घरी घरी लाग्छ कि म (काल्पनिक पात्र) एक मौसम हुँ, जो बदलिराख्छ। कहिले हुरी, कहिले बतास, कहिले शीतल हावा त कहिले घना बर्सात हुँ म। तर म मौसम पनि होइन किनकि मौसम बद्लिन समय लाग्छ तर मलाई बदलिन कुनै समय पनि लाग्दैन, बस एउटा ट्रिगर मात्र चाहिन्छ।
म आफैमा प्रश्न गर्छु, म को हो?
आज म पानी हुँ त भोलि म घाम हुँ। आज म आशा, भोलि म निराशा। आज म निडर, भोलि म कायर। यो हो मेरो कहानी।
आइतबार
आज म ठिकै महसुस गरिरहेकी छु। तर पनि उठ्ने बित्तिकै मनमा सिरिङ्ग सिरिङ्ग र ढुकढुक भइरहेको छ। धेरैजसो मलाई बिहानी यस्तै महसुस हुन्छ। त्यसैले होला मलाई बिहानी खासै मन पर्दैन। बिहानी बिउँझिँदा मेरो अनुभव खासै राम्रो हुँदैन। सबैलाई यस्तै हुन्छ होला है?
जे जस्तो फिल भए पनि मनका यी सबै अनुभूतिलाई साइड लगाएर जिन्दगी चलाइरहन त कोही मसँग सिकोस्। जे सुकै होस् चलाइराख्छु र चलिराख्छ मेरो जिन्दगी। मन न हो, कुन ठुलो कुरा हो र!
बिहानको आफ्ना सबै काम क्रिया सकाएर म आफ्नो कलेज तिर लागेँ। कलेजमा दिन राम्रै भयो र साथीहरूसँग रमाइलो गरेँ। एउटा सामान्य दिन बिताएँ।
११ बजे मेरो कलेज सकिन्छ। मास्टर्स फाइनल सेमेस्टरमा अध्ययन गरिरहेकी छु। कलेज सकाएर घर आएँ र खान खाएँ। घरमा दुइटी सानीमाहरू आउनु भएको रहेछ। एकछिन गफगाफ गरियो र आफ्नो कोठामा गएर सुतेँ।
सोमबार
आज म समयभन्दा अगाडि नै उठेँ। मन ढुकढुक गरिरहेको छ मेरो। मनमा खोइ कस्तो सिरिङ्ग सिरिङ्ग भइरहेको छ, के के न भयो जस्तो लागिरहेको छ। सबै मेरो मनको खेल रहेछ, केही भएको छैन।
यत्तिकै तर्सिरहने बानी छ मेरो। सबैलाई यस्तै हुन्छ होला है?
अनि अर्को खतरा बानी, जेसुकै होस् चलिरहने र चलाइरहने बानी छ मेरो। मन जति हलचल, खुलदुल र बेचैन भए पनि म त चलिराख्छु। यो प्रक्रिया म र मेरो मन जानोस्। आज खासै कलेज जान पनि मन छैन मलाई, घर बसूँ भने पाहुनाहरू हुनुहुन्छ, धेरै बोल्नु पर्छ बरु एक चक्कर घुमेर आउन पर्यो भनेर सोचेँ।
आज मलाई किन हो कसैसँग खासै बोल्न मन छैन। कुनै कुनै दिन मलाई मान्छेहरूसँग कुनै प्रकारको वार्तालाप गर्न मन लाग्दैन र एकदम लो फिल भएर आउँछ। अनि यस्तै बेला चाहिँ सबैले बोलाएको बोलाई गरे जस्तो लाग्छ।
आज म सिटीसेन्टर घुमेर आउने विचार गरेँ। सिटीसेन्टर गएर एक्लै फिल्म हेरेँ। कुन कुन बेला डर पनि लागिरहेको थ्यो, कलेजका टिचर अथवा अरू कसैले देख्ला कि भनेर। तर त्यस्तो खासै डराउने मान्छे पनि होइन म। अब त कलेजको समय पनि बितिसकेको थ्यो र घर जाने बेला भयो। बिस्तारै घर तिर लागेँ। घरमा पूरै हल्ला खल्ला चलिरहेको थियो। फटाफट आफ्नो कोठा तिर लागेँ, एक निद्रा सुतेँ।
मंगलबार
आज हलुका महसुस गरिरहेकी छु। यो हलुका पनको मज्जा लिन मन लग्यो मलाई। व्यायाम पनि गर्न मन लाग्यो, आफूलाई मन पर्ने ब्रेकफास्ट बनाएँ र चिटिक्क परेर कलेज जान रेडी भएँ। पूरै सकारात्मक सोचहरू आइरहेका छन् मनमा मेरो, ऊर्जा नै अर्कै छ आज त।
आज कलेज समयमै पुगेँ, कोरिडोरको ऐनामा आफूलाई नियालेर हेरेँ, लास्टै राम्री देख्छु त म आज आफूलाई। कलेजमा मेरो आज प्रेजेन्टेसन भयो, राम्रोसँग गरे र आफूमाथि गर्व महसुस गरेर घर फर्किएँ। आज मेरो आत्मविश्वास नै खतरा थियो। घर पुगेपछि दाइले आफ्नो नयाँ फोन देखायो। मलाई आरिस लाग्यो। मैले पनि धेरै दिनदेखि फोन किनिदिन भनेको थिएँ। मलाईभन्दा यही दाइलाई बेसी माया गर्छन् भन्ने निष्कर्षमा पुगेँ र रिसाउँदै आफ्नो कोठातिर लागेँ।
