लोकरक ब्यान्ड नेपथ्यले नयाँ गीत सार्वजनिक गरेको छ।
शुक्रबार नेपथ्य युट्युब च्यानलमार्फत 'पचासै वर्षमा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देखे, हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई प्रस्तुत गरिएको छ।
गायक अमृत गुरुङ यो गीतको प्रसंग झन्डै छ वर्षअघि सुरू भएको बताउँछन्।
'म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए। त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो। त्यस परिकल्पनालाई बिस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ,' उनले भने।
यो गीत नेपथ्य ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयको कालिकास्थानस्थित स्टुडियोमा रेकर्डिङ गरिएको हो। त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका छन्।
यस गीतलाई नवीन जोशीले निर्देशन गरेका हुन्। नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक 'रेशम' गीतको म्युजिक भिडिओ निर्देशन गरेका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडिओ हो।
'पचासै वर्षमा' को म्युजिक भिडिओमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई देखाइएको छ। 'नेपथ्यका नयाँ र पुराना झलकहरूलाई टेलिभिजन प्रविधिको विकासक्रम समेट्दै परिवर्तनशील समयको विम्बका रूपमा प्रस्तुत गरेको छु' नवीन भन्छन्, 'डब्बा आकारको टेलिभिजनको युगबाट सुरू भएको यात्रा पातलो हुँदै गएको स्क्रिन र अहिले प्रत्येकका हात-हातमा मोबाइल फोनबाट देखिने भिडिओसम्म लगेर जोडेको छु।'