युट्युब ट्रेन्डिङमा संगीततर्फ तीज गीतको दबदबा देखिन थालेको छ।
शीर्षस्थानमा शान्तिश्री परियारको स्वर रहेको 'काली पसम कि' गीत छ। यसको शब्द एवं संगीत प्रेम सापकोटा ‘सोनु’ को हो। विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।
दुई साताअघि सार्वजनिक गीतलाई सोमबार दिउँसोसम्ममा ३१ लाखभन्दा बढीपटक हेरिएको छ। भिडिओमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन्। गीतले राम्रो भ्युज पाए पनि भिडिओ कोरियोग्राफी भने फिल्म 'बोक्सीको घर' को 'बुझिनँ मैले' बाट प्रभावित देखिन्छ।
'काली पसम कि' लाई जेरी भण्डारीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
तेस्रो नम्बरमा गायक पशुपति शर्माको तीज गीत 'मै लुरी' छ। दुई साताअघि सार्वजनिक यो गीतलाई युट्युबमा २३ लाख हाराहारीले हेरेका छन्। गीतमा पशुपति शर्मा र प्रिया भण्डारीको स्वर छ। यसको शब्द, संगीत पशुपतिको हो। विश्वास नेपालले एरेन्ज गरेका हुन्।
भिडिओमा पशुपति स्वयंका साथमा जुना विश्वकर्माको नृत्य छ। मौसम हिमालीले भिडिओको कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
ट्रेन्डिङको चौथो नम्बरमा अस्मिता डल्लाकोटीको तीज गीत 'पिर कल्लाइ छैन र' परेको छ।
गीतलाई दुई दिनमै ४ लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ।
यसमा अस्मिताकै शब्द र एकल स्वर छ। प्रकाश पराजुलीको संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन्।
भिडिओमा अस्मितासँगै शक्ति कुमार गोदार, सम्झना थापा र राममाया गोदार प्रस्तुत छन्।
काजिश श्रेष्ठले भिडिओको कोरियोग्राफी एवं निर्देशन गरेका हुन्।
गायिका एलिना चौहानको तीज गीत केही दिनदेखि ट्रेन्डिङमै परिरहेको छ। दुई साताअघि उनको एकल स्वरमा रिलिज 'मन परेको मान्छे' लाई यो अवधिमा १७ लाख हाराहारीले हेरेका छन्। यसका शब्द नेत्र अर्यालका हुन्। दीपक शर्माको संगीत रहेको गीतमा एचबिएन किस्मतको एरेन्ज छ।
विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओमा अञ्जली अधिकारीले नृत्य गरेकी छन्।
शान्तिश्री परियारको स्वर रहेको 'थोरै थोरै लाज' ट्रेन्डिङमै छ। दुई साताअघि सार्वजनिक गीतलाई ७ लाख ८१ हजारपटक हेरिएको छ। यसमा रमेश क्षेत्रीको शब्द, ऋषि खड्काको संगीत, एचबिएन किस्मतको एरेन्ज छ। भिडिओमा विमल अधिकारी, अञ्जली अधिकारी र स्मारिका ढकाल फिचर्ड छन्। यसको निर्देशक मौसम हिमाली हुन्।
'बरिलै बरिलै' बोलको गीत पनि ट्रेन्डिङमा छ। यसमा शान्तिश्री परियार, समीक्षा अधिकारी र सुनिता बुढा क्षेत्रीको स्वर छ। यसको शब्द, संगीत र एरेन्ज गोविन्द अनेकको हो। भिडिओमा रोशनी कार्की, जुना गुरूङ र सरिता ढुंगाना फिचर्ड छन्। यसमा सुनिल बिकको निर्देशन, रोशन विश्वकर्माको कोरियोग्राफी छ।
यसपालि तीजलाई लक्षित गरेका दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। जसमध्ये केहीले मात्र चर्चा पाएका छन्।