एक दशकअघिको कुरा हो। म काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अफ्रिकी मुलुक केन्याको समुद्रीतटको पर्यटकीय नगरी मोम्बासामा करिब ३० देशका प्रतिनिधिहरू सम्मिलित एउटा सम्मेलन गर्दै थियो।
त्यसै सिलसिलामा काठमाडौंबाट मुम्बई र केन्याको नैरोबी हुँदै मोम्बासा पुग्ने रूट थियो।
रूट लामो भएकाले एअर इन्डियाको उक्त उडान पूरै साढे दुई दिनको थियो। जाँदा र आउँदा एअर इन्डियाले मुम्बईको पाँचतारे सेन्टुर होटलमा खानेबस्ने व्यवस्था गरेको थियो। पाँचतारे होटलको बसाइसँगै यस्तो लामो रूटमा केही न केही अचम्म वा रोमाञ्चक अनुभव हुने नै भयो।
मुम्बई–केन्या उडानमा अफ्रिकी यात्रुहरू नै धेरै होलान् भन्ने मेरो अनुमान थियो तर जहाजमा त कुनै भारतीय रेल चढेजस्तो अनुभव भयो, जता हेरे पनि भारतीय मात्रै। करिब तीन सय जना यात्रु अटाउने बोइङमा केन्या जाने यात्रु भारतीय मात्रै हुनु मेरा लागि आश्चर्यको कुरा थियो। पछि थाहा भयो केन्यामा भारतीय मूलका मानिस करिब एक लाख रहेछन्।
ती भारतीयहरूले केन्याको व्यापारमा पकड जमाएका रहेछन्। केन्यालीको तुलनामा भारतीयको आम्दानी पनि उच्च रहेछ। यति धेरै भारतीयहरू केन्यामा भएपछि भारतबाट जाने जहाजमा उनीहरू नै धेरै हुनु सामान्य भइहाल्यो।
जहाजका यात्रुहरूसँग कुरा गर्दा थाहा भयो, अंग्रेजको उपनिवेश भएकै समयमा उनीहरूले भारतीयहरूलाई कामदार वा व्यापारका लागि केन्या लगेका रहेछन्। व्यापारिक दिमाग भएका भारतीयहरूले त्यहाँ पकड बनाउँदै गए।
नेपालमा भारतीय व्यापारीहरू आर्थिक, सामाजिक तथा राजनीतिक प्रणालीको एक हिस्सा भएझैं केन्यामा पनि भारतीयहरू जमेर बसेका रहेछन्। त्यहाँ रहेका भारतीयहरू बिहे भरसक भारतमै गर्दा रहेछन्। यसो गर्दा आफ्नो मातृ–पितृभूमिसँग सम्बन्ध ताजा रहन्छ भन्ने उनीहरूको धारणा रहेछ।
केन्याको नैरोबी विमानस्थलमा ओर्लिएपछि मोम्बासा जान डोमेस्टिक टर्मिनल पुग्नुपर्ने रहेछ, हाम्रो त्रिभुवन विमानस्थलजस्तै तर हाम्रो जति टाढा थिएन। हामी केही यात्रु सँगै थियौं। मैले आगमन कक्षमा यसै उभिएको एक केन्याली युवकलाई डोमेस्टिक टर्मिनल कता छ भनेर सोधेँ। उसले तिमीहरूलाई म पुर्याइदिन्छु भन्यो।
मलाई केन्यालीहरू सहयोगी हुँदा रहेछन् भन्ने लाग्यो। हामी चेक-इनका लागि डोमेस्टिक टर्मिनलभित्र छिर्नै लाग्दा त्यो युवकले 'गिभ मी मनी' भनेर पैसा माग्यो। मैले केको पैसा भनेर सोधेँ। उसले तिमीहरूलाई बाटो देखाएको पैसा भन्यो। त्यस्तो त मैले कल्पना नै गरेको थिइनँ।
हामी फ्लाइट छुट्ने हतारोमा थियौं। स्थानीय पैसा छैन भन्दा उसले गिभ मी डलर भन्न थाल्यो। हामी हतारमा त थियौं नै, उसलाई पैसा नदिने पनि सोच्यौं। यत्तिकै छुटकारा लिएर चेक-इनमा गयौं। नैरोबीबाट सवा एक घन्टाको उडानमा मोम्बासा पुग्यौं।
मोम्बासामा समुद्री तटको सफा पानीबाहेक पर्यटकीय ठाउँ केही पनि थिएन। त्यहाँको मुख्य पर्यटकीय गतिविधि हाम्रो पोखरामा जस्तै डुंगायात्रा थियो। त्यस्तो डुंगामा तलपट्टि छ्यांग देखिने सिसा राखिएको हुन्छ। त्यसबाट समुद्री जीव स्पष्ट देखिन्छ तर यात्रा किनारको छेउछाउमै मात्रै हुने।
पश्चिमाहरू त्यहाँ बोट सर्फिङ लगायतका अन्य समुद्री खेलमा रमाएका देखिन्थे। हामी सर्फिङ गर्न नजान्ने भएकाले डुंगाबाट समुद्री जीवहरू हेरेर रमायौं।
एक हप्ताको सम्मेलनपछि हामी नैरोबी फर्कियौं। हामीलाई भ्रमणका लागि केन्याको क्युसो भन्ने ठाउँमा पुर्याए। क्युसो नेपालको अत्यन्त दुर्गम गाउँजस्तो थियो। बिजुली बत्ती थिएन। त्यहाँ हामी कार्यरत संस्थाको फिल्ड अफिस थियो। पेट्रोलबाट चल्ने जेनेरेटरले कम्प्युटर चलाउने काम मात्रै हुन्थ्यो। बत्तीका लागि लालटिन थियो जो हामीले धेरै वर्षअघि छाडेका थियौं।
केन्याको धेरै भूभाग मरूभूमि रहेछ भन्ने कुरा त्यहाँ पुगेपछि मात्रै थाहा भयो। त्यहाँका बासिन्दाको जीवन पद्धति सहज छैन भन्ने अनुमान गर्न सकिन्थ्यो। समुद्री तटको मोम्बासा क्षेत्रमा राम्रो वर्षा हुने भएकाले त्यो क्षेत्र हराभरा थियो।
मोम्बासा हेरेर सिंगै केन्या त्यस्तै होला भन्ने लागेको थियो तर क्युसो पुगेपछि अचम्म भयो। हामी स्थानीयवासीले चलाएको सामान्य गेस्ट हाउसमा बस्ने व्यवस्था थियो। लामखुट्टे र अरू किराबाट जोगिन झुल अनिवार्य प्रयोग गर्नू भने।
त्यहाँको भूबनोट ठ्याक्कै मरूभूमिजस्तो नभएर रातो माटो थियो। सिँउडी प्रजातिका वनस्पति धेरै थिए। केही रूख पनि देखिन्थे तर हाम्रोतिरका जस्ता ठूला होइन, मान्छेभन्दा केही अग्ला मात्र। जमिन समथर भएकाले गाडी गुडाउन सजिलो तर धूलो धेरै उड्थ्यो।
मोम्बासामा स्तरीय होटलमा बस्ने र अन्तर्राष्ट्रिय स्तरको खाना खाने व्यवस्था थियो। क्युसोमा स्थानीय खाना खान पाएर केन्याली ग्रामीण बासिन्दाको खानाको अनुभव भयो। खाना खाने ठाउँ नेपालको कुनै झोपडी जस्तो थियो। होटल नै झोपडीमा थियो।
हामीले चिकेन राइस भनेर मगायौं, साथमा तरकारी पनि। खानाको प्रकार देखेर अचम्म लाग्यो। हामीलाई दिएको खानामा प्रत्येकलाई लगभग एउटा सिंगै कुखुरो थियो, भात चाहिँ हामीले खाने अचार जति थोरै। तरकारी बन्दाको थियो, त्यो पनि अचार जति।
चिकेन खाना मगाउँदा एउटा सिंगै कुखुरो आउने कल्पना हुने कुरै भएन। अलिकति मासु आउँछ भन्ने थियो। पछि थाहा भयो, मरूभूमि क्षेत्र भएको हुँदा त्यहाँको मुख्य खाना नै मासु रहेछ, हामीले दालभात खाएजस्तो। यसरी धेरै मासु खाने भएकाले होला प्रायः अफ्रिकीहरू खाइलाग्दो ज्यानका हुने!
खेतीपाती नहुने त्यो मरूभूमिमा खानाको स्वाद कस्तो होला भन्ने अर्को कुतूहल थियो। हामी नेपाली र भारतीयहरू मसलायुक्त स्वादमा अभ्यस्त छौं।
खाना चाखेपछि मलाई एक साथ अचम्म र खुसी लाग्यो। यता हामीले घरमा खाने स्वाद र केन्याको एउटा दुर्गम गाउँको खानाको स्वाद उस्तै थियो। मोम्बासाको उच्चस्तरीय होटलमा खाएको भन्दा स्वादिलो लाग्यो। नेपाली खाना पाएजस्तो अनुभव भयो।
अर्को अचम्मको कुरा, युरोप र अमेरिकाका रेस्टुरेन्टमा दूध र चिनी हालेको चिया पाउन मुश्किल पर्छ। चिया वा कफी खानु भनेको कुनै मिसावट नभएको खानु हो। केन्याको त्यो दुर्गम गाउँ क्युसोमा नेपाली स्वादको दूध चिया पाइँदो रहेछ। स्थानीय स्वाहिली भाषामा 'चाय' भनिँदो रहेछ। बुझ्दै जाँदा थाहा भयो, अंग्रेजको औपनिवेशिक कालमै गएका भारतीयहरूले आफ्नो खाना केन्याका गाउँमा पुर्याएका रहेछन्।
अंग्रेजहरूले करिब दुई सय वर्ष भारतमा शासन गरे भनिन्छ। त्यस अवधिमा उनीहरूले अनगन्ती स्कुल र कलेजहरू खोलेर ब्रिटिस प्रणालीको शिक्षा फैलाए। अंग्रेजी भाषा भारतको दोस्रो भाषाजस्तै भए पनि सबै भारतीयहरू अंग्रेजी बोल्दैनन्।
