केही समयअघि एक जना साथीले सँगै खाजा खान आग्रह गरिन्।
धेरै समयपछि साथी भेट्न लागेकोमा मन खुसी थियो। हामी बानेश्वरको एउटा बेकरी पसलमा भेट्यौं। एकैछिन सन्चो बिसन्चोका कुराकानी भए। त्यसपछि पारिवारिक गफतिर लाग्यौं। कुराको थालनी गर्दै साथीले भनिन्, 'तिमी त साह्रै भाग्यमानी छौ है? त्यत्रो उमेरको हजुरआमाले छोराछोरी हेर्दिनु भएको छ र ढुक्कले जागिर खान पाएकी छौ।'
उनको कुरामा 'हो' भनें।
'मेरो हजुरआमा उमेरले आठ दशक पार गरे पनि व्यवहारमा भर्खरका युवा पुस्ताजस्तै हुनुहुन्छ', भनें।
मेरो कुराले उनले अँध्यारो मुहार लगाइन्।
'सबैको भाग्यमा कहाँ तिम्रो जस्तो सासूआमा लेखेको हुन्छ र?'
एकैछिन दुवै जना मौन बस्यौं।
फेरि म बोलें, 'किन र के भयो र? तिम्रो सासूआमा पनि सँगै हुनुहुन्छ होइन र? तिमी त झन् यहीँ काठमाडौंको स्थायी बासिन्दा हौ, मेरो हजुरआमा त गाउँबाट आएर पनि ढुक्कले बस्नुभएको छ।'
मेरो कुरा सुनेर साथी केही बोलिनन्।
यी साथी काठमाडौं बाहिरकी भए पनि काठमाडौंको स्थायी बासिन्दासँग घरजम भएको हो।
मेरो कुराले एकैछिन साथी सोचमग्न भइन्, 'राजधानीको बासिन्दा भए पनि सोच सत्रौ शताब्दीको जस्तो भएपछि के हुन्छ र? हामी त गाउँका भयौं, राजधानीकै बासिन्दा हुँदा पनि साथी बेखुसी भएको देखेर अचम्म लाग्यो, दुवै जना जागिरे छन्, दुई छोरा छन् कुनै कुराको कमी भए जस्तो देखिँदैन, फेरि के भयो त?' मनमनै सोँचे ।
पानीको गिलास समाएर घुटुक्क पानी पिउँदै कहानी सुनाउन थालिन् साथीले।
उनले राजधानीमै बसेर प्लस टुदेखि उच्च शिक्षा पढिन्। स्नातक पढ्दै प्राइभेट जागिरे भइन्। उनले जहाँ जागिर गर्थिन् त्यहीँका तत्कालीन शाखा प्रमुखसँग उनको मन मिल्यो, माया प्रेम बस्यो। दुवै जना आफ्नो प्रेममा खुसी थिए। तर जात बाधक भइदियो। साथी खत्रीकी छोरी थिइन्, उनले मन पराएका युवक कर्मकाण्डी पण्डित बाहुनका छोरा थिए।
जातभात उनीहरूको प्रेमको अगाडि गौण भइदियो। समाज धेरै परिवर्तन भइसक्यो, बाहुन-क्षेत्रीको विवाहको कुरामा पनि जातभातको कुरा उठाएर हुन्छ? हाम्रो मन मिलेपछि जातको कुरा अगाडि आउँदैन, हुनेवाला श्रीमानले साथीलाई आश्वस्त पारे।
दुवैको आपसी प्रेम सम्बन्ध पाँच वर्षपछि बिहेमा परिणत भयो।
दुवैजना आ-आफ्नो पेशाबाट चिनिएका थिए, दुवै शिक्षित र आत्मनिर्भर थिए।
साथीका श्रीमानले आफ्नो घरपरिवारमा कुरा राखेछन्, कर्मकाण्डी पण्डित भए पनि बुवाले छोराको रोजाइमा असहमति जनाएनन् रे।
'जातले होइन कर्मको गुणको आधारमा जातभातको वर्गीकरण भगवानले गरेका हुन्, तँ खुसी हुनुपर्यो, तेरो जीवन राम्रोसँग चल्नुपर्यो, तेरो जिन्दगी हो कस्ती केटी खोज्ने? कति पढेकी खोज्ने? कहाँकी खोज्ने? कस्तो खानदानकी खोज्ने? त्यो सबै तेरो जिम्मा हो। अबको जमानामा पनि हाम्रा पालामा जस्तो मण्डपमा बेहुली देखेर भित्राउने होइन। आफ्नो निर्णय आफैं गर मबाट केही अवरोध छैन'।
बुवाले यति भनिसकेपछि आमालाई सोधेछन्।
आमा बुवाजस्तो नरम भइनन् रे।
पूरा कुरा पनि सकिन नपाउँदै आमा कड्किन थालिछन्, 'के भनिस् रे ? फेरि भन त कस्की छोरी रे? यत्रो सहरमा कोही बाहुनका छोरी तेरो लागि जन्मेका रहेनछन्? हाम्रो कुलको इज्जत कहाँ जान्छ? के भन्छन् आफन्तले? कुनै हालतमा यो विवाह हुँदैन, यदि नगरी नछाड्ने हो भने एउटा शर्त मान कि त्यो केटी छाडिदे कि आमालाई छाडिदे .... ल एउटा रोज के गर्छस्?'
