गत माघ महिनाको कुरा हो, कुरैकुरामा एक जना साथीले आफ्नो भोगाइ सुनाइन्।
‘शनिबार अफिसका साथी मिलेर स्वस्थानी माताको दर्शन गर्न शालीनदी जाने कार्यक्रम तय गरेका थियौं तर म बिहीबारै छुइ (महिनावारी) भएँ। मलाई जान नभए पनि साथीहरू जाऊ न त भनेको एक जना साथीले यति नमज्जाले छेँड हानिन् कि आफू बाहुन परिवारको बुहारी भएकोमा आफैंलाई ग्लानी भयो।’
साथीको चित्त दुखाइबारे जान्न खोजें। उनकी साथी छाइछुइ नबार्ने सम्प्रदायकी रहिछन्।
‘तिमीहरू बाहुनी कति लाज नभएका छौ है? कसरी भन्न सक्छौ आफ्ना घरका अग्रज पुरूष मान्छेसँग म नछुने भएँ भनेर? अलिकति सोच त तिमीहरूलाई लाज शरम लाग्दैन?
आफ्नो शरीरको गोप्य कुरा आफैं सम्हाल्न नसकेर घरमा भए भरका पुरूषलाई सुनाएर के के न गरें भन्छौ?
आफ्नो शरीर आफैं सम्हाल्न नसक्ने छौ र? तिमीहरूले नभनेसम्म कस्ले थाहा पाउँछ?
ए बुहारी तिमी खै त छुइ भएकी छैनौ भनेर तिम्रा ससुराले कहिल्यै सोध्छन्? तिम्रा जस्तै हाम्रा नि देउता छन्, हामी पनि धर्म मान्छौ,खै त हाम्रा देउता आजसम्म रिसाएका छैनन्, मेरी आमा आजसम्म छुइ भएको हल्ला घरमा भएन, मेरा दिदी, भाउजूको झन थाहै भएन, मेरो र बहिनीको पनि आजसम्म कसैलाई थाहा छैन र भोलिका दिनमा मेरा छोरी बुहारीको बारेमा पनि कसैले सुइको पाउँदैन।’
साथीको गुनासो अझै सकिएको थिएन, तीन जना साथी महिनावारी नबार्ने परिवारका थिए बाँकी तीन जना बार्ने परिवारका थियौं।
साथीले जे भने पनि म मेरै परिवारमा बस्छु, सगोलमा बस्ने भएपछि सबभन्दा पहिले परिवारको मान राख्नुपर्छ, मेरा ससूरा जजमानी गर्न हिँड्नुहुन्छ, घरमा हरेक दिन पूजाआजा हुन्छ, चोखो जल चढाउनुपर्छ, नित्य आरती हुन्छ, आरतीको लागि बत्ती काट्नुपर्छ, फूल टिप्नुपर्छ, अब मेरा साथीको मन राख्नकै लागि म शालीनदी जाने कि घरको इज्जत राख्न नछुने भए भनेर चार दिन बार्ने त?
साथीको कुराले आफैं अनुत्तरित भएँ।
सरकारले एक समय धमाधम छाउगोठ भत्काउने अभियान चलायो, छाउगोठमा बस्ने महिला नै छाउगोठ भत्काउन उद्धत देखिए धेरै स्थानमा।
सबैको पहलमा छाउगोठको भौतिक स्वरूप भत्किए पनि महिनावारी भएका महिला पुस माघको मुटु काप्ने चिसोमा खुला आकाशमुनि बस्न बाध्य भएका समाचार निरन्तर प्रकाशित प्रसारित भइरहे।
दिनभरि अधिकारका कुरा गर्ने, राति आफैं छाउगोठमा बस्ने अधिकारकर्मीको बाध्यता आफ्नै ठाउँमा छ।
भौतिक छाउगोठभन्दा पनि मनका अजम्बरी छाउगोठ कसरी भत्काउने भन्नेतर्फ चासो, सरोकार र पहल हुनुपर्छ।
घरमा बस्दा देवता रिसाउने, गोठमा बस्दा सरकारले दानापानी रोक्ने चेपुवामा समेत महिला परे।
महिनावारीलाई पाप, धर्म भन्दा सुरक्षित र व्यवस्थित कसरी बनाउनेतर्फ सोच्नुपर्ने बेला भएको छ।
यदि महिनावारी हुन्थेन भने सृष्टि यहाँसम्म आउने थिएन, सृष्टि जहाँसम्म जान्छ महिनावारीकै कारण जान्छ यो कुरा सबैले बुझ्नु जरुरी छ।
छाउगोठको जति चर्चा हुन्छ छाउ महलको पनि उतिकै चर्चा गरिनुपर्छ। सहरी भेगमा पनि छाउपडी प्रथा आधुनिक तरिकाले संरक्षित छ भन्ने कुरा साथीको भोगाइले प्रष्टाउँछ।
एक जना चिनेकै आन्टी कलेज पढाउँछिन्, उनले नारी सचेतनाको बारेमा निकै राम्रो ज्ञान दिन्छिन्, विदेशका पनि धेरै कार्यक्रममा आउजाउ गर्छिन् तर महिनामा चार दिन बाध्य भएर आन्टी अछुत हुन्छिन्।
एकदिन कुरैकुरामा आन्टीले वास्तविकता सुनाइन्, ‘म आधुनिक छु, मलाई यो छाइछुइसँग मतलब छैन, यो गलत परम्परा हो भन्ने थाहा छ तर घरमा वृद्ध सासूससुरा छन्।
उनीहरूले आजसम्म यही प्रथालाई पाप धर्मसँग जोडेर दाह्री कपाल फुलाए, दाँत झारे, गाला चाउरी पारे अब डाँडापारीको घाम हुन लागेका पाका बाआमासँग सवाल जवाफ गर्नुभन्दा उनीहरूको खुसीमा आफू खुसी हुन सक्नुपर्छ भनेर निरन्तरता दिएकी मात्रै हुँ।
म आफूले बारे पनि छोरीले भने बारेकी छैन, दुई वर्ष भइसक्यो छोरी महिनावारी भएको तर ऊ छुइ भएको हल्ला हामी दुई जना बाबुआमाले घरमा गरेनौं’।
केही महिना पहिलेमात्रै सासूले नातिनी सँगैका अरु केटीहरू छुइ भइसकेछन् हाम्री नातिनी किन भइन?
