वरिष्ठ लोकगायक एवं फिल्म निर्देशक नारायण रायमाझीले सुन्नै अप्ठ्यारो लाग्ने तीजका गीत आएको भन्दै गुनासो गरेका छन्।
शुक्रबार गायिका कविता अर्यालको 'तीजका गीत कस्ता बने' गीत लोकार्पण कार्यक्रममा बोल्दै रायमाझीले समाजले पचाउने गीत ल्याउन आग्रह गरे।
'केही समय अघिसम्म दुर्गेश थापाको गीत आउँदा विकृति ल्यायो भन्थे तर अहिले तिभन्दा कस्ता–कस्ता गीत आएका छन्। जुन गीतहरू सुन्न पनि अप्ठ्यारो लाग्छ,' रायमाझीले भने, 'समाजमा बसिसकेपछि समाजमा पचाउने गीत बनाउनुपर्छ।'
गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिए।
राष्ट्रिय लोक सन्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यु मिलेनियम स्कुलमा आयोजना गरेको विशेष समारोहमा रायमाझी, प्रतिनिधि सभा सदस्य सोबिता गौतम लगायतका अतिथिले गीतको सामूहिक लोकार्पण गरेका थिए।
कार्यक्रममा बोल्दै सांसद गौतमले पनि समाजमा पछिल्लो समय विकृति फैलाउने गीत आइरहेको भन्दै यो समाज बनाउने जिम्मा राजनितिज्ञको मात्र नभई सबैको दायित्व रहेको बताइन्।
'एक असल नेता आउँदैमा देश बदलिन्छ भन्ने होइन्। देश बदलिन, समाजमा रहेका हरेक ब्यक्ति बदलिनु आवश्यक छ। समाजका हरेक क्षेत्रका ब्यक्तिको नेतृत्व बदलिनु पर्छ। त्यसमा पनि कला क्षेत्रमा रहेका ब्यक्तिहरुले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन्। त्यसैले कलाकर्मीले विशेष ध्यान दिनुपर्छ', गौतमले भनिन्, 'लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइदैन, समाजलाई बिथोल्न पाइँदैन।'
उनले पछिल्लो समय देखिएको विकृतिले गीत–संगीतमा पनि फिल्ममा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएको बताइन्।
उनले भनिन् 'फिल्मलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ। यस्तै गीतसंगीतलाई पनि नियमन गर्ने निकायको आवश्यक महसुस भएको छ।'
लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका बेदना तीजका गीतमा आउने गरेको तर अहिले उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न श्रृष्टाहरूलाई अनुरोध गरे।
यस्तै अतिथि चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरू ब्यावसायिकतामा बढी केन्द्रित भएपछि विकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयं श्रृष्टाले नै सेन्सर गर्नुपर्ने बताए।
गायिका कविता अर्यालले आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएको बताइन्। 'डिस्कोका गीतदेखि भजनका गीतका आफ्नै महत्व छ। र, तीजको पनि आफ्नो महत्व छ,' उनले भनिन् 'तीज महिला दिदीबहिनीहरूको महान चार्ड हो। यसमा संस्कृति झल्किनुपर्छ, मौलिकता झल्किनुपर्छ।'
लोक सञ्चारकर्मी नेपालका सचिव कमल सरगम चौलागाईंले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि दुलालले संस्थाले २०६५ सालमा लोक संस्कृति र मौलिकताको बारेमा कलम चलाउने सन्चारकर्मीहरू एकजुट भएर संस्था स्थापना गरेको र सधैं मौलिकताको बारेमा बोल्दै आएको बताए।
संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले भड्किला तीज गीत आइरहेको समयमा मौलिक तीज ल्याएको भन्दै गायिका कवितालाई शुभकामना दिए। उनले पनि स्रष्टा आफैले सेन्सर गरेर गीत ल्याउनुपर्नेमा जोड दिए।
गीतको भिडिओः