यो घटना चीनको हो – भर्खरैको। एउटा अन्तर्राष्ट्रिय शैक्षिक भेलामा सहभागी हुने क्रममा म हबे प्रान्तको स्रिच्याच्वाङ सहरमा थिएँ, प्रान्तको राजधानी सहर।
एक साँझको भोजनका लागि हामीहरू अलग–अलग अभिभावकहरूको निम्तो मानिदिन जानुपर्ने कार्यक्रम रहेछ।
मलाई पनि एकजोडी कलिला विद्यार्थी र उनका बाबुले लगे सहरभन्दा निकै पर, अति रमणीय च्रङतिङ सहरमा।
पक्कै पनि सहर नै भन्नुपर्ने होला किनकि उनीहरूसँग गहिराइमा कुरा गर्न भाषा दह्रैसँग बाधक बनिरहेको थियो। तै पनि ती विद्यार्थीहरूले केही सजिलो पारिदिएका थिए। उनीहरूलाई थोरैथोरै अङ्ग्रेजी आउँदो रहेछ। बुबा चाहिँ मुस्कुराई मात्र रहन्थे। साँझ परेपछि बत्तीको चामत्कारिक दृश्य देख्न पाइँदो रहेछ। विश्व प्रख्यात ‘ग्रेट वाल अफ चाइना’ जस्तै पर्खाल त त्यहाँ पनि रहेछ। झन् फराकिलो अनि समतल। रातिको समयमा भएकाले धेरै टाढासम्म त्यसलाई देखिनँ तर जति हिँडेँ, देखेँ त्यतिसम्म असाध्यै रमाइलो लाग्यो। नानजिङमा पनि हिँडेका थियौं यस्तै पर्खालमाथि। यो तेस्रो अनुभव थियो। सायद यी दुवै सहरका पर्खालहरू लम्बाइमा छोटा र चढ्नलाई सजिला भएर होला यिनको ख्याति यतिमै सीमित रहेछ।
यो कुनै नियात्राको आरम्भ होइन।
मैले आतिथ्य ग्रहण गरिदिनुपर्ने दुई जना बालक थिए– बाह्र वर्ष जतिका। कलिला अनि स्निग्ध। म जे पनि भन्थेँ, त्यसलाई बुझ्न होस् वा प्रमाणीकरण गर्न होस्, चिनियाँ भाषामा पाइ तु (गुगलजस्तै) गरेर हेरिहाल्थे। कुरैपिच्छे ‘हो’ वा ‘होइन’ भनिदिन उनका हातमा मोबाइल थियो। मलाई लाग्थ्यो, मप्रति उनीहरूको रत्तिभर भरोसा थिएन। मैले आफ्नो देश नेपाल भएको र चीनको छिमेकी मुलुक भनेर ज्ञान थपिदिएँ, उनीहरूले पाइ तु गरिहाले। मैले अरनिको, सेतो गुम्बा (ह्वाइट प्यागोडा), भृकुटीका वर्णन गरेर नेपाल र चीनको ऐतिहासिक सम्बन्ध बुझाउन चाहेँ। उनीहरूले फेरि नपत्याएको भावमा पाइ तु गर्न थालिहाले। दशकौंदेखिको गुरू, हजारौं विद्यार्थी तारिसकेको गुरू, म त के गुरू! पाइ तु गुरूले लालमोहर नलगाई हाम्रो वार्ता सरासरी अगाडि नबढ्ने भयो। म उनीहरूको निर्मल बालापन र पाइ तु गुरूमाथिको भरोसा देखेर सोचमग्न भएँ। मेरो ध्यान सर्लक्कै नेपालतिर फर्कियो।
मैले उनीहरूजस्तै ती कलिला अनुहारहरूलाई सम्झेँ, जो मेरा घरमा हुन सक्छन्, कक्षाकोठामा हुन सक्छन्, समाजमा हुन सक्छन् .... जता पनि हुन सक्छन् यी।
यिनीहरू पनि गुगल, च्याट जिपिटी, आर्टिफिसियल इन्टेलिजेन्स आदि आदिका भोक्ता। मेरा यी शब्दहरू पुराना हुँदै जाँदा निर्माण (आविष्कार ?) हुनेछन् अरू के के थरीथरी झन् नयाँ, झन् विचित्रका? अनि म ‘फोसिल’ हुने छु यिनकै सामुन्ने। जेनेरेसन ग्याप। पुस्ता पुस्ता बीचको यस्तो ग्याप, जहाँबाट ज्ञान निर्माणको कुनै विधि प्रसार हुन सक्दैन उतासम्म। भ्याकुम फ्लास्क। जीवाश्म भैसके गुरूहरू, बुज्रुकहरू अनि आफ्नै बाबुआमाहरू।
बाबुलाई इसारा गर्दै भन्छ, 'बुढालाई के आउँछ यार?'