हामी क्युसोमा हुँदा एक जना गोठालासँग कुरा गर्ने अवसर मिलेको थियो। उमेरले ५० वर्ष पुगेका अग्ला, दुब्ला, च्यातिएको कोट–पाइन्ट र चप्पल लगाएका व्यक्ति थिए। उनको मातृभाषा स्वाहिली थियो। पेसाले पशुपालक थिए। तिनले अंग्रेजी बोल्लान् भनेर कल्पना नै गरेनौं। हामीसँग स्थानीय भाषा अनुवाद गर्ने दोभाषे पनि थिए।
हामी काठमाडौंको ठमेल वा पोखराको लेकसाइडमा विदेशी पर्यटकको पछि लाग्नेहरूले सामान बेच्न आफ्नै पाराले अंग्रेजी बोलेको सुन्छौं। केही पनि मिलेको हुँदैन तर तिनले आफ्नो कुरा भनिरहेका हुन्छन्। मैले क्युसोमा पनि यस्तै अंग्रेजी होला भन्ने अनुमान गरेको थिएँ।
ती गोठालाको अंग्रेजी त शुद्ध र मनमोहक थियो। केन्याको त्यो दुर्गम गाउँको गोठालाले अफ्रिकी लवज नभई करिब ब्रिटिस लवजमा अंग्रेजीमा बोले। पछि थाहा भयो, केन्यालीहरू अंग्रेजी बोल्ने मुलुकमा पढ्न जाँदा अंग्रेजी भाषापरीक्षा दिनु नपर्ने रहेछ, अंग्रेजी त उनीहरूको मातृभाषा जस्तो रहेछ।
मानिसले जस्तै पशुले पनि आफ्नो वातावरणमा जिउन जानेको हुँदो रहेछ। त्यहाँका पशुले मरूभूमिका सिउँडी प्रजातिका बिरूवा खाँदा रहेछन्। क्युसो क्षेत्रका बासिन्दाको मुख्य पेसा नै पशुपालन रहेछ। एक परिवारले सयौंको संख्यामा बाख्रा र गाईगोरू पाल्ने रहेछन्। तिनको आहार डरलाग्दा काँडा भएको सिउँडी जातको बिरूवा नै रहेछ। मजाले चपाएर खाँदा रहेछन्।
एक परिवारले सयौंको संख्यामा पाल्ने जनावरको आहार एक ठाउँमा पाउने कुरै भएन। मानिसहरू तिनलाई चराउँदै निकै टाढासम्म पुग्दा रहेछन्। यसरी पशुपालक परिवारको जीवन नै घुमन्ते हुने भएकाले झुरूप्प बस्ती देख्न मुश्किल रहेछ।
त्यो क्षेत्रमा वार्षिक मुस्किलले २५० मिलिमिटर पानी पर्ने रहेछ। यस्तोमा त्यहाँका बासिन्दाहरूको पानीको आवश्यकता पूरा गर्न पनि कठिन हुने नै भयो तर उनीहरूले 'पानी खेती' गर्ने गज्जब तरिका रहेछ।
कुनै बेला बाढी आउने गरी वर्षा भए पनि आवश्यक परेका बेला पानी हुने भएन। खेती भन्नुको अर्थ जमिनमा बिउ रोप्नु, हुर्काउनु, बाली निकाल्नु र भण्डारण गर्नु हो। 'पानी खेती' चाहिँ वर्षातको पानी व्यवस्थापन गरेर जोगाउने र दिनदिनै चलाउने उपाय रहेछ।
उनीहरू खोल्सा वा अलिक गहिरो ठाउँमा बाँध बनाएर वर्षातको पानी जम्मा गर्दा रहेछन्। भूमध्यरेखाको नजिक पर्ने भएकाले पानी जमिनको सतहमा बस्ने कुरै भएन। त्यसरी बाँध बनाएर जम्मा गरेको पानी जमिनमा पुनर्भरण हुँदो रहेछ। यसैअनुसार चापाकल वा डिजेलको जेनेटर प्रयोग गरेर पानी निकाल्दा रहेछन्। हरेक घरले वर्षातको पानी ट्यांकीमा जम्मा गर्ने प्रणाली बनाएका हुँदा रहेछन्।
त्यहाँको जीवनपद्धति र बाँच्नका लागि मानिसले गरेको संघर्ष देख्दा हामी नेपालीलाई त प्रकृतिले अपार उपहार दिएको रहेछ भन्ने लाग्यो। हामी यो उपहारको उचित र उच्चतम प्रयोग गर्न चुकेका छौं। जलस्रोतमा धनी भए पनि सुविधासम्पन्न राजधानीमै खानेपानीको अभाव छ। देशका धेरै भागमा पानी छैन। खेतीमा सिँचाइ छैन।
हामीले पनि 'पानी खेती' प्रविधि प्रयोग गर्न सके हाहाकार हुने थिएन होला। यस्तो कुरा कसले सोच्ने? जनताले कि सरकारले?