पोखरा–२५ हेमजाकी इच्छा शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वप्रिय कृति 'मुनामदन' पहिलो पटक आमाको मुखबाट सुनिन्। त्यो बेला आमाछोरी दुवै भावुक भएका थिए। आमाका आँखामा आँशु टिलपिल हुँदा उनले आफ्ना आँखा पुछिन्।
पोखरा आदर्श मावि कक्षा ११ पढ्दै गरेकी इच्छाले दोस्रो पटक मुनामदन फिल्म हेरिन्। फिल्ममा आमाले भनेको भन्दा विस्तृत र फरक कथा देखिन्।
तेस्रो पटक उनले शनिबार पोखरा थिएटरमा मुनामदन नाटक हेरिन्। नाटकमा गाइनेले सारंगीमार्फत मुनामदनका कथा हालेका थिए। गाइनेको सारंगीले मुनामदन गाउँदा कथाका पात्रहरू स्टेजमा देखिन्थे। मुना र मदनसँगै, मदनकी आमा, भोटे र उनका साथीहरू दृश्यमा देखिए।
इच्छाले अहिलेसम्म देवकोटाको मूलकृति मुनामदन पढेकी छैनन् तर, यो उनका लागि निकै प्रिय छ।
'मुनामदन किताब नपढे पनि मलाई एकदम मन पर्छ। यसको कथा मेरो मनमा गढेको छ,' उनले भनिन्, 'पहिलो पटक आमाले सुनाउनुभयो। दोस्रो पटक फिल्म हेरेँ। अहिले नाटक हेर्दा धेरै ठाउँमा फरक फरक महसुस गरेकी छु।'
देवकोटाकृत मुनामदन कृति एउटै भए पनि कथा भन्ने शैली फरक छन्। माध्यम फरक छन्। पढेका होस् कि सुनेका वा फिल्म, नाटक र गीति नाटक हेरेका, सबै व्यक्तिका अनुभव फरक फरक छन्।
कसैले मुना र मदनको जस्तो प्रेम भन्दै तारिफ गर्छन्। कसैले उनीहरूको जस्तो बिछोडको। कसैले यी दुई पात्रको प्रेम र बिछोडफो कुरा मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक दृष्टिले पनि विवेचना गरेका छन्।
शनिबार पोखरामा सुरू अन्तर्राष्ट्रिय नाटक महोत्सव उद्घाटनमा मञ्चन गरिएको मुनामदन नाटक पनि फरक छ। गाइने दाइ सारंगीले मुनामदनका कथा हाल्छन्। गन्धर्व जातिको परम्परागत पेसा सारंगी बजाउँदै गाउँ गाउँ कथा भन्दै हिँड्ने तरिकाले मुनामदनको कथा अघि बढ्छ। जसरी गन्धर्वले लाहुरेका कथा हाल्थे, त्यसरी नै कलाकार अभिषेक भुसाल सारंगी रेट्दै मुनामदनको कथा सुनाउँछन्।


स्टेजमा देखिएको एउटा घरको आँगनमा सारंगी रेट्दै भुसालले मुनामदन गाए —
आँखैमा भाको धुलो पखाल्नलाई यहाँ
आउनुभयो नाटक हेर्न उहाँ
सुनाउँदैछु एउट कथा मुना र मदनको।
अभावले जुटाएको गाँसिएको मनको।
जिन्दगी घाम र छाया।
कालले छुटाउने यो माया।
हातको मैला सुनको थैला कमाउँला भनी
अझै पनि परदेसिन गाछन् मदन पनि
सुनको ल्हासा, अनि उस्तै धोका दिने साथी
सम्झिएर आउँदा पनि चिरिन्छ यो छाती
जिन्दगी घाम र छाया
कालले छुटाउने यो माया
रूँदै छिन् है घरमा मुना, पर्खिँदैछिन् आमा
शून्य भाछन् देउराली, शून्य भाछन् गाउँ
फर्की आऊलान् मदन भनी कुर्दै दिन राती
परान जाने बाटो हेर्ने बाटो लाउने माथि
जिन्दगी घाम र छाया
कालले छुटाउने यो माया...
