उहिले अहिलेजस्तो विश्वविद्यालयहरू थिएनन्। समाजमा सबै जनाले एउटै काम गरेर वा र एउटैले सबै काम गरेर व्यवहार चल्दैन थियो। यसकारण काम विभाजन अनिवार्य बन्यो।
त्यस्ता काम र सीप सिकाउने निश्चित ठाउँ तथा शिक्षालय नभएकाले घरमै सीमित भयो। एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण हुँदै गयो। पछि धर्मका चाटुकारहरूले त्यसलाई जात व्यवस्थामा ढाले। कालान्तरमा श्रम र सीपका धनीलाई 'अछूत' मा परिणत गरे। श्रम र सीपकै आधारमा मात्रै अछूत बनाइएको भए पनि केही थिएन तर उनीहरूलाई किन हो अपमानित गर्न विभिन्न उखान, भनाइ र अवस्थाहरूको सिर्जना गरे।
कुनै बेला जातीय व्यवस्था चरम रूपमा थियो र राज्यले नै कानुन बनाएर संरक्षित गरेको थियो। त्यति बेला यस्ता उखान र भनाइहरू प्रचलनमा हुनु स्वाभाविक थियो।
अहिले हामी एक्काइसौं शताब्दीको मानव अधिकारको युगमा छौं। यस्ता अपमानजनक उखान र व्यवहार कानुनले नै निषेध गरेको छ तर पनि जानेर वा नजानेर प्रयोग भइरहन्छ।
यस अवस्थाले देशको कुल जनसंख्याको करिब १४ प्रतिशत हिस्सा ओगट्ने ठूलो जमातलाई अपमान गरिरहेको छ।
अब हेरौं; त्यस्ता उखान, भनाइ र व्यवहारका केही उदाहरणहरू।
सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। उनले एउटा प्रसंगमा पत्रकारहरूलाई जवाफ दिने सन्दर्भमा एउटा उखान भनिहाले– राजाको काम छोडी कामीको दियाली।
भनाइको अर्थ, राजाको कुनै सानो काम छ भने पनि कामीको घरमा हुने कुनै उत्सव र चाडभन्दा पनि त्यो महत्वपूर्ण हुन्छ। ठूलाबडा हौं भन्नेले कामीको घरमा खाँदैनन्। त्यति बेला अहिलेको जस्तो बलियो संविधान र कानुन थिएन। त्यसको केही सामान्य विरोध भए पनि अन्य कुनै कारबाही हुने कुरा भएन।
कुनै बेला माधव नेपालले पनि 'मरेपछि डुमै राजा' भनेका थिए। प्रसिद्ध गायिका तथा सांसद कोमल वलीले पनि टेलिभिजन अन्तर्वार्ताको क्रममा माधव नेपालले भनेकै उखान भनिन्।
त्यति बेला अहिलेले संविधान २०७२ क्रियाशील रहेको र त्यसको धारा २४ को छुवाछुत विरूद्धको हकको बारेमा धेरै दलित अधिकारकर्मीहरूलाई थाहा भएको हुँदा वलीको भनाइको व्यापक विरोध भयो। उनलाई अदालतमा उभ्याउनेसम्मको चर्चा चल्यो।
छुवाछुतको व्यवहार गर्नु फौजदारी अपराध हुने भएकोले वली डराइन् र सार्वजनिक रूपमा माफी मागिन्। त्यसपछि दलित अधिकारकर्मीहरू पनि पछि हटे।
'मरेपछि डुमै राजा' भन्ने चलन किन रहेछ भनेर धार्मिक तथा पौराणिक कुरा खोज्दै जाँदा के देखियो भने राजा हरिश्चन्द्रलाई उनी देवताभन्दा पनि श्रेष्ठ छन् भन्ने सिद्ध गर्न विभिन्न परीक्षा लिने क्रममा ब्रह्मर्षि विश्वामित्रले उनलाई मसानघाटमा लास जलाउने काम दिएका हुन्छन्।