बुवाको कुराबाट उत्साहित भएका साथीका श्रीमान एकाएक आमाको कुराले स्तब्ध भएछन्।
आमाले बिहे गरेकी छोरीलाई समेत सुनाउन भ्याइसकिछन्।
दिदीको फोन आउन थाल्यो, 'के हो भाइ तँ के गर्न आँटिस्? कोही केटी भेटिनस् आफ्नो जातको? बाउआमाको मन दुखाएर के बिहे गर्छस्? त्यो केटी छोडिदे, तेरो लागि केटी खोज्ने काम मेरो भयो...।'
आमाले परिवारका अन्य सदस्यहरूलाई पनि कुराको फेहरिस्त सुनाउन थालिछन्। सबै जना एक्लो छोरामाथि खनिन थालेछन्।
आफूले मन पराएकी, जीवन साथीको सपना देखेकी युवतीलाई यो सब कहानी सुनाउने आँट छैन, हिम्मत जुटाउन पनि सकेको अवस्था थिएन। तर आफ्नो पाँच वर्षको मायालाई तिलाञ्जली दिन पनि त आँट थिएन, तर घरपरिवार पनि खुसी हुने, आफूले रोजेको जीवनसाथी पनि पाउने कुन उपाय होला? उनी निकै सोचमग्न भएछन्।
हिम्मत गरेरै आफ्नी प्रेमिकालाई सुनाएछन् सबै कहानी।
कहानी सुनेर साथी अलिकति पनि विचलित भइनन् रे।
समाज बदलिन समय लाग्छ, हामीले आफ्नो कामले , सेवाले उहाँहरूलाई फकाउने हो, मनाउने हो, उहाँहरूले जस्तो संस्कार देख्नुभयो, जसरी हुर्कनुभयो त्यसकै उपज हो यसलाई अन्यथा लिनु हुँदैन। यति सबै कुरा आफ्नो विरूद्धमा सुन्दा पनि म त्यो घरपरिवारप्रति नकारात्मक भइनँ, किनकि म त्यो परिवारको हिस्सा बन्न चाहन्थें। मैले देखावटी होइन साँच्चिकै अन्तर आत्मादेखि नै जीवनसाथीलाई मन पराएकी थिएँ।
मलाई सुनाएपछि निकै नराम्रो सोच्छे होला भन्ने सोचेका रहेछन् श्रीमानले तर मैले सकारात्मक रूपमा लिएपछि निकै बोझ कम भएको जस्तो देखेँ। ज्योतिषीकोमा पनि दुवै जनको कुण्डली देखाउन गयौं, पछि कतैबाट अवगाल नआओस् भनेर।
गुरूले दुवै जनाको कुण्डली एकदम राम्रो छ, यही वर्ष बिहे गर्दा उत्तम हुन्छ भने।
अब हाम्रो सम्बन्धमा जो जतिसुकै बाधक बने पनि केही हुँदैन भन्ने निष्कर्षमा पुगेर बिहे गर्ने निर्णयमा पुग्यौं।
मेरो आमा बुवालाई पनि एउटै चिन्ता थियो, भोलि अर्को जातकी बुहारी भनेर हेला गर्ने हुन् कि? भान्सामा पस्दा पनि अवरोध गर्ने हुन् कि ? पण्डितका घरपरिवारमा तैंले पकाएको नचल्ने हो कि ? गाउँकी केटी भनेर हेप्ने पो हुन् कि ? पछि दु:ख नपाएस्, तेरो रोजाइमा हामी बाधक बन्दैनौं। मैले मेरा बुवाआमालाई आश्वस्त पारेँ।
यता केटाका परिवारमा तनावमाथि तनाव थपियो। बुवाले छोराको रोजाइमा बाधक बन्नु हुँदैन भन्ने आमा र दिदीहरू त्यो केटी हुँदै हुँदैन भन्ने। जे भए पनि मन्दिरबाट बिहे गर्यौं।
मलाई कुनै तनाव थिएन, आफ्नो जीवनसाथी आफैंले छानेकी थिएँ। आफ्नो रोजाइको मान्छे पाएपछि अरू सबै सम्हाल्न सक्छु भन्ने आत्मविश्वास थियो।
