गुड फ्राइडे सिनेमा
त्यो जिन्दगी नै के जसमा असम्भव सपनाहरू छैनन्!
यस्तै असम्भव सपना देख्ने युवती हुन् एनी।
एनीका आमाबुबा बोल्न सक्दैनन्। सुन्न पनि सक्दैनन्। उनीहरूको जीवनमा खाली सन्नाटा हुन्छ जसलाई एनीको आगमनले चिरेको हुन्छ।
यही कारण एनी आमाबुबाको पनि आवाज बन्नुपर्ने हुन्छ। बाल्यकालदेखि नै आमाबुबाकी सहारा बनेकी एनीको झुकाव संगीतमा हुन्छ।
हजुरआमा मारियाबाट संगीतमा लाग्ने प्रेरणा पाए पनि उनी आफ्नो सपना अधुरै हुने डरमा हुन्छिन्। यसैबीच उनको भेट संगीतकार प्रेमसँग हुन्छ। अभिभावकको असहमतिका बाबजुद उनी प्रेमसँग नजिक हुन्छिन्। प्रेमकै संगतमा उनी गायक बन्ने सपना पछ्याउन थाल्छिन्।
तर अभिभावकको चित्त नदुखाई उनले यो सपना पूरा गर्न नसक्ने अप्ठ्यारो परिबन्धमा पर्छिन् उनी। आमाबुबाको प्रेम र संगीत प्रेमलाई सँगै डोर्याउन एनीले कस्तो संघर्ष गर्छिन्?
फिल्म 'खामोशीः द म्युजिकल' ले यही कथा विस्तारमा देखाउँछ।
यो पात्रको जीवनका रमाइला घटना, दुर्घटना र उतारचढावले भरिएको फिल्म हो। यसलाई त्यो समयभन्दा धेरै अगाडिको फिल्म मानिएको थियो।
एनीको भूमिकामा मनीषा कोइरालाको अभिनय छ भने उनका नाना पाटेकर र सीमा विश्वास उनका बुवा र आमा बनेका छन्। प्रेमको भूमिकामा सलमान खान छन् भने हजुरआमा मारिया बनेकी छन् हेलेन।
मनीषा, नाना पाटेकर र सीमा विश्वासको अभिनयले दर्शकलाई हसाउन, रूवाउन बाध्य पार्छ। फिल्मले बोल्न र सुन्न नसक्ने व्यक्ति र तिनका परिवारको मनोदशा सुन्दर ढंगले चित्रण गरेको छ।
सञ्जय लीला भन्सालीको पहिलो निर्देशनको यो फिल्ममा उनकै संगीत छ। 'बाहों कि दरमियाँ, 'आज मैं उपर', 'ये दिल सुन रहा है' जस्ता सुमधुर गीतबाहेक फिल्मको कला निर्देशन र साउन्ड डिजाइन पनि सराहनीय छ।
४२ औं फिल्म फेयर अवार्डमा खामोशीः द म्युजिकलले उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो। त्यस्तै मनीषाले समीक्षकको नजरमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेकी थिइन्। यसबाहेक अरू तीन अवार्ड पनि फिल्मले जितेको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं-