उनी देश–विदेश घुमेर कन्सर्ट गर्दै थिए। गीतको भाषा नेपाली नै थियो। बाजा भने विदेशी।
उनका नेपाली प्रशंसक गीतमा झुम्थे। विदेशीहरू भाषा बुझ्दैनथे, तै गीतको तालमा नाच्थे। तिनै विदेशीमध्ये एकले उनको कमजोरी औंल्याउँदै सोधे, ‘के तिमीहरूको आफ्नो मौलिक बाजा छैन?’
त्यति बेला नाजवाफ दीपक बज्राचार्यले नौ वर्षपछि त्यसको जवाफ दिएका छन्, पछिल्लो समयको सुपरहिट गीत ‘मन मगन...’ बाट।
दीपकको यो गीतको विधा उही हो– पप। तर यसमा धा, धीमे, नगडा, खिः जस्ता मौलिक बाजा र ताल प्रयोग गरेका छन्। बाजा र प्रस्तुतिले यसमा मौलिकता र नयाँपन भरेको छ।
‘त्यति बेला अन्तर्राष्ट्रिय कन्सर्ट यात्राबाट फर्किएपछि हामी नेपाली संस्कृति र बाजाको अनुसन्धानमा लाग्यौं,’ दीपकले सेतोपाटीसँगको कुराकानीमा भने, ‘हामीले लोकबाजामै केन्द्रित भएर ‘क्रिम अफ रिदम’ नामक वृत्तचित्र बनायौं। हाम्रा पुराना गीतलाई पनि लोकबाजामै गायौं।’
‘लेट द वर्ल्ड डान्स इन नेपाली म्युजिक’ अर्थात्, संसारलाई नेपाली संगीतमा नचाऔं भन्ने अवधारणाबाट सुरु भएको उनको यो अभियानकै फल हो, आज ‘मन मगन’ गीतमा संसारै नाच्न थालेको छ।
सुरुमा नेपाली भाषामा रेकर्ड गरिएको यो गीत दीपकले नेवारीमा गाए। यसको लोकप्रियता यति बढ्यो, उनलाई यही गीत हिन्दी भाषामा गाउन भारतको एक म्युजिक कम्पनीबाट प्रस्ताव आयो। उनले यही धुनमा गीतका शब्दहरू थोरै हेरफेर गरेर हिन्दीमा गाए। त्यो पनि आज हिट छ। अब यसलाई अंग्रेजी र स्पेनिस भाषामा गाउने तयारी भइरहेको उनी बताउँछन्।
यति मात्र होइन, भारतको डान्स रियालिटी शो ‘डान्स प्लस’ को एक सहभागी टोलीले ‘मन मगन...’ मा नृत्य प्रस्तुत गरिसकेको छ।
‘विदेशीलाई लोकबाजासहितको फ्युजन सुनाएर हामीले नेपालका मौलिक बाजाहरूको झलक दिँदै आएका थियौं,’ दीपकले भने, ‘मन मगनले नेपाली तालमा संसारलाई नचाउने उद्देश्य पनि पूरा गर्दैछ।’
दीपकले यो गीतको म्युजिक भिडियोमा पनि नयाँपन दिएका छन्। यसमा नेपालका विभिन्न भेगका परम्परागत नाच प्रस्तुत गरिएको छ। यसमा इन्द्रजात्रामा देखाइने लाखे नाच र पुलिकिसी छन्। भक्तपुरको घिन्ताङ किसी छ। धिमेनाच छ। पहाडको झ्याउरे र लिम्बूहरूको झाँक्री नाच पनि छ। सँगसँगै, सहरमा लोकप्रिय हिपहप पनि देख्न पाइन्छ।
दीपकको प्रायः गीतमा हामी ‘ल्याटिनो’ संगीतको प्रभाव पाउँछौं। ‘मन मगन’ पनि यसबाट अछुतो छैन।
यसको कारण खुलाउँदै उनी भन्छन्, ‘म सानैदेखि ‘जिप्सी किङ’ खुब सुन्थेँ। अहिले पनि मेरो मनपर्ने ब्यान्ड त्यही हो। त्यही भएर मेरो संगीतमा त्यसको अलिअलि प्रभाव देखिन्छ होला।’