घरमा भित्रेकै दिनदेखि मानसिक तनाव सुरू भयो। मैले माइतीमा सुनाउने आँट गरिनँ किनकि मेरो रोजाइको घर थियो, आफैं मिलाउनुपर्छ भन्ने सोचें।
बिहेको भोलिपल्ट बिहान नयाँ दुलहीले चिया पकाउनुपर्छ भने एकथरी आफन्तहरूले तर सासू र आमाजूले भान्सामा पस्न दिनुभएन।
पूजापाठ सकेर आएका ससुरा बाले ल बुहारी नानी तिमी मसँग आऊ भनेर लैजानुभयो। घरका सबै कोठाहरू देखाउनुभयो।
आजदेखि सबै तिम्रो जिम्मा हो, हिजैदेखि छोरो जिम्मा लाइसकियो। यो भान्सा हो, यहाँ पकाउने सामानहरू छन्, ल आज बुहारीले पकाएको मिठो चिया खाने। चिनी चियापत्ति यहाँ छ लौ बुहारी चिया पकाऊ...... । सासू र आमाजूको कुरा पहिल्यै सुनेकी थिएँ, ससुराको कुरा मानौं कि सासू र आमाजूको? मैले पकाएको चिया सबैले खान्छन् कि खाँदैनन होला ? दोधारमा उभिइरहेँ।
हाम्रो परिवारको सबैभन्दा ज्येष्ठ हजुरबुवा नब्बे वर्षको हुनुहुन्थ्यो, काकासँग बस्नुहुने रहेछ, बा आएर भन्नुभयो, उहिलेका कुरा खुइले हो नानी। मेरो नातिनी बुहारी हौ ल चिया पकाएर खुवाऊ त जातपातका कुरा नगर, यस्ती लक्ष्मी भित्रेकी छ घरमा, लक्ष्मीको सम्मान गर्न सिक,कसैले अँध्यारो मुहार नगर। म खान्छु यही बुहारीले पकाएको तिमीहरू जे गर्छौं गर। हजुरबाले मैले पकाएको चिया खाएपछि सबै जनाले खाए।
चिया त खाए, खाना खालान् कि नखालान् भन्ने संशय थियो। हजुर बाले 'ल बुहारी चिया त खुवायौ, खाना पनि पकाऊ है' भन्नुभयो। अघि नै अँध्यारो भएको सासूको मुहार हेरिनसक्नु थ्यो।
'बुवा चिया जस्तो खाना हो र ? मै पकाउँछु' सासूआमा अघि सर्नुभयो।
ससुरा बुवा र हजुर बाले 'तिमीहरूले पकाएको यत्रा वर्षदेखि खाएको खाइएको त हो नि आज त नयाँ बुहारीले पकाएको खाने हो' भन्नुभयो।
बाध्य भएर सासूआमा पछि हट्नुभयो।
मैले दश बाह्र जनाको लागि खाना बनाएँ, सबैलाई खुवाए। सबै जनाले मिठो भन्नुभयो।
एक साताको लागि अफिसमा बिदा मागेको थियौं दुवै जनाले। तेश्रो दिनमा माइतीमा गयौं। सबै आफन्तहरूले स्वागत गरे। कस्ती भाग्यमानी है तँ? गाउँकी केटी सहरकी बुहारी भइस् भने। अर्को दिन काठमाडौं फर्कियौं। घर फर्कंदा आमाले कोशेली बनाएर पठाइदिनुभएको थियो, सासूआमाले खान त के हेर्दा पनि हेर्नुभएन तर ससुरा बुवाले र हजुर बाले मिठो मानेर खानुभयो।
गाउँका मेरा आमा हजुरआमाको भन्दा पनि सानो सोच सहरिया सासूआमाको देखेर कताकता उदेक लाग्यो। जे भए पनि कहीँ कसैलाई कुनै कुरा सुनाइनँ। सासूआमा किन मसँग रूष्ट हुनुहुन्छ? के गर्दा खुसी पार्न सक्छु हर कोसिस गरेँ।
