धादिङकी निरु त्रिपाठी हाल अस्ट्रेलिया बस्छिन्। भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत छिन्। भिक्टोरिया विश्वविद्यालय, मेल्बर्नबाट पत्रकारितामा स्नात्तकोतर गरेकी उनी नेपाली टाइम्स, मेलबर्नकी सम्पादक पनि हुन्।
पत्रिकामा समसामयिक विषयमा नियमित लेख्दै आएकी उनले गत शुक्रबार काठमाडौंमा 'पेरिस्कानो' उपन्यास सार्वजनिक गरिन्। किताब सेरोफेरोमा रहेर उनीसँग सेतोपाटीका प्रभाकर गौतमले गरेको कुराकानीको सम्पादित अंशः
उपन्यासको नाम पेरिस्कानो, कसरी फुराउनुभयो?
उपन्यासकी म पात्र र उसको प्रेमी पेरिस बीचको आत्मीय प्रेममा पेरिस्कानो शब्दले विशेष अर्थ बोकेको छ। अमेरिकानो, क्यापाचिनोसँग मिल्ने यो शब्द उपन्यासभित्र विशेष रुपमा प्रयोग गरिएको र पृथक पनि भएकोले यही रोजेँ।
पेरिस्कानोमा तपाईंले लेख्न खोज्नुभएको के हो?
यो उपन्यासमा प्रवासी जीवनको पिआरको कुरा छ, प्रेमको कुरा पनि छ। परिस्थितिको शिकार भएकी युवतीको संघर्षको कथा छ। मूल पात्र महिला हो। अस्ट्रेलिया गएपछि उनको जीवनमा नसोचेका धेरै उतारचढाव आउँछन्। अनेक पात्रसँग ठोक्किँदै जोडिँदै ऊ कहिले कमजोर हुन्छे, कहिले बलियो। त्यही भोगाइले उनको आफ्नै जीवन दर्शन बन्छ। प्रेम दर्शन बन्छ।
दुःख होस् वा सुख, उसले जीवन बाँच्ने आफ्नै सूत्र बनाएकी छ। जीवनबाट हार खाएझैं ती युवतीको कथाबाट मैले संघर्षपछिको जीवन अझ सुन्दर हुन सक्छ कुरा चित्रण गरेकी छु। यो सात वर्ष अस्ट्रेलिया बसाइको अनुभव र अवलोकनबाट जन्मेको उपन्यास हो। कथाकी म पात्र र अन्य पात्र प्रवासमा संघर्षरत धेरै नेपालीको प्रतिनिधि कथा हुन सक्छ।
यही विषयमा लेख्छु भन्ने सोच कसरी आयो?
हाल म अस्ट्रेलियामा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतावासमा जनसम्पर्क अधिकृतका रुपमा काम गरिरहेकी छु। अर्कोतिर म नेपाली टाइम्स, मेलबर्नको सम्पादक पनि हुँ।
काम सिलसिलामा धेरै नेपाली युवा विद्यार्थीको समस्याबारे अन्तरक्रिया गर्नुपर्छ। उनीहरू हरेकको आफ्नै कथा-व्यथा छन्। कतिले आफ्ना दुःख रुँदै सुनाउँछन्। प्रेम सम्बन्ध, भिसा, आर्थिक समस्या, घरेलु हिंसाजस्ता समस्याले धेरै नैराश्यको शिकारसमेत भएका हुन्छन्। भेटेका पात्र, सुनेका कथा र घटनाले लखेटिरहेपछि किताब लेख्ने सोच बनेको हो।
पत्रकारिताको विद्यार्थी, 'फ्याक्ट'बाट 'फिक्सन'तिर कसरी मोडिनुभयो?
जनसम्पर्क अधिकृतका रुपमा प्राप्त कतिपय सूचना गोप्य राख्नुपर्छ। तर पत्रकारका रूपमा ती कुरा कुनै न कुनै रुपमा बाहिर आउनुपर्छ भन्ने लाग्छ। यस्तो अवस्थामा 'फिक्सन'को महत्व हुनेरहेछ।
मलाई बेचैन गर्ने सन्दर्भ र पात्रबारे परिचय र तथ्यलाई हेरफेर गरेर लेख्न पाउने छुट फिक्सनमा थियो। यसअघि पनि मैले प्लस टु पढ्दा उपन्यास लेखेकी थिएँ। तर त्यो एक जना व्यक्तिका हातबाट फिर्ता आएन। मसँग फोटोकपी राख्नुपर्छ भन्ने बुद्धिसमेत नभएको बेला थियो। अनुराग शीर्षकको त्यो अप्रकाशित उपन्यास फेरि लेख्न मन लागेन। तर कुनै दिन उपन्यास लेख्छु भन्नेबारे पहिल्यै तयार थिएँ। अस्ट्रेलियामा त्यो रहर पूरा गर्ने मौका जुर्यो।
पेरिस्कानो लेखन प्रक्रियाको सजिलो–अप्ठ्यारो अनुभव कस्तो रह्यो?
