गायिका विष्णु माझीको दसैं गीत पनि आउने भएको छ। तीज गीतको चर्चा सेलाउन नपाउँदै उनको स्वरमा दसैंको गीत आउने भएको हो।
स्रोतका अनुसार गीत रेकर्डिङको काम सकिएर भिडिओ निर्माणको तयारी भइरहेको छ। विष्णुका श्रीमान सुन्दरमणि अधिकारीकै शब्द सिर्जना र संगीतमा गीत आउन लागेको हो।
विष्णुको स्वरमा हरेक तीजमा गीत आए पनि तीन वर्षयता दसैं गीत आएको छैन।
'दसैं गीतको रेकर्डिङ भइसकेको छ। एक–दुई दिनमा भिडिओ छायांकन गर्ने तयारी छ,' स्रोतले भन्यो, '८–१० दिनमा गीत भिडिओसहित सार्वजनिक हुनेछ।'
स्रोतका अनुसार सुन्दरमणिले तीज गीतमा सहकार्य गरेकै कोरियोग्राफर र प्राविधिकसँग भिडिओमा काम गर्ने तयारी गरेका छन्। निर्देशन सुन्दरमणि स्वयंको रहनेछ।
केही वर्षदेखि अरुका गीत नगाएकी विष्णुले तीजमा गीत ल्याइरहेकी छन्। यसपालि उनको तीज गीत 'आइनँ आमा यो तीजमा' ले रिलिजको एक दिनमा धेरै हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ।
जुन गीतलाई अहिलेसम्म १ करोड ६५ लाखभन्दा बढीपटक हेरिएको छ।