मिस नेपालको सुन्दरतालाई लिएर हरेक पटक चर्चा र विवाद हुने गर्छ। यसपालि पनि मिस नेपालको छनोट चरणमा निर्णायकले एक प्रतिस्पर्धीलाई ‘किन मेकअप नगरेको’ भन्दै प्रश्न गरिन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो।
धेरै निर्णायकको उक्त शैलीको आलोचना गरे। मिस नेपालमा सुन्दरता मात्र हेरिने भन्दै ट्रोल पनि बनाइयो।
यसपालि मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ भने मिस नेपालमा सुन्दरतालाई मात्र हेरिन्छ भन्ने धारणा गलत भएको बताउँछन्। अहिलेसम्म सबै मिस नेपाल विजेताहरू क्षमतावान नै भएको उनको दाबी छ।
‘आँखाअगाडि भइरहेको कुरालाई भएन भनेर बुझ्नेलाई त मेरो भन्नु केही छैन,’ अनुष्काले सेतोपाटीसँग भनिन्, ‘मिस नेपाललाई यति सम्मान गर्नुको अर्थ भोलि अन्तर्राष्ट्रिय स्तरमा केही राम्रो गरोस् भनेर हो। त्यसको लागि केही योग्यता चाहिन्छ। त्यसलाई त्यति सजिलै बुझिदिए पुग्छ।’
मिस नेपालमा रोल मोडल र रिप्रेजेन्टेसन दुई कुरा हेरिन्छ। र सुन्दरता रिप्रेजेन्टेसनसँग जोडिने अनुष्का बताउँछिन्।
अझैं पनि समाजमा महिला र पुरूषबीच समानता नभएको कुरा उनी स्वीकार्छिन्। त्यसको लागि सांसद, मन्त्रालयमा कति महिला छन् भनेर हेर्ने नपर्ने उनको बुझाइ छ।
‘परिवारमा अझैं पनि छोरीलाई यस्तो कपडा लगाउनुहुन्न। पहिले बिहे गर अनि श्रीमानले मास्टर पढाउनुभयो भने पढ भन्ने चलन छ,’ उनले भनिन्, ‘त्यसैले समानताको कुरा घरबाटै सुरू गर्नुपर्छ।’
अनुष्का व्यवस्थापन अध्ययन गर्दैछिन्। त्यसैले मिस नेपालपछि पनि उनको चाहना व्यवस्थापन क्षेत्रमै काम गर्ने छ। उनले अष्ट्रेलियाबाट स्नातकसम्मको पढाइ सकाएकी छिन्।
मिस नेपालहरू प्राय: फिल्म निर्देशकको आँखामा पर्ने गर्छन्। तर अनुष्कालाई अभिनयमा रूची छैन। उनले भनिन्, ‘म अभिनय गर्दिनँ।’
मिस नेपालको वर्कसपमा पनि आफूलाई हिँडाइमा समस्या भएको बताउँदै उनले भनिन्, ‘मलाई सबैभन्दा गाह्रो हिँडाइमा भयो। साथीहरुले मलाई सन्जय दत्त भन्थे।’
अनुष्का अष्ट्रेलियमा ‘मिस ओसियाना’ को ताज जितेर सोझैं मिस नेपालमा छनोट भएकी हुन्। मिस ओसियानासँगै मिस पूर्वाञ्चल, मिस पश्चिमाञ्चल, मिस चितवन, मिस पोखरा र मिस हङकङका विजेता सिधै मिस नेपालमा छनोट हुन्छन्।
अनुष्काले अब २०१९ को मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। अब त्यसैको तयारीमा केन्द्रीत हुने उनले बताइन्।