हरेक वर्ष तीजका दर्जनौं गीत आउँछन्। तीमध्ये धेरै यत्तिकै हराउँछन्, सीमितले मात्र चर्चा पाउँछन्। चर्चा पाएका गीतहरू पनि अर्को वर्षदेखि कमै गुञ्जिन्छन्।
तीजको एउटा गीत भने वर्षौदेखि हरेक वर्ष गुञ्जिँदै आएको छ। गीत हो, – तीजको रहर आयो बरिलै...।
तीन दशकअघि सार्वजनिक यो गीत तीजको पर्याय नै बनेको छ। तीज भन्नेबित्तिकै अहिले पनि धेरैले सुरूमा यही गीत सम्झिने गर्छन्।
चेलीहरूको भावना र तीजको संस्कृति बोकेको यो गीत प्रकाश थापा निर्देशित फिल्म 'कन्यादान' को हो।
गीतलाई चेतन कार्कीले लेखेका हुन्। मनोहरि सिंहले संगीत भरेका हुन्। सुष्मा श्रेष्ठ (पूर्णिमा) र दीपा झाले स्वर दिएका हुन्।
भिडिओमा फिल्म ‘कन्यादान’ की मुख्य कलाकार गौरी मल्ल, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल लगायतले अभिनय गरेका छन्। बसन्त श्रेष्ठको कोरियोग्राफीमा यसको भिडिओ बनेको थियो।
'कन्यादान' फिल्म र तीजको रहर आयो बरिलैका कलाकार गौरी मल्ल र बसुन्धरा भुषाल गीतलाई आफूले कहिल्यै बिर्सिन नसक्ने बताउँछन्। गीतले आफ्नो करिअरमै विशेष स्थान कायम गरेको उनीहरूको भनाइ छ।
गीतको ११ वर्षअगाडि रिमेक गरियो। जसमा मञ्जु थापाले स्वर दिएकी छिन् भने शम्भुजित बासकोटाले संगीत भरेका छन्।
भिडिओमा अभिनेत्री करिष्मा मानन्धरसँगै बसुन्धरा भुषाल, सुभद्रा अधिकारी र सुप्रिया थापाले नृत्य गरेका छन्।
रिमेक गरिएको गीतले पनि युट्युबमा राम्रो भ्युज पाएको छ। अहिलेसम्म ३ करोड ४ लाखभन्दा बढी पटक हेरिएको छ। रिमेक भिडिओलाई शंकर बिसीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
फिल्म 'कन्यादान' का निर्देशक प्रकाश थापाको वर्षौ अगाडि निधन भइसकेको छ। फिल्मकी कलाकार सुभद्रा अधिकारीको पाँच वर्षअघि निधन भयो। 'तीजको रहर आयो बरिलै...' का गीतकार चेतन कार्कीको पनि तीन वर्षअघि निधन भइसकेको छ।