नेपालमा छाताको चलन आउनुअघि घुमको प्रचलन थियो र घुमको प्रयोग अहिले पनि ग्रामीण भेगमा आक्कलझुक्कल देख्न सकिन्छ। नेपाली शब्दकोशअनुसार घुमलाई स्याखु पनि भनिन्छ। राप्ती भेगतिर भने स्याखुलाई सेउँ भनिन्छ जुन चोयाबाट बनाइएको हुन्छ।
पुतलीको दुई पखेटा जोडिएको आकारमा अर्थात् दुई पाखे स्वरूपमा बनाइने घुम वा स्याखुको भित्री भागमा मालुको वा सालका पातहरू नखुम्च्याई मिलाएर राखिन्छ। पछिल्लो समय घुम वा सेउँभित्र मालुका वा सालको पातको सट्टा प्लास्टिक कागज पनि राख्ने गरिन्छ। खेतमा धान रोप्दा आकाशको पानीबाट सजिलोसँग जोगिन घुम ओढ्ने चलन पहिल्यै देखिको हो।
मानिस भएर जन्म लिएपछि उसले बाल्यकालदेखिका घटनाहरू कुनै बिर्सिन्छ र कुनै सम्झिन्छ। यो मानवीय स्वभाव नै हो र प्राकृतिक नियम पनि हो। अहिलेको समयमा मोबाइल हराउनु जस्तै त्यति बेला छाता हराउनु पनि थियो। पानी परेका बखत काम परेर छाता ओढेर कतै गएपछि काम सकेर आउँदा पानी नपरेको अवस्थामा छाता छोडेर आउने गरिन्थ्यो र अहिले पनि छोड्ने वा बिर्सने गरिन्छ।
कहिलेकाहीँ मान्छेको होस त हराउँछ भने वस्तुहरूको झन् के कुरा?
बर्सादीको प्रयोग
हाम्रो गाउँतिर कसै कसैले भारतबाट प्लास्टिकका पातला खालका बर्सादी पनि ल्याउँथे र बर्खामा प्रयोग गर्दथे। कसै कसैले कालो वा निलो रङको त कसैले सेतो पारदर्शी खालको बर्सादी ओढ्दथे। छाता, बर्सादी, घुम नबोकेको अवस्थामा अपर्झट पानी पर्दा कसै कसैले कर्कलाका ठुला खालका पातहरू पनि ओढ्ने गर्दथे। कतिपय महिलाहरूले घाँसपात गर्दा वा मेलामा जाँदा टाउकोमा रुमालले ढाकेर पनि गर्मी छल्ने प्रयास गर्दथे।
ठुलो पानी नछेक्ने छाता
भारतमा बनेका कपडाका कतिपय छाताले ठुलो पानी छेक्दैनथ्यो। आकाशबाट बर्सिएर छातामाथि ठोक्किएका ठुला थोपा मसिना छिटाहरूमा परिणत भएर छाताको मुनी छिर्ने र छाता ओढ्ने मान्छे बिस्तारै भिज्ने गर्दथे।
वेतका डन्डी भएका छाता
गाउँघरमा रहँदा वेतको डन्डी भएका छाताहरू पनि ओढ्ने काम भए। हातले समाउने भागको टुप्पोलाई अङ्ग्रेजी अक्षरको सी आकारमा अङ्कुसे बनाइएको हुन्थ्यो। डन्डीको घुम्रिएको ठाउँमा कालो दाग बसेको देखिन्थ्यो।
थोत्रा छाताका डन्डीमा सलाईको बारुद भर्ने काम
घरमा रहेका थोत्रा छाताको डन्डीलाई हामी खेल्ने कामका लागि उपयोग गर्दथ्यौँ। साथै बिग्रेको छाताको करङ घरायसी कुनै काममा उपयोग हुन्थ्यो। हामी किशोरावस्थामा छाताको स्टिलको डन्डीभित्र सलाईको काँटीबाट बारुद झिकेर भर्थ्यौँ र एकातिरबाट आगो सल्काउँदा अर्कोतिरबाट ऊर्जाका साथ आगोको ज्वाला बाहिर निकाल्ने काम गरेका थियौँ एक दुई पटक। अहिले सम्झँदा त्यस्तो जोखिमपूर्ण काम गर्नुहुँदैन रहेछ भन्ने लाग्छ। किन कि आगोसँग खेल्नु भनेको नोक्सानी हुनसक्ने कार्य हो।
कान्छा बुवाले बनाउनुभएको सेतो छाता
२०३७ सालमा हाम्रा बाजे गजाधर बित्नुभएपछि पिताजी, माइला बा र कान्छा बाले बर्खी बार्दा लगाएका सेता लुगाको सम्झना अझै आउँछ। कान्छा बुवाले छाता पनि सेतो नै ओढ्ने गर्नुहुन्थ्यो। आफैले छाताको कालो कपडा झिकेर त्यसमा सेतो कपडा जडान गरेर सेता छाता बनाउनुभएको थियो। अहिले सम्झँदा लाग्छ त्यो उहाँमा देखिने एक किसिमको कला नै थियो।
