गुड फ्राइडे सिनेमा
सन् १९१९ देखि बन्न थालेको कोरियन सिनेमाले एक सय वर्ष पूरा गर्नु एउटा इतिहास थियो। त्यसलगत्तै कोरियाली निर्देशक बोङ जोन हु निर्देशित 'प्यारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जित्नु अर्को इतिहास बन्यो।
सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।
थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ।
यस्तै एउटा फिल्म हो 'स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ'। सन् २००३ मा रिलिज भएको यो फिल्मका निर्देशक किम कि दुक हुन्।
यो फिल्ममा तीन प्रमुख पात्र छन्– गुरू, चेला र प्रकृति।
फिल्ममा पात्र र प्रकृतिबीच तादात्म्य छ। पहाडी जंगलको बीचमा रहेको ताल अनि तालको बीचमा पानीमा तैरिरहेको गुम्बा। निर्देशक किम कि दुकले बौद्ध भिक्षुसँग हुर्किएका चेलाको जीवनका चक्र र प्राकृतिक ऋतु चक्रलाई स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ गरी पाँच चरणमा समेटेका छन्।
स्प्रिङ चेलाको बाल्यकालको रूपमा चित्रित छ। यो बालकले गुरूसँग सिक्ने उमेरका रूपमा आउँछ जुन जिज्ञासु, निर्दोष र रमाइलो छ।
समर चेलाको किशोरकाल कथा यो। यो हरेक मान्छेको जीवनमा आँधीबेहरी बोकेर आउने समय हो। चेला यो बेला गुम्बाभन्दा बाहिरको संसारप्रति आकर्षित र उत्सुक हुन्छ। यो उत्सुकले गुम्बाकै मूल्य मान्यताको घेरा नाघ्ने खतरा पनि बढ्छ।
यी र यसपछि आउने चरणलाई जसरी वर्णन गरिएको छ, त्यसले फिल्मलाई अझै रोचक र परिपक्व बनाउँदै लान्छ। प्रकृति होस् वा जीवन परिवर्तन यसको अनिवार्य नियम हो। यही नियमले गुम्बाको जीवनलाई बदलेको देखिन्छ। हरेक ऋतुलाई देखाउन वर्षौं लगाएर छायांकन गर्ने निर्देशक किम कि दुकले गुम्बा मार्फत सृष्टिकै चक्रबारे धेरै कुरा भनेका छन्। तर संवाद हैन, दृश्य मार्फत्।
उनी आफ्ना फिल्ममा हिंसा र आध्यात्म दुवै पक्षलाई सशक्त चित्रण गर्ने निर्देशकमा पर्छन्। दर्जनौं राम्रा फिल्म बनाएका किम कि दुकका 'स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ'लाई समीक्षकले उनको 'मास्टरपिस' मानेका छन्।
फिल्म हेर्नका लागि तलको लिंकमा 'Watch on YouTube' मा क्लिक गर्नुहोला।