उपन्यास लेखन सजिलो मान्थेँ, यो त तपस्या रहेछ। प्रवासमा कामको चापाचाप हुन्छ। कार्यालय र परिवारलाई समय दिएपछि मसँग सुत्ने समय मात्रै बाँकी रहन्छ। पेरिस्कानो निद्राको समय चोरेर तयार पारेकी हुँ।
लेखनले समय माग गर्छ। हतारमा लेख्नुभएन। कहिलेकाहीँ हप्ता-दस दिनसम्म केही लेख्न नआउने शून्यको स्थितिमा पुगेँ। कहिले रातभर लेखेको लेख्यै भएँ। रमाइलो कुरा- लेख्न बस्दा नआएको कुरा अप्ठ्यारो ठाउँमा आइदिन्थ्यो। कति चोटि त मिटिङमा भएका बेला प्लट वा सिन आइदिने। त्यस्तो बेला बाथरूम गएर मोबाइलमा नोट टिप्नेसमेत गरेँ।
तर लेखन मेरो प्यासन भएकोले राति १२ देखि ५ बजेसम्म लेख्दा पनि थकाइको साटो केही राम्रो काम गरेँ भन्ने रमाइलो लागिरह्यो।
लेखकको 'लोकेसन'ले सृजनामा के अर्थ राख्छ?
धेरै अर्थ राख्ने रहेछ। पेरिस्कानो विदेशमा लामो समय बिताएकी महिला पात्रको कथा हो। यसकी मुख्य पात्र २० वर्षको केटी ३५ वर्षको उमेरमा नेपाल फर्किन्छे। हरियो पासपोर्ट लिएर गएकी ऊ फर्कने बेला पासपोर्टको रङ नीलो हुन्छ। हरियो पासपोर्टमा कलिलो अनुहार, अनि नीलोमा परिपक्वता भेटिन्छ। देश छोड्दाको पीडा, विदेशी भूमिको संघर्ष आफैंले पनि भोगेकोले उपन्यासमा यसबारे लेख्न सजिलो भयो। देश बाहिर हुनुको आफ्नै पीडा मिसाउन पाएँ। प्रवासी नेपालीका पीरमर्का र जीवनशैली उतार्न सजिलो भयो। अस्ट्रेलिया नगएर धादिङ वा काठमाडौंमै भएको भएँ मेरो लेखनमा यी कुरा आउने थिएन कि।
'म' पात्रको माध्यमबाट कथा भन्नुभएको छ। त्यो मभित्र तपाईं कहाँ–कति हुनुहुन्छ?
मनोवाद शैलीमा लेखिएकोले उपन्यासको कथा लेखककै जस्तो लाग्छ सक्छ, तर यो मेरोमात्रै कथा भनेर नबुझिदिनु होला।
यसमा धेरै पात्रको भोगाइ एक वाक्य, केही हरफ वा केही पानामा मिसिएका छन्। कथा मेरै दिमाग, मेरै मन र मेरै भावनाले लेखेकोले म आफैं पनि जहीँतहीँ भेटिन सक्छु।
सबैभन्दा रमाइलो कुरा, जुन समय र जुन जीवन मैले भोग्न पाइनँ त्यो पात्र मार्फत भोग्न पाएँ। समाजका जुन मूल्य मान्यता यथार्थमा भत्काउन सकिनँ, त्यो पात्र मार्फत भत्काउन पाएँ। उपन्यास मेरा रहर, कुण्ठा र उकुसमुकुस बाहिर ल्याउने रचनात्मक माध्यम बन्यो।
पेरिस्कानो प्रेमको कस्तो 'अलौकिक गाथा' हो?
पाठकलाई यसमा 'टिन एज र म्याचुअर लभ'बीचको भिन्नता महशुस हुनेछ। मुख्य पात्रले टिन एजमा आफूले रोजेको मान्छे पाउनैपर्छ भन्ने चाहना राखेर प्रेम गर्छे। तर परिपक्व उमेरमा उसका लागि प्रेम आशक्ति वा अपेक्षा भन्दामाथि हुन्छ। प्रेमलाई किताबमा 'डिभाइन लभ'का रुपमा चित्रण गरिएकोले अलौकिक गाथा भनिएको हो।