बाल्यकालमा ‘सुपर हिरो’ लाग्ने त्यो बाबुलाई ‘पिगिब्याक’ दिन आउँछ, औंलाको सहारा दिन आउँछ, आफूलाई बन्धकी राखेर सन्तानको खाँचो किन्न आउँछ। आमालाई सबै कठोरताहरू सुम्सुम्याएर भुवाझैं मुलायम बनाउन आउँछ।
हामी जब पछाडि फर्केर हेर्छौं, आफैंले गुजारेको लामो समयको स्मृतिरेखा देख्छौं। किनकि त्यो स्वयंले भोगेर कोरिएको रेखा हो। त्यो बिन्दुपथमा पुर्खाका सौर्यगाथा भेटिए, खर्पनभरि बोकाइएका संस्कारका भारी भेटिए, रीतिरिवाज र मानमर्यादाका पारम्परिक संविधान भेटिए। यिनीहरूको भोगाइको यात्रा चिह्न संक्षिप्त छ, छोटो। यिनको ज्ञान छोटो छ, अल्लारे छ, अलिअलि उच्छृङ्खल छ। यिनको बुझाइ पुड्को छ। यिनका भ्रमित विश्वास र उडन्ते रहर मात्रै विशाल छन्– उनैले नापेका आकाश जत्रा।
उत्तरआधुनिक विज्ञानको बलिष्ठ पासोमा परेको अहिलेको ‘टेक स्यावी’ पुस्ताले गरोस् पनि के बरा? खल्तीमा विश्व छ। झिकेर हत्केलामा अड्याउँछ र औंलाका टुप्पाले ब्रह्माण्ड नचाउँछ। उसको सम्पूर्ण भरोसा त्यहीँभित्र डुबेको छ। हुन त उसले आर्किमिडिजको प्रिन्सिपल पढेको छ, न्युटनका गतिका नियमहरू पढेको छ, डार्बिनको विकासवादी सिद्धान्त पढेको छ, आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त पढेको छ, पाइथागोरस र ग्यालिलियोलाई पढेको छ। धेरै नबुझे पनि परीक्षाका खातिर केही हरफ घोकेको छ। तर पनि उसलाई लाग्छ विज्ञानको ‘क्लाइमेक्स’ उसले मात्रै बुझेको छ।
हवाईजहाज र रकेट कसरी उड्छन्? बम किन पड्किन्छ? अजङ्गको पानीजहाज किन तैरिन्छ? जून आकासबाट उप्किएर भुइँमा किन झर्दैन? त्यो उसैले धेरै जानेको छ। किनकि उसको हातमा गुगल गुरू छ। कक्षाकोठाका गुरूहरू त म्याद गुज्रिएका औषधीझैं निरर्थक लाग्छ उसलाई। न्युटन र डार्बिनहरू पनि सिनेमाका पात्रहरू झैं लाग्छ उसलाई – सबथोक बकवास!
यसभन्दा पहिले मानौं फगत् एक निस्पृह समय थियो जहाँ कुनै गति थिएन। जड र अर्धचेत समयको निस्पन्दनबाट बनेको ऊ पहिलो कञ्चन समय हो। उसलाई लाग्छ यो अति आधुनिक युगको आरम्भ उसकै पालादेखि मात्रै भएको हो। उसकै चेतनासित बल्ल नयाँ युगीन चेतनाको प्रादुर्भाव हुँदैछ। डार्बिनको पहिलो पूर्ण मानव नै उही हो।
के लाग्दो हो उसलाई? रम्भा, उर्वशी, मेनका.... चाणक्य, चरक, याज्ञवल्क्य, गार्गी.... जनक र जानकी.... यी ‘फेरी टेल्स’ हुन्? एसपका कथा ? मधुमालती र पञ्चतन्त्रका कथा? वेदव्यास रेल्वे स्टेसन हुँदो बेचिने कुनै जासुसी उपन्यासका रचयिता हुन्? सेक्सपियर, किट्स, टोल्सटोयदेखि देवकोटाहरूलाई पढाउने मास्टरलाई देख्दा लाग्दो हो– इतिहासका पानामा अटाउन नसकेर धर्तीमै छुटेको पात्र। यति स्पष्ट विभाजित छ पुस्ता– मानौं त्यो महाभूकम्पद्वारा निर्मित विशाल चिरा हो। न तर्न सकिन्छ, न पुर्न।
आनुवंशिक विज्ञानलाई झुटो भन्न मिल्ने भए यी भन्दा हुन्– मेरा यी बाउ, बाजे, बराजु सबै दिव्य पुराना मूर्तिहरू हुन् जसलाई आस्थाको एउटा धूप सल्काइदिए पुग्छ, बिहान बेलुकी। ऊ त कम्प्युटरको पर्दाबाट फुत्त निस्किएको छवि हो, जादूगरले रूमालले ढाकेर टिनको टोकरीबाट निकालेको मायावी मान्छे। पूर्ण चन्द्रझैं झलमलाउँदी तसलाबाट निस्किएकी गोमा नाम गरेकी बालिका।
