हामी आफू बिरामी नपरे हुन्थ्यो भन्ने चाहन्छौं। बिरामी भइहाले पनि औषधी खानु नपरोस्, अस्पताल जानु नपरोस् भन्ने सोच्छौं। तर हामीमध्ये धेरै जना बिरामी परेकै हुन्छौं, अस्पताल पुगेकै हुन्छौं।
पछिल्लो समय बिरामी लिएर अस्पताल गएका आफन्त र तिनै बिरामीको उपचारमा खटिएका डाक्टरहरू बीचको सम्बन्धमा चिसोपना आएको छ। विभिन्न ठाउँमा बिरामीका आफन्तले उपचारमा खटिएका डाक्टरमाथि आक्रोश पोखेका छन्, कुटपिट गरेका छन्।
त्यसको विरोधमा डाक्टरहरूले केही समयअघि सडकमा आएर आन्दोलननै गर्नुपर्यो। डाक्टरले गरेको उपचारमा चित्त नबुझे उजुरी गर्ने मेडिकल काउन्सिललगायत निकाय छन्। बिरामीका आफन्तले अस्पतालभित्र डाक्टरमाथि हातपात गर्नु कुनै कोणबाट पनि राम्रो हुँदै होइन।
देशका विभिन्न अस्पतालमा डाक्टरहरूमाथि दुर्व्यवहार भइरहँदा सेतोपाटीले अत्यन्त संवेदनशील क्षेत्रमा डाक्टरको कामलाई पछ्याएको छ।
केही दिनअघि असोज महिनामा परिरहेको झरीबीच म भक्तपुर क्यान्सर अस्पताल पुग्दा अस्पताल परिसर व्यस्त थियो।
बिरामीका आफन्त, बिरामी र डाक्टरहरू कुदाकुदमा थिए।
डाक्टर उत्सवमान श्रेष्ठले मलाई अस्पतालको अप्रेसन थिएटरतिर लिएर जानुभयो। त्यहाँ बिरामीसँग उहाँले र बिरामीले उहाँसँग देखाएको आत्मियताको दृश्य सुन्दर थियो।
अप्रेसन कक्षमा छिरेपछि हामीले ड्रेस चेन्ज गर्यौं। बिरामी हुँदाअपरेसन कक्षमा छिरेको भए पनि म क्यामरा बोकेर यसअघि कहिल्यै यति संवेदनशील ठाउँमा पसेको थिइनँ।
पहिलो पटकअपरेसन थिएटरमा फोटो खिच्न छिर्दै गर्दा के-कसो होला, डाक्टरहरूलाई डिस्ट्रब होला कि भन्ने कुरा मनमा खेलिरहेका थिए। तर त्यहाँका डाक्टरहरूले वातारण सौहार्दपूर्ण बनाइदिनुभयो।
डाक्टर श्रेष्ठले त्यहाँ भित्रका ४ वटाअपरेसन थिएटर देखाउनुभयो र डाक्टरहरूसँग परिचय गराउँदै फोटो खिच्ने व्यहोरा बताउनुभयो।
एउटाअपरेसन कक्षमा एक जना स्तन क्यान्सर भएकी महिलाको शल्यक्रिया हुन लागेको थियो।
बिरामीको अवस्था देखेर मन चिसो भयो। सार्वजनिक गर्न त मिल्दैन होला भन्ने ठाने पनि फोटो खिचें।
अप्रेसन थिएटरको भित्तामा भक्तपुर दरबार स्क्वायर को सुन्दर तस्बिर थियो। त्यसको अघिल्तिर डाक्टरहरूको टिमले बिरामीको अपरेसन गरिरहनुभएको थियो।
अर्को थिएटरमा सायद घाँटीको अपरेसन हुनेवाला थियो। डाक्टरले ‘बुवा माथि हेर्नुस् त अब शितल हुन्छ है’ भन्दाभन्दै बिरामी बेहोस हुनुभयो।अपरेसन सुरू भयो।
तेस्रो थिएटरमा गाइनोसम्बन्धी अप्रेसन चलिरहेको थियो। त्यहाँ पनि म भित्र छिरें। तर, त्यहाँका डाक्टरहरू तर्सिनुभयो। मैले डाक्टर उत्सवको नाम लिएँ, अनि उहाँहरू सहज हुनुभयो।
अघि परिचय गर्ने बेला सायद उहाँहरू हुनुहुन्थेन। त्यसैले हामी सरप्राइज भयौं भन्नुभयो। थिएटरमा मन्द ध्वनिमा हिन्दी गीत बजिरहेको थियो। थिएटरमा महिला डाक्टरहरूले महिलाकैअपरेसन गरिरहनुभएको थियो। बिरामीको पेट बाट एउटा मासुको डल्लो निकालियो |
एउटा थिएटरमा कुनै पत्रकारले कुनै डाक्टरको अन्तर्वार्ताको विषयमा डाक्टरहरूबीच कुराकानी भैरहेको थियो। कहिलेकाहिँ अप्रेसन गर्दागर्दै जीवनका अरू रोचक विषयमा कुराकानी गर्दा पक्कै पनि पीडा कम हुन्छ होला सोचें मैले।
अप्रेसन सकिएपछि मैले डाक्टरलाई सोधें- क्यान्सर फालेपछि बिरामी नर्मल हुनुहुन्छ त?
एक जना डाक्टरले भन्नुभयो- अब ६०/४० हो। बल्झेन भने नर्मल तरिकाले बाँच्नु हुन्छ।
महिलामा हुने स्तन क्यान्सरबारे अझै पनि रोग पत्ता नपाउने, पत्तो पाए पनि उपचार गर्न नआउने प्रवृत्ति रहेको उहाँले बताउनुभयो।
मैले रोग नै नलाग्न के गर्ने होला डाक्टरसाब भनेर सोधें।
‘बिरामी नहुन खानपानमा ध्यान दिने, बेलाबेला आफ्नो शरीर जचाई राख्ने’ डाक्टर साबले सल्लाह दिनुभयो।
त्यसपछि सबै डाक्टरहरू आ-आफ्नो थिएटरमा अप्रेसनमा लाग्नुभयो।
झन्डै ४ घन्टा मैले अपरेसन थिएटरभित्र बिताएँ।
अप्रेसन थिएटर बाहिर निस्कँदा लाग्यो- डाक्टरहरूले बिरामीलाई सकभर निको बनाउन नै प्रयत्न गर्दा रहेछन्। सकेको राम्रो गर्दागर्दै पनि बिरामीका आफन्तले गर्ने दुर्व्यवहारले उनीहरूको मन पक्कै दुख्छ होला!