गुड फ्राइडे सिनेमा
हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै फिल्म सिफारिस गरेका छौं- 'अ।' दक्षिण भारतीय (तेलेगु) फिल्म 'अ' को हिन्दी संस्करण हो 'अन्तर्युद्ध'।
यो फिल्मले सुरूमा ६ जना फरक व्यक्तिको ६ वटा कथा भन्छ। यी कथा आफैंमा रहस्यमयी र रोचक छन्।
पहिलो कथा राधाको हो। उनी आफ्ना आमाबासँग रेस्टुरेन्टमा हुन्छिन्। आमाबासँग आफ्नो प्रेमीलाई भेटाउने योजना हुन्छ। जसै उनका प्रेमी कृष्णा आइपुग्छन्, तब आमाबाको होस हवास उड्छ।
दोस्रो कथा हो नालाको। कामको खोजीमा भौंतारिएका उनी एक रेस्टुरेन्टमा सेफ बन्न जान्छन्। उनलाई केही पकाउन भने आउँदैन। युट्युब हेरेरै पकाएर दिन्छन्। त्यही बीच एउटा यस्तो घटना हुन्छ जसले उनलाई आफू यही लोकमा छु कि छैन भन्नेसम्म यकिन हुँदैन।
शिवा यो कथाको तेस्रो पात्र हुन्। उनको कथा झन् अजिब छ। एक भवनमा वाचम्यानको काम गर्ने उनको सपना भने वैज्ञानिक बन्ने हुन्छ। उनी टाइम मेसिन पनि बनाइराखेका हुन्छन्। त्यो मेसिन बनाएर उनी धेरै वर्षदेखि आफूले नभेटेका आमाबा भेट्न चाहन्छन्। तर त्यसअघि उनलाई एक महिला भेट्न आउँछिन्। ती महिलाले उनलाई जे भन्छिन्, त्यो शिवाले कुनै हालतमा पत्याउन सक्ने कुरा हुँदैन।
आठ वर्षे मोक्षा यो कथाकी सुरूआती पात्र हुन्। किन, यो पूरै कथा जानेपछि थाहा हुनेछ। आफ्नी आमाको रेस्टुरेन्टमा काम गर्ने उनी जादुगर पनि हुन्। साना साना जादुले ग्राहक आकर्षित गरिरहेकी उनलाई एक दिन योगी नामका जादुगरले नराम्रो व्यवहार गर्छन्। योगीले आफू नै ठूलो जादुगर भएको बताउँछन्। मोक्षाले सबभन्दा महान जादुगर अन्तै भएको भन्छिन्। योगी रिसले चुर हुँदै ती जादुगरलाई भेट्न खोज्छन्। भेटपछि जे हुन्छ, त्यो योगीले सपनामा पनि सोचेका हुँदैनन्।
अर्की पात्र हुन् मीरा। उनी क्याफे रेस्टुरेन्टमा काम गर्छिन्। लागुपदार्थ दुर्व्यसनमा लागेकी उनी आफ्ना प्रेमीसँग मिलेर एउटा योजना बनाइरहेकी हुन्छिन्। यो योजना कति खतरनाक निस्किन्छ, त्यसका लागि न मीरा तयार भएकी हुन्छिन् न दर्शक।
अनि आखिरी कथा हो कालीको। काली एक भर्खरकी महिला हुन् जो जीवनदेखि बेखुस छिन्। उनी आफ्नो जन्मदिनको दिन रेस्टुरेन्टमा बसेर आत्महत्या गर्ने योजनामा हुन्छिन्। तर त्यसअघि उनले डायरीमा लेख्छिन् — म सामूहिक हत्या गर्न गइरहेकी छु र म आफूलाई निर्दोष ठान्छु।
यी ६ पात्रको रहस्यमयी कथाले कुन मोड लिन्छ भन्ने जान्न फिल्म हेर्नुहोला।
रहस्यमयी र सनन्न बनाउने यो फिल्मले दर्शकको दिमाग केही बेरसम्म रन्थनाइराख्छ। फरक स्वाद र शैलीको फिल्म 'अ' वास्तवमै उम्दा छ।
फिल्मले हरेक १५ मिनेटमा कथा फड्केर अर्को मोडमा पुर्याउँछ। सलल बगेकाले अर्को मोडले पनि दर्शकलाई निराश बनाउँदैन। फिल्मको अन्त्य झनै सनसनीपूर्ण छ।
धेरैले यो फिल्म हिन्दी मूलधारमा वा ठूला कलाकार राखेर बनाइएको भए यसले तहल्का मच्चाउने थियो भनेका छन्।
फिल्म हेर्न Watch on Youtube मा क्लिक गर्नुहोला।