थ शरीर दिएका छन्, आफ्नो ज्यान जे गरेर भए पनि पाल्छ भन्ने हिम्मत बाआमाको मुखबाट ननिस्कनु दुर्भाग्यको कुरा हो।
सृष्टिकर्ताले सृष्टि गरिदिएपछि पालन, पोषण पनि गर्छन् होला, केही गरी खा भनेर बाटो पनि त अवश्य देखाइदिन्छन् होलान नि होइन र?
***
यी आफन्तको भोगाइ केवल एक पात्रको भोगाइ होइन, यस्ता हजारौं लाखौं पात्र हाम्रै समाजमा छन् जो नाम, दाम नकमाउन्जेलसम्म गुपचुप हुन्छन्, उनीहरूलाई कसैले चिन्दैन तर जब उनीहरूको पद, प्रतिष्ठा र आर्थिक प्रगति हुन्छ त्यसपछि असली औकातको सुरूआत हुन्छ।
कुनै साइनो सम्बन्ध नभएकाहरू पनि नाता गाँस्दै नजिकिन पुग्छन्। कहिल्यै फोन नगर्नेहरू फोन गरेर बधाई दिन्छन्। कुनै दिन भेटघाट नभएकाहरू भेटघाट गर्न आतुर हुन्छन्। यसले के गरिखान्छ भन्नेहरू? फलानो त चिनेको छैन भन्नेहरू अनेकतिरका साइनो लगाएर नजिक हुन पुग्छन्, यो साझा भोगाइ हो।
एक जना दिदीले सुनाउनु भएको थियो, 'तेरो भिनाजु बेलैमा बिते नानी, छोराछोरी सानै थिए। कोदो पैँचो माग्दा पनि गाउँ समाजले पत्याएनन्। विधुवालाई देखेपछि साइत बिग्रन्छ भनेर म हिँडेको बाटो काटेर हिँडे तर समयले कोल्टे फेर्दो रहेछ नानी, आज मेरा तीन वटै छोरा विदेशमा छन्। हिजो पाँच सय सापटी नदिनेहरू, एकपाथी कोदो पैँचो माग्दा नपत्याउनेहरू आज छोरा छोरी बाहिर पठाउन लागेको, बैंकमा ब्यालेसन देखाउनुपर्ने रहेछ एक महिनाको लागि छोरालाई भनेर यति रकम डिपोजिट गर्देऊ न भन्न आउँछन्। यो समयको खेल हो वा पैसाको खेल हो?
समाजले मलाई पत्याउने भए त हिजो पनि पत्याउनुपथ्र्यो नि, यतिको उमेरदारी छ, तीन छोरा छन् बाउ पो बेलैमा बिते, भोलि यिनै छोराहरू ठूला हुन्छन्, कमाउँछन् भन्ने चेत किन नआएको होला?
हाम्रो एकपाथी कोदो, पाँचसय पैसा फिर्ता गर्छे भन्ने भरोसा धरी गर्न सकेनन्। हिजो मलाई देख्दा साइत बिग्रिन्छ भन्नेहरू तिम्रो छोराजस्तै मेरो छोरा बनोस् भनेर आशीर्वाद देऊ न भन्न आउँछन्।
बाउ बिते पनि मेरा छोराले बाउको इज्जत राखे, इमानमा बसे, पढे, पैसा कमाए, घरघडेरी जोडे, हाम्रो लागि बुवा पनि आमा पनि तपाईं भन्छन्, आजसम्म चित्त दुखाएका छैनन्। समाजमा टुहुराले पनि यस्तो प्रगति गर्ने रहेछन् भन्ने उदाहरण बने।
हिजो बुवाको काजकिरिया गर्दा कुर्ने मान्छेसम्म आउँदैनथे तर आज मेरा छोरा विदेशबाट आउनुपर्छ, मेरो छोरा पनि विदेश जाने भनेको छ, कति लाग्दो रहेछ? काम कस्तो पाइन्छ? तिमीहरू पुराना भयौ सबैकुरा थाहा छ, भाइहरूको पनि बन्दोबस्त गर, तिमीहरू जस्तै बनाऔ भन्नेहरूको लर्को हुन्छ।
समाजले दु:ख परेको बेलामा साथ दिने भए, आफन्तले आपत परेको बेलामा हेर्ने भए तीस वर्षको उमेरमा श्रीमान गुमाउने म, बालखैमा टुहुरा भएका मेरा छोराहरूप्रति सदभाव राख्थे होला तर साँचो कुरा त्यो होइन।
आज समय बदलियो, छोराहरू सबल भए, कमाए, समाजका गन्नेमान्नेहरूको भन्दा माथिल्लो आर्थिक हैसियत बनाए, आज कसैसँग हात फैलाएर सापटी माग्नुपर्दैन त्यसपछि सबैले चिन्छन्, सबैले साइनो लाउँछन्। पैसा मात्रै कमाउनुपर्ने रहेछ नानी, नाता सम्बन्ध त बर्खामा च्याउ पलाए जसरी पलाउने रहेछन्।
यी भोगाइ मेल खाने पात्र समाजमा कति छौं होला?