युट्युबमा एक जना पुरूषको अन्तर्वार्ता आइरहेको थियो। विषयवस्तुको शीर्षक देखेरै म अन्तर्वार्ता हेर्न हौसिएँ।
म ती पुरूषलाई चिन्दिनँ तर पनि अन्तर्वार्ता निकै चाख मानेर हेरेँ, सुनेँ।
निकै राम्रा आदर्शवादी, यर्थाथवादी र चाखलाग्दा कुराहरू सरल भाषामा प्रस्तुत गरिरहेका थिए।
मिलेको परिवार कसरी भाडिन्छ? किन परिवारमा शंका उपशंकाले प्रश्रय पाउँछन् ? पारिवारिक विचलन कसरी आउँछ ? परिवारलाई कसरी मजबुद बनाउने ? सम्बन्ध कसरी राम्रो हुन्छ ? के/के कारणले आपसमा वैमनस्यता बढिरहेको छ ? यस्ता धेरै विषयमा निकै घतलाग्दा कुराहरू दोहोराउँदै गए। मनमनै सोचें, यति राम्रो कुरा गर्नेहरूको परिवार झन् कति राम्रो होला ? अरूलाई यस्तो अर्ति उपदेश दिनेहरूको परिवारमा त कहिल्यै झगडा नै पर्दैन होला ? कति राम्रो संस्कार होला ? आदिआदि।
एक जना दिदीको पारिवारिक समस्या थियो, दिदीलाई श्रीमानले धोका दिएका थिए। तीन छोराछोरीको जिम्मेवारी कलिलो उमेरमै दिदीको एकल काँधमा आइपरेको थियो।
कानूनी रूपमा अलग नभए पनि व्यवहारिक रूपमा दिदीको जोडी एक थिएन। अर्कै श्रीमती लिएर अलग्यै बस्थे श्रीमान। बेलाबेलामा छोराछोरी भेट्न घरमा आउँथे रे त्यो पनि दिदी घरमा नभएको बेलामा। दुष्मनी छ भने केवल श्रीमतीसँग मात्रै छ, छोराछोरीसँग होइन भन्ने देखाउँथे रे दुनियाँसामु। पछिपछि त त्यो क्रम पनि बन्द भएछ, छोराछोरी पनि भेट्न आउन छोडे रे। यो टिप्सले केही काम गर्छ कि भनेर उहाँलाई त्यो युट्युबको लिंक पठाएँ।
अर्को दिन दिदीको फोन आयो। सन्चो/बिसन्चो सोधासोध भयो।
‘अँ साँच्चि बैनी तिमीलाई चाहिँ यो टिप्स कस्तो लाग्यो हँ ?’
एक्कासि दिदीले प्रश्न गर्नुभयो।
‘किन र दिदी? मलाई त साह्रै मन पर्यो। त्यही भएर तपाईंलाई पठाएकी हुँ। एकचोटि पूरै भिडिओ हेर्नुस् न दिदी, तपाईंको जिन्दगीमा पनि केही परिवर्तन हुन्छ कि ? भिनाजुको मन फर्किन्छ कि ? परिवार मजबुद होला, सम्बन्ध राम्रो होला कि भनेर मात्रै पठाएकी हुँ दिदी’
दिदी एकैछिन रोकिनु भयो, त्यसपछि फोनमै रूनुभयो।
‘तिमीलाई के थाहा बैनी? तिमी मभन्दा धेरै सानै छौ उमेरमा। धेरै काँचै छौ व्यवहार बुझ्न अनि धेरै पछाडि छौ जिन्दगीको खास भोगाइ बुझ्न। मैले जति भोगें त्यसको एक अंश पनि पूरै तिमीलाई सुनाएको छैन बैनी। अलिकति सुनाउँदैमा तिमी यतिधेरै भावुक बन्छौ र मलाई जिन्दगी सपार्ने टिप्स पठाउँछौ भने सोच त यो दिदी कसरी आजसम्म बाँचेकी होली ?