‘जिप्सी किङ’ लगायतका अन्तर्राष्ट्रिय ब्यान्डको प्रभाव बोकेर संगीत क्षेत्रमा लागेका दीपकको यो यात्रा त्यति सहज पनि थिएन।
उनको परिवार मूर्तिको व्यापार गर्थ्यो। छोरा संगीत क्षेत्रमा लागेको आमाबुवालाई चित्त बुझेको थिएन। उनीहरूले संगीतबाट छोराको ध्यान हटाउन ठमेलमा पसल खोलिदिए।
दीपकको मन व्यापारमा कहिल्यै गएन। उनी हरक्षण संगीतमै झुमिरहेका हुन्थे।
‘एकचोटि कुनै गीत मनपर्यो भने म त्यही गुन्गुनाइरहन्थेँ। मौका मिले गितार बजाएर बस्थेँ,’ उनले भने, ‘मूर्ति बेच्न ध्यानै जान्थेन। पसलमा बस्दा पनि गीतमै झुमिरहेको हुन्थेँ। त्यो बेला मूर्ति किन्ने ग्राहक आए झर्को लाग्थ्यो। ‘नट फर सेल’ भन्दै फर्काइदिन्थेँ।’
रुचि नहुँदा नहुँदै पनि व्यापारसँग उनको करिब पाँच वर्षको नाता रह्यो। त्यसपछि भने उनी अलग्गिए। र, संगीतमा समर्पित भए।
दीपकले १६ वर्षको उमेरमै ‘काली काली हिसी परेकी...’ गीत गाएको थिए, जुन आफ्नो जमानाको सुपरहिट थियो। गीत हिट भए पनि उनको ब्यान्ड ‘लिट्लोन्स’ एकजुट रहन सकेन। ब्यान्ड टुक्रियो, केही वर्ष उनी पनि ओझेल भए।
उनको फिर्ती भयो ‘ओ अमिरा ...’ गीतबाट। आफ्नी प्रेमिका अमिरालाई समर्पण गरेर गाएको यो गीतले तहल्का मच्चायो। आज पनि यो दीपकलाई सबभन्दा मनपर्ने गीतमा पर्छ।
‘यो गीत खासमा मैले अमिरालाई सुनाउन मात्र बनाएको थिएँ,’ उनले भने, ‘पछि यही गीत मेरो करिअरको ‘टर्निङ पोइन्ट’ बन्यो।’
पुरानो ब्यान्डका साथीहरूले छाडे पनि उनले आफ्नै भान्जा, भाइ लगायत नातेदारहरूलाई जोडेर नयाँ ब्यान्ड बनाए– द रिदम। उनले गाएका ‘मायाको डोरीले’, ‘फर्केर आउने छैन’ लगायत गीत आज पनि उत्तिकै चर्चित छन्।
‘मन मगन’ लाई दीपकको दोस्रो फिर्ती भन्दा फरक पर्दैन।
यहाँसम्म आइपुग्दा नेपालको मौलिक संस्कृति र परम्परागत बाजामा उनको मन बसेको छ। यसले आफ्नो गीतलाई पुस्तौं पुस्तासम्म निरन्तरता दिने उनको विश्वास छ। पछिल्लो समय लोकबाजा अध्ययनले आफ्नो संगीतको दायरा फराकिलो भएको उनी बताउँछन्।
‘हाम्रा मौलिक बाजाहरू कुनै लोप भइसके, कुनैमा ‘ट्युनिङ’ को समस्या छ। कसैले मौलिकता नै छाडिसके,’ उनले भने, ‘हामी परिवर्तन भए पनि हाम्रो संस्कृतिको मौलिकता परिवर्तन हुनु हुँदैन। बाजा जसरी बजाउनुपर्ने हो त्यसरी नै बजाइनुपर्छ। त्यसको अस्तित्व बदल्नु हुन्न। पुराना बाजाको प्रतिरूप भए पनि बनाएर जगेर्ना गर्नुपर्छ।’
दीपक अझै ‘लाइभ’ कन्सर्टमा रमाउँछन्। केही समयअघि भक्तपुरमा भएको ‘मेड्ली’ लाइभ कन्सर्टको अनुभव पनि उनले साटे।
‘हामीले नयाँ–पुराना गीतको लाइभ कन्सर्ट गरेका थियौं। त्यसमा लाखे, झाँक्री, पुलुकिसी पनि नचायौं