सार्वजनिक रूपमा आफूलाई लुकाएरै लोभलाग्दो क्रेज बनाएकी गायिका विष्णु माझीले शनिबार बिहान यस वर्षको तीज गीत रिलिज गरिन्।
'आइनँ आमा यो तीजमा' बोलको सो गीतले रिलिजसँगै चर्चा बटुल्दैछ।
'पुलतीको भट्टी' भाग २० का रूपमा सार्वजनिक गीतले केही घण्टामै युट्युबमा राम्रो भ्युज पाइसकेको छ। अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्।
यो गीतमा तीजमा माइत जान नपाएकी चेलीले आमालाई पठाएको सन्देश समेटिएको छ। अडिओ मात्रै सुन्दा गीतमा चेलीको खुसी समेटिएको लाग्छ।
यद्यपि भिडिओसहित हेर्दा चेलीको पीडा र बेदना समेटिएको छ।
घरमा आफूले दुःख, पीडा पाए पनि आमाले पीर नलिउन् भनेर आफ्नो पीडा लुकाएर सबै राम्रो छ भनेर आमालाई पठाएको सन्देशलाई प्रस्तुत गरिएको छ। विष्णुको उही मार्धुयता र मिठासपूर्ण स्वर रहेको झन्डै १७ मिनेटको गीत समग्रमा मर्मस्पर्शी लाग्छ।
गीत सार्वजनिक भएसँगै स्रोता–दर्शकले मात्र होइन्, लोकदोहोरीका चर्चित स्रष्टाहरूले समेत तारिफ गरेका छन्।
गायिका लक्ष्मी न्यौपानेदेखि कुलेन्द्र विश्वकर्मासम्मले गीतको प्रशंसा गर्दै फेसबुकमा सेयर गरेका छन्।
विष्णु माझीसँग 'सालको पातको टपरी' लगायत थुप्रै गीतमा सहकार्य गरेका कुलेन्द्रले लेखेका छन्, 'अब त चाडवार्ड सुरू भएछन! तीज गीतको प्यास मेटिने भो आजबाट।'
गायक एवं संगीतकार बसन्त थापा लेख्छन् – 'बल्ल तीज आए झैं भो, प्यासीले पानी पाए झैं भो।'
गायक शिरीष देवकोटाले पुनः उकृष्ट गीत बनेको उल्लेख गरेका छन्।
'आइनँ आमा यो तीजमा' गीतको शब्द र संगीत विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको हो। एरेन्ज आशिष अविरलले गरेका हुन्।
सुन्दरमणिकै निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ललिता पौडेल फिचर्ड छिन्। यसअघि 'चरी जेलैमा' को भिडिओमा पनि उनै थिइन्। भिडिओलाई सम्भु चालिसेले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन्।
सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा सार्वजनिक गीत आइटयुन्स, अमेजन, स्पटीफाइ, एप्पल म्युजिक लगायतका प्लेटफर्मममा समेत उपलब्ध रहेको जनाइएको छ।