पानी जहाजको नाम थियो 'एचएमएस बिगल'। यो जहाजको नाम धेरैले नसुने पनि झन्डै दुई सय वर्षअघि यसमा सयर २२ वर्षीय युवाको नाम भने संसारले चिन्छ— चार्ल्स डार्विन!
इंगल्यान्डको प्लिमथ सहरबाट यात्रामा निस्किएको तीन वर्षपछि इक्वेडरको गलापागोस पुगेर डार्विनले मानवजातिको इतिहासकै कथा बदलिदिए।
१३८ वर्षपछिको कुरा हो, उनले परिकल्पना गरेको क्रमिक विकास र प्राकृतिक छनोटको सिद्धान्त कसरी साँच्चैमा भइरहेको हुन्छ भनेर एक बैज्ञानिक जोडीले अध्ययन गरे। भनौं न क्रमिक विकास र प्राकृतिक छनोटलाई आफ्नै आँखाले देखे।
उनीहरूको नाम हो रोजमेरी र पिटर ग्र्यान्ट!
रोजमेरी र पिटरको भेट युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया भ्यान्कुबरमा सन् १९६० मा भएको थियो। रोजमेरी त्यहाँकी शिक्षक थिइन् र पिटर उनका टिचिङ असिस्टेन्ट। उनीहरूले केही वर्षपछि विवाह गरे।
अध्ययनका क्रममा उनीहरू सन् १९७३ मा गलापागोस पुगेका थिए।
दुई-चार वर्ष डार्विनको 'फिन्च' मा अध्ययन गर्ने उनीहरूको योजना थियो। तर चार दशक त्यही अध्ययनमा घोत्लिए। त्यतिका समय उनीहरूले गरेका अध्ययनले क्रमिक विकासका पिता चार्ल्स डार्विनको मात्रै होइन, धेरैको अनुमान र बुझाइमा परिवर्तन ल्याइदियो।
उनीहरूको अध्ययनका परिणाम के थियो भन्ने जान्न डार्विनको 'फिन्च' भनेको के हो बुझ्नुपर्छ।
फिन्च भनेको चराको नाम हो। गोलापागोसमा भेटिएका फिन्चहरूलाई 'डार्विन फिन्च' भनेर पर्सी लो भन्ने बैज्ञानिकले नाम राखिदिएका हुन् र डेभिड ल्याकले यो नाम प्रख्यात गरेका हुन्।
फिन्चलाई नेपालमा तितु चरा भनिन्छ। फिन्च चरा फ्रिन्जिलडे परिवारमा पर्छन्।
डार्विनका फिन्च भने थ्राउपिडे परिवारमा पर्ने प्रजातिका चरा थिए र वास्तविक फिन्चमा पर्दैनन्। यो प्रजाति धेरैजसो उत्तर र दक्षिण अमेरिकातिर पाइने चराहरूको एउटा परिवार हो।
डर्विनले देख्दा ती भिन्न प्रकारका फिन्चहरू एउटै ठाउँमा बसेर उस्तै बिउहरू खाँदै थिए। उनलाई त्यति बेला ती चराहरूबारे खासै चासो लागेको देखिँदैन। उनले ती चराहरूलाई गोली हानेर संकलन भने गरेका रहेछन्। ती सबैमा केही फरक छैन जस्तो लागेकाले होला, विभिन्न टापूमा भएका चराहरूलाई छुट्ट्याएर समेत राखेका थिएनन्।
उनले आफ्नो व्यक्तिगत डायरीमा भने फिन्चहरूका चुच्चाबारे उल्लेख गरेका छन्।
'यिनका चुच्चामा भएको भिन्नता हेर्दा लाग्छ, कतै यी सबै चराहरू एउटै प्रजातिमा आएको चुच्चाको परिवर्तनले गर्दा त होइन?,' उनले यस्तो प्रश्न डायरीमा लेखेर छोडे।
डार्विनले गलापागोसमा ती चराहरूलाई कतिसम्म बेवास्ता गरेका थिए भने आफ्नो पुस्तक 'ओरिजिन अफ त स्पिसिज बाइ न्याचुरल सेलेक्सन' खासै कुरा गरेका छैनन्। बरू उनले मानिसहरूले पाल्ने परेवाबारे कुरा गरेका छन्।
आफूले पालेका परेवालाई कसरी मानिसले एउटाबाट विभिन्न प्रकार/जातका परेवा बनाए भन्ने कुरा डार्विनलाई एकदम रोचक लागेको थियो। त्यति बेलासम्मको अध्ययनबाट डार्विनले जीवहरू पक्कै पनि एउटा पुर्खाबाट आएको हुनुपर्छ भन्ने अनुमान गरेका थिए। प्राकृतिक छनोटको प्रक्रियाबाट जीवहरूको विकास भएको हुनुपर्छ भन्ने पनि उनको अनुमान थियो।