स्टेजमा मुनामदनको कथा गाउँदागाउँदै गाइने ओझेल पर्छन्। सारंगी रेट्दै कथा भन्दा दर्शकका मनमा दृश्य खेल्छन्। ती दृश्य स्टेजमा देखा पर्छन्। मुना, मदन, मदनकी आमा स्टेजमा देखिन्छन्। ल्हासाबाट फर्किएका लाहुरेका घरमा नाचगान गर्न निम्ता आउँछ। मुना र मदन त्यतै लाग्छन्। लाहुरेले उनीहरूलाई एउटा एउटा सुनका सिक्का उपहार दिन्छन्।
ल्हासा गएर धन कमाउने सपना देखेका युवाहरू मदनलाई पनि फकाउँछन्। सुरूमा त मदन ल्हासा जान इन्कार गर्छन्। तर उनी पनि धन कमाएर मुनालाई हिराको हार लगाइदिने सपना देख्छन्। आमाको उपचार साहुको ऋण तिर्ने बाटो ल्हासा देख्छन्।
मदनका साथीहरू भूकम्पले घर भत्किएकाले कमाउन जाने भन्छन्। भूकम्प जाँदा गुमाएका आफन्त र लागेको ऋण सिम्झिन्छन्। रित्तो गाउँघर छाड्न उनीहरूलाई पनि मन लाग्छ।


यो कथा देवकोटाको मुनामदनमा छैन। निर्देशक परिवर्तनले नाटक यी सन्दर्भहरू जोडेर मुनामदन पुनर्लेखन गरेका हुन्। सारंगीको गीतको रचना विवेक गिरी र संगीत मिलन ढकालले गरेका हुन्।
स्टेजमा पात्रहरू अभिनय गर्दागर्दै ओझेल पर्छन्। सारंगी रेट्दै कथा हालिरहेका गाइने देखा पर्छन्।
मदन भोट जाने कि नजाने दोधारमा भइरहेका बेला उनी सारंगी रेट्दै गाउँछन् —
आयो बरै मदनको मनमा आँधी हुरी
सिमलको भुवा जस्तै गयो मन उडी
सोच्दा सोच्दै बरा तिनी दोमनका भए
दाजुभाइ संगी साथी सबै ल्हासा गए
माया हो कि हो ठूलो धन
त्यही कुराले बनायो दोमन
हिजो भन्दा आज कडा आज भन्दा भोलि
मनै रूखो हुँदै गाछ साहुको रूखो बोली
६ महिना दिएका छन् साहुले ऋणको भाका
के गरेर तिर्ने हो ऋणको पोका पोका।
माया हो कि हो ठूलो धन
तिलहरी लगाइदिने मदनको धोको...।
मदनको दोमन गाउँदा गाउँदै स्टेजमा मुना, मदन र आमा देखिन्छन्। मदन ल्हासा जाने निर्णयमा पुग्छन्। यो निर्णय मुना र मदनकी आमालाई स्वीकार्य हुँदैन। त्यसपछि मदनले आफू दुई महिनाका लागि ल्हासा जाने, धन कमाएर साहुको ऋण तिर्ने, आमाको उपचार गर्ने र मुनाको गला सुनले सजाउने सपना देख्छन्। यही सपना परिवारलाई पनि देखाउँछन्।
मुना आफूलाई पनि साथ लैजान भन्छिन्। दुई महिना त के दुई पल पनि मदनबिना बाँच्न नसक्ने सुनाउँछिन्। मदन मुनालाई सम्झाउँछन्। अनि ल्हासातिर लाग्छन्। त्यही बेला गाइनेले आँगनमा सारंगी रेट्दै कथा अघि बढाउँछन्।
हिँडे बरै मदनले मुनालाई छोडी
टुट्न लागे हे बरै ढुकुरको जोडी
थियो बरै दुई ज्यान मुटु गाँसिएका
एकअर्कामा नछुट्टिने गरी टाँसिएका
मदन हिँडे ल्हासाको बाटोमा
मुना भिजिन् आँशुको टाटोमा।
ल्हासा जाँदाका उकाली, ओराली, खोलानाला, हिउँका दृश्य नाटकमा आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। मदन र उनका साथीहरूले ल्हासा जान गरेको संघर्ष र हिउँमा हिँडेको देखाउन सेतो कपडा फर्फराइएको थियो।
ल्हासा यात्रामा नेपालका हिमाली क्षेत्रका बासिन्दाले गाउने गीत, संगीत अनि नाच प्रस्तुत गरिएको छ। यो देखेर मदन र उनका साथीहरू पनि रमाउँछन्। हिमाली बासिन्दाको लवाइ–खवाइ, बोलीचाली र बुद्ध धर्म प्रतिको आस्था नाटकमा देखाइएको छ।
ल्हासा पुगेपछि त्यहाँका भाषा, संस्कृति र संगीत पनि नाटकमा उतार्ने प्रयास गरिएको छ। मदन र उनका साथीहरू ल्हासाका गीत, संगीतमा रम्छन्। त्यहाँका मानिसले नेपालबाट गएका मदनको टोलीलाई माया र सम्मान दिन्छन्। मदन पनि उनीहरू प्रति नतमस्तक भएर सम्मान र प्रेम फर्काउँछन्।
दुई महिनाका लागि ल्हासा गएका मदनको टोली ५ महिना पुग्दा पनि फर्किँदैन। मदन आमा र मुनाको पलपल याद गरिरहन्छन्। मुना र मदनकी आमा पनि मदन फर्किने दिन कुरेर बसेका हुन्छन्। नाटकमा मुना र मदनबीचको प्रेम र एकअर्का प्रतिको समर्पण भाव देवकोटाले लेखे जसरी नै देखाइन्छ।


भोटबाट फर्किँदा जंगलमा मदन बिरामी परेर ढल्छन्। साथीहरूले सकेसम्म घर लैजाने प्रयास नगरेका होइनन्। तर अर्काको देश, त्यसमाथि जंगलको लामो बाटो। केही नलागेपछि उनीहरू ढलेका मदनलाई जंगलमै छाडेर हिँड्न बाध्य हुन्छन्। नभए उनीहरू पनि त्यसरी नै ढल्नुपर्ने अवस्था आउन सक्ने बताउँछन्।
मदन हारगुहार गर्छन्। मुना र आमाले पर्खिरहेको बताउँछन्। तर ढलेका मदनलाई कसले बोकेर घर लैजाने?
साथीहरू उनलाई छाडेर जान्छन्।
यता, घरमा मुनालाई गाउँकै अर्को युवाले गलत नजर लगाउँछन्। मुनालाई नपाए तरबार चलाउने धम्की दिन्छन्। मदन भोटकी युवतीसँग लहसिएको कुरा मुनालाई सुनाउँछन्।
तर मुनाको विश्वास कसले टुटाउन सक्छ र! उनी मदनबिनाको जीवन कल्पना पनि गर्न सक्दिनन्।
उनले ती युवकको प्रस्ताव अस्वीकार गर्छिन्।
