'शिक्षा असफल होला तर मेरी आमाले दिएको संस्कार कहिल्यै असफल हुँदैन', आमासम्बन्धी लेखिएको भनाइबाट साभार यो पक्तिले धेरै कुरा अव्यक्त रूपमा प्रस्फुटित गरेको छ।
जब आफू बुवाआमा बनिन्छ तब मात्रै आफ्ना बाआमाको महत्व थाहा हुन्छ रे, बुढा हजुर बाआमाले बारम्बार भनेका यी कुराहरू आफू आमा बनेपछि अनुभूति भयो।
हिजो सामान्य लाग्ने कुराहरू आफू आमा बनेपछि निकै महत्वपूर्ण लाग्न थाले। हिजो आफू आमासँग रिसाउँदा, असन्तुष्ट हुँदा आफू आमा भएपछि थाहा पाउछेस् भनेका वाणीहरू कानमा ठूलोठूलो स्वरले गुन्जिन थाले।
आफू आमा बनेपछि आमाको महत्व थाहा पाउँछन् छोरीले, आफू बाबु बनेपछि बुवाको महत्व थाहा पाउँछन् रे छोराहरूले। यो शाश्वत सत्य वचन रहेछ।
सन्तानको सानो खुसीमा रमाउने बाआमा बुढेसकालमा तिनै सन्तानका तिखा वचनले, रूखो व्यवहारले अक्क न वक्क हुने स्थिति आयो भने के होला? एउटा कहानी जसलाई जतिपटक बिर्सन खोज्दा पनि मानसपटलमा बारम्बार आइरह्यो।
बुढेसकालमा यस्तै हो, सबैका छोरा बुहारी कहाँ एकनास हुन्छन र? बाआमाका पनि केही कमीकमजोरी त थिए होला।
जताबाट मन चित्त बुझाउन खोजे पनि अहँ पटक्कै बुझ्न सकेन। कति दिनसम्म त निदाउन खोज्दा पनि तिनै बाआमाको तस्बिर झलझली आँखा वरिपरि घुमिरह्यो। अब उप्रान्त कसैका बुढा बाआमाले यस्तो अवस्था भोग्न नपरोस् भनेर मात्रै यो लेख लेख्ने जमर्को गरेको हो।
***
घटना दुई वर्ष पहिलेको हो तर पक्तिकारले थाहा पाएको दुई महिना अघि मात्रै। दोस्रो पटक आमा बनेकी साथीलाई भेट्न उनको घरमा गएँ। ठूलो छोरो अढाइ वर्षको थियो, कान्छो छोरा भर्खर एक महिनाको।
साथीका श्रीमान अफिस गएका रहेछन्, घरमा सहयोगी दिदी र साथीमात्रै। कुरा गर्दै गएपछि साथीका बाआमाको बारेमा सोधेँ।
पहिलो छोरा जन्मेको बेलामा बाआमा अस्पतालमै आउनु भएको थियो, त्यही भेटेका बाआमा निकै फरासिला, सुनौंसुनौं लाग्ने गफ गरिरहने बाआमाका पहिले पहिलेका कुरा सुन्दा निकै आनन्द आउँथ्यो। मेरो कुरा सुन्दा बित्तिकै साथीले अँध्यारो मुख लगाइन्।
'के भन्नु साथी? पहिले जस्तो कहाँ छ र? बाआमा मृत्युको मुखबाट बाँच्नुभयो, कुन बेला के हुन्छ थाहा छैन!'
के सोचेर प्रश्न सोधेँ, कस्तो जवाफ आयो? एकैछिन आफैंलाई अचम्म लाग्यो।
'के भयो भन न?'
