म मौनतामा अल्झिरहेको एउटा जीवन...
गायक ओमविक्रम विष्टले यो गीत गाइरहँदा उनको स्वर नै मौन भइदियो।
शनिबार दिउँसो परेको पानीले पोखरामा चिसो बढाएको थियो। फेवातालमा लहर बनाउँदै चलेका हावाले उनको स्वर नै सुकाइदियो। उनको स्वर सुकेर के भयो र, सयौं दर्शकले स्वतस्फुर्त उनलाई साथ दिए।
'पहिले स्वर ठीक थियो। गीत गाउँछु भनेरै पोखरा आएको थिएँ,' सांगीतिक साँझ सकिएपछि ओमविक्रमले भने, 'चिसो च्याप्पै समात्यो।'
यो गीतमा एल्बर्ट सुब्बाका शब्द र रोबर्ट सुब्बाको संगीत छ। यो तयार गर्ने क्रममा उनका साथीहरूले यो गीत उनकै लागि सुहाउने भनेका थिए।
अभ्यास गर्दै जाँदा गीतको दोस्रो हरफ 'कहाँ जाने, कसलाई सोध्ने, कसलाई खोज्ने' शब्दावली 'हाईरेन्ज' मा गाउने भनेर ओमविक्रमले नै भनेका थिए। त्यही हाईरेन्जमा गाउँदा शनिबार उनको स्वर सुक्यो।
ओमविक्रमले नेपालमा पप गीत गाउन थाल्दा नेपालमा यस प्रकारका गीतलाई पप गीत भन्ने चलन नै थिएन। रेडियो नेपालले उनका गीत रेकर्ड गर्न मानेन। लोक गायक पाण्डव सुनुवारले उनका गीतलाई 'अत्याधुनिक गीत' नामकरण गरेका थिए।
'मेरा गीत युवाहरूमा लोकप्रिय थियो। बुढापाकाहरूले भने मन पराएनन्,' उनले भने, 'त्यति बेला मेरा गीत रेडियो नेपालले रेकर्ड गर्न मानेन। पाण्डव सुनुवारले मलाई तपाईंका गीतलाई अत्याधुनिक गीत भन्नुपर्छ भनेका थिए।'
पोखरामा भएको नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनको साँझ नै उनको सांगीतिक प्रस्तुति राखिएको थियो। प्राविधिक कारणले सम्भव भएन। दोस्रो दिन उनले गीत गाए। तीन दशकअघिका ती गीत नयाँ–पुराना सबै पुस्ताले मनपराए।
कुनै समय पप गीतमा एकछत्र बनेका ओमविक्रम बीचमा बिरामी परे। उनको मिर्गौलामा समस्या आएको थियो। अमेरिका गएर शल्यक्रिया गराए। करिब दस वर्ष उतै बसे। यो अवधिमा उनी ओझेल परे।
त्यसपछि नेपाल फर्किएर संगीतमा 'कमब्याक' गरिरहेका छन्।
फर्केयता उनले १८ वटा गीत रेकर्ड गराइसके। यीमध्ये चार वटा सार्वजनिक भएका छन्। उनी कार्यक्रमहरूमा पनि देखिन थालेका छन्।
गायन यात्राको दोस्रो 'इनिङ' मा उनले पहिलेभन्दा फरक अनुभव गरेका छन्। समयसँगै आफ्नो उमेर र स्वास्थ्य पहिले जस्तो नभएको उनी बताउँछन्।
'म ६८ वर्ष भइसकेँ। गाइरहेको छु। सबै कुराहरू सधैं पहिले जस्तो हुँदैन,' उनले सेतोपाटीसँग भने।
पारखीहरूबाट 'पप सम्राट' उपाधि पाएका ओमविक्रमले शब्द र लयमा नेपालीपन भरेका छन्। उनले पप गीतका नेपाली संस्करण पस्केका थिए। अहिलेका पप गीत भने दुरूस्त पश्चिमा जस्तो देखिने बताउँछन्।
