गुरूदेव कामत र म छिमेकी त थिएनौं। उहाँ सिरहाको, म तनहुँको। तर जबदेखि उहाँसँग चिनजान भयो, हामी निकट मित्र बन्यौं।
५०-५२ सालतिर होला उहाँसँग भेटघाट भएको। उहाँको सांगीतिक कार्यक्रमहरूमा जाँदा चिनजान भएको हो। पछि उहाँको धेरै भजनमा सहभागी हुने अवसर मिल्यो।
उहाँ भजन एकदमै राम्रो गाउनुहुन्थ्यो। पारिवारिक रूपमा पनि नजिक भयौं। उहाँले डिल्लीबजारमा रहेको डेरामा मलाई बोलाइ रहनुहुन्थ्यो। बर्थ डे, चाडवार्डमा गइरहेको हुन्थेँ।
उहाँले थुप्रैलाई संगीत सिकाउनुभयो। चर्चित संगीतकर्मीहरूका पनि उहाँ गुरू हुनुहुन्छ। तर उहाँ एकदमै सरल र हाइफाइ नगर्ने व्यक्ति हुनुहुन्थ्यो।
थुप्रै शास्त्रीय संगीतका शिष्यहरूका गुरू कुशल संगीत साधक उहाँ केही समयदेखि दुवै मिर्गौलाले काम गर्न नसक्दा डायलासिस क्रममा हुनुहुन्थ्यो। काठमाडौंमा उहाँको उपचार भइरहेको थियो।
त्यस बेला उहाँ स्वास्थ्यलाई लिएर जति चासो हुनुपर्ने हो, त्यति नभएको झैं लाग्यो। राज्य उहाँको स्वास्थ्यबारे बेखबर भएपनि उहाँका शिष्यहरूमा चासो हुनुपर्ने हो भन्ने कुरा खेलेको थियो। उहाँ ओझेलमा पर्नुभयो भनेर केही सहकर्मीहरूसँग कुरा पनि भएको थियो।
उहाँलाई उपचारका लागि खर्चको जोहो गर्न गाह्रो भइरहेको थियो। अब जिल्लातिर लाग्छु भन्दै डेरा छाडेर सपरिवार केही दिनअघि सिरहा जानुभएको थियो।
उतै डायलासिस गराइ उपचारकै क्रममा रहनुभएकामा विगत केही दिनदेखि स्वास्थ्य अवस्था झन् जटिल बनेको कुरा हिजो मात्र उहाँका छोराबाट जानकारी भएको थियो। छोराले पठाउनुभएको फोटोमा उहाँको शरीर सुन्निएको थियो।
आज बिहान करिब ८ बजेतिरको समयमा उहाँले संसार छाडेर जानुभएको खबर उहाँका छोरा समीरबाट सुन्दा ज्यादै दुःखी र मर्माहत भएको छु।
आफू गीत संगीत र कवितामा रूचि राख्ने भए पनि उहाँको सांगीतिक चेलो बन्ने अवसर भने मलाई मिलेन। तर लामो समयदेखि हाम्रो मित्रता ज्यादै गहिरो थियो। केही दिनअघि बिएन्डबी हस्पिटलमा डायलासिस गर्दै गर्दा मित्र प्रभात सागर र म भेट्न गएका थियौं। त्यो भेट नै उहाँसँगको अन्तिम भेट बन्यो।
त्यति बेला उहाँले आँखाभरि आँसु पारेर 'गाह्रो हुन्छ कि क्या हो' भन्दा हामी भावुक बनेका थियौं।
त्यसपछि हामी केही मित्रले उहाँका बारेमा के गर्न सकिन्छ भनेर सल्लाह गर्यौं। डायलासिसको उपचार त भइरहेको थियो। त्यसपछि मिर्गौला प्रत्यारोपण गर्नुपर्छ, त्यसका लागि के कसरी अघि बढ्ने भन्ने हाम्रो चासो र चिन्ता थियो। जसका लागि सम्बन्धित विभाग र मन्त्रालयमा सहयोगका लागि पत्राचार भइरहेको पनि थियो।
त्यति ठूलो संगीत साधक होनहार प्रतिभाका बारेमा राज्य बेखबर रहन सक्दैन भनेर केही मिडियाबाट उहाँको अवस्थाबारे सार्वजनिक गरेका थियौं।
त्यसपछि उहाँको स्वास्थ्यलाई लिएर केही चासो बढेको थियो। दैवको लीला, हामी ढिला भयौं, उहाँ चाँडो जानुभयो।
उहाँको आत्मालाई चिरशान्ति मिलोस् भगवानसँग प्रार्थना छ। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।