सानो छँदा ठूलावडाहरूबाट गिद्धबारे सुनेको थिएँ- मरेका वस्तुभाउको सिनो खान्छन्। खोला-नाला वरिपरि बथानमा बस्छन्। हेर्दै घिनलाग्दा हुन्छन्।
यी सबै सुन्दा मेरो मनमा गिद्धको तस्बिर उति साह्रो राम्रो बसेको थिएन। फोहोरी चराजस्तो लाग्थ्यो।
त्यसै पनि समाजमा गिद्ध बदनाम छ। कसैलाई गाली गर्नपरे 'कस्तो गिद्धजस्तो' भनेको धेरैपटक सुनेकै हो।
सानैदेखि गिद्धबारे मेरो दिमागमा गढेको धारणा फेरिन धेरै समय लाग्यो। जब म प्राणीशास्त्र पढ्न थालेँ, तब थाहा पाएँ, मान्छेको समाजमा बदनाम गिद्ध हाम्रो पर्यावरणका लागि नभइ नहुने पंक्षी हो।
म, हामी मान्छेकै जीवनमा यसको महत्व बुझेपछि मैले गिद्धलाई माया गर्न थालेँ। कतै देखेँ भने उत्साहित पनि हुन्छु।
तर यही पंक्षीबारे केही समयअघि एउटा चित्त दुख्ने समाचार पढ्नुपर्यो। नवलपरासीमा झन्डै ७० वटा गिद्ध एकैपटक मारिएछन्। विष खुवाइ मारेर फालिएका कुकुरको सिनो खाएर ती गिद्धको मृत्यु भएको रहेछ।
यतिका धेरै गिद्ध मारिनु हाम्रा लागि एकदमै दुखद हो। उसै त गिद्ध एकदमै लोपोन्मुख प्रजातिमा पर्छ। यिनको संरक्षणमा जोडतोड साथ काम हुनुपर्ने अवस्था भएका बेला हामीले ठूलो संख्यामा गुमायौं।
गिद्ध सिकारी चरा, अर्थात् 'र्याप्टर' हुन्। यिनीहरू आहारका लागि मरेको जनावार वा तिनका सिनोमा निर्भर हुन्छन्। यिनको यही गुण हाम्रो वातावरणका लागि फाइदाजनक छ। सिनो वा मरेका जनावरले वातावरण दुर्गन्धित वा फोहोर बनाउनुअघि नै गिद्धले सिनित्त पारिदिन्छन्।
मान्छेको काम सजिलो पारिदिने, स्वास्थ्यमा खराबी हुने जोखिम पनि कम गरिदिने, गुणकारी गिद्ध।
हामीमध्ये धेरैलाई जिज्ञासा हुनसक्छ, गिद्धले त्यस्तो फोहोर मासु कसरी पचाउन सक्छ होला?
यसमा उनीहरूको पेटमा हुने अम्लीय रसको भूमिका मुख्य हुन्छ। त्यो अम्लीय रस निकै कडा भएकाले जस्तोसुकै फोहोर सिनो पनि सजिलै पचाइदिन्छ।
मरेका जनावरमा पर्ने कीरा वा जनावरमै भएको रोग समेत पानीमार्फत मानिसमा सर्न सक्छ। तर गिद्धले त्यस्तै कुरा खान्छन्, सजिलै पचाउँछन्। उनीहरूलाई प्रकृतिले नै वातावरण सफा तथा सन्तुलित बनाउने गुण दिएको छ।
गिद्ध देख्दा धेरैलाई मननपर्ने यसको टाउको र घाँटीको स्वरूपले पनि हो। धेरैजसो गिद्धको टाउको वा घाटीमा प्वाँख वा रौं हुँदैन। कसैले भुत्ल्याइदिएको जस्तो देखिन्छ। टाउको-घाँटीमा खुला छाला प्रस्टै देखिने भएकाले यसको स्वरूप अरू चराभन्दा बेग्लै देखिन्छ।
खासमा गिद्धको टाउको वा घाँटी खुइलिनुमा सिनोमा हुने ब्याक्टेरियाको भूमिका हुन्छ। वा भनौं ती ब्याक्टेरियाबाट गिद्धका शरीरका अन्य रौं जोगाउन प्रकृतिले नै उसको घाँटी-टाउको नांगो बनाइदिएको हो। मरेका जनावर खाँदा त्यसमा भएका ब्याक्टेरिया रौंमा नसरोस् र त्यहाँबाट वातावरणमा नफैलियोस् भन्ने हिसाबले नै प्वाँखहरू यिनको घाँटीबाट हराएका हुनसक्ने अनुमान पनि छ।
गिद्धको शरीर वातावरण बचाउन प्रकृतिको छनोटअनुसार विकास भएको मानिन्छ।