एक सातापछि दुवै जना अफिस जान थाल्यौं। हामी दुवै जना खुसी थियौं। अब परिवार खुसी पार्ने मात्रै दायित्व थियो। आमाजूलाई कसरी खुसी पारौं? नन्दलाई कसरी खुसी पारौं? सासूलाई कसरी खुसी पारौँ ? हर कोसिस गर्थें तर पाँच वर्षसम्म पनि सासूआमाको मुहार खुसी देख्न सकिनँ। केही सीप लागेन। बिहेको तेस्रो वर्षमा छोरा जन्मियो, छोरा जन्मेको ३ वर्षपछि अर्को छोरा जन्मियो। दुई नातिहरू काखमा खेलाउँदा पनि मेरी सासूआमाको उज्यालो अनुहार देख्न सकिनँ।
हजुरआमाको तिथीमा मलाई श्राद्धका चिज पकाउन दिइएन, अर्को जातको बुहारीले पकाएको चढाउँदा पितृ तर्दैनन भनेर तै पनि पछि हटेँ चुपै लागेँ , केही भनिनँ।
म बेलाबेलामा सोच्छु बिहे गर्ने बेलामा बरू सासू-बुहारीको चिना जुराएर साइत निकाले हुने रहेछ, बेकारमा वरवधुको चिना जुराएर गल्ती पो गरिएछ कि?
महिला पछि परे, पछि पारिए भन्छौं तर एउटी शिक्षित, आफ्नै बलबुतामा खुट्टा टेकेकी बुहारीमाथि सहरिया सासूहरू यतिविधि तल्लो स्तरको व्यवहार गर्छन् भने दूरदराजका मजस्ता, मभन्दा कमजोर महिलाहरूको हालत के होला?
मेरो ससुरा मेरा हरेक कुरामा सर्पोट गर्नुहुन्छ। उहाँले विभेद गर्नुहुन्न तर मजस्तै बुहारी बनेर आएकी सासू किन यति साह्रो नकारात्मक हुन्छन्? मजस्तै कसैकी छोरी बिहे गरेर अर्काको घरमा पुगेकी मेरी आमाजू भाइको रोजाइमा किन बाधक बन्छन्? समस्या त महिलाको बीचमा महिलाहरूकै छ नि होइन र? मेरा नब्बे वर्षका हजुरबा, साठी वर्ष पुग्न लाग्नु भएका ससुरा बाभन्दा पुरातनवादी सोच त पैतिस वर्ष नकटेकी आमाजू र ५५ वर्षकी सासूको मगजमा देखियो नि होइन र? यो मेरो मात्रै होइन रहेछ धेरै महिलाहरूको साझा समस्या रहेछ।
मैले मेरो श्रीमानको घरपरिवारका सबै सदस्यको ख्याल गर्छु भने मेरो माइतीमा कोही बिरामी पर्दा, नसक्दा ज्वाइँले सहयोग गर्नु हुँदैन र? देवर, नन्द, मेरा भाइ बहिनी हुन् भने सालासाली पनि त मेरा श्रीमानका भाइ बहिनी जस्तै हुन् नि होइन र?
एक वर्षअघि मेरो आमा बिरामी पर्नुभयो, बुवा आफैं बिरामी हुनुहुन्थ्यो, भाइ बहिनी सानै थे, मेरो श्रीमान आफैं ससुराली पुगेर आमालाई अस्पताल पुर्याउनु भयो, चेकजाँच गराउनु भयो।
यता घरमा हल्ला फिजाइयो, 'जोइटिंग्रे' छोराले ससुरालीको धन्दा गर्न थाल्यो, कुन दिन घर ज्वाइँ बस्ने हो भनेर।
मेरी आमाजू अस्पताल भर्ना हुँदा पाँच दिन मैले कुर्न हुन्छ भने मेरी जन्मदाता आमा बिरामी पर्दा ज्वाइँले उपचार गर्न हुन्छ कि हुँदैन? यस्ता कुरामा पनि निकै मानसिक तनाव भोग्नुपर्ने रहेछ महिलाले।
साथीको कुराले धेरै कुरा सोच्न बाध्य बनायो।