बुधबार
आज बिहान ५ बजे अलार्म बज्यो। मेरो मन नराम्रो तारिकाले पोलिरहेको छ। लाग्छ कि मनमा एउटा प्वाल छ। त्यो प्वाल कहिले सानो त कहिले ठुलो हुन्छ। सानो हुँदा अलि कम दुख्छ भने ठुलो हुँदा सहनै नसक्ने गरी दुख्छ। सायद मलाई यो प्वाल बिनाको मेरो जीवन याद नै छैन, जहिले देखिको याद छ, यो सधैँ मसँग छ। धेरै सानो हुँदा त थिएन होला, कहिलेदेखि हो पनि याद छैन र यो के हो पनि थाहा छैन।
यति थाहा छ कि साह्रै नराम्रो अनुभव हुन्छ। न त यो कसैले देख्न नै सक्छ। तर सबैलाई यस्तै त हुन्छ होला है?
म उठ्न पनि सकिनँ, उठ्दै म थकित महसुस गरिरहेकी थिएँ। जसोतसो उठेँ, हातमुख धोएर स्कुटर निकालेर हिँडेँ कलेजतिर। मेरो मनमा प्वाल होस् या त खालीपन, सबलाई साइड लगाएर हिँडिरहेकी छु। हेरौँ कहिलेसम्म।
ढिलो पुगेर होला, टिचरको गाली खाएँ। जानी जानी मलाई गाली गर्न बहाना खोजेको जस्तो लग्यो। यो सर आजबाट मलाई पटक्कै मन पर्न छोड्यो। कि त कोही साह्रै मन पर्छ कि त एउटा मन पर्दैन मलाई। कलेजमा बस्नै सकिनँ, हाफ टाइममा घर आउने विचार गरेँ। घर आउँदा ममीको मुड जस्ताको त्यस्तै थियो, मेरो भने ५पल्ट फेरिसकेको। घर आएँ, दाइले तलब आयो भनेर ५००० रुपैयाँ दियो। मेरो खुसीको सिमाना रहेन। भोलि सपिङ जान्छु भनेर मनमनै प्लान बनाएँ।
मेरो कहानी, आज खुसी त भोलि निराश हुन्छु म। कहिले त एक दिनमै खुसी, दुखी, निराश, उत्साह, हावा हुरी सबै हुन्छु। कहिलेकाहीँ त मलाई बाँच्न पनि मन लाग्दैन। मलाई कसैले माया गर्दैन जस्तो पनि लाग्छ। मलाई आफै लागिरहेको थ्यो कि केही त सामान्य छैन। मेरो भावनाहरू सामान्य थिएनन्, तीव्र भावना महसुस गर्थेँ। मलाई कहिले अरू कुनै शारीरिक पीडा हुँदा पनि राम्रो महसुस हुन्थ्यो, यो मनको पीडाबाट सायद एकछिनलाई भए पनि मैले ब्रेक पाए जस्तो हुन्थ्यो।
एक दिन म दिदीसँग गफ गरिरहेकी थिएँ, कुरै कुरामा मैले कस्तो बिहान बिहान नराम्रो फिल हुने, मन खाली हुने र मन पोल्ने कुरा सुनाएँ। ‘तिमीलाई कति कति दिनमा मन पोल्छ दिदी?’ भनेको त उनले जवाफमा ‘मलाई त त्यस्तो केही हुँदैन’ भनिन्।
म त छक्क परेँ। सबैलाई हुन्छ जस्तो लागेको थ्यो।
अनि सोधेँ, मनमा प्वालको बारेमा। उनी भन्छिन्, उनको त मनमा प्वाल नै छैन रे! म त छाँगाबाट खसे जस्तो भएँ। अब मैले मेरो आफ्नो मनको बारेमा बुझ्न र पत्ता लगाउनु पर्ने भयो।
आफ्नो बुद्धि र विवेक प्रयोग गरी एक दिन एक्लै साइकोलोजिस्टकहाँ गएँ। त्यहाँ गएर मेरा सबै प्रश्नका उत्तरहरू पाएँ। मेरो बाल्यकालदेखिका २८ वर्षे जीवनका पाना खोलियो र केलाइयो। कसरी एउटा सानो\ठुलो भोगाइले जीवनमा मोड लिँदो रहेछ र हाम्रो व्यक्तित्व विकास हुँदो रहेछ मैले थाहा पाएँ। कसरी जीवनमा एउटा एउटा घटनाले मानसिक रूपमा प्रभाव पार्दो रहेछ मैले सबै बुझेँ।
मैले मेरो जीवनमा यति कुरा भोगेको, देखेको र झेलेको छु कि त्यो बयान गर्न गाह्रो छ। मलाई त बोर्डरलाइन पर्सनालिटीको ट्रेट्स पो रहेछ।
यो सुनेर सुरुमा अचम्म लग्यो, मज्जाले बुझेकै थिइनँ के हो भनेर। घरमा गएर २\३ घण्टा रोएँ, किन कसैले मलाई नबुझेको, मेरो व्यवहार, बानी केही फरक रहेछ भनेर किन कसैले चासो नदिएको जस्तो भयो। मैले आफै त नबुझेको कुरा अरूबाट पनि के आशा राख्नु र!