चौध वर्षमा बिहे भयो। सोह्र वर्षमा ठूली छोरी, अठार वर्षमा सानो छोरा जन्मियो। जब १९ वर्षमा तेश्रो पटक म गर्भवती भएँ, त्यसपछि श्रीमान मप्रति शंकालु बन्न थाल्यो। यो बच्चा मेरो होइन, कस्को पेट बोकिस् सम्म भन्न बाँकी राखेन। क्युरेट गर्न भनेर पनि गएँ, चार महिना भइसक्यो अब गर्न मिल्दैन भने डाक्टरले। साना लालाबाला त्यसमाथि अर्को बच्चा पेटमा, श्रीमानको शंकालु व्यवहार, सासू ससुरा र नन्द आमाजुको मैमाथि थप शंका म कसरी बाँचे हुँला ?
समाजका सामु बैठकसम्म राखे, यो बच्चा कस्को भनेर ? समाज पनि मै माथि खनियो। जब आफ्नै श्रीमानले मेरो बच्चा होइन भनेपछि समाजले के भन्थ्यो र ?
एक वर्षको सुत्केरी, अर्को बच्चा पेटमा केही जवाफ थिएन मसँग। म निरिह भएँ, माइतमा बाउआमा थिएनन्, भाइ बुहारी समाजकै साक्षी बने। मेरा लागि कोही भएन।
श्रीमान मबाट टाढियो, घरपरिवार, आफन्त समाज सबै टाढिए। म एक्लै संघर्ष गरेर दुइटा बच्चा साथमा एउटा बच्चा पेटमा बोकेर जिन्दगी कटाएँ।
जब सुत्केरी ब्यथा लाग्यो तब मेरो सहारा कोही भएन।
बच्चा (छोरो) घरमै जन्माएँ, आफैं सालनाल काँटे, आफैं बच्चालाई धोइपखाली गरेँ।
आफैं सुत्केरी भएँ, आफैं सुत्केरी स्याहार गरेँ। अब तीन वटा बच्चाकी आमा बनेँ। कान्छो छोराको पालामा धेरै दु:ख पाएँ। ज्वानाको झोल सिवाय केही खान सक्ने हैसियत थिएन त्यही खाएर प्राण धानें।
छिमेकी एक जना आमाले मेरो हालत देख्नुभएछ। घिउ, कुखुराको भाले, बच्चाको न्यानो लुगा लिएर आउनुभयो।
मेरो छेउमै बसेर सोध्नुभयो, ‘तिम्रो लोग्ने छैन नानी ?’
छिमेकी आमाको प्रश्नले एकैछिन त आँसुको आहाल बन्यो। म रोएको देखेपछि दुइटा बच्चा दायाँबायाँ बसेर ग्वाँग्वाँ गर्दै रोएँ। आमाले गाली गर्नुभयो।
‘यति राम्रा मुनाहरू साथमा छन् तिमीले हरेस खाएर हुन्छ ? भोलि यिनै छोराछोरीले सुखले पाल्छन्। छोराछोरी हुने आमा पनि रून्छन्?’ आफ्नै आमाले जसरी सम्झाएको देख्दा सोह्र वर्षअघि स्वर्गे भएकी आमाको याद गहभरी आयो।
आँसु पुछेँ, रून्चे अनुहार लाएर आमातिर हेरेँ, ‘खै के भन्नु आमा? लोग्ने छैन भनौँ भने आजको दिनसम्म रातै पहिरनमा छु, लोग्ने छ भनौँ भने यी तीन वटा बच्चा बिना बाउका सन्तानजस्तै भए।
दुई सन्तान हुुन्जेल राम्रै थियो, यो कान्छो पेटमा आएदेखि कसको पेट बोकिस् भन्दै शंका मात्रै गर्न थाल्यो।
म श्रीमान, घरपरिवार, समाज आफन्त सबैबाट कलंकित भएर अपमानित भएर अलग्गै बस्ने निर्णय गरेँ आमा’आमा केही बोल्नु भएन।
‘हेर नानी मेरा छोरी छैनन्, आजदेखि तिमी मेरी छोरी, यी मेरा नातिनातिनी हुन। म छु तिम्रो लागि, जबसम्म आमा साथमा हुन्छिन् नि कसैले कक्रे नजर लाउन सक्दैन।’ आमाको कुराले म अवाक बनें।