पटकपटक सोधेपछि साथीले बल्ल रहस्य खोलिन्।
'कुनै समय संसारका सबैभन्दा भाग्यमानी मेरा बाआमा हुन् भन्ने लाग्थ्यो तर पानीको फोका रहेछ त्यो खुसी कहाँ कतिबेला कसरी फुट्छ पत्तै नहुने। हाम्रो जिन्दगीमा पनि भयो त्यस्तै। छोरा बुहारी दुवै जना जागिरे, छोरा निजी क्षेत्रमा, बुहारी सरकारी क्षेत्रमा। दुवै जना माथिल्लो ओहोदाका गन्नेमान्ने व्यक्तिमा चिनिने पात्र। उनीहरूले काठमाडौंमा घर बनाए, गाउँको मान्छेले सहरमा घर बनाउनु, आफू स्थापित हुनु गर्वको कुरा हो। बाआमा छोरा बुहारीको प्रगतिमा गदगद भए। उनीहरूका छोराछोरी सानै थिए, साना बच्चा घर अफिस व्यवस्थापनमा चुनौती थपियो।
भनेजस्तो मान्छे नभेटिने भएपछि गाउँबाट बाआमालाई सहर ल्याउने निर्णय भयो। गाउँमा भएका बाआमालाई बुहारी आफैं निकै हौसाएर काठमाडौं ल्याइन्। अरूका बुहारीले सासूससुरा सहन सक्दैनन् भन्थे, आफ्नो त बुहारी नै घरमा लिन आएको भनेर बाआमाको भुइँमा खुट्टा थिएन। बाआमा निकै भावविह्वल भएर गाउँलेसँग बिदा भएर राजधानी आए। पुस्तौंदेखिको गाउँ एकैचोटि छोड्न कसलाई मन हुन्छ र? दाइ भाउजूको कुरा हार्न नसकेर बाआमा गाउँ छोड्न बाध्य भए।
भाउजूको व्यवहार सुरूसुरूमा निकै राम्रो थियो, कहिलेकाहीँ म माइती जाँदा बाआमा निकै दंग परेको देख्थेँ, आफैंलाई भाग्यमानी सम्झन्थेँ।
बाआमा पनि भाउजूका कुरा गरेर नथाक्ने, सधैं भाउजूको तारिफ गरेर नथाक्ने बाआमा। साँझ अफिसबाट थाकेर आउँछे भनेर आमाले खाना पकाएर राख्ने, जुठा भाँडा नराख्ने, बिहान पनि बुहारीलाई हतार हुन्छ आफ्नो थाल माझेर जाऊ भन्दै अफिस पठाइहाल्ने। बरू आमाले मलाई चर्को स्वरले गाली गर्नुभयो होला तर भाउजूलाई कुनै दिन नमिठो स्वर गर्नुभएन। सायद यस्ता सासू लाखौंमा एकले मात्रै पाउँछन् भन्ने लाग्थ्यो।
मेरो भाउजूको जस्तो बुद्धि मेरो दिमागमा कहिल्यै नआओस् भनेर भगवानसँग प्रार्थना गर्छु साथी। एक्कासि आँसु बगाएर भक्कानो छोडिन्।
मैले बिरामी सासूससुरालाई ज्यान फालेर स्याहारसुसार गरेकी छु, मेरा बाआमालाई जिउँदै मर्न बाध्य बनाउने भाउजूको विरूद्धमा कहाँ कसलाई के भनौं? मेरा बाआमा कसरी बाँचेका होलान् तिमी सोच त? तिमी यस्ता कुरा पनि लेख न साथी, कम्तीमा अरूका बाआमाले सहरको माया मोहमा यस्तो अवस्था भोग्न नपरोस्!
बाआमाको बारेमा सोधेर गल्ती गरेछु जस्तो लाग्यो मनमनै। केही सोध्न मन लागेन।
आँसु फुछेर साथी आफैंले कुरा थपिन्- सम्बन्ध एकदम राम्रो थियो। बाआमा निकै खुसी देख्दा म नभए पनि अर्की छोरी बाआमा सँगै छन् भन्ने लाग्थ्यो। तर समय बित्दै गयो, दाइको उपत्यका बाहिरको शाखामा सरूवा भयो, भाउजूको काठमाडौंमै अफिस थियो। त्यसपछि क्रमश: भाउजू र बाआमाको बीचमा तीतोपन देखिन थाल्यो। छोराछोरी आफैं स्कुल जाने आउने भइसकेका थिए, दाइ घर बाहिर, बेलाबेलामा बाआमा बिरामी भइरहने, अस्पताल आऊजाऊ गर्नुपर्यो। त्यसपछि भाउजूलाई गाह्रो हुन थालेछ।
खै भाउजूले के भन्नुभयो थाहा छैन, तर भाउजूको एकछत्र शासनमा बाआमा रमाउन सक्नु भएन होला सायद। छोराछोरी आफैं स्कुल जाने, आउने, बनाएर राखेको खाजा, खाना खान सक्ने भइसके, अब भाउजूलाई लाग्न थाले होला यी बिरामी बुढाबुढी नभए पनि हाम्रो घर चल्छ भनेर ......। बाआमा आफैंलाई हामी बोझ पो हौं कि भन्ने लाग्न थालेछ।
ठूलो छोरा तीन महिनाको थियो। एकदिन बाले दिउँसो मलाई फोन गरेर बोलाउनुभयो, गएँ। दाइ चार पाँच महिनामा एकचोटी घर आउनुहुन्थ्यो। बाँकी काठमाडौं बाहिरै बस्नहुन्थ्यो, भाउजू अफिस, भाइबहिनी स्कुल गएका थिए। बाआमालाई निकै उदास देखेँ।
सधैं हाँसीखुसी देखेका बाआमाको मुहारमा एक्कासि ग्रहण लागेको देख्दा भित्रभित्रै केही न केही पक्कै छ भन्ने लाग्यो। एकछिन बसेर खाजा खाएँ, छोरो काखैमा निदायो उसलाई विस्तारामा सुताएँ। बाआमाले झोलामा लुगाहरू प्याक गरेको देखेँ।
'तपाईंहरू कहाँ जान लागेको आमा?'