‘मुगल ए आजम’ छाता
हामीहरूले किशोरावस्थामा ओढिने छाताहरूमा कुनैको ट्रेडमार्क के हुन्थ्यो त कुनैको के। भारतमा उत्पादित केही छाताहरूको भित्री भागमा कम्पनीको नाम सहित ट्रेडमार्क पनि उल्लेख भएको पाइन्थ्यो। अहिले कुनै पनि छातामा त्यसरी ट्रेडमार्क उल्लेख गरेको पाइँदैन। बाहिरी खोलमा वा ट्यागमा छाताको ट्रेडमार्क उल्लेख गरेको पाइन्छ। हामीले ओढ्ने गरेको एउटा छाताको भित्री भागमा मुगल ए आजम लेखिएको मलाई अहिले पनि सम्झना छ। काठमाडौँ आइसकेपछि ‘मुगल ए आजम’ एक हिन्दी सिनेमाको नाम रहेछ भन्ने कुरा थाहा भयो।
अटोमेटिक छाता देखेपछि हामी छक्क
गाउँमा हामीहरूले ओढ्ने गरेका भारतीय छातासँग मात्र परिचित थियौँ। पछि दाङमा चल्ने गरेका केही पसलहरूले नेशनल ट्रेनिङ लिमिटेडले आयात गरेका चाइनिज छाता पनि बिक्रीमा राख्ने गरेका कारण कसै कसैले गाउँमा नाइलनको कपडाबाट बनेका चाइनिज अटोमेटिक छाता ल्याएका हुन्थे। छाताको अङ्कुसे जोडिएको ठाउँसँगै एउटा बटन हुन्थ्यो। त्यो बटन थिचेपछि छाता भ्याट्ट गर्दै आफै खुल्थ्यो। त्यसरी बटन थिचेर छाता खोलेको देखेर हामी छक्क पर्थ्यौँ।
फोल्डिङ छाता
काठमाडौँ आएपछि मात्र मैले फोल्डिङ छाता पहिलो पटक देखेको हुँ। धेरैजसो डबल फोल्डिङ छाता पाउने काठमाडौँमा कता कतै ट्रिपल फोल्डिङ छाता पनि पाइन्थ्यो। ट्रिपल फोल्डिङ छाता ज्याकेट वा कोटको गोजीमा सजिलै राख्न सकिने हुन्थ्यो। अहिले पनि मैले ट्रिपल फोल्डिङ छाता खोज्दा कतै पनि फेला पार्न सकेको छैन।
छाता छोडेका र हराएका प्रसङ्गहरू
मैले पहिलो पटक घोराही बजारको एक पसलमा सामान किनिसकेर बिर्सिएर छोडेको र घन्टौँ पछि खोज्न वा लिन जाँदा आफूले छाता प्राप्त गर्न नसकेको अवस्था आइपरेको थियो। सायद छाता कसैले लिएर गइसकेको अन्दाज भएको थियो। पसलेले छाता नदेखेको कुरा गरेका थिए।
२०४१ सालतिर आइकम दोस्रो वर्षमा पढ्दा लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसको कक्षा कोठामा कालोपाटी निरको किलामा मैले छाता झुन्ड्याएर राखेको र कक्षा सकिएपछि सो छाता लैजान बिर्सिएँ। कोठामा पुगेर सम्झिएर छाता लिन क्याम्पसमा पुग्दा छाता गायब भइसकेको थियो। एक पटक विश्वज्योति हलमा सिनेमा हेर्न जाँदा पानी परेको कारण छाता ओढेर गएको र हलको बाहिरपट्टि रहेको कक्षमा सुकाएर राखेको छाता कसैले लगिसकेको थियो। यो त आफ्नै लापरबाही नै थियो, हातमा समाएर राखेको भए छाता हराउने नै थिएन।
एक पटक दसैँमा घर जान बसपार्कमा बसको टिकट लिने क्रममा पर्सबाट नगद दिएपछि प्राप्त टिकट गोजीमा राखेर फर्कँदा छाता नै छुट्याे। डेरामा पुगेपछि छाता छुटेको थाहा त पाइयो तर छाता फेला पर्ने छाँटकाँट नदेखेपछि छाताको खोजी गरिएन। २०५६ देखि २०६० सालसम्म उद्योग मन्त्रालयमा कार्यरत रहँदा डेराबाट बोकेर लगेको छाता टेबुलको घर्रामा राखेको र त्यस दिन पानी नपरेका कारण छाता नबोक्नाले मन्त्रालयमै छुट्यो। भोलिपल्ट घर्रा खोलेर हेर्दा छाता नै गायब थियो।