आफ्नैले त दुत्कारीसके मलाई, कहाँ न कहाँको चिनजान एकैछिन भएकै भरमा को आफ्नो हुन्छ र ? शंकामाथि सल्किँदै सल्किँदै सकिन लागेकी ममाथि कोही किन दया देखाउँछ भन्ने लाग्यो, पत्यार लागेन।
आमा दिनप्रतिदिन निकै नजिक हुन थाल्नुभयो, उहाँको एउटा छोरा रहेछ त्यो पनि विदेशमा।
चार पाँच वर्षमा एकचोटि आउने रे। खासै आमाको मतलव नगर्ने, श्रीमान दश वर्षअघि बितिसकेका रे। आमाको दु:ख बिसाउने म, मेरो दु:ख बिसाउने आमा जस्तै बन्यौँ।
मेरो कान्छो छोराको न्वारान पनि आमाले पण्डित खोजेर गराउनुभयो। जन्मदर्ता पनि आमामै पहलमा बन्यो। आमाको धेरैतिर सम्बन्ध, सम्पर्क रहेछ।
आमाकै जोडबलमा करारमा जागिर पनि खाएँ।
छोराछोरी हुर्काउँदै जागिर खाएँ। करारमा काम गर्दागर्दै स्थायी बनेँ। अहिले छोराछोरी हुर्के, जसोतसो बिएसम्म पढेँ।
अब त छोराछोरी पनि जागिर खानसक्ने हैसियतमा पुग्न थाले। जतिबेला ममाथि शंका गर्यो लोग्नेले त्यसैबेलादेखि अर्की केटीलाई अलग्गै कोठा लिएर राख्न थालेको रहेछ।
अविवाहित हुँ भन्दै चार वर्षसम्म त्यो केटीलाई श्रीमती बनाएर राखेछ।
कोही न कोहीले त थाहा पाउँछन् नै, आफन्तलाई बहिनी, साली भन्दो रहेछ। एक जनाले आफन्तले मलाइ सोधे, ‘भाउजू तपाईंका बहिनी त छैनन क्यारे, दाइले त साली भनेर एउटा केटीलाई सबैका सामु चिनाउँदै हिँडेका छन्।’ म अक्क न वक्क परेँ।
उनले फोटो पनि देखाए, त्यो मेरो कुनै नातेदारको बहिनी नभएको बताएँ।
एकपछि अर्को सबैतिर हल्ला भयो, अर्कै केटी लिएर बसेको प्रमाणित भयो। मलाई बहुविवाहको मुद्दा हाल भन्ने सम्मका सल्लाह सुझाव दिए। जतिबेला मलाई लोग्नेको आवश्यकता थियो, सहयोगको खाँचो थियो त्यो बेला नपाएको साथको विरूद्धमा मुद्दा हालेर के पाउँछु? मेरा बच्चाले बाउबिना बिताएका यतिका वर्षको क्षतिपूर्ति के हुन्छ? कान्छो छोराले मेरै कारण बाउले आमालाई घरबाट निकाले भनेको सुन्दा उसलाई कस्तो होला ? बाउआमा दुबै म भएर हुर्काएकी छु।
मलाई त्यसको सम्पत्ति चाहिँदैन, मुद्दा पनि हाल्दिनँ। अब म आत्मनिर्भर भएकी छु, स्थायी जागिर छ, जे जसो सास्ती भोगेर, दुनियाँसँग हात जोडेर भए पनि छोराछोरीलाई पढाएँ।
आमाको दु:ख बुझेर छोराछोरीले पढिरहेका छन्। मलाई मुद्दा मामलाको लफडामा पर्नु छैन, अझै कति वटी ल्याउनु छ ल्याओस् भन्ने मनसाय मेरो तर्फबाट राखें।
बिहे गरिसकेको, तीन बच्चा भएको थाहा पाएपछि त्यो महिलाले आफूमाथि धोका दिएको भन्दै टर्चर दिन्छे रे।
अहिले कान्छी तिरको एउटा छोरी छ रे, तर दुई जनाको सम्बन्ध राम्रो छैन भन्ने सुन्छु।
तिमीले जसको भिडिओ पठायौ नि बैनी त्यो मेरै लोग्ने थियो कुनै दिन ...... तिमीलाई यत्रो भूमिका किन बाँधे थाहा छ ? ममाथि यतिसम्म अत्याचार गर्नेले अरूको सम्बन्ध सुधार गर्न, परिवार मजबुद बनाउन कस्तो राम्रो टिप्स दिएको ? तिमीलाई आजसम्म यो अपराधी लोग्नेको बारेमा भनेकी थिइनँ, तिमीलाई त हामी अलग अलग बस्छौँ भन्ने मात्रै थाहा थियो तर खास कुरो यो हो।’