'पहिले र अहिलेका पप गीतमा आकाश पाताल फरक छ,' उनले भने, 'पहिला कसरी नेपालीपन दिने भनेर हामीले शब्द र लयमा ख्याल गर्थ्यौं। अहिले विदेशी गीत गाए जस्तो हुन्छन्।'
उनको समयमा संगीत क्षेत्रमा लाग्न अहिले जस्तो सजिलो थिएन। प्रविधि र स्रोता अहिलेझैं तयार थिएनन्। नयाँ धारको गीत रेकर्ड गर्नदेखि बजारमा चलाउनसम्म धौधौ थियो। पप गीत गाउँदा उनका बुबाले समेत 'कस्तो गीत गाएको' भनेर कराएका थिए। जसले जेसुकै भनून्, उनी संगीतबाट विमुख हुन सकेनन्।

लिटरेचर फेस्टिभलमा सांगीतिक प्रस्तुति दिनुअघि लेखक वसन्त थापाले गायक ओमविक्रमसँग वार्ता गरेका थिए।
त्यस क्रममा उनले आफू १० वर्षकै उमेरदेखि संगीतमा लागेको र ११ वर्षकै उमेरमा स्टेजमा गीत प्रस्तुत गरेको बताए। संगीतमा लाग्न बुबाले घरमा सजाउन ल्याएको गितार बजाउँदा औंलाबाट रगत बगेको उनले सम्झिए।
'बुबाले एउटा गितार ल्याउनुभएको थियो। म दस वर्षको थिएँ। त्यो गितार सकिनसकी, औंलाबाट रगत आउन्जेल बजाएँ,' उनले भने, 'त्यो गितार सजाउन ल्याइएको रहेछ।'
उनका बुबा दौलतविक्रम विष्ट आख्यानकार हुन्। कथा, कविता र नाटकमा समेत कलम चलाएका दौलतविक्रमका उपन्यास 'चपाइएका अनुहार', 'भोक' र 'भित्ताहरू' प्रख्यात छन्।
घरमा सजाउन ल्याएको गितार ओमविक्रमले बजाएको देखेपछि दौलतविक्रमले उनलाई बजाउने गितार नै किनिदिए। त्यसपछि उनले आफै गितारका कर्ड सिक्न थाले।
'मेरो रगरगमा संगीत थियो। मेरो रूचि देखेर बुबाले ४५ रूपैयाँमा गितार किनिदिनुभयो,' उनले भने, 'त्यति बेला थोरै मानिसले मात्र गितार बजाउँथे। मैले आफै सिकेँ।'
त्यति बेला ओमविक्रम रोबर्ट शर्मा लगायत संगीतमा लागेका युवाहरूलाई पछ्याउँथे। उनीहरूले हातका औंलाहरू गितारमा चलाएको चलाखीपूर्वक हेर्थे। त्यसरी नै हेर्दै उनले सिकेका रहेछन्।
संगीतमा स्थापित रोबर्ट र उनको समूहले गीत बनाउने अभ्यास गरेको हेर्न जाँदा भएको एउटा पनि ओमविक्रमले सुनाए। उनीहरूले गायन अभ्यास गरेको दृश्य हेर्न ओमविक्रम झ्यालमा चढेका रथिए। एकदिन उनी झ्यालबाट खसे। भुइँमा बजारिएपछि रोबर्टको समूहले उनको शरीरमा पानी छर्किदिए।
'यो घटनापछि मलाई साह्रै माया गर्नुभयो। उहाँहरूले बजाउने ठाउँमा जान पाएँ,' ओमविक्रमले भने, 'त्यहाँ मैले बेस गितार र ड्रमहरू देखेँ। त्यसपछि म धेरै उत्साही भएँ। सुनको, हिराकै खानी पाए जस्तो भयो।'