जसरी मान्छेले आफ्नो इच्छा अनुसारका विशेषताहरू छानेर परेवाको 'ब्रिड' गराउँथे, त्यसरी नै प्रकृतिले पनि कुनै बासस्थानमा बस्नलायक विशेषताहरू भएको जीवलाई छानेर प्राकृतिक रूपमा ब्रिड गर्छ होला भन्ने उनको अनुमान थियो।
प्राकृतिक छनौटका उदाहरण र यसले कसरी काम गर्छ भन्नेबारे मेरो पुरानो लेखमा अझै विस्तृत रूपमा उल्लेख गरेको छु- डार्विनले पत्ता लगाएको त्यो कडी।
अब फिन्चहरूतिरै जाऊँ।
गलापागोसमा अहिले १३ प्रजातिका डार्विन्स फिन्चहरू छन्। यी सबै चरा करिब २०-३० लाख वर्षअगाडि एउटा मुख्य भूमिबाट आएका पुर्खाबाट विकास भएका हुन्। अहिले ती १३ प्रजातिलाई एउटै परिवार (फ्यामिली) मा राखिन्छ। र, अध्ययनअनुसार यीमध्ये चारवटा समूहका चराहरू एकअर्कासँग सम्बन्धित मानिन्छ। त्यहीअनुसार यिनलाई चारवटा जिनस (जिनस- समान विशेषताहरू भएका जनावरको समूह) मा वर्गीकरण गरिएको छ।
पहिलो समूहमा रूखमा बस्ने र फिस्टे चराजस्ता देखिने फिन्चहरू पर्छन्।
दोस्रोमा ती फिन्चहरू पर्छन् जो रूखमा बस्छन्, फलफूल र कीरा-फट्यांग्रा खान्छन्।
तेस्रो समूहमा पर्ने फिन्चहरू पनि रूखमै बस्छन् तर तिनीहरू शाकाहारी हुन्।
र, चौथो समूहमा पर्ने फिन्चहरू धेरै जसो जमिनमा हुन्छन्।
रोजमेरी र पिटरले यही अन्तिम समूहमा पर्ने चराको अध्ययन गरेका थिए।
यो समूहमा पनि ६ प्रजातिका चराहरू पर्छन्। तीमध्ये रोजमेरी र पिटरले मुख्यत: लार्ज (ठूलो) ग्राउन्ड फिन्च, मिडियम (मध्यम) ग्राउन्ड फिन्च र स्मल (साना) ग्राउन्ड फिन्चमा अध्ययन गरेका थिए।
यिनीहरूको चुच्चो नामअनुसारकै ठूलो, मध्यम र सानो हुन्छ। टापूमा पाइने विभिन्न प्रकारका फिन्चहरूले छुट्टाछुट्टै कुरा खान्छन्। कसैले बिउ, कसैले क्याक्टस र भ्याम्पायर फिन्चले त अझ रगत खान्छ। रगत खाने भएकैले यसको नाम भ्याम्पायर राखिएको हो।
खानेकुराको भिन्नताअनुसार यिनका चुच्चोका आकार विभिन्न खाले हुन्छन्।
रोजमेरी र पिटरले धेरै जसो त गलापागोसको ड्याफ्नी मेजर नामको टापूमा अध्ययन गरेका थिए।
द्वीप समूहको लगभग बीचमा पर्ने यो टापू आधा किलोमिटरभन्दा सानो छ। यो कठोर वातावरणका लागि प्रख्यात छ। मध्य र पूर्वी टापूतिर पर्ने उष्ण तटबन्धीय प्रशान्त महासागरको तापक्रम केही वर्षको अन्तरालमा बढ्ने र घट्ने गर्छ। बढ्ने र घट्ने तापक्रमलाई एल निनो र एल निना (बच्चाहरू) को नाम दिइएको छ। एल निनो र एलनिनाको कारण त्यो टापूको मौसममा धेरै फेरबदल आउँछ। १९७७ को सुरूवातमा पानी पर्नु पर्ने मौसम थियो। तर ड्याफ्नी मेजरमा जम्मा २४ मिलिमिटर मात्र वर्षा भयो।
अब कुरा गरौं खडेरी लागेको त्यो वर्ष मिडियम ग्राउन्ड फिन्चमा भएको परिवर्तनबारे।
मिडियम ग्राउन्ड फिन्चहरूले धेरै जसो साना बिउहरू खान्थे। किनभने उनीहरूको चुच्चो साना बिउहरू खानका लागि उपयुक्त थिए। तर जब त्यो साल खडेरी लाग्यो, साना प्रकारका बिउको कमी भयो। टापूमा ठूला ठूला बिउ मात्र बाँकी भए। जुन मिडियम ग्राउन्ड फिन्चका लागि खान गाह्रो हुने कुरा थियो।