मदनका साथीहरू घर आइपुगेपछि ती युवकले षड्यन्त्र रच्छन्। मदन बाटोमै मरेको भनेर अस्तु लगेर दिन्छन्। त्यो बेला मदनकी आमा बिरामी परेर पिँढीमा सुतिरहेकी हुन्छिन्। मदनको हातको एक थोपा पानी पर्खिरहेकी हुन्छिन्।
मदनको अस्तु हातमा परेपछि शब्दविहीन भएकी मुना अचानक चिच्याउँछिन्। अनि ठहरै पर्छिन्। मदन मरेको खबरले उनले प्राण त्याग्छिन्।
उता मदनलाई जंगलबाट भोटेले लगेर उपचार गर्छन्। खुसी भएर मदनले आफूसँग भएका सुनका डल्ला भोटेलाई दिन्छन्। भोटेले लिन मान्दैनन्। बरू आफ्नी श्रीमती (दिवंगत) र छोराछोरीका नाममा आमा र मुनाको आशीर्वाद र माया पठाइदिन भन्छन्। अनि मदनलाई घर पठाउँछन्।
यो कथा गाइनेले सारंगीमार्फत गाइरहेका छन्। यहाँनिर नाटकमा गाइने देखा पर्दैनन्। धुन र गीत मात्र सुनिन्छ। जुन यस्तो छ —
ढोगे बरै मदनले भोटेको पाउ छोई
त्यो भोटेले अँगालोमा कस्यो आफै रोई
धन पनि हातको मैला उडी जाने धूलो
जातले को ठूलो सानो, दिलै रैछ ठूलो
सबैको गर है भलो
मानिस दिलले हो ठूलो।
हिमालको कञ्चन हावा अनि जडिबुटी
सहारा त्यो छिरिङको स्वर्गझैं कुटी
निको भए मदन
अनि सम्झिकन आमा, सम्झे मुना, सम्झे घर
फर्के आफ्नै गाम
सबैको गर है भलो
मानिस दिलले हो ठूलो...।


मदन घर फर्किन्छन्। आमा उसैगरी पिँढीमा बिरामी भएर सुतेकी छिन्। आमाको स्याहार दिदीले गरेकी छिन्।
बिरामी आमाको हातमा मदन सुनको डल्ला राखिदिन्छन्। ऋण तिर्ने र आमाको उपचार गर्ने बताउँछन्।
अनि मुना खोइ भनेर सोध्छन्।
मदनकी दिदीले मुना मामाघर गएको भन्छिन्। आमा बिरामी परेका बेला मुना कसरी छोडेर जान सक्छिन् भनेर मदनले सोध्छन्।
दिदीले मुना बादल माथिको मामाघर गएको भन्छिन्। मदन भक्कानिन्छन्। मदनको मुख हेरेर आमाले पनि अन्तिम सास फेर्छिन्।
आमा र मुना बिना मदन पनि बाँच्न सक्दैनन्। दिदीलाई आमाको सपना पूरा गर्न भन्छन्। बुबाको नाममा गाउँमा पाटी बनाउन भन्छन्। अनि सास छाड्छन्।
स्टेजमा फेरि देखा परेका गाइनेको सारंगीले भन्छ —
झरी जाने शीतको थोपा, तरी जाने डुंगा
मन कसको रून्न होला शब्द बाणले छुँदा
शब्द भन्ने धिपी धिपी रहोस् कृति सदा
माटो बिलाइ श्रद्धासुमन हुन्छु अब बिदा...।
सारंगी रेटेर मुना र मदनका कथा हालिरहेका गाइनेले कथा अन्त्य गर्छन्।
उनले आँखा पुछ्दा छोरी दौडिएर आउँछिन् र सोध्छिन्, 'बाबा, आमा कहिले आउनुहुन्छ?'