फ्याट्ट सोधिहालेँ।
आमा पछ्यौरी मुख छोपेर रून थाल्नुभयो। आमा केही बोल्नु भएन एकोहोरो रूनुभयो।
फेरि बालाई सोधेँ, 'कुरा के हो बा? आमा किन रूनुभएको? भाउजूले केही भन्नुभयो र?'
लामो खुइय्या काट्नुभयो बाले।
'के भन्नु नानी? कसले के भन्यो, के भनेन के भन्नु खै? हामी आफैं घाँडो भयौं, हामी पन्छिएपछि सबै ठिक हुन्छ। पाखुरीमा बल हुन्जेल सबै आफ्ना हुन्छन् हेर। पाखुरी सुकेपछि कोही आफ्नो हुँदैन। ससुरा बाको राम्रो ख्याल गर्नु नानी। बाँचुन्जेल कुनै दिन रुखो वचन नगर्नू, दुईछाक मिठो बोलीले खान दिनू। झर्कोफर्को कहिल्यै नगर्नू। भोलि कसले देखेको छ र? आफू पनि रोगी भइन्छ, बिरामी परिन्छ त्यो सधैं ख्याल गर्नू।'
एक्कासि बाले सम्झाउन थाल्नुभयो।
'यहाँ बस्न गाह्रो भएको हो भने हिँड्नुस बाआमा, मेरो घरमा बसौं। छोरा के छोरी के उही सन्तान होइन? ज्वाइँ पनि छोरा नै हो, एकदम राम्रो व्यवहार गर्नुहुन्छ तर निराशाका कुरा नगर्नुस्। यी झोला किन प्याक गरेको हो? अब फेरि कहाँ जाने?' आमाका आँखा सुन्निएका थिए केही बोल्नु भएन, बल्लतल्ल बाले कुरा खोल्नुभयो।
'हेर नानी छोराको घर हुँदाहुँदै छोरीको घरमा गएर बस्न सुहाउँदैन, तेरो घरमा गएर बस्न सक्दैनौं। गाउँ समाजले के भन्छन्? तेरो दाइको ठूलो इज्जत छ, दाइको इज्जतको ख्याल गर्नुपर्छ। दाइले अहिलेसम्म केही भनेको छैन, दाइलाई हामी यस्तो भयो भनेर तनाव दिने काम पनि गर्दैनौं। यत्रो वर्ष काठमाडौंमा बसेर गाउँमा फर्कंदा समाजले हामीलाई के भन्छ? तेरो दाइको इज्जत के हुन्छ? हामी कहीँ जाँदैनौँ, जहाँ जान्छौं त्यहाँ ढिलोचाँडो जानैपर्छ हामी त्यही जान्छौं।'
बाको कुराले ऐंठन भयो। केही बोल्न सकिनँ। अप्रेसन गरेर भर्खर तग्रिएको जिउ बाको कुराले झनै छियाछिया भयो। केही बोल्न सकिनँ।
'आफ्नो आफ्नो कर्मको भाग गर्ने हो छोरी, हामी कहीँ जाँदैनौं बर्खामासमा ठूलो भेलबाढी आउँछ, राति सबै निधाएको बेलामा हामी बुढाबुढी त्यही भेलमा मिसिन्छौं, कहीँ नखोज्नु। कसैलाई खबर नगर्ने भनेको तेरो पीर लागेरमात्रै।' बा पनि रून थाल्नुभयो।
'के भयो र बा? यस्तो कुरा सोच्न पनि कसरी सक्नुभयो? मरेर समाधान हुन्छ? एकदिन त जन्मेपछि मर्नैपर्छ, यस्तो कुरा कसरी मनमा आउँछ? अरूलाई त खुब अर्ति उपदेश दिनुहुन्थ्यो बा के भयो? मलाई पनि मार्नुस् म किन बाँच्नु' भनेँ।
बा केही बोल्नु भएन।
'हुँदाहुँदा आफैंले हुर्काएका नातिनातिनीले समेत यी बुढा खोकेर सुत्न दिएन, यी बुढी कति कराएकी भन्छन्। ती बच्चाले कसैबाट नसुकिन यस्ता बचन बोल्छन्? हामी बिरामी पर्न थालेपछि घाँडो भयौं। पाखुरी हुन्जेल हो सबै कुरा हामी कतिन्जेल घाँडो बन्ने? सबै कुरा भन्न हुँदैन नानी, जे छ हाम्रो हृदयमा छ कसैलाई नसुनाउनू।'
