एक समय फिल्ममा निकै रूचाइएका कलाकार हुन् निरूता सिंह र उत्तम प्रधान। यी दुइले सहकार्य गरेका 'दर्पणछाँया, लहना, उपहार' जस्ता फिल्महरू अहिले पनि दर्शकले सम्झन्छन्।
उनीहरूलाई दर्शकले पर्दामा संगै नदेखेको भने एक दशकभन्दा बढी भइसकेको छ।
हालसालै भने यी दुईको सहकार्य जुरेको छ। फिल्ममा नभइ म्युजिक भिडिओमा उनीहरू एकसाथ देखिन लागेका हुन्। भिडिओको छायांकन समेत भइसकेको छ।
'यो जुनी यस्तै भो' बोलको आधुनिक गीतको भिडिओको मकवानपुरको चित्लाङमा ३ दिन लगाएर छायांकन गरिएको छ।
छायांकनका प्राप्त तस्बिरमा उत्तम र निरूता बेहुला–बेहुलीको पहिरनमा देखिएका छन्। उनीहरूले यसमा श्रीमान श्रीमतीको भूमिकामा अभिनय गरेको तस्बिरबाट बुझन् सकिन्छ।
निरुता र उत्तमले म्युजिक भिडिओमा पहिलोपटक सहकार्य गरेका हुन्। यो उत्तमको अभिनय करिअरकै पहिलो म्युजिक भिडिओ हुनेछ।
भिडिओमा अभिनय गर्नकै लागि नेपाल आएका उत्तम छायांकन सकेर शनिबार सिक्किम फर्किसकेका छन् भने निरूता अझै केही दिन काठमाडौंमै रहनेछिन्।
बबी सुब्बा लिम्बूको लेखन रहेको 'यो जुनी यस्तै भो' गीतमा हरि लम्सालको संगीत छ। केशव भावुकको स्वर रहेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्। भिडिओलाई मिराज अर्याल र लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।
गीतलाई दसैं आसपासमा सार्वजनिक गर्ने तयारी छ।