लोकतान्त्रिक मुलुकमा कुनैपनि देशको राजनीति त्यही देशको समाजको सोचाइ र दृष्टिकोणको उपज हो। अर्थात्, समाजले जस्तो चरित्र देखाउँछ त्यस्तै राजनीतिक नेतृत्व चयन गर्छ।
किनकि लोकतन्त्रमा सार्वभौमसत्ता जनतामा निहीत हुन्छ। जनताले चुनेका प्रतिनिधि नै जनप्रतिनिधिको रुपमा काम गर्छन। साथै उनीहरुले नै राजनीति प्रणाली बनाउँछन्। देश हाँक्ने, बनाउने वा बिगार्ने जिम्मा पनि उनीहरु कै हुन्छ।
नेपालमा धेरै ठूला-ठूला राजनीतिक परिवर्तनहरु भए। सबै राजनीतिक परिवर्तनमा जनताको अभूतपूर्व साथ र सहभागिता रह्यो। यी सबै साथ र सक्रिय सहभागिता बापत जनताको अपेक्षा केवल देश विकास र समृद्धि थियो।
हरेक राजनीतिक परिवर्तनपछि बनेका सरकारबाट जनताले जुन अपेक्षा राखेका थिए, त्यसको सानो हिस्सा पनि पूरा हुन सकेको छैन।
चुनाव जित्न वा नेता हुन् जस्तो दक्षता चाहिन्छ त्योभन्दा निकै फरक किसिमको सीप, अनुभव र दक्षता देश विकास गर्न चाहिन्छ। कार्यकर्ता परिचालन गर्न सक्षम हुँदैमा, चर्को भाषण गर्न सक्दैमा वा दलको नेता हुँदैमा कसैले देश विकासको बागडोर सम्हाल्न सक्छ भन्ने हैन।
राजनीतिक दलको नेता बन्नु र विकास गर्न सक्ने नेता बन्ने कुरा एउटै हैन। राजनीतिक दलको नेता बन्न जनताको वा कार्यकर्ताको भोट भए पुग्छ। तर समाज वा देश विकास गर्न धेरै कुरा आवश्यक पर्छ।
देश वा समाज विकास गर्न भिजन हुनु पर्छ। विकासका योजना छनौटदेखि लागु गर्दासम्म निष्पक्ष र इमान्दार हुनु पर्छ। नेता आफैं प्रेरणाको श्रोत बन्न सक्नु पर्छ। विकासको काम गर्न कर्मचारीदेखि आफ्ना पक्ष र विपक्ष सबैको साथ चाहिन्छ। गलत गर्नेलाई दण्ड र असल काम गर्नेलाई प्रोत्साहन दिन सक्नु पर्छ।
सुशासन र अनुशासनलाई मार्गदर्शक सिद्धान्त मान्ने मात्रै हैन आफैले पालना पनि गर्नु पर्छ। यी र यस्तै धेरै सूचि छन् देश र समाज विकास गर्नका लागि पालना गर्नु पर्ने कुराहरु। तर, धेरै मानिसमा यी र यस्तै कुराहरु नेताले मात्रै पालना गरे पुग्छ, म स्वयमको भूमिका भने जस्तो भए पनि हुन्छ भन्ने प्रवृति छ।
कुनै पनि मुलुक विकास र समृद्धिका लागि पछाडि पर्नुमा धेरै कारणहरु हुन्छन। तर समग्रमा भन्ने हो भने जुन देशमा राजनेता जन्मेका छन्, राजनीतिक नेतृत्व दूरदर्शी हुन्छन, सभ्य र सुसंस्कृत नागरिक र समाज छन ती देशहरुले छिटै प्रगति गरेका धेरै उदाहरणहरु छन्। सभ्य हुनु भनेको विधिको शासन मान्नु हो।
इमान्दार हुनु हो। मेहनती हुनु हो। राम्रो र नराम्रो छुट्टाउन सक्नु र त्यही अनुसार आचरण गर्नु हो। यी कुराहरु नेताको हकमा मात्रै लागु हुने कुरा हैन, आम जनतामा पनि लागु हुने कुरा हुन्।
हरेक निर्वाचनमा पद र पैसाको प्रभाव पर्छ भन्ने कुरा सबैको सामु छर्लंग छ। ठूला ठूला भ्रष्टाचारहरु राजनीतिक दलका नेताहरु कै संरक्षणमा वा संलग्नतामा हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। हरेक तह र तप्कामा राजनीति घुसेको छ।
निर्वाचन ताका मिठा मिठा शब्दहरुको खेती गरेर भोट माग्ने र जितेपछि आफ्नै शब्द वा बोलीको खिल्ली उडाउनेहरु अर्को निर्वाचनमा झन् बढी भोट पाएर चुनाव जित्छन्।
चुनाव जिताउने उनै मतादाताहरु केही समयपछि तिनै नेताहरुको कुरा काट्छन, अनि अर्को चुनावमा फेरि तिनैलाई भोट हाल्छन्। अनि फेरि विकास र आमूल परिवर्तनको अपेक्षा राख्छन्। अब दोष कसलाई दिने?
