गुड फ्राइडे सिनेमा
'एक्स्ट्रा' कलाकारका रूपमा सिनेमामा प्रवेश गरेका विजय सेतुपती अचेल 'आममान्छेसँग जोडिएका हिरो' (मकल सेल्वन) भनेर चिनिन्छन्। तमिल अभिनेता विजयलाई उनका प्रशंसकहरूले दिएको उपाधि हो यो।
सन् १९९६ देखि छोटा भूमिकामा पर्दामा देखिन थालेका उनले सन् २००० को 'थेनमेरकु परुवाकातरू' मा पहिलो पटक मुख्य भूमिकामा काम गरेर देखाउने माैका पाए। तीन नेसनल अवार्ड जितेको यो फिल्मपछि थप काम गर्ने अवसर पाएका विजयलाई चर्चामा ल्याउने पहिलो फिल्म भने सन् २०१२ को 'पिज्जा' हो।
पछिल्ला एक दशकमा विजयले पाएको सफलता लोभलाग्दो छ। उनी विगत एक दशकका सर्वाधिक सफल तमिल स्टार हुन्। सकारात्मक होस् वा नकारात्मक, जस्तोसुकै भूमिकामा काम गर्दा पात्रअनुसार ढल्न सक्ने विजय एक्सन, कमेडी, थ्रिलर, रोमान्टिक सबै विधामा फिट अभिनेता हुन्।
'सुपर डिलक्स' मा ट्रान्सजेन्डर बनेर नेसनल अवार्ड जितेका विजय गएको वर्षको ब्लकबस्टर 'मास्टर' मा ग्याङस्टर भवानीको भूमिकामा देखिएका थिए। 'पेट्टा' फिल्ममा त झन् उनले रजनीकान्त र नवाजुद्दिन सिद्दिकीसँग 'टक्कर' लिएका थिए।
फरक विधाका फिल्म रोजेर चरित्रमा नयाँपन खोज्नु र आफूलाई बारम्बार प्रमाणित गर्न सक्नु अभिनेता विजयको सफलताको कारण हो। यहाँ चर्चा गरिएका प्रेम कथा, हरर र हास्यप्रधान तीन फिल्म मात्रले पनि विजयको सहज र जीवन्त अभिनय क्षमताको झलक दिएको छ।
पछिल्लो समय विजयले कमल हसनको मुख्य भूमिका रहेको 'विक्रम' मा खलपात्रको भूमिका निर्वाह गरेका थिए। उनको अभिनयको खुबै तारिफ पनि भयो।
त्यस्तै अमेजन प्राइममा रिलिज भएको वेबसिरिज 'फर्जी' मार्फत उनले बलिउडमा डेब्यु गरे। शाहिद कपुर र केके मेननसँगै विजयको पनि मुख्य भूमिका रहेको फर्जीले राम्रो प्रतिक्रिया पाएको छ। यसमा विजय प्रहरी अधिकारीको भूमिकामा छन्।
फर्जीपछि हिन्दीबाहेक अरू भारतीय भाषी फिल्म नहेर्ने दर्शकमाझ पनि विजयको चर्चा बढ्दै गएको छ।
उनले आफ्नो करिअरमा निकै राम्रा फिल्महरू खेलेका छन्। तीमध्ये धेरैजसो युट्युबमा हेर्न सकिन्छ। उनको करिअरकै राम्रोमध्येका फिल्म हेर्न छुटाउनुभएको भए आज गुड फ्राइडे सिनेमामा हामीले 'पप्पु पासपोर्ट (हिन्दी डब संस्करण)' सिफारिस गरेका छौं।
विदेश जाने सपना बोकेका दुई युवा गान्धी (विजय सेतुपती) र पान्डी (योगी बाबु) को वरिपरि घुम्ने 'पप्पु पासपोर्ट/आन्धवन कत्तलै' कमेडी फिल्म हो। गान्धी र पान्डी मदुरैबाट लन्डन जाने भनेर चेन्नई सहर आउँछन्। दलालको सल्लाहमा गान्धीलाई भिसा पाउन सहज हुन्छ भनेर गान्धीलाई पासपोर्टमा विवाहित लेख्ने सुझाव दिन्छन्। तर पनि भिसा पान्डीले मात्र पाउँछन्।
अर्को पटक भिसा आवेदन नदिउन्जेल चेन्नईमा टिक्न काम खोज्दै जाँदा गान्धीले एउटा नाट्य समूहमा काम पाउँछन्। यहीँबाटै कलाकार समूहसँग नाटक प्रदर्शन गर्न उनले लन्डन जाने अवसर पनि पाउँछन्। तर यसका लागि उनले आफ्नो पासपोर्टमा भएकी काल्पनिक श्रीमतीको नाम भएकै युवती भेट्टाउन पर्ने हुन्छ। र, उनीसँग सम्बन्ध विच्छेद भएको बनाउनुपर्नेछ।
कार्मेगा नामकै युवती उनले भेट्टाउलान्? उनीसँग बिहे गरेर सम्बन्धविच्छेद गर्न तयार होलिन्?
व्यंग्यले भरिएका संवादसहितको यो फिल्मको कथा जति सरल छ, उत्तिकै वास्तविकताको पनि नजिक छ। पात्रअनुसार विजय सेतुपतीको अभिनयमा सादगी भेटिन्छ।
विदेश जाने चक्करमा घनचक्कर बनाइएका पात्र र फिल्मका धेरै घटना नेपाली सन्दर्भमा पनि मेल खाने खालका छन्। हसाउँदै सामाजिक विसंगति उजागर गर्ने यो फिल्ममा गान्धी र पान्डीले एउटा कोठा पाउन झेलेको दुःखले काठमाडौंको याद दिलाउँछ।
विदेश जाने नाममा पैसा गुमाउने, दलालको चक्करमा फसेर गैरकानुनी प्रक्रिया अपनाउने र त्यसको बदलामा अनेक सास्ती झेल्ने कुरा पनि नेपालको भन्दा अलग लाग्दैन। पैसाका लागि कानुनको धज्जी उडाउने वकिल र न्यायाधीश बिक्ने कुरा पनि नयाँ छैन।