'यहाँ भाउजूको खटन सहन नसक्ने अवस्था छ, दाइलाई सुनाउन सक्दैनौं, छोरीको घरमा बस्न नैतिकताले सुहाउँदैन हामी आफैं सकिन्छौं। कान्छी छोरी होस तँलाई यति भन्न बोलाएको। भाउजूलाई सोधौं झन् तनाव होला भन्ने पीर, दाइलाई के भनेर सुनाऊँ? म आफैं तनावमा परेँ। अफिसमा भएको श्रीमानलाई बाहिर निस्किएर फोन गरेँ, उहाँ हतारहतार बाआमा भएको ठाउँमा आउनुभयो। निकै सम्झाउनु भयो। बाआमा टसमस हुनुभएन। यति सहेर,यतिसम्म सुनेर पनि यिनैसँग बसेर बाँच्नु भनेको जिँउदै मरेतुल्य हुनु हो बाले पटकपटक दोहोराउनु भयो। मेरो श्रीमानले दाइलाई फोन गर्नुभयो।
कतै केही हल्ला नगर्नू, प्लेन चढेर तुरून्त काठमाडौं आउनु। सबै कुरा यही आएपछि भन्छु भाउजूलाई पनि केही नभन्नु भन्ने बाचा गराएर दाइलाई बोलाउनुभयो।
तनावै तनावमा दाइ काठमाडौं आउनुभयो। दाइ सिधै घरमा आउनु भएन, हाम्रो घरमा आउनुभयो पहिले। हामीले निकै सम्झायौं दाइलाई, दाइ पनि रूनुभयो। श्रीमती त अर्को पनि भेटाउन सकौंला तर जन्मदाता बाआमा कहाँ पाउला र? चाहे जेसुकै अवस्था आओस् बाआलाई केही हुन दिन्नँ भनेर दाइ घर जानुभयो। धन्न भगवानले यत्तिको समझदार दाइ दिएका छन् भन्ने लाग्यो। उस्तै दाइ भए भाउजूको कुरा सुनेर बाआमालाई घर निकाला गरिसक्थे!
झमक्क साँझ पर्नासाथ दाइ घरमा जानुभएछ, भाउजू आइ पुग्नुभएको थिएन रे। छोराछोरी मावलीमा गएका, घरमा बाआमा मात्रै। एक्कासि छोरो देख्दा बाआमा अवाक हुनुभएछ। सबै कुरा सुनिसकेपछि बाआमालाई केही दिन फुपूको घरमा बस्न आग्रह गर्नुभएछ दाइले। म एक सातामा सरूवा भएर आउँछु त्यतिन्जेल फुपूको बस्नुस्। त्यसपछि म मिलाउँछु। दाइको कुराले बाआमा बाँच्नुभयो।
भाउजूसँग कुरा गर्दा थाहा भयो कि बाआमाको अनुहार देख्यो कि बिरामी पर्नेसम्मको अवस्था सृजना भएछ। बाआमा नजिक पर्नै नहुने सम्मको अवस्था आएछ, एक्लो छोरा हुनुको यो भन्दा बढी पीडा के होला ? दाइको आफ्नै पीडा छ, बाआमाको आफ्नै। कि बाआमा छोड कि मलाई छोड भन्ने सम्मको अवस्था आएछ भाउजूको। दाइले के गर्ने भन त? साथीले बिलौना कहिन्।
बाआमा फुपूकोमा गएपछि भाउजू सद्धे भइन् रे। अब बाआमा फर्केर आउनु भएन। दाइको साथी अमेरिका बस्दा रहेछन्, उनीहरूको घर खाली रहेछ। एक जना सहयोगी राखेर बाआमा त्यही घरमा बस्नुभएको छ। सबै खर्च दाइले गर्नुहुन्छ। भाउजू मार्न पनि भएन, बाआमालाई मर्न दिन पनि भएन। एक्लो छोराको पीडा मेरो दाइ देखेर थाहा पाएँ साथी।
यदि मेरो दाइले त्यति नगरेको भए मेरा बाआमा बेवारिसे लाश भएर कहाँको खोलामा घुमिरहेका हुन्थे। आजसम्म बाआमाको साथ पाएकी छु, भगवान जस्ता दाइ भएर मात्रै सम्भव भएको हो। छोराको इज्जत जान्छ भनेर आफ्नै ज्यान फाल्ने बाआमाको कहानी कसैको परिवार नदोहोरियोस् यही प्रार्थना छ भगवानसँग।