मेरी छोरी अहिले २६ वर्षकी भइन्। स्नातकोत्तर तहको पढाइ सकेर आफ्नै पेसामा काम गर्न थालेको पनि झन्डै दुई वर्ष भयो। मेरो छोरीले स्नातक तह सकेदेखि नै मलाई र मेरो परिवारलाई चिन्ने वा भेट्ने र मेरो परिवारको बारेमा सोधखोज गर्ने धेरैको प्रश्न छ, 'छोरीको बिहे कहिले गर्ने?'
यति मात्रै कहाँ हो र? छोरीको लागि केटा खोजिदिने वा विवाहको लागि प्रस्ताव राखिदिने मेरा शुभ चिन्तक वा आफन्तहरु पनि हुनुहुन्छ। कतिको संकेत त छोरीको उमेर घर्केको तर्फ पनि हुन्छ। यस्तै प्रसंगहरु मेरो भान्जी जसले २६ काटेपछि बिहे गरेकी थिइन्, उनको बिहे गर्नुभन्दा अघि पनि मैले सुनेको थिएँ।
आजकलका धेरै छोरीको जस्तै मेरी छोरीको पनि चाहना पहिले एक सक्षम र स्वावलम्बी नारीको रुपमा उभिनु पर्छ भन्ने छ। त्यसपछि मात्रै बिहे गर्ने र घरजम गर्ने उनको चाहना र महत्वाकांक्षालाई म र मेरी पत्नीले पूर्ण समर्थन र सम्मान गरेका छौँ। तर पनि, मलाईभन्दा अन्य कतिपयलाई मेरी छोरीको बिहे नहुने होकि भन्ने चिन्ता लागे जस्तो लाग्दै छ मलाई।
स्वभाविक हो, छोरीको उमेर पुगेपछि बिहे गर्ने बारे सोच विचार गर्नु पर्छ। त्यो मैलेभन्दा पनि मेरो छोरीले सोच्ने कुरा हो। म आफैं त्यो निर्णय गर्ने अधिकार छोरीलाई छोडेको बेला 'अब छोरीको बिहे गर्ने हैन?' भन्ने धेरैको जिज्ञासाले मेरो मनमा केही प्रश्नहरु उब्जिन्छन्। बेलायतमा हुर्के बढेकी मेरी छोरीलाई भने यस्ता जिज्ञासा वा प्रश्नहरुले अचम्मित बनाउँछन्।
हाम्रो समाजमा छोरीको उमेर र बिहेको बारेमा धेरै चासो र चर्चा हुन्छन्। यति नै धेरै चासो छोराको उमेर र बिहेको बारेमा भने हुँदैन। यो एउटा मुख्य मुद्दा हो। यो कुराले हाम्रो समाजको प्रवृतिलाई राम्रैसँग उदांग पारेको छ। यो नेपाली समाजमा छोरा र छोरीको बारेमा गरिने विभेदको नमुना पनि हो।
अहिले पनि छोरीलाई पढाउने भनेको आत्मनिर्भर बनाउनुभन्दा पनि राम्रो केटा वा घर खोज्न हो भन्ने कतिको बुझाइ छ। राम्रो घर पाए छोरीको जीवन बन्छ वा राम्रो ज्वाइँले छोरी राम्रोसँग पाल्छन् भन्ने जस्ता परनिर्भर बनाउने सोच पनि नभएको हैन नेपाली समाजमा। छोरीलाई उनीले चाहे जति पढाउने भन्दा पनि छिटो बिहे गरेर घरजम गराउने र आफ्नो थाप्लो हलुंगो भएको महसुस गर्नेहरु पनि प्रसस्तै छन् यहाँ।
