बुढापाकाले भन्ने गर्छन्, हतियारको चोट एकपटक मात्रै दुख्छ तर वचनको चोट बारबार दुख्छ।
सायद वचनको चोट तरबारको भन्दा पनि धारिलो हुने भएरै यसो भनिएको होला।
एकचोटि हतियारबाट फुस्किएको गोली र मुखरूपी हतियारबाट फुस्किएको बोली फिर्ता ल्याउन कठिन हुन्छ। कतिपय अवस्थामा हामीले सामान्य ठानेर बोलिएका बोली वचनका शब्द वाण पनि विशालु बन्न सक्छन्।
केही समयअघि एउटा आलेख पढेकी थिएँ, त्यहाँ लेखिएको थियो- हे भगवान शत्रुको सामना म आफैं गर्न सक्छु तर मलाई मेरा आफन्तबाट मात्रै जोगाइदेऊ भनेर।
तपाईं हाम्रो बारेमा सबभन्दा बढी कुरा कसलाई थाहा हुन्छ? हाम्रा आफन्त, नातागोता र परिवार भित्रका सीमित व्यक्तिहरूलाई मात्रै हो नि होइन र? कोसौं दूरका मानिसहरू हाम्रो बारेमा खानतलासी गर्न पक्कै आउँदैनन्, जति थाहा हुन्छ आफ्ना भनिएकाहरूलाई नै थाहा हुन्छ। जति खतरा छ, आफ्ना भनिएकाहरूबाटै छ। जति अपमान सहनुपर्छ, तिनै आफ्ना भनिएकाहरूबाटै सहनु पर्छ।
केही उदाहरण हेरौं।
पात्र १:
एक जना दाइ परिवारमा अन्य दाजुभाइको तुलनामा कमजोर थिए। उनको पढाइ राम्रो थिएन, कमाइ राम्रो थिएन। अन्य दाजुभाइको तुलनामा ती दाजु कमजोर थिए। चार जना दाजुभाइमध्ये जहिले पनि तुलना तिनै कमजोर दाइसँग हुन्थ्यो रे।
कोही आफन्त आउँदा, कोही आफन्तको बिहे, ब्रतबन्ध, पूजाआजामा जाँदा वा घरमा कुनै शुभ कार्यको आयोजना गर्दा हरेक पटकको टार्गेट तिनै दाजु हुँदा रहेछन्। अरू बेलामा त सुन्न विवश हुन्थे नै, खाना खाने बेलामा समेत बाआमाले नै घोचीघोची वचन लाउँदा एकदिन धन्दै आत्महत्या गर्न पुगेछन्। ती दाजुको बहिनीले गुनासो सुनाइन्। अरूले त वचन लाउँछन् नै कमजोर भएपछि आफ्नै बाआमाको पनि तारो बनिने रहेछ भन्ने उदाहरण हुन् यी दाजु।
'परिवारमा कोही कमजोर छ भने त उसलाई अरूले साथ सहयोग पो गर्ने हो तर मेरो माइतीमा सबैले त्यही दाइलाई टोक्छन्। कुन बेला के गर्छन् दाइले भन्ने लागेको थियो, एकदिन विष खाएर धन्नै मरेछन्। पल्ला घरकी काकीले आँगनमा ढलेको देखेर कराउँदा पो बेलैमा अस्पताल पुर्याइयो र दाइ बाँचे। आमा बालाई कति सम्झाउँछु केही सीप लाग्दैन, भगवानले केही न केही गरेर खाने हातगोडा दिएका छन्, केही न केही गरेर खान्छन् केही नभन्नु, पटकपटक एउटै कुरा नभन्नु भन्छु मेरो कुरा पत्याउँदैनन्। त्यही कुरा एक्लै भन्नु र आफन्तको सामुन्ने भन्नुमा धेरै अन्तर हुन्छ। दाइ डिप्रेसनमा छन्, सधैं घोरिएर बस्छन्,' ती बहिनीले सुनाएकी थिइन्।
'घरको टर्चर सहन नसकेर विदेश पनि गए तर विदेशमा पनि रूखमा पैसा फल्ने होइन रहेछ राम्रो कमाइ हुन सकेन। तीन वर्ष विदेश बसेर फर्के। विदेशबाट फर्केपछि बिहे गरे। घरबार राम्रोसँग चलेको थियो। बाआमा कान्छो दाइसँग हुनुहुन्थ्यो,अरू दुई जना दाइ अलग्गै हुनुहुन्थ्यो। साइलो दाइले बिहेपछि पनि सुख पाएनन्। भाउजूलाई आफन्तले अनेक कुरा सुनाउन थालेछन्।