छोरीलाई उनले जबाफ दिन्छन्, 'छिट्टै आउँछ छोरी, छिट्टै आउँछ।'
बत्ती बल्छ। नाटक सकिन्छ।
देवकोटाको मुनामदन पहिलो पटक गीति नाटकका रूपमा मञ्चन गरिएको थियो। स्वरसम्राट नारायण गोपालले मुनामदनका गीत गाएका थिए। निर्देशक ज्ञानेन्द्र देउजाले मुनामदनको फिल्मी रूपान्तरण गरेका छन्। यसअघि विराटनगरको विराट आदर्श साहित्य मञ्चले पनि मुनामदनलाई नाट्य रूपान्तरण गरेको थियो। सो नाटक पोखरामा पनि प्रस्तुत गरिएको थियो।
पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा प्रस्तुत गरिएको मुनामदनलाई पनि देशव्यापी लैजाने तयारी गरिएको निर्देशक एवं मदनको अभिनय गरेका परिवर्तनले बताए।
सारंगीमार्फत भनिएको मुनामदनमा पात्रहरूको डाइलगसँगै गीत पनि छन्। कतिपय संवाद मुनामदन कृतिबाटै लिइएका छन्। कतिपय कल्पना गरेर भरिएका छन्।
कलाकारहरूले उम्दा अभिनय गरेका छन्। मुना बनेकी कृष्टी गुरूङको अभिनयले दर्शकको मन जितेको छ। यसअघि नेपाली र गुरूङ भाषाका गरी उनले ७ वटा फिल्ममा अभिनय गरिसकेकी छन्। नाटक भने पहिलो हो।
'फिल्ममा गल्ती हुँदा रिटेक लिन पाइन्छ, नाटकमा पाइँदैन,' उनले भनिन्, 'पहिलो पटक नाटकमा अभिनय गर्दा दर्शकले देखाएको प्रतिक्रियाले एकदम उत्साही छु।'
नाटक हेरिसकेपछि इच्छा शर्माले आफूलाई कथामा यसअघि सबभन्दा दुःख लागेको ठाउँ भन्दा फरक ठाउँमा दुःख लागेको बताइन्।
'पहिला आमाले सुनाउँदा र फिल्ममा हेर्दा पनि छुट्टाछुट्टै ठाउँमा दुःख लागेको थियो,' उनले भनिन्, 'अहिले मदन मरिसक्यो भनेर मुनालाई अस्तु दिएको दृश्यले एकदम मन रूवायो।'


पोखरामा शनिबारदेखि सुरू अन्तर्राष्ट्रिय नाटक महोत्सवमा दुई नेपाली र चार विदेशी नाटक मञ्चन हुँदैछन्। उद्घाटन नाटकका रूपमा शनिबार साँझ मुनामदन र इन्द्रेणी थिएटरको 'भ्रुम' मञ्चन भयो। आइतबार साँझ नर्वेको नाटक 'द रोज' मञ्चन हुँदैछ।
पाँच दिन चल्ने महोत्सवमा चिनियाँ मिनी ओपेरा 'द चार्मिङ जिन्जु', जापानी नृत्य नाटक 'मास्टर शोको एन्ड मार्गरिता' पनि मञ्चन हुँदैछ।
यसअघि पोखरा थिएटरले २०७५ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेको थियो। महोत्सवले पोखरालाई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने निर्देशक परिवर्तनले बताए।
उनका अनुसार काठमाडौंमा बुधबारदेखि सुरू नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) मा मञ्चन गरिएका नाटक छानेर पोखरामा प्रदर्शन गर्न लागिएको हो। निटफेस्टले माग गरेको आवेदन अनुसार एक सय बढी नाटकबाट छाननेर काठमाडौंको मण्डला थिएटरमा १७ वटा मञ्चन भइरहेको छ।
काठमाडौंमा मञ्चन गरिएका उत्कृष्ट नाटक पोखरा ल्याएर महोत्सव गरिने भएको हो। पोखरामा महोत्सव गर्न ३० लाख रूपैयाँ खर्च हुने अनुमान रहेको परिवर्तनले जानकारी दिए।
पोखरा थिएटरका सल्लाहकार एवं कलाकार प्रमिला तुलाचनले अन्तर्राष्ट्रिय नाटक महोत्सवले नेपाली नाट्यकर्मीलाई सिक्ने अवसर मिलेको बताइन्।
'नाटक महोत्सवले हामीलाई सिक्ने अवसर दिएको छ। अरू देशमा कसरी काम भइरहेको छ भन्ने थाहा हुन्छ,' उनले भनिन्, 'यसको सांस्कृतिक र पर्यटकीय महत्व त रहने नै भयो।'