बेलायतमा गरिएको एउटा अध्ययनपछि जर्नल अफ थर्मल बायोलोजीमा गिद्धबारे लेख प्रकाशित भएको छ। उक्त लेखका अनुसार धेरै गर्मी हुँदा तातोपन हटाएर शीतल बनाउन र जाडो हुँदा न्यानो राख्न नांगो घाँटीले गिद्धलाई मद्दत गर्छ। जाडोमा गिद्धहरूले आफ्नो लामो र नांगो घाँटी खुम्च्याएर शरीरमा लुकाउँछन्, जसले उनीहरूलाई तातो बनाउँछ। गर्मीमा उनीहरू शीतलका लागि घाँटी तन्काउँछन्।
हामी मानिसलाई गिद्धको अर्को बानी पनि अचम्म लाग्न सक्छ, यिनले गर्मी हटाउन आफ्नै खुट्टामा पिसाब फेर्छन्। यस्तो व्यवहार अरू केही चरामा पनि हुन्छ। यो प्रक्रियालाई विज्ञानको भाषामा 'युरोहाइड्रोसिस' भनिन्छ।
गिद्धलाई भलै हाम्रो नजरमा धेरै नपरेको होस्, ऊ उसको संसारमा सामाजिक चरा मानिन्छ। तपाईंहरूले गिद्ध एक्लै कतै धेरैबेर बसेको एकदमै कम देख्नुभएको होला। खासगरी गिद्ध झुण्डमा मात्र बस्छन्।
विश्वभरमा अहिले करिब २३ प्रजातिका गिद्ध भएको तथ्यांकले देखाउँछ। तीमध्ये नेपालमा मात्र नौ प्रजातिका पाइन्छन्। नेपाल वा एसिया महादेशमा पाइने गिद्धलाई पुरानो विश्वको गिद्ध भनिन्छ भने अमेरिकातिर पाइनेलाई नयाँ विश्वको गिद्ध।
यी दुई गिद्धमा धेरै कुरा समान भए पनि एउटा मुख्य भिन्नता हुन्छ। पुराना विश्वका गिद्धले आफ्नो आहारा आँखाले देखेर पत्ता लाउँछन्। नयाँ विश्वका गिद्धले भने सुँघेर फेला पार्छन्।
अधिकांश चराहरूमा सुँघ्न सक्ने क्षमता हुँदैन। तर नयाँ विश्वका गिद्धमा यो क्षमता धेरै नै हुन्छ। देख्ने र सुँघ्ने यिनै क्षमताका भरमा गिद्धले आफ्नो आहारा खोज्छन्।
दस-बाह्र वर्षअघि नेपालमा गिद्ध संख्या तीव्र रूपमा घट्दै गएको थियो। नेपाल मात्र होइन, एसिया महादेशमै गिद्ध घटिरहेका थिए। यसको मुख्य कारण दुखाइ कम गर्न गाईवस्तुलाई खुवाउने औषधि 'डाइकोफेन्याक', 'डाइक्लोफेन्याक' हो। यो औषधि खुवाइएका गाईवस्तुको सिनो खाएका गिद्ध मर्न थाले। यसरी धेरै गिद्ध मरेपछि यिनको संख्या ह्वात्तै घटेको थियो।
केही समयअघि मैले एउटा अनुसन्धानात्मक लेख पढेको थिएँ। त्यो लेखअनुसार एक दशकअघि भारतमा गिद्धको संख्या कम भएपछि मानिसमा रेबिजको संक्रमण बढेको थियो। सिनो खान र तिनमा हुने किटाणु पचाउनसक्ने गिद्ध धेरै भएको भए सिनोबाट सर्ने रोग त्यति सजिलै फैलिन्थेन।
त्यो अनुसन्धानले अर्को कुरा पनि भनेको थियो, गिद्ध कम हुँदै जाँदा वरपर फालिएका सिनो कुकुरहरूले खान थाले, अनि रेबिज बढ्यो। कुकुर हुँदै मान्छेमा पनि सर्यो।
रेबिज मात्र होइन, त्यसरी नै धेरै प्रकारका रोग मान्छेमा सर्न सक्छ। मरेका र सडेका जनावरको सिनो वातावरणमा रहनु राम्रो हुँदै होइन भन्ने हामी सबैलाई थाहा भएकै हो। गिद्ध नहुने हो भने त्यसको असर मानव जीवनमा भयावह हुनेमा शंका छैन।
वातावरण र मानिसको स्वास्थ्यमा प्रत्यक्ष-अप्रत्यक्ष योगदान पुर्याइरहेका गिद्धको संरक्षण हुन जरूरी छ र यो हाम्रो दायित्व हुन पनि जरूरी छ।