पप संगीत मात्र होइन, ओमविक्रमले सूर्यराज शर्मासँग १७ वर्षको उमेरमा शास्त्रीय संगीत पनि सिके। तीन महिना शास्त्रीय संगीत सिक्दा आफ्नो स्वर अझै शक्तिशाली बनेको उनले बताए।
'शास्त्रीय संगीतले मेरो आवाजमा शक्ति दियो। त्यसले गर्दा म भर्सटायल गायक हुँ,' उनले भने।
लिटरेचर फेस्टिभलको स्टेजमा ओमविक्रम चढ्नुअघि गिटारिस्ट अनिल शाहीको समूहले सांगीतिक प्रस्तुति दिएको थियो। गितारमा अनिल, जिम्बे र ड्रममा अभिजित शाही, तबलामा दीलिप महर्जन र बाँसुरीमा विनय महर्जनको संगीतले लेकसाइड संगीतमय बनेको थियो। उनीहरूकै संगीतमा ओमविक्रम गुञ्जिएका थिए। उनका युगल गीतमा गायिका सलिना प्रधानले साथ दिएकी थिइन्।
ओमविक्रमका गीत सुनेर हुर्किएका गिटारिस्ट अनिल अहिले आफ्ना 'आइडल' गायकसँग सहकार्य गर्न पाउँदा हर्षित छन्। ओमविक्रमको स्वर पप गीतका लागि मात्र नभएर, नारायण गोपालको जस्तो आधुनिक गीतमा पनि उत्तिकै फिट हुने उनले बताए।
'पप गीत त गजबै भइहाल्यो, ओमविक्रम दाइले आधुनिक गीत पनि आफ्नै शैलीमा गाउनुहुन्छ,' उनले भने, 'उहाँको हाईरेन्जदेखि स्वरको मिठास एकदम राम्रो छ। लिजेन्डसँग सहकार्य गर्न पाउनु मेरो सौभाग्य हो।'

ओमविक्रम आफूले धेरै खाले गीत गाउने भए पनि आफ्नो बाटो पप गीतकै भएको बताउँछन्।
उनले गाउने बेलामा 'पप' भन्ने शब्द प्रचलनमै थिएन। अंग्रेजीको 'पपुलर' शब्दबाट 'पप' प्रचलनमा आएको लेखक वसन्त थापाले सुनाए। यसले लोकप्रिय गीत भन्ने अर्थ दिन्छ।
नेपाली आकाशमा पप गीतका तरंग छाडेका ओमविक्रम आफूले कसैलाई अनुशरण नगरेको बताउँछन्। लेखक थापाले पनि ओमविक्रमको खासियत नै अरूको अनुकरण नगर्ने भएका बताए।
ओमविक्रमले गितार बजाएको देखेर नारायण गोपाल पनि मोहित भएका थिए। उनका गीत रेकर्ड गर्ने बेला ओमविक्रम नै गितार बजाउन पुग्थे रे।
'नारायण दाइ मेरो गितार भनेपछि हुरूक्कै हुनुहुन्थ्यो। ओम बाबु तिमी आऊ, बजाइदेऊ भन्नुहुन्थ्यो,' उनले भने, 'मैले उहाँका ६ वटा गीतमा गितार बजाएको छु।'
शनिबार सांगीतिक प्रस्तुति सकिएपछि दर्शकको माग अनुसार उनले 'को हो त्यो, जसले मलाई मोहनी लगायो' गाए। नीर शाहको शब्द र शम्भुजित बास्कोटाले संगीत भरेको यो गीत 'के घर के डेरा' फिल्ममा समावेश छ।
अहिले स्टेजबाट ओझेल परे पनि आफ्ना प्रशंसक, स्रोता, दर्शक र समर्थकका व्यवहारले अहिले पनि उनलाई उत्तिकै प्रेरित गर्छ। निरन्तर संगीतमा समर्पित हुने ऊर्जा दिन्छ।
'प्रशंसकका, माया र प्रेमका कुरा गर्न अहिले समय पुग्दैन,' ओमविक्रमले बिट मार्दै भने, 'धेरै लामो कथा छ, कुनै दिन सुनाऔंला।'