भारतको वनारस घाटमा लास जलाउने काम अहिले पनि डोमहरूले गर्छन्।
हाम्रो तराईमा अहिले पनि कुनै घरमा मान्छे मर्दा उसलाई दिने दागबत्ती डोमबाट लिने परम्परा छ। त्यति बेला उसले आगोको मूल्य जति तोके पनि तिर्नुपर्छ भनिन्छ।
राजा हरिश्चन्द्रको सन्दर्भमा पनि उनको आफ्नै छोराको मृत्यु हुँदा लास जलाउँदा लाग्ने पैसा उनले आफ्नी श्रीमतीसँग माग्छन्। उनी राजा भएर पनि डोमको भूमिकामा थिए।
लास जलाउँदा डोमलाई पैसा तिर्नुपर्ने परम्पराअनुसार राजा हरिश्चन्द्रले आफ्नै छोराको लास जलाउँदा पनि कायम रह्यो। त्यति बेला लास जलाउने आगोको मालिक वा राजा डोम हुने भएको हुँदा मरेपछि डुमै राजा भन्ने उखान चलाइएको हुनु पर्छ।
हाम्रै नेपालको बझाङमा डुम्राकोट भन्ने ठाउँ छ। त्यहाँ दलित समुदायकै व्यक्तिहरूले राजकाज गरेका थिए। पछि उनीहरूलाई मल्लहरूले हराएर पदच्युत र जातिच्युत गरे। परिणामस्वरूप त्यो भेगतिर दलितलाई गाली गर्न डुम भनिन्छ।
दलितलाई यसरी होच्याउने र अपमान गर्ने कुरा अर्को प्रसंगमा पनि छ।
सूर्य ग्रहण वा चन्द्रग्रहण लाग्नु खगोल वा ब्रह्माण्डको एउटा नियमित प्रक्रिया हो। यसले मानिसलाई हानी पुर्याउँछ भन्ने केही छैन। समाजमा ग्रहण लागेको दिन अशुभ हुन्छ भन्ने भ्रम फैलाइएको छ। त्यो बेला खाना केही खानु हुँदैन र त्यसबाट हुने पाप पखाल्न कुनै नदीमा स्नान गर्नु पर्छ। त्यसको प्रायश्चित यत्तिमा मात्र सकिँदैन।
सार्की वा चमारले चन्द्रमा वा सूर्यलाई छोएको कारणले ग्रहण लागेको हो भन्ने अन्धविश्वास छ। यसै कारण ग्रहण लागेका बेलाम 'छोड् चमार छोड् भनी' चिच्याइन्थ्यो। सार्की–चमारले छोएर ग्रहण लाग्ने भए उनीहरू जत्तिको शक्तिशाली कोही हुने थिएन। ग्रहण लाग्नमा सार्की वा चमारको कुनै गल्ती वा भूमिका नभए पनि अनाहकमा गाली खानुपर्ने अवस्था थियो।
दलितलाई अपमान गर्ने र गाली गर्ने चलन हिन्दुभित्र मात्र सीमित छैन। हामीले 'जुठे' भन्ने नाम सुनेका छौं। पहिले पहिले भाँडा माझ्ने ठाउँ घरभित्र नभई बाहिर हुन्थ्यो। त्यसलाई फोहोर ठाउँको रूपमा लिइन्थ्यो। कुनै घरमा सन्तान जन्मिँदा लगातार मृत्यु भएमा त्यसपछि जन्मिने सन्तानलाई जुठ्यानमा लगेर राखिन्थ्यो। फोहोर ठाउँमा राख्दा भगवानले पनि लैजाँदैनन्, ऊ बाँच्न पाउँछ भन्ने विश्वास गरिन्थ्यो। जन्मिँदा जुठ्यानमा राखेको हुँदा उसको नाम 'जुठे' हुन्थ्यो।