आफू कार्यरत एक विभाग स्तरीय कार्यालयमा जाँदा ओढेर गएको छाता भर्याङमुनि सुकाएर राखेको थिएँ। कार्यालय समय सकिएपछि छाता राखेको ठाउँमा नभेटिँदा भविष्यमा होसियारी हुनुपर्ने कुरा मनमा लाग्यो र तत्पश्चात् मैले छाता कतै पनि छोड्ने गरेको छैन। साथै सतर्कता अपनाउने गरेको छु।
बेवारिसे छाता भेटाउँदा
हामी रोल्पाको खुंग्रीबाट प्युठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा पढ्दा हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थी नेत्रबहादुर रोकाय चिराबारी मुनिको खेतमा पानी पट्याउने क्रममा बाटो छेउमा छाता छोडेर जानुभएको रहेछ। हामी विद्यालयबाट छुट्टी भएपछि घरतर्फ जाने क्रममा बाटोमा छाता देखिएको र त्यहाँ कोही पनि नदेखिएको हुँदा टिपेर ओढ्दै हिँड्दै गरेको अवस्थामा रोकाय आएर रिसाएर केही भनिहाल्नु भयो। हामी विद्यार्थीको चार पाँच जनाको समूह थियो। गल्ती गरेपछि केही बोल्ने कुरा पनि भएन र हामीले छाता फिर्ता गरिदियौँ।
रोकाय पञ्चायत कालका कुनै बखतका सहायक मन्त्री टंकबहादुर विष्टका निजी सचिव हुनुहुन्थ्यो भने पछि स्वर्गद्वारी नगरपालिकाको प्रमुख हुनुभएको थियो। अमर माध्यमिक विद्यालयको उत्तर-पश्चिमतिरको स्थानलाई रोका टोल भनिन्छ। हामीले एसएलसीको रजिस्ट्रेसन फारम भर्दा रोका टोलमा गएर फोटो खिचाएका थियौँ। त्यो फोटो मैले रोल्पाबाट नागरिकता लिँदा पनि काम लागेको थियो।
फोटो खिच्ने मान्छे र आर्टिस्टहरूलाई अलगै दृष्टिले हेरिन्थ्यो। एसएलसीपछि मैले पनि फोटोग्राफर र आर्टिस्ट बन्ने चाहना राखेको थिएँ। साथै एसएलसीपछि शिक्षक हुनुपर्छ भन्ने सोच पनि हामीमा विकास भैसकेको थियो। एसएलसी दिएपछि जिल्लामा शिक्षक जागिर सजिलै पाइन्थ्यो। रोल्पाका धेरै विद्यालयहरूमा प्युठानकै शिक्षकहरू हुनुहुन्थ्यो। प्युठान-रोल्पा सँगै भएका जिल्ला भए पनि शैक्षिक स्तरमा आकाश जमिनको भिन्नता थियो। म उच्च शिक्षाका लागि काठमाडौँ आउनुपरेकोले न शिक्षक बनेँ न त आर्टिस्ट वा फोटोग्राफर।
बर्खा मासको खोलाको धमिलो पानी छाताबाट छानेर पनि पिइयो
गोठालो जाँदा होस् वा विद्यालयमा पढ्न जाँदा-आउँदा, खपी नसक्नुको पानी प्यास लागेमा खोलाको छालबाट छाताको सहायताले पानी झिक्ने र छाताको माथिल्लो भागको टुप्पोबाट चुहिने पानी पिउने काम पनि गरिन्थ्यो। धमिलो पानी स्वास्थ्यका लागि हानिकारक भनिए पनि हाम्रो इम्युनिटी पावर बलियो भएका कारण हाम्रो स्वास्थ्यमा क्षति भए जस्तो लाग्दैनथ्यो। ‘मर्नुभन्दा बौलाउनु निको’ भने झैँ हामी जोखिम तवरबाट पानी पिउन बाध्य हुनुपरेको कुरा पनि मानसपटलमा ताजै छ। भिंग्रीको पारिपट्टि नल्सी भन्ने ठाउँका बासिन्दाले बर्खाभर धमिलो पानी थिग्र्याएर प्रयोग गर्ने गर्दथे भन्ने पनि सुनिन्थ्यो। नल्सीमा मील भएको र हामी पिसानीको कामका लागि त्यहाँ गइरहनु परेको हुँदा नल्सीसँग परिचित थियौँ।
छाता ओढ्नेमा महिलाको संख्या ज्यादा
मेरो शरीर गर्मी सहन नसक्ने हुँदा गर्मी यामभर छाता बोकेर हिँड्ने गरेको छु। काठमाडौँ सहरमा गर्मीमा छाता ओढ्नेमध्ये महिलाहरूको तुलनामा पुरुषहरूको संख्या ज्यादै कम हुने गरेको पाएको छु। पुरुषले ओढ्ने छाता कालो र महिलाले ओढ्ने रङ्गिन पनि गजबकै मानिन्छ।