दिदीको कुराले बल्ल पो झट्का दिन थाल्यो।
‘साँच्चै हो र दिदी ?’ फेरि सोधें।
‘यो त अहिले मोटिभेसनल स्पिकर रे अझ कता कता। जसको आफ्नै परिवारको यो हालत छ। आफ्नै श्रीमतीमाथि शंका गरेर घरवारविहीन बनायो। आफू जिउँदै हुँदै छोराछोरीलाई टुहुरो बनायो उही आदर्शवान, उसकै कुरा ठूला? दुनियाँलाई अर्ति र उपदेश कति दिन सकेको ? लाज शरम भन्ने कुरा पनि सर्माउन थाल्यो यस्तासँग। .यस्तालाई खोजीखोजी स्थान दिनेहरू कति पटमूर्ख होलान्? यसको विगत कसले थाहा पाउने ? अर्काको घर परिवारको चिन्ता लिने अधिकांश आफ्ना घरबार बिगारेका छन् नपत्याए गहिरिएर अध्ययन गर बैनी। आफ्नो श्रीमानसँग सम्बन्ध राम्रो नभएका महिलाहरू दुनियाँका परिवारको चिन्ता लिन्छन्। म जस्तै अलपत्र भएका महिलाका श्रीमानहरू दुनियाँलाई समाजशास्त्रका, पारिवारिक सम्बन्ध मजबुदीका भरपूर टिप्स दिन्छन्। आफू को हुँ, को थिएँ भन्ने बिर्सेर दुनियाँसामु चिल्ला कुरा गरेर हाईहाई कमाउने कत्रो रहर हो?’
दिदीको कुरा सुनेपछि थकथक लाग्यो धेरैबेरसम्म। उज्याली दिदीका मनमा यति कहालीलाग्दा अँध्यारा ज्वारभाटाहरू रहेछन्। आज तलब बुझ्यो भोलि नै पैसा छैन अब महिना कसरी चलाउने भन्ने दिदीका मनभित्र यत्रा गहिरा गल्छीहरू रहेछन्।
सतही बुझियो, कहिल्यै सबै दु:ख देखाउनु भएन दिदीले।
सापटी लिने कुनै पनि ठाउँ बाँकी राख्नुभएन दिदीले। ऋणपान जे जस्तो गरेर भए पनि छोराछोरी पढाउनुभयो। मनभित्र सुनामीका छालहरू उर्लिए पनि बाहिर सतिसाल जस्तै अचल बनेर उभिनु भयो।
आज उनै दिदीका यतिधेरै विगतका चह्राएका घाउका पाप्रा फेरि उप्किन थालेकी भन्ने पनि लाग्यो। समाजमा मै हुँ भन्ने महापुरूषको याद आयो। आफ्नी श्रीमतीलाई अलपत्र पारेर अरूका छोरीको चरित्रको ठेक्का लिने ठेकेदार सम्झिएँ। कार्यालय सरूवा भएपिच्छे नयाँ जोडी बनाइहाल्ने हाकिम साबको कर्तुत सम्झेँ। आफ्नै घर लथालिंग छ दुनियाँको घरबारको चिन्ता लिने चिन्तनशील समूह सम्झेँ।
कहीँ न कहीँ कतै न कतै यी महोदयजस्तै धेरै महोदयहरू भएको सम्झें। कम्तीमा आफ्नो घर परिवार, आफ्नो पारिवारिक सम्बन्ध मजबुद बनाउनु दुनियाँको चासो र चिन्ता किन लिने?
आफ्नै घर राम्रोसँग बसाउन नसक्नेले दुनियाँको घरबारको ठेक्का किन लिन्छन्? एक न एक दिन त सत्य आखिर बाहिर आउँछ नै।
यस्ता महोदयहरूलाई कुन शब्दले सम्वोधन गरौँ खै ?
सानै उमेरमा विवाह गरेर भित्राएकी, तीन सन्तान सहितकी आमा अलपत्र पारेर दुनियाँ बेवकुफ बनाउने आदर्शवान महोदय झूटको खेती धेरै दिन टिक्दैन। कुनै दिन तिम्रो फेहरिस्तसहित तिम्रै सन्तानले तिम्रो उछितो यसैगरी काढे भने त्यो अनुहार कसरी देखाएर हिँड्छौ?