यो कुरालाई मैले सकारात्मक लिने निर्णय गरेँ। किनकि अब त मैले मेरो समस्याको सावधान पाएको थिएँ। थेरापी, ध्यान, उपचार र औषधिको मद्दतले म ६ महिनामै धेरै परिवर्तन भएँ। अब मैले आफूलाई पूर्ण रूपले बुझिसकेको थिएँ। मेरो भावनाहरूलाई म आफै नियन्त्रण गर्न सक्ने तालिम प्राप्त गरेँ। जीवनका धेरै अनमोल वर्षहरू भ्रममा बितिसकेका थिए। अब त म नयाँ जीवनको सुरुवात तिर लागेँ।
एउटा लडाइ जितेर आएको मान्छे म। त्यो पनि एक्लैले, आफैले। आफ्नो उपचार आफैले गर्नु पर्ने रहेछ, आफूलाई आफैले बचाउनु पर्ने रहेछ विशेष गरी जब यो मानसिक समस्याहरूको कुरा आउँछ। मैले मेरो तीव्र भावनाको कारण जीवनमा धेरै सम्बन्धहरू गुमाएको पनि थिएँ, साथै धेरै अवसरहरू पनि।
अब मैले कसम खाएँ मैले बिगारेको सबै सम्बन्ध म आफै ठिक गर्छु, सबै अवसरहरूका निम्ति फेरि मेहनत गर्छु। ममा धेरै कमी कमजोरीहरू छन् तर मेरा आफ्नै गुणहरू पनि छन्। मसँग भएका तीव्र इमोसनले म धेरै यस्ता कुरा महसुस गर्न सक्छु जो कसैले सक्दैन होला, मैले माया गर्ने मानिसहरूलाई थाहा होला, म कुन हदसम्म माया गर्न सक्छु।
अब मैले बुझेको कुरा, म ठिक छु त बल्ल सबै ठिक छ। मेरो जीवनको सबैभन्दा ठुलो प्राथमिकता अब केवल म। यो सृष्टिको अनमोल एउटा रचना म। आफूलाई मैले धेरै नै नजरअन्दाज र हेला गरेको रहेछु। अब म हाँसेर, खेलेर, रमाएर, नाचेर जीवन बिताउने छु।
जसले मेरो मानसिक स्वास्थ्यलाई बाधा पुर्याउँछ, ती सबै कुरा अथवा मानिसलाई त्याग्न म तयार छु तर अब मेरो स्वास्थ्यमा सम्झौता गर्नमा राजी छैन। हामी मानसिक स्वास्थ्यलाई कति पनि महत्त्व दिँदैनौँ तर जब हामीले आफ्नो जीवनको नियन्त्रण नै गुमाउँछौँ, तब बल्ल थाहा हुन्छ मानसिक स्वास्थ्यको महत्त्व।
जसरी अरू रोग लाग्दा हामी आरामले भन्छौँ नि ज्वरो आयो, यस्तो भयो उस्तो भयो अनि उपचार गराउँछौँ, त्यसै गरी आफ्नो मन र मस्तिष्कको पनि ख्याल राख्नु जरुरी छ। शारीरिक स्वास्थ्य त अरूले पनि ख्याल राखिदिन सक्छन् तर आफ्नो मनको ख्याल चाहिँ आफूले नै गर्नु पर्छ है। मलाई यस्तो भएको छ, उस्तो भएको छ, मलाई मद्दत चाहिन्छ भन्न डराउनु हुँदैन है।