मलाई लाग्छ – एकदिन ऊ वैदिक कालमा रचिएका संस्कृतका श्लोकहरूका कुरा गर्ने छ। रामायण, महाभारत, त्रिपिटक, बाइबल, कुरानका पात्रहरूलाई आदर्श व्यक्ति ठान्ने छ। मिश्रको सभ्यता, मेसोपोटामिया, बेबिलोन, युनानी सभ्यता वा सिन्धुघाटीको सभ्यताको पुनः उत्खनन गर्न थाल्ने छ। उसले आदिमानव ठानेका पूर्वजहरूले विकास गरेको खगोल शास्त्रको रहस्य जान्न व्याकुल हुने छ।
अहिले उसलाई लाग्दै छ, उसका अग्रजहरूमा ‘ड्रेस सेन्स ‘छैन, ‘कल्चरल एटिकेट’ छैन, ‘इटिङ म्यानर’ छैन। बिचरा के गरोस्? उसको कलिलो मस्तिष्कले उत्तरआधुनिक सभ्यताको आदि मानव आफैंलाई ठान्छ। कक्षाकोठामा छिरेँ, गुरूले ऐतिहासिक चैत्य, गुम्बा, मठ मन्दिर, कला र कालिगढी बुझाउँदै हुनुहुँदो रहेछ। उनलाई लाग्दो हो, भर्खरै त हो विज्ञानको आरम्भ भएको।
हाम्रा पुर्खाहरू त विज्ञानरहित समयमा बाँचेका थिए, न उड्न जानेका, न गुड्न जानेका। तर पनि यो कस्तो कला कौशल हो, फलतः यी कलाकृतिहरू सदियौंदेखि जीवित प्रतिमा बनेर ठडिएका छन्?
अहिले ऊ अग्रजहरूका भीडबाट अलग्गिएको, नाता चुँडिएको नवपुस्ता बनेको छ। उसको भ्रमको क्लाइमेक्समा छ ऊ। नाता चुँडिँदा अरू के के चुँडिन सक्छन्? नाता चुँडिनु भनेको समय चुँडिनु हो। समय नै चुँडियो भने धेरै वटा युगका कथाहरू, विकासक्रमका कथाहरू, इतिहासले जतन गरेर राखेका गाथाहरू सबै एउटा अँध्यारो गुफामा विलुप्त हुने छन् वा जलकुम्भी झारले घपक्क ढाकेर पुर्याइदिने छन् तलाउको पीँधमा। एउटा समयले अर्को समयको अस्तित्वमाथि धावा बोल्ने छ।
उसले बुझ्न सक्नुपर्छ, र हामीले बुझाउन पनि सक्नुपर्छ कि एक क्षण पनि इन्टरनेट नहुँदा हाम्रा इन्द्रियहरू निष्क्रिय हुने यो डिजिटल युगको आरम्भले मानव संसारमा ल्याउने दीर्घ परिवर्तन कति महत्वपूर्ण होला जति आगोको आविष्कारपछि मानिसहरू बहुपाषाणिक वा पूरा–पाषाणकाल (पोलिलिथिक) बाट उत्रिएर ‘होमो सेपियन्स’ मा परिणत भए?
आगोकै कारण ग्रिसेली पात्र प्रमिथस मानव सभ्यताका बाहक बने, मानव कल्याणको नायक बने। त्यही आगोले मान्छेले पाकेको पौष्टिक भोजन खान सिके, समूहमा रहेर सामाजिक व्यवहारको विकास गर्न सिके, संज्ञानात्मक विकासको आरम्भ गरे। के अक्षरको आरम्भ कम महत्वपूर्ण थियो जसका सहाराले मान्छेले अभिव्यक्त हुन सिक्यो? चिन्तनशील बन्यो?
विज्ञान हिजो पनि थियो, कतै प्रकट भएको अनि कतै गुप्त रहेको। मान्छे बाठो प्राणी। हमेसा खोजिरह्यो अब नयाँ के हुन्छ? ज्ञान जति खने पनि नटुङ्गिने रहेछ, पीपलका जरा पहिल्याए झैं। ज्ञानको न आरम्भ थियो, न अन्त्य। हरेकचोटि हामी नयाँ मोड भेट्छौं, तर जति मोडिए पनि अर्को नयाँ मोडले पर्खिरहेको हुनेछ। आजको अर्वाचीन सभ्यता र विकासको जुन वृक्षको टुप्पामा हामी छौं, त्यो वृक्ष प्राचीन, सनातनी जराहरूकै बलमा ठडिएको छ। जरा चुँडिँदा वृक्ष ढल्छ। नदीले हिमालसँग साइनो चुँड्यायो भने हिमाल त अटल रहन्छ तर नदीको गोरेटो पनि मेटिन्छ।
तन्नेरी भएपछि म फेरि भेट्न पाऊँ ती चिनियाँ जोडी बालकलाई, त्यहीँ त्यसैगरी। झलमल्ल प्रकाशमय च्रङतिङ सहरमा।
***
(लेखक लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्।)
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)