जनजातिका अन्य समुदायमा त्यस्तो प्रचलन देखिएको छैन। तर शेर्पा समुदायमा नामका अगाडि वा बीचमा दलितहरूको त्यसमा पनि कामी र सार्कीको जात जोड्ने प्रचलन रहेको देखिन्छ। प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको नाम विचार गरौं। उनी प्रसिद्ध भएकाले उनको अगाडि कामी किन आयो भन्ने चर्चा हुँदैन।
मैले जुन जुठेको प्रसंग ल्याएको छु, त्यही कुरा शेर्पा समुदायमा पनि व्यापक रूपमा मान्ने गरिँदो रहेछ। त्यहाँ पनि सन्तान धेरै नबाँच्ने अवस्थामा सबैले हेला गर्ने कुनै जातविशेष जोडेर नाम राखेमा बाँच्छन् भन्ने मान्यता रहेछ।
मैले चिनेका अर्का एक व्यक्ति अहिले क्यानडा बस्छन्। उनको नाम एमसार्की शेर्पा हो। उनको नामको बीचमा सार्की जोडिएको छ। एउटा अचम्म लाग्ने कुरा के छ भने यस्तो नाममा दलितभित्रको कामी र सार्कीमात्रै जोडेको देखिन्छ। दमाई, गन्धर्व, वादी जोडेको देखिँदैन। सम्भवतः शेर्पा समुदायको सम्पर्कमा कामी र सार्की नै बढी रहेको हुनुपर्छ!
अब प्रसंग जोडौं काठमाडौंका मेयर बालेन शाहको। उनी जहिले पनि चर्चामा रहन्छन्। थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि त्यहाँ बसेकाहरूले उनलाई तथानाम गाली गरे। 'त्यो कहाँ शाह राजा हुनु, त्यो त कामी हो, कामी' एउटी महिलाले आक्रोशित हुँदै भनिन्।
डोजर चलाउन लगाउने बालेन शाह, गाली खाने कामी किन?
अर्को, धरानका मेयर हर्क साम्पाङले जनतालाई पानी खुवाएर चर्चा बटुले। अरूलाई अपमान गर्ने उनको शैली पनि त्यतिकै चर्चित छ।
त्यहाँको बसपार्क विस्तारका पीडितहरूले उनको कार्यकक्ष घेर्न जाँदा मेयर र पीडितहरूको झगडालाई लिएर उनले सामाजिक सञ्जालमा लेखे– जोरी खोज्नेहरूको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे, बुद्धि।
त्यो घटनामा चमारहरूको केही साइनो छैन। त्यस्तोमा मेयरको गाली उनीहरूले के आधारमा खानुपर्ने?
चमार समुदायको काम मरेका गाईवस्तुको छाला काढ्ने पनि हो। छाला काढेपछि उनीहरूले आफ्नो बुद्धि जति त्यही छालाको झोलाभित्र राख्छन् भन्ने भाष्य निर्माण गरिएको रहेछ। यसकारण फोहोरको काम गर्नु वा पटमूर्ख हुनुलाई 'चमारे बुद्धि' भनिँदो रहेछ।
यो कुरा साम्पाङले थाहा पाएर भने कि थाहा नपाई, त्यो उनैले जानून्। तर त्यसले देशभरका दलितहरूमा एउटा ठूलो तरंग ल्यायो। अन्तमा उनले माफी माग्नु पर्यो।
अहिलेको गणतन्त्र, धर्मनिरपेक्ष तथा मानव अधिकारअनुकूल देशमा विभिन्न कालखण्डमा समुदायलाई घृणा र अपमान गर्ने नियतले चलाइएका उखान, भनाइ वा भाष्य जानेर वा नजारेर प्रयोग गर्नु कानून र संविधानको खिलाप हो। देशका करिब ४० लाख दलितको अपमान हो। यसतर्फ सबै सजग रहनु आवश्यक छ।