तेरो लोग्ने यस्तो, धन्न विष खाएर मरेको, अरू दाइहरूले त्यत्रो प्रगति गरे। तेरो लोग्नेले केही गर्न सकेन। पढ्न सकेन, जागिर खान सकेन, विदेश गएर पनि कमाउन सकेन। यस्तासँग घरबार किन जोडेकी? मेरा दाइ कस्ता हुन् भन्ने कुरा मेरै घरभित्रका, मेरा दाइसँग निकटतम सम्बन्ध भएकाहरूले नै भाउजूलाई उचाले र दाइलाई नराम्रो बनाए।
अर्काको घर गएकी बहिनीले सम्झाएर के हुन्छ र? मैले बाआमालाई सम्झाएँ, अरू दाइ भाउजूहरूलाई सम्झाएँ तर साइँलो दाइको खेदो खन्न कसैले बाँकी राखेनन्। अन्तत: दाइ दीर्घरोगी बने। अहिले दाइ जिउँदो त छन् तर चेतबिनाको। मार्नको लागि हतियार चाहिँदैन, मुखले छुरा रोपेपछि तड्पिएर विस्तारै विस्तारै मरेतुल्य हुनेरहेछ,' बहिनीले रूँदै सुनाएकी थिइन्।
यो त एउटा उदाहरण हो यस्ता पात्र हाम्रो घरमा, समाजमा बग्रेल्ती भेटिन्छन्।
पात्र २:
नन्दआमाजू हाबी भएको घरमा बुहारी भाउजूले खप्नुपर्ने मानसिक तनावको आर्तनाद। भाउजू, बुहारी पनि हामीजस्तै छोरी हुन् भन्ने आभाष जुन परिवारका नन्दआमाजूमा हुँदैन ती घरका भाउजू बुहारीमाथिको अत्याचार बारम्बार दोहोरिन्छ। अझ छोरीका कुरा सुन्ने सासूआमा हुनुपर्छ, बुहारीहरूलाई अर्को लोक पर्खिनुपर्दैन, यही लोकमै सर्वस्व भोग्न तयार पारिन्छ।
बारम्बार अनेक कुरामा खोट देखाउन थाल्ने, कुनै काममा जस नदिने, दाइजोको तुलना गर्ने, कमाउने र नकमाउने बुहारी छन् भने नकमाउने बुहारीको तुलना कमाउने बुहारीसँग बारम्बार गरिरहने। छोरी पाउने बुहारीलाई छोरा पाउने बुहारीसँग बारम्बार दाँज्ने नन्दआमाजू, सासूआमाहरू यही समाजमा देखिएको छ।
पात्र ३:
घरको छोरो, श्रीमान, बाबा इमानदार हुनुपर्छ, अर्को दुई नम्बरी धन्दा गर्ने उस्तै अर्काको छोरो, श्रीमान, बाबा हुनुपर्छ। छोराछोरीले त्यही कमाउने बाबासँग आफ्नो बाबाको तुलना गर्छन्। बाआमाले त्यही कमाउने छोरासँग आफ्नो छोराको तुलना गर्छन् अनि श्रीमतीले त्यही कमाउने श्रीमानसँग आफ्नो श्रीमानको तुलना गर्न सुरू गर्छिन्। समान पदमा भएर उसले त्यति प्रगति गर्दा तिमीले गर्न नसक्ने? उसको त्यत्रो फूर्तिफार्ती हुँदा तिमी मात्रै इमानदार र सोझो कर्मचारी भइरहनुपर्ने? उसका श्रीमतीले कार फेरिरँदा मैले हार पनि फेर्न नपाउने? चाडबाडमा उसको घरमा त्यस्तो रमाइलो हुँदा हाम्रो घरमा केही नहुने!
यस्ता उसको र यसको तुलना जसरी बारम्बार गर्न थालिन्छ नि या त त्यो इमानदार छोरो, श्रीमान, बाबा आफ्नो इमानबाट च्यूत बन्नुपर्छ। परिवारको दबाबलाई सम्बोधन गर्नका लागि मानसिक रोगको शिकार बन्नुपर्छ। भोलि जेसुकै होस् त्यसको परवाह छैन तर म पैसा कमाएर परिवारलाई खुसी पार्छु भन्नेतिर मात्रै ध्यान केन्द्रित गर्नतिर लाग्छ।
यस्ता बग्रेल्ती उदाहरण हाम्रै घरपरिवार, टोल छिमेकमा छन्।
आम मान्छेले अभाव सहन सक्छ, संकट सहन सक्छ तर आत्म स्वाभिमानका आँच आउने व्यवहार सहन सक्दैन। त्यसैले आत्मसम्मानका साथ बाँचौं, आफू मात्रै बाँच्ने होइन अरूलाई पनि बाँच्ने माहोलको सृजना गरौं।
कुनै समयको हिट लोकगीतमा त्यसै भनिएको होइन रहेछ, रूखो वचन नबोल निरमाया वचनको घाउ निको हुँदैन। शत्रुको सामना जसरी पनि गरौंला भगवान बस् विषालु आफन्तहरूबाट भने जोगाइदेऊ!