यी फिन्चहरूका चुच्चोको आकार (साइज) मा भिन्नता त थियो नै। जब खडेरीताका साना बिउको कमी भयो, तब यी मिडियम ग्राउन्ड फिन्चमध्ये पनि जसको ठूलो आकारको चुच्चो थियो, तिनीहरूले ठूलाठूला बिउ खान सके। ठूला बिउ फुटाउन नसक्ने फिन्चहरू मरेर गए। त्यसपछिको वर्षमा ड्याफ्नीका मिडियम ग्राउन्ड फिन्चहरूका चुच्चोको आकार ठूला भए।
यहाँ प्रकृतिले ठूला चुच्चो भएकाहरूलाई मात्र छानेको थियो। वा डार्विनको भाषामा 'सरभाइभल अफ द फिटेस्ट' भएको थियो। अर्थात जुन जीव त्यो वातावरणमा बाँच्न सक्छ, त्यसैले प्रजनन गर्छ र आफ्नो वंश जारी राख्छ। जसले सक्दैन त्यो हराउँदै जान्छ।
त्यसरी नै यो उदाहरणमा ठूला चुच्चो भएका चराहरूको जिन आफ्नो सन्तानमा सर्यो। अनि ड्याफ्नी टापूमा साना चुच्चा भएका मिडियम ग्राउन्ड फिन्चहरू हराए। किनभने सानो चुच्चो भएका चराहरूको जिन आफ्नो सन्तानमा सर्न पाएन।
चार्ल्स डार्विनले बुझेअनुसार प्राकृतिक छनौट एकदमै ढिलो चल्ने वा एकदमै बिस्तारै हुने प्रक्रिया थियो। तर यहाँ त करिब दुई वर्षको अन्तरालमै त्यो टापूमा ठूलो चुच्चो भएका चराहरूको विकास भयो। सन् १९७८ ताका मापन गर्दा मिडियम ग्राउन्ड फिन्चहरूका चुच्चो उनीहरूको तीन पुस्ता अगाडिको भन्दा ३-४ प्रतिशतले ठूला भेटिएका थिए।
लगभग ५ वर्षपछि, सन् १९८२-८३ ताका फेरि अर्को रोचक घटना भयो।
त्यो साल धेरै नै वर्षा भयो। रोजमेरी र पिटरका अनुसार कुनै दिन पनि सुख्खा थिएन। त्यो वर्ष सानासाना बोट बिरूवा र लहराहरूले पूरै टापू ढाक्यो। भुइँ देख्न गाह्रो हुने गरी हरियाली छायो। भुइँमा पाइने ती ठूला बिउहरू हराए। हरियोले सबै छोप्यो र टापूमा साना बिउको वर्चस्व छायो।
प्राकृतिक छनोटको प्रक्रियाअनुसार यो अवस्थामा चुच्चो सानो भएका ग्राउन्ड फिन्चहरू फाइदामा हुनुपर्ने थियो। नभन्दै तिनीहरूको चुच्चोको आकार घट्दै गयो। यहाँ चुच्चो सानो भयो भनेको, चराहरूले नै आफ्नो घटाएका होइनन्। प्रकृतिले त्यस अवस्थामा लायक हुने 'चुच्चो' लाई छान्दा सानो चुच्चो भएकाहरू छनोटमा परे। अनि सानो चुच्चो भएका फिन्चहरूको वर्चस्व भएको हो।
सन् १९८१ मा जब रोजमेरी र पिटर ड्याफ्नी मेजरका सबै फिन्चहरू चिन्ने भइसकेका थिए, त्यही बेला त्यहाँ एउटा नयाँ चराको आगमन भयो। त्यो चरा मिडियम ग्राउन्ड फिन्च नै थियो। तर त्यो ड्याफ्नीमा पाइने मिडियम ग्राउन्ड फिन्चभन्दा धेरै ठूलो थियो। त्यसको चुच्चो पनि अलि ठूलो र फरक थियो।
त्यो फिन्च सान्टा क्रुजको टापूबाट आएको हुन सक्ने उनीहरूले अनुमान गरे। त्यो चरालाई 'ठूलो चरा' को नाम दिए। उसलाई चिनिने नम्बर ५११० राखे। चराको खुट्टामा ब्यान्ड लगाइदिए ताकि उसलाई सजिलै चिनियोस्।
अझ रोचक कुरा त, यो चराको गीत पनि फरक थियो। उसको प्वाँखको रङ ड्याफ्नीमा पाइने मिडियम ग्राउन्ड फिन्चहरूको भन्दा अर्कै थियो। हेर्दा मिडियम ग्राउन्ड फिन्चझैं देखिए पनि यो कताकता क्याक्टस फिन्च र मिडियम ग्राउन्ड फिन्चबीचको मिश्रणजस्तो देखिन्थ्यो।
