आज शुक्रबार बिहान २:२३ बजेतिर मस्त निन्द्रामा सुतिरहेको अवस्थामा मेरो मोबाइलको घन्टी बज्छ। रातको शान्त समयमा बजेको घन्टीले मेरो निद्रा खुल्छ। राति कसैले आपत् परेर नै फोन गरेको होला भनेर मेरो हात मोबाइल सेटतर्फ अगाडि बढ्यो र डराउँदै-डराउँदै फोन उठाएँ। फोन मेरो आफन्त पर्ने काभ्रेको भाइले गरेका रहेछन्।
फोन उठ्नासाथ भाइले आत्तिदै भने, ‘दाइ, बुवाको स्वास्थ्य अवस्था नाजुक भयो। अस्पतालमा सोध्दा आइसियू बेड छैन भन्नुहुन्छ, के गर्ने? केही गर्न सकिन्छ भने कोशिश गरौं न दाइ।’
भाइको यस्तो आग्रह सुनेपछि मैलै सान्तवना दिँदै ‘कोशिश गर्छु’ भनेर फोन राखें। रातको दुई बजे कसले फोन उठाउला भन्दै पाटन अस्पतालमा रहेका डाक्टरहरूको नम्बर मोबाइलमा खोज्न थालें।
मेरो मोबाइलमा सेभ रहेको पाटन अस्पतालका निर्देशकलाई रातको समयमा डिस्टर्ब भयो होला भन्दै डराउँदै-डराउँदै फोन गरे। त्यतिबेला बिहानको साढे दुई बजेको थियो।
रातमा फोन उठ्लाजस्तो लागेको थिएन। तर मेरो साथीसमेत रहनुभएका निर्देशकले दोस्रो घन्टीमा नै फोन उठाउनुभयो।
मैले राति फोन गर्नु परेकोमा माफी माग्दै सहयोगको लागि अनुरोध गरें। उहाँले मलाई सक्दो सहयोग गर्ने वचन दिनुभयो। बुबाको उपचारका लागि आइसियूको खोजीमा छट्पटाइरहेका भाइलाई मैले निर्देशकले भन्नुभएको कुरा सुनाएँ।
यसबाट केही राहत पाएको भाइको फेरि केही समयपछि फोन आयो। आत्तिँदै भाइले भने,‘दाइ, बुबाको अवस्था एकदमै सिरियस भयो तर आइसियू बेड उपलब्ध हुन सकेन।’
भाइको यस्तो कुरा सुनेपछि मैले सोचें, ‘महामारीका कारण सबै आइसियु वेड र भेन्टिलेटर खाली नभएको हुँदा सायद ड्युटीमा रहेका डाक्टर तथा नर्सहरू पनि बिरामीको जटिल अवस्था हेरेर केही गर्न सक्ने अवस्थामा छैनन्, सबै हेल्पलेस छन्, निरीह भएर बिरामी र उनका आफन्तको रोदन सुन्नुको उनीहरूसँग विकल्प छैन।’
त्यहाँ रहेका कुनै बिरामीलाई सार्न सक्ने अवस्था नरहेको जानकारी प्राप्त भयो। त्यसपछि अरू अस्पतालतिर कोशिश गर्ने कि भनेर सोंचें तर रातको समयमा फोन उठ्नै गाह्रो र बिरामीको पनि अवस्था अत्यन्त नाजुक रहेकाले अन्यत्र लान सक्ने अवस्थामा थिएन। मैले पाटन अस्पतालका निर्देशकलाई पुनः मेसेजमार्फत् थप अनुरोध गर्न थालें। तर केही समयपश्चात् मैले अस्पतालको बाध्यता बुझें।
अस्पतालबाट जनरल बेडमा राखेर बिरामीलाई बचाउनका लागि गर्नुपर्ने सबै प्रयास भए। तर बिरामीको अवस्था जटिल भइसकेको थियो, जसको उपचार जनरल बेडबाट सम्भव नै थिएन। जनरल बेडमा उपचार सम्भव छैन, आइसियू बेड र भेन्टिलेटरको अभाव छ।
यसबीचमा भाइसँग मेरो करिब ६ पटक कुरा भएको रहेछ। भाइले बिहान ५:१३ बजे फोन गरे र भक्कानिँदै भने, ‘दाइ, बुवा रहनुभएन, तपाईंको सहयोगको लागि धेरै-धेरै धन्यवाद।’
मलाई अत्यन्त दुःख लाग्यो। मेरा आँखा रसाए। भाइलाई सम्झाएँ। र, म सोच्न थालें, ‘यो एउटा प्रतिनिधि घट्नामात्रै हो जुन मैलै प्रत्यक्ष भोगें। देशैभरि हजारौं बिरामी कोही बेड नपाएर त कोही बेड पाएर पनि अक्सिजन नपाएर छट्पटिएर रहेका छन्। सयौंको दैनिक मृत्यु भइरहेको कहालीलाग्दो अवस्था छ।’
आइसियूमा उपचार गर्दागर्दै मृत्यु हुने पनि धेरै छन्। तर आइसियू बेड पायो भने बाँच्ने थियो कि भन्ने आशाचाहिँ बिरामीको आफन्तलाई हुँदो रहेछ।
केही समयअगाडि पनि ती भाइले पनि उनका दाइको लागि भेन्टिलेटर भएको बेड खोज्न मलाई अनुरोध गरेका थिए। मैले धेरै ठाउँमा प्रयास गरें तर प्राप्त गर्न सकिएन।
जोरपाटीको एउटा अस्पतालमा भेन्टिलेटरबिना नै बिरामीको साधारण बेडमा राखेर उपचार गराइराख्नु पर्ने अवस्था आयो। अक्सिजन पनि आफैं व्यवस्था गर्दै उपचार भइरहेको छ। हाल उहाँको अवस्था केही सुधार भएको छ।
अचानक दुई दिनअगाडि उनले फोन गरेर ‘बुवा सिरियस हुनुभयो, आइसियू खोजिदिनुस्’ भनेका थिए।
धेरै अस्पतालमा फोन गरेर नपाए पछि पाटन अस्पतालका निर्देशकलाई कुरा गरेको थिएँ। उहाँले ‘इमर्जेन्सीमा ल्याउनुस् अवस्था हेरेर मिलाउँदै गरौंला’ भन्नुभएको थियो। बिरामीको अवस्था जटिल भइसकेको थियो। तत्कालै इमर्जेन्सीमा लगेर हाइफ्लो अक्सिजन दिइयो र बेलुका कोभिड वार्डमा सारिएको थियो।
जब कोरोनाको दोस्रो लहर चल्न थाल्यो हस्पिटलमा खचाखच बिरामीको चाप बढ्न थाल्यो। अक्सिजनको पनि अभाव देखिन थाल्यो। सार्वजनिक पदमा रहेर काम गरिसकेको हुनाले मलाई पनि धेरै ठाउँबाट हस्पिटल बेड मिलाउन र अक्सिजन मिलाइदिन अनुरोध गर्दै कयौं फोन आउँथे। विभिन्न अस्पतालमा अनुरोध गर्दै चिनजानका डाक्टर साथी सबैमा अनुरोध गरेर आफूले सकेको सहयोग गर्दै आएको छु।
मसँग चिनजान भएकाले त मलाई फोन गर्ने नै भए। मैले पनि सकेको सहयोग गर्ने भएँ। तर, कयौं यस्ता बिरामी छन् जसले उपचार नपाएर अकालमै आफ्नो अमूल्य ज्यान गुमाउन बाध्य छन्। त्यस्ताको उपचारमा राज्यले विशेष ध्यान दिनैपर्छ।
धेरैलाई आपत् पर्दा कुन अस्पताल जाने र कुन अस्पतालमा बेड खाली छ भन्ने पत्ता लगाउनै गाह्रो हुँदो रहेछ। आजको डिजिटल युगमा पनि हामीले एउटा एप्स बनाएर सर्वसधारणको लागि अनलाइन सूचना दिन सकेका छैनौं। मलाई त बेड खोज्न गाह्रो हुन्छ भने सर्वसाधारणको लागि त टाढाकै कुरा हुने भयो। केही अस्पतालको भनाई हामीसँग बेड भए पनि अक्सिजनको अभावमा थप बिरामी लिन सक्दैनौं भन्नेछ भने धेरैजसो अस्पतालको बेड पुरै भरिएको छ। आज पनि अवस्था उस्तै छ। यस्तो अवस्थामा पनि स्वास्थ्यकर्मीबाट आफ्नो ज्यानको बाजी लगाएर काम गरिराख्नुभएको छ। जीवित भगवान कर्तव्यनिष्ठ उहाँहरूको जति प्रशंसा र सम्मान गरे पनि कमी हुन्छ। मैले धेरै डाक्टरहरूसँग बिरामीको उपचारको लागि अनुरोध गर्दा उहाँहरूबाट अत्यन्तै राम्रो रेस्पोन्स पाएको छु। तर साधन-स्रोतको कमीमा उहाँहरूले पनि गर्ने एउटा सीमाभित्र मात्र हो।
समग्रमा देशको स्वास्थ्य प्रणालीमा ठूलो समस्या देखिन्छ। चेनअफ कमाण्ड र समन्वयको अत्यन्तै अभाव देखिन्छ। व्यवस्थापनको पक्षमा हामी धेरै नै चुक्यौं। कसले के गर्ने र कोप्रति उत्तरदायी हुनु पर्ने भन्ने नै देखिँदैन।
यो समस्याको दीर्घकालीन समाधान भनेको सबै नागरिकलाई खोप लगाउनु नै हो। यसप्रति सबैको ध्यान केन्द्रीत हुनु आजको आवश्यकता हो। साथै तत्कालीन रूपमा नागरिकको ज्यान बचाउन सरकारको सबै संयन्त्र केन्द्रीकृत गर्नु जरूरी छ। यस्तो महामारीमा नागरिकको तर्फबाट धेरै गर्न सकिने अवस्था छैन। सरकारी संयन्त्रलाई नै प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ। यसप्रति सबै राजनीतिक दलहरूको पनि ध्यान जानु जरूरी छ। देशमा कोरोनासँग लड्न एउटा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढौं र नागरिकको ज्यान जोगाऔं।