नवलपरासीमा अस्ति मारिएका गिद्धको ज्यान हाम्रा लागि निकै मूल्यवान् थियो। धेरै चराप्रेमी र अभियन्ताको ठूलो प्रयासले ती बाँचेका थिए। नेपाल तथा भारतमा गिद्ध घट्दै गएपछि सबभन्दा पहिलो चिन्ता चराविज्ञ, चराप्रेमी तथा चराका शुभचिन्तकलाई भएको थियो। नेपालमा पनि अभियन्ताले गिद्ध बढाउन अभियान चलाए। अनेक प्रयास गरे।
नवलपरासीमै गिद्ध रेस्टुरेन्ट नै खुल्यो। गिद्धका लागि आहार व्यवस्था हुने यो रेस्टुरेन्टमा दुखाइ कम गर्ने औषधि नखुवाइएका वस्तुभाउका सिनो दिइन्थ्यो। नवलपरासीको पिठौली, रुपन्देहीको गैंडहवा ताल लगायत ठाउँमा गिद्ध रेस्टुरेन्ट खुले।
विश्वविद्यालयमा पनि गिद्ध बढाउने उपायबारे छलफल हुन्थ्यो। अभियन्ताले सरकारी निकायलाई गिद्ध संरक्षण गर्न दबाब दिए। तिनको महत्व बुझाए। दुखाइ कम गर्ने औषधि खुवाइएका गाइवस्तुको सिनो खाएर गिद्ध मरेको कुरा सरकारलाई बुझाएपछि यो गाइवस्तुलाई यी औषधि खुवाउन रोक लगाइयो।
यस्तै अनेक प्रयासकै कारण गिद्धहरू बाँच्न थाले। उनीहरूको संख्या बढ्दै गयो। नेपाली आकाशमा गिद्ध उड्न थालेका थिए। त्यसरी संरक्षण गरेका गिद्ध एकैचोटि मरेको देखेर ती अभियन्ता र चराप्रेमीको मात्र होइन, हामी सबैको चित्त दुख्न जरूरी छ। ती निर्दोष गिद्धको मात्र होइन, विष खुवाएर मारिएका कुकुरको पनि माया लाग्न जरूरी छ।
ती कुकुर मार्नु किनपर्यो? कसले गर्यो यस्तो काम? हामीले खोज्नु र जवाफदेही बनाउनै पर्छ। कुकुर व्यवस्थित गर्ने अनेक उपाय हुन्छन्, हाम्रो विवेक त्यसमा लगाउनुपर्छ।
अनि हामी सबैले बुझ्नुपर्छ, यो पृथ्वी मानिसको मात्र होइन। गिद्धको पनि हो, कुकुरको पनि, अरू सबै प्राणीको पनि। उनीहरू हामीजस्तै यो पृथ्वीको हिस्सा हुन्। मान्छे र यी प्राणीको चक्रीय सम्बन्धले नै पृथ्वी बनेको हो।
हामीकहाँ बाघ, गैंडा, हिउँ चितुवाजस्ता जनावर संरक्षणका कुरा धेरै अघि बढिसके। यिनले पर्यटक तान्न सक्ने भएर पनि हो कि, सरकारले पनि यिनको संरक्षणमा मात्र विशेष ध्यान दिएकोजस्तो देखिन्छ। तर मान्छेलाई आर्थिक उपार्जनमा सघाउने मात्र होइन, राम्रो स्वास्थ्य कमाउन मद्दत पुर्याउने गिद्धजस्ता प्राणी जोगाउन झन् धेरै ध्यान दिनुपर्छ।
नवलपरासीमा मरेका ७० भन्दा धेरै गिद्धको त्यति नै संख्या बढाउन वर्षौं लाग्छ। यो घटना केही मान्छेका लागि मात्र होइन, पर्यावरणकै लागि ठूलो धक्का हो, नोक्सान हो। यस्तो घटना नदोहोरियोस्।
नेपाल जैविक विविधताको धनी छ। विश्वमा पाइनेमध्ये आठ सय प्रजातिका चरा यहाँ पाइन्छन्। यति सानो क्षेत्रफलको मुलुकमा त्यति धेरै विविधता मुश्किलले देख्न पाइन्छ। त्यसैले हिमाल र सुन्दर प्राकृतिक दृश्यमा झैं हाम्रा पशुपंक्षीमा पनि गर्व गरौं। तिनको संरक्षण गरौं। गिद्धहरू हाम्रा लागि पनि बाँच्न जरूरी छ।
(लेखक घिमिरे नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राणीशास्त्रमा विद्यावारिधि गर्दैछन्। उनको अध्ययनको क्षेत्र, वातावरणीय दबाबले भंगेराका चल्ला वृद्धि र तिनको आयुमा पर्ने असरबारे हो।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)