२०८१ साल चैत ५। महेन्द्र बहुमुखी क्याम्पसको आँगनमा यो दिन एउटा औपचारिक प्रक्रिया सम्पन्न भयो—स्ववियु निर्वाचन। तर त्यो दिन केवल उम्मेदवारीको प्रतिस्पर्धा थिएन, त्यो दिन त एक चुपचाप चुनावले विद्यार्थी राजनीतिमा मौनताको गहिरो संकेत दियो।
८ हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पस। ४६६० जना मतदाता सूचीमा, तर मतदान गरे केवल १६९८ जनाले। यो संख्या चुनाव जित्न वा हार्नभन्दा ठूलो संकेत हो—यो हो विद्यार्थी चेतनाको सुस्ताउँदै गएको स्पन्दन।
र म, सन्तोष रावल—नेपाल विद्यार्थी संघको तर्फबाट सभापति पदको उम्मेदवार, ती मौन मतदातामाझ एउटा आवाज बोकेर उभिएको थिएँ।
म केवल उम्मेदवार थिइनँ। म एक विद्यार्थी पनि हुँ। एक शिक्षक पनि हुँ। एक शिक्षाको सपना देख्ने र त्यो सपना शिक्षाको साँचो माध्यमबाट बचाउने प्रयासमा जुटेको मान्छे।
स्ववियु कुनै समय विद्यार्थी आवाजको मेरूदण्ड थियो। शुल्कवृद्धि, शैक्षिक गुणस्तर, लैङ्गिक समानता, र क्याम्पसभित्रको प्रणालीगत अन्याय विरुद्धको अग्रपंक्तिमा उभिन्थ्यो। आज त्यो संस्था पदको घेरामा सीमित छ। संकायमा समस्याहरू छन्, कक्षामा कुरा उठ्दैन। र नेतृत्व? घोषणा छ, तर उपस्थिति छैन।
मौन विद्यार्थी, मौन भरोसा
१६९८ भोट खस्नुको अर्थ के हो? विद्यार्थीहरूले बोलेनन्, किनभने उनीहरू सुनेका छैनन्। विश्वास गरेनन्, किनभने तिनको अघिल्ला विश्वासमा चोट लागेको छ। राजनीति अब आशाको भाषा होइन, निराशाको अनुभव हुन थालेको छ। विद्यार्थीले ‘स्ववियु किन आवश्यक छ?’ भन्ने प्रश्नमा उत्तर खोज्न थालेका छन्। र त्यो प्रश्नको जबाफ हामीले दिन नसक्दा उनीहरूको मौनता नै प्रतिरोध बन्दै गएको छ।
म चुनाव जित्न होइन, चेतना जगाउन उठेँ। मैले पढाउँदै गर्दा, पढ्दै गर्दा देखेको सिस्टमको चरम विफलता बोलेको छु। छात्रवृत्तिमा पहुँच नपाउनेको पीडा, कक्षामा कुर्सी छैन, ल्याबमा सामग्री छैन, शिक्षक छैन, सुरूआत छैन, अनि स्ववियुमा संलग्नता छैन।
यस्तो व्यवस्थाको बीचमा उभिएर मैले संकल्प गरेको थिएँ—भविष्य साँच्न, शिक्षा बचाउन।
अब के? जित–हारको गणित होइन, संकल्पको बाटो। चुनाव सकियो। जित–हारले परिणाम त दियो, तर हाम्रो काम त्यही सकिँदैन। हाम्रो काम अब सुरू हुन्छ—स्ववियुलाई फेरि विद्यार्थीको आवाज बनाउने। राजनीतिमा फेरि शिक्षा, सेवा, र समानताको कुरा प्रवेश गराउने।
के गर्न सकिन्छ?
१. स्ववियु नेतृत्वले कार्य देखाउने संस्कार बसाल्नुपर्छ—नाराले होइन, नतिजाले बोल्नुपर्छ।
२. विद्यार्थीहरूको आवाज सुन्ने र सम्बोधन गर्ने नियमित संवाद प्रणाली विकास गर्नुपर्छ।
३. शैक्षिक सुधार एजेन्डा केन्द्रमा ल्याएर, राजनीतिलाई माध्यम बनाउने।
४. पारदर्शिता र जबाफदेहितालाई स्ववियुको पहिलो आधार बनाउनु पर्छ।
म सन्तोष रावल, एक युवाशक्ति, एक विद्यार्थी, एक शिक्षक, र एक संकल्प बोकेको प्रतिनिधि। म चुनाव जित्नभन्दा पनि विश्वास जित्न चाहन्छु। म स्ववियुमा फेरि भरोसा फर्काउन चाहन्छु। र म राजनीति गरेर शिक्षा नबिगार्ने, बरू राजनीतिमार्फत शिक्षा सुधार गर्ने सपना बोकेको छु।
स्ववियुको मौनता टुट्नुपर्छ, र त्यो टुटाउने पहिलो आवाज म बन्न तयार छु।
(लेखक महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, नेपाल विद्यार्थी संघका स्ववियु सभापतिका प्रत्याशी हुन्।)