नभन्दै आनुवांशिक विश्लेषण/अध्ययन अनुसार यो मिडियम ग्राउन्ड फिन्च र क्याक्टस फिन्चबीचको मिश्रण प्रजाति देखियो। यस्तो प्रक्रियालाई संकरीकरण (हाइब्रिडाइजेसन) भनिन्छ र यसरी निस्केको प्रजातिलाई हाइब्रिड।
हाइब्रिडाइजेसन भनेको भिन्न वंशका जीवहरू एकअर्कासँग ब्रिड हुने प्रक्रिया हो। हाइब्रिडाइजेसन आफैंमा क्रमिक विकासका लागि एउटा महत्त्वपूर्ण प्रक्रिया हो जसले नयाँ प्रजातिको विकासमा (स्पिसिएसनमा) मदत गर्न सक्छ। स्पिसिएसन भन्नाले नयाँ स्पिसिज (प्रजाति) बन्ने प्रक्रिया बुझिन्छ। चार्ल्स डार्विन स्वयंले यो प्रक्रिया प्रकृतिमा हुन सक्छ भन्ने अनुमान गरेका थिए। उनले देखेका भने थिएनन्।
रोजमेरी र पिटरले चार दशक गलापागोसमा बिताएर डार्विनका कतिपय अनुमानलाई सही सावित गरिदिए। कतिपयमा डार्विनको अनुमानभन्दा फरक निष्कर्ष निकाले। उनीहरूको अध्ययनले प्राकृतिक छनौटबाट जनावरहरूमा आउने फेरबदल र प्राकृतिक छनोटले प्रकृतिमै काम गरेको एउटा उदाहरण नै दिए। डार्विन स्वयंले यो कुरा पनि देखेका थिएनन्।
प्राकृतिक छनौटको प्रक्रिया धेरै ढिलो हुन्छ र पुस्तौंपछि यसको परिणाम देखिन्छ भन्ने डार्विनको अनुमान भने सही भएन। प्राकृतिक छनौटको प्रक्रियाअनुसार जीवमा आएको परिवर्तन रोजमेरी र पिटरले एक-दुई वर्षको अन्तरालमै देख्न पाए।
उनीहरूले '४० इयर्स अफ इभोलुसन' भन्ने किताब लेखेका छन्। उनीहरूले गरेको अध्ययनका आधारमा अनुसन्धान गरेर जोनाथन विनरले 'विक अफ द फिन्चेज' नामक किताब लेखेका थिए। यसले पुलिट्जर पुरस्कार पायो।
रोजमेरी र पिटरको अध्ययनका परिणामहरू देख्न पाएको भए डार्विन कति आश्चर्यचकित हुन्थे होला। किनभने डार्विन आफैंले कहिलै क्रमिक विकास भएको देखेनन्। देख्नु त टाढाको कुरा, उनलाई त्यो प्रक्रिया कसरी हुन्छ भन्ने पनि अन्दाज थिएन। डार्विनलाई आनुवांशिकी थाहा थिएन। कुनै प्रजातिमा हुने विशेषताहरू कसरी तिनीहरूको सन्तानमा जान्छ भन्नेबारे उनले आफ्नै आँखाले देखेका थिएनन्।
डार्विनको 'ओरिजिन अफ द स्पिसिज' पुस्तक प्रकाशन भएपछि यो पुस्तकले धेरै आलोचना पाएको थियो। धेरैले उनको मजाक उडाए, उनलाई गाली गरे। तर त्यो पुस्तक प्रकाशन भएको १६४ वर्षपछि, आजको दिनसम्म डार्विन सही रहेछन् भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन्। डार्विनको सिद्धान्तमा कमजोरी नभएका होइनन्। तर त्यस बेलामा उनीसँग अहिलेको जस्तो प्रविधि थिएनन्। यसले गर्दा पनि उनको बुझाइमा सीमितता थियो।
आजको दिनसम्म क्रमिक विकास हुन्छ र डार्विनले सिफारिस गरेका प्राकृतिक छनौट पनि यसको एउटा पाटो हो भन्ने तथ्य स्थापित भइसकेको छ। क्रमिक विकासका धेरै पाटाहरू छन् र त्यसबारे मैले विस्तारै लेख्ने छु।
यो लेखमा भने 'प्राकृतिक छनौट' र 'क्रमिक विकास' का पिता चार्ल्स डार्विनको अनुमान र त्यसलाई मजबुत बनाउन रोजमेरी र पिटरको जोडीले गरेको अध्ययनलाई मात्र समेटेँ।
आइतबार परेको चार्ल्स डार्विनको २१४ औं जन्मदिनमा यो लेख चार्ल्स डार्विनप्रति नै समर्पित!
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)