मैले मेरी हजुरआमाको युग पनि देखेँ। उहाँले भनेको सम्झेअनुसार उहाँको बिहे सात वर्षको उमेरमा भएको थियो। बाल बिवाह मात्रै त्यो बेलाको समस्या थिएन। उति बेला महिलाहरुले चुल्हो चौका गरेर घरधन्दा धान्ने मात्रै हैन, घाँस दाउरा, मेलोपातो, गाउँबेसी, वस्तुभाउ आदि सबै पनि गर्नुपर्थ्यो। हजुरबुवाको अघि उहाँको बोल्ने हिम्मत थिएन। अन्य पुरुषसँग बोल्नु वा चर्को स्वरमा कुरा गर्नु निषेध जस्तै थियो। लैंगिक विभेद त्यो बेलामा पनि थियो।
मेरो आमाको पालामा पनि मैले उहाँ र उहाँ जस्तै महिलाहरुले गरेको चरम दु:ख र कष्ठ देखें। कामका कारण शारीरिक रुपमा गर्ने दु:ख त छँदै थियो, त्योभन्दा पनि मानसिक रुपमा बुहारीका रुपमा मेरी आमाले भोगेको बुहर्तन निकै कठिन र दु:खदायी थियो।
मेरी आमा एक प्रतिनिधि पात्र मात्र हो। त्यो बेलाका अन्य धेरै आमाहरुले त्यस्तै दु:ख र कष्ट भोगेका थिए। अहिले सम्झँदा त्यो युगमा अलिकति परिवर्तन आए पनि बुहारीलाई हेर्ने हाम्रो समाजको सोचमा भने अझै क्रान्तिकारी छलाङ आउनु पर्ने देखिन्छ।
मैले मेरै युग पनि भोगेँ। तीस वर्ष अघि मेरो आफ्नै निर्णयबाट मैले अन्तरजातीय विवाह गर्दा धेरैले मेरो बिहेको बारेमा चर्चा गरेका थिए। मैले सहज रुपमा मेरी श्रीमतीलाई चुनेँ पनि परिवारमा अलिकति गुनासो भने थियो। हाम्रो बिहेको बारेमा समाजले के भन्छ हामीलाई पर्वाह नभए पनि समाजलाई चासो भने थियो।
त्यसताका म काठमाडौँको एक सरकारी स्कुलमा गणित शिक्षकको रुपमा काम गर्दै आंशिक समय स्नातक पढ्दै थिएँ। मेरी उनी भने त्यति बेला प्रमाण पत्र तह अध्ययन गर्दै थिइन्। म काम गर्दै आफैँ पढ्ने र पालिने गरे पनि हामी दुवै जना अल्लारे थियौँ।
त्यतिबेला (र, अहिले पनि) मेरो श्रीमतीले मलाई विश्वास गरे पनि मेरो आफ्नै सासुले बिहे गर्ने बेला मलाई पत्याउनु भएको थिएन। बिहे त भयो, ज्वाइँले पाल्न सक्ने नसक्ने कुरामा शंका उप-शंकाहरु थिए। त्योभन्दा पनि ठूलो विरोध छोरीले आफैंले छानेको केटासँग अन्तरजातीय बिहे गरेकोमा थियो।
अहिले हाम्रो नेपाली समाज परिवर्तनतर्फ उन्मुख भए पनि आमूल परिवर्तन हुन र अपेक्षा अनुसारको प्रतिफल पाउन समय लाग्ने देखिन्छ। नेपाली समाजमा विशेषगरी ग्रामीण समाजमा आजकल महिलाको हक हित, महिला सशक्तिकरण र सीप अभिवृद्धि गर्ने धेरै कार्यक्रमहरु संचालित छन्। यसैका लागि धेरै गैह्र सरकारी संघ संस्थाहरु पनि संचालित छन्। तरपनि, परिवर्तनको फल चाख्न धेरै लामो बाटो हिंड्नु पर्ने देखिन्छ।
देशमा हामीले चाहे जस्तो पूरा परिवर्तन नभएसम्म हामी सबैले 'छोरीको बिहे कहिले गर्ने?' भनेर सुझाव दिनुभन्दा 'छोरी कहिले आत्मनिर्भर हुन्छिन्?' भन्ने प्रश्न गर्ने कि?