भारतीय गायक सोनु निगमले नेपालमा कन्सर्ट गर्ने भएका छन्।
क्रिसमसको अवसर पारेर डिसेम्बर २५ अर्थात पुस १० मा काठमाडौंमा 'सोनु निगम लाइभ इन नेपाल' नामक सांगीतिक कार्यक्रम हुने भएको हो। नेपाली टच–नेपालले ह्यात रिजेन्सी होटलमा आइतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
नेपाली टचले विगत १५ वर्षदेखि अस्ट्रेलियामा विभिन्न इभेन्ट गर्दै आइरहेकोमा नेपालमा पहिलो पटक सांगीतक कार्यक्रम गर्न लागेको हो।
कार्यक्रममा बोल्दै 'नेपाली टच नेपाल' का प्रमुख राजकुमार गोस्वामीले अस्ट्रेलियामा कार्यक्रम गर्दै आइएकोमा नेपालमा पनि सोही अनुसार कार्यक्रम गर्ने योजना अनुसार सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।
'हामीले विगत १४–१५ वर्षदेखि अस्ट्रेलियामा कार्यक्रम गरिरहेका छौं। आफ्नै देशमा किन इभेन्टहरु नगर्ने भनेर नेपालमा एउटा इभेन्ट गर्ने कोशिस गरेको हो', उनले भने 'हामीले एउटा कार्यक्रम गरायौं भने नेपालसँग अन्तर्राष्ट्रिय कलाकारलाई जोड्ने माध्यम बन्छ। यहाँको सँगै बलिउडको कलासंस्कृतिलाई जोड्ने यो महत्वपूर्ण माध्यम हुनेछ। यसले नेपाली पर्यटनमा पनि सहयोग गर्ने आशा हामीले राखेका छौं।'
गोस्वामीले क्रिसमस–डे को अवसर पारेर हुने कार्यक्रमका लागि आजैबाट टिकट बिक्री सुरू भएको घोषणा पनि गरे।
कार्यक्रममा सहभागी हुन चाहनेले कार्यक्रमको औपचारिक टिकट बिक्रेता इसेवामार्फत टिकट किन्न सक्नेछन्। कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको छ। टिकेटिङ पार्टनर इसेवाका कार्यक्रम प्रमुख गौरीशंकर दाहालले इसेवाले पहिलेदेखि नै ठूला राम्रो इभेन्टको आवश्यकता महसुस गरिरहेकोमा सोनु निगमसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे।
'इसेवालाई एउटा राम्रो इभेन्टको आवश्यकता पहिलादेखि नै महसुस गरिरहेको थियो। त्यसमा नेपाली टचजस्तो ठूलो कम्पनी त्यसमाथि सोनु निगमजस्तो इन्टरनेशनल आर्टिस्टसँग जोडिन पाउँदा इसेवा कम्पनी नै खुसी छ,' उनले भने 'हामीले सबैको पहुँचमा पर्ने गरी टिकट बिक्रीका लागि राखेका छौं।'
हायात रिजेन्सीका सेल्स तथा बजार प्रमुख अमित वालियाले कार्यक्रमको हस्पिट्यालिटी पार्टनरका रुपमा जोडिन पाउँदा खुसी लागेको बताए। उनले सोनु निगमको नेपाल बसाइलाई उत्कृष्ट बनाउन कुनै कसर नराखिने जानकारी दिए।
यस्तै 'नेपाली टच' सँग विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी चर्चित टेलिभिजन प्रस्तोता तथा स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले 'नेपाली टच–नेपाल' को नयाँ सुरूवातलाई शुभकामना दिए।
कार्यक्रमका लागि ६ बजे प्रवेश खुला गरिनेछ। सञ्जय गुप्ताले कार्यक्रमलाई संचालन गर्नेछन्।