सानोभन्दा सानो कामका लागि पनि राजनीतिक दलका नेतालाई भन्नु पर्छ भन्ने मानसिकता आम जनतामा छ। एक पटकको नेता बाँचुन्जेल नेता नै भैरहनु पर्छ वा बनाइन्छ।
नेता गाउँ घर पुग्न पाएको हुन्न जनता वा कार्यकर्ता फूलमाला र अबिर लिएर लाइन बसेका दृश्य मनग्य हेर्न सकिन्छ।
पटक-पटक नेता बनेर भ्रष्टाचार गरेर कमाएको पैसा बाँडेको थाहा पाउँदा पनि कुनै प्रतिकार नगरी सबै चुप बस्ने वा उसैको पैसाको भाग लिने प्रवृति छ। त्यो कसले बनाएको? यी सबै प्रवृतिका लागि लागि नेता जति गलत छन् त्यस्तोलाई प्रोत्साहन गर्ने जनता पनि त्यति नै गलत छन्।
गरिबी, अशिक्षा र अज्ञानताको चपेटामा परेका जनता पैसा, शब्दको भ्रम र नेताहरुको जालसाँचीमा पर्नु स्वभाविक हो। तर, सहरी क्षेत्रमा बस्ने शिक्षित, मर्यादित पेसा गर्ने, व्यवसायी, जागिरे र जाने बुझ्नेहरू पनि आफ्नै स्वार्थका लागि झुटको खेतीमा विस्वास गर्नु, निष्ठामा सम्झौता गर्नु, निहीत स्वार्थ र लाभका लागि समाजका बेइमानहरुलाई साथ दिनु भने दिक्क लाग्ने कुरा हो।
समृद्धि र स्थायित्वको सन्दर्भमा नेपालको राजनीतिक नेतृत्व एक किसिमले असफल भइसक्यो भन्ने कुरा आम जनताले मात्रै हैन, धेरै जसो राजनीतिक दलका नेताहरुले पनि महशुस गरेको कुरा हो।
अब समृद्धि र विकासका लागि सोच र ब्यबहारमा आमूल परिवर्तनको खाँचो छ। यो परिवर्तनको बागडोर सम्हाल्ने काम अब नयाँ र युवा पुस्ताको हो। यसका लागि राजनीतिक दल, समाज र हरेक नागरिकको सोच र काम गर्ने शैलीमा पनि परिवर्तन हुनु आवश्यक छ।
चुनाव एक प्रक्रिया मात्रै हैन, परिवर्तन गर्ने माध्यम पनि हो। चुनाव गर्ने भनेको नेता बनाउने वा छान्ने भनेको मात्रै हैन, यो हरेक जनताको भविष्यको फैसला गर्ने दिन पनि हो।
चुनावलाई आउने र जाने दिनको रुपमा मात्रै लिनु हुन्न, यसलाई असल प्रतिनिधि छान्ने दिनको रुपमा लिनु पर्छ। बुझ्नु पर्ने कुरा के भने लोकतन्त्रमा जनता नै मालिक हुन्। मालिकले अरुलाई दोस दिने हैन। आफ्नो जिम्मेवारी आफै लिन सक्नु पर्छ। आफ्नो कर्तब्य पनि आफै पूरा गर्नु पर्छ।
(लेखक बेलायतको सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसद उम्मेदवार थिए। उनी डार्टफोर्ड जिल्ला काउन्सिलको पूर्व काउन्सिलर समेत हुन्।)