एक पटक डाक्टरकहाँ लैजाऔ, केही समस्या छ कि ? भनेर सोध्न समेत भ्याइछन् तर आन्टीले घुमाउरो पारामा जवाफ दिइछन्, कोही ढिलै हुन्छन् म पनि ढिलै भएकी थिएँ रे केही समस्या छैन आमा...।
सासू पनि ढुक्क, आमा बुवा आधुनिक छन् छोरी झन् आधुनिक सबै कुरा सन्तुलनमा राखेर व्यवस्थित महिनावारी गराउन सफल आन्टीको प्रयास देखेर निकै खुसी लाग्यो।
आन्टीले सधैं भन्ने गर्छिन् समय अनुसार आफू फेरिने हो। आफूले परिवर्तन गर्ने हो एकैचोटि सबै परिवर्तन गर्न खोज्नु हुँदैन, हरेक कुरा सन्तुलनमा राखेर परिवर्तन खोज्नुपर्छ।
मेरा धेरै नेवार साथी छन्। उनीहरूका छोरी गुफाबाट निकालेपछिको भोज खाने निम्तामा गएकी छु। काठमाडौंका सचेत सम्प्रदायभित्र पहिलो पटक महिनावारी भएकी छोरीलाई चोख्याएपछि भोज खुवाउने चलन रहेछ।
जीवित देवीको रूपमा पुजिने नेवारी सम्प्रदायका कन्या महिनावारी नहुन्जेलसम्म मात्रै देवी कहलिन्छन्, महिनावारी भएपछि देवी बन्न पाउँदैनन्। यसका पछाडि केही तर्क त अवश्य होलान्। सुदूरपश्चिमको छाउपडी र राजधानीको गुफा प्रचलन समान होइन र? परिपाटी, तौरतरिका आधुनिक होला सहरको तर चलन त उही नै हो नि!
राजधानीमै आलिसान महलमा बस्नेहरू नै महिनामा चार दिन अलग्यै शौचालयमा शौच गरेको आफैंले देखेकी छु। सहरको चाहिँ छाउ नहुने दुर्गमको मात्रै कुप्रथा हुन्छ र? सरकारले ऋषिपञ्चमीको विदा कटौती गर्यो तर मेरै कतिपय आधुनिक साथीहरू एकदिन अफिस बिदा लिएरै महिनावारीको पाप कटाउने पूजा गर्न बसे।
मनले आधुनिक बन्न खोजे पनि मस्तिष्क त्यसको लागि पूरै तयार हुन सकेको छैन, यसको लागि समय लाग्छ तर परिवर्तन सबैको पहलमा हुनुपर्छ।
मेरो घरमा ८४ वसन्त पार गरेकी हजुरआमा हुनुहुन्छ, म हजुरआमासँग अधिकार र समानता, कुप्रथाका कुरा गरेर उहाँलाई चिढ्याउन चाहन्नँ, उहाँको खुसीमा आफूलाई खुसी देख्ने प्रयास गर्छु, चार दिन अलग्यै बस्दा उहाँ खुसी हुनुहुन्छ भने किन चित्त दुखाउने एक मनले सोच्छ।
भोलिका दिनमा मैले आफ्नी छोरीलाई परिवर्तन गराउँला, परिवर्तन चाहन्छु, आधुनिक बन्न खोज्छु तर परिवारमा एक्लिने आँट आउँदैन, समयसँगै सबै बदलिन्छ। कुनै पनि प्रथा त्यसै कुप्रथा हुँदैनन्, व्यवस्थित नबनेर मात्रै कुप्रथा भएको हो।
पहिलेको जमानामा महिलाहरू महिनावारीलाई व्यवस्थित गर्न नसक्ने भएकैले केहीदिन अलग्यै बस्ने व्यवस्था गरिएको होला तर सधैंभरि बिरालो बाँधेर श्राद्ध गरिरहनुपर्दैन।
भोलिका दिनमा कुनै साथीले नभनून्, छि .....यस्तो कुरा कसरी गर्न सक्छौ बाहुनी भनेर?