सांगीतिक कार्यक्रम पलेँटीमा यस पटक पाको पुस्ताका संगीतकार रामकृष्ण दुवाल प्रस्तुत हुने भएका छन्। अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर'सालामा यो कार्यक्रम हुँदै आएको छ।
अगष्ट महिनाको अन्तिम शुक्रबार (२९ तारिख) आयोजना हुने पलेँटीमा दुवाललाई नयाँ पुस्ताका गायकद्वय अभिज्ञा घिमिरे र वेनुप क्षेत्रीले साथ दिनेछन्।
रामकृष्ण दुवाल लामो समयदेखि नेपालभाषाका परम्परागत सँस्कृतिको अध्ययन अनुसन्धानमा लागिपरेका कलाकर्मी हुन्। साथै दुवालले नेपालीभाषाका गीत–संगीतमा गरेको योगदान पनि उत्तिकै प्रभावकारी छन्। कीर्तिपुरका रैथाने रामकृष्ण दुवालले नेपालको राजनैतिक र सामाजिक परिवर्तनका निम्ति पनि गहकिलो योगदान पुर्याएका छन्।
कवि गोपालप्रसाद रिमालको शब्द सृजना 'एक जुगमा एकदिन एकचोटी आउँछ' लाई दुवालले नै धुन भरेका हुन्। यो गीतले नेपालको राजनैतिक आन्दोलनमा २०३६ सालदेखि यता अनवरत स्थान पाउँदै आएको छ।
त्यस्तै नेपालभाषाको 'सिर्सा या हेकू' गीतलाई रामकृष्ण दुवालले सङ्कलन र परिमार्जन गरेका हुन्। यो गीतले नेवारसमुदायको मात्र नभएर नेपालका अन्य समुदायको पनि मन जित्दै आएकोछ। झण्डै चार दशक पहिले प्रसारणमा आएको यस गीतमा अनेकौं विद्यालयहरूमा नृत्य प्रस्तुत भएका छन्।
यसपालीको कार्यक्रम नेपालभाषा र नेपालीभाषाको सांगीतिक संगम हुने पलेँटी संयोजन गर्दै आएका संगीतकार आभासले बताए।
उनी भन्छन, 'दुवाल दाइ काठमाडौं उपत्यकाको सांगिितक सभ्यताका जिउँदा सम्पदा हुन्। यिनको प्रतिभालाई पलेँटीमा समेट्न पाउँदा औधी खुसी लागेको छ।'
अगष्टको पलेँटीमा नेपालभाषाका केही ऐतिहासिक रचनाहरू पनि सुन्न पाइनेछ। जसमा रणजित मल्लले काठमाडौं उपत्यका छोड्दा रचेको एउटा गीत पनि समावेश छ। सो गीत आफू काशी निर्वासनमा जानु पहिले रणजितले चन्द्रागिरीबाट उपत्यका हेर्दै रचेको किंवदन्ती छ। यस गीतमा रणजित मल्लले आफ्नो मातृभूमि छोड्नुपर्दाको पीडालाई समेटेका छन्।
पलेँटी संचालकले नेपालभाषा नबुझ्नेका निम्ति यस्ता ऐतिहासिक रचनालाई नेपालीभाषामा पनि भावानुवाद गरिने कुरा जानकारी गराएका छन्।
संयोजकका अनुसार यसपालीको पलेँटीमा केही बालगीतहरू पनि समेटिने छन्। रामकृष्ण दुवालसँग लामो समय विभिन्न विद्यालयहरूमा संगीत र नृत्य सिकाएको अनुभव पनि छ। दुवालले बालबालिकाका निम्ति आफैँले रचेका गीतका साथै कवि दुर्गालाल श्रेष्ठका शब्दहरूमा पनि धुन भरेका छन्। यसका साथै संगीतकार दुवालले छन्दकवितामा पनि धुन भरेका छन्। पलेँटीका निम्ति उनले पञ्चचामर र मन्दाक्रान्ता छन्द छनोट गरेका छन्।
धमाधम पलेँटीको तयारीमा रहेका संगीतकार रामकृष्ण दुवाल निक्कै उत्साहित देखिन्छन्।
आफ्नो पलेँटीबारे दुवाल भन्छन्– 'मैले जीवनमा अनेक मञ्चमा गाएँ, नाँचे तर यसपालीको पलेँटी मेरा निम्ति महत्वपूर्ण मञ्च हुनेछ। जसमा मलाई नयाँ पुस्ताका संगीतकर्मीहरूले पनि साथ दिनेछन्। मेरो यो आनन्दको क्षणमा दर्शक, श्रोताहरूको माया र साथ पाउने विश्वास लिएको छु।'
पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरू भएको सांगीतिक कार्यक्रम हो। पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार, २९ तारिखका दिन आयोजना हुनेछ।
कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ।