गुड फ्राइडे सिनेमा
गत वर्ष एउटा दक्षिण भारतीय फिल्मको खुब चर्चा भएको थियो। समीक्षकहरूले त यसको भरपुर प्रशंसा गरे नै, दर्शकले समेत अत्यधिक मनपराए।
मलयालम भाषाको सो फिल्मले कमाइमा पनि ऐतिहासिक रेकर्ड बनायो। सो वर्ष सबभन्दा धेरै कमाउने मलयालम फिल्म यही थियो। अझ त्यो बेलासम्म सबभन्दा धेरै कमाउने फिल्मको रेकर्ड पनि यसैले बनाएको थियो। यसपालि 'एल २ः इम्पुरान' ले बल्ल त्यसको रेकर्ड तोडेको हो।
हामी कुरा गर्दैछौं फिल्म 'मन्जुम्मेल ब्वाइज' को जसले पोहोर बलिउड फिल्महरूलाई समेत पछि पारेको थियो।
यो फिल्मले भारतीय सिनेमा क्षेत्रमा असाधारण प्रभाव पारेको समीक्षकहरूले बताएका छन्।
निर्देशक चिदम्बरम एस. पोडुवालको निर्देशनमा बनेको मन्जुम्मेल ब्वाइज एउटा यात्राको कथा हो। यसभन्दा बढी साहस, मित्रता र मानवताको गहिरो उदाहरण हो।
अझ रोचक कुरा, यो फिल्म सन् २००६ मा भएको एक वास्तविक घटनामा आधारित छ।
केरलाको मन्जुम्मेलका मध्य उमेरका एघार जना साथी तमिलनाडुको कोडाइकनाल घुम्न जान्छन्। रमाइलो गर्दै उनीहरू गुना गुफा पुग्छन्। कमल हसनको फिल्म 'गुना' त्यहाँ सुटिङ भएकाले उनीहरू त्यो गुफा हेर्न उत्सुक हुन्छन्।
त्यो ठाउँ जान मनाही हुन्छ। तैपनि उनीहरू अरू मानिसहरू जस्तै लुकिछिपी पुग्छन्। त्यहाँ पुगेर ठूलो चट्टानमा लेख्छन् — मन्जुम्मेल ब्वाइज।
आपसमा रमाइरहेका यी साथीहरूको खुसीमा एकाएक कालो बादल लाग्छ।
अचानक उनीहरूको यात्राले भयानक मोड लिन्छ।
उनीहरूमध्ये एक जना, सुवास गहिरो सुरूङ जस्तो गुफा भित्र छिर्छन्। बाहिरबाट केही नदेखिने त्यो गुफाबाट उनको आवाज पनि बिलीन हुन्छ।
सुवास गुफामा फसेपछि बाँकी साथीहरूले त्यहाँका स्थानीय र सुरक्षाकर्मीसँग सहयोग माग्छन्।
तर गुफाको खतरनाक संरचना र त्यहाँ पहिले भएका दुर्घटनाको इतिहासका कारण कसैले उद्धारको जोखिम लिन चाहँदैन।
राक्षसको भान्सा नाम दिइएको त्यो गुफाबाट अहिलेसम्म कोही जीवित नफर्किएको उनीहरूले सुन्छन्।
अब यहाँ प्रश्न उठ्छ, के बाँकी साथीहरू सुवासलाई यत्तिकै छाडेर जान्छन्?
के सुवास जीवितै हुन्छन्?
जिउँदै भए पनि उनलाई त्यो सुरूङ जस्तो गुफाबाट कसले निकाल्ला?
के एक साथीको ज्यान बचाउन कसैले जोखिम लेला?
वा, सबै भाग्लान्?
यही दुबिधा, डर र समर्पणबीच बाँकी युवाहरूको मित्रता परीक्षामा पर्छ। हरेक पात्रको मनको स्थिति फरक हुन्छ। कोही डराउँछ, कसैले होस गुमाउँछ। कोही आत्तिन्छ, कसैले आँट गर्छ त कसैलाई आत्मग्लानी हुन्छ।
मुख्य, सहायक सबै पात्रका व्यक्तिगत द्वन्द्वहरूले कथा बलियो बनाएको छ।
त्यस्तै कलाकारहरूको अभिनय अत्यन्तै जीवन्त छ। श्रीनाथ भासीले सुवासको भूमिकामा गुफाभित्र जुन पीडा, त्रास र आशाको मिश्रण देखाएका छन्, त्यो यथार्थपरक छ।
सौबिन शाहीरले नेतृत्व सम्हाल्ने पात्रको रूपमा आफूभित्रको डर र जिम्मेवारीको द्वन्द्वलाई गहिरो रूपमा उतारेका छन्।
फिल्मको गति, सीमित संवाद र बेला बेलाको मौनताले समेत दर्शकलाई दृश्यमा खिचिरहन्छ। गुफाको अँध्यारो भयानक दृश्यले मात्र होइन, पात्रहरूको मनोवैज्ञानिक तनावले पनि दर्शकको सास अड्काइदिन्छ।
समग्रमा मन्जुम्मेल ब्वाइजले कुनै तामझाम बिना दर्शकलाई अन्त्यसम्म बाँधेर राख्न सक्छ। यो सब सम्भव भएको कथाको आत्माकै कारण हो।
जम्मा २० करोड भारूमा बनेको मन्जुम्मेल ब्वाइजले २४० करोड भारूभन्दा बढी कमाइ गरेको छ। लागतभन्दा बाह्र गुणा धेरै कमाइ गरेको यो फिल्म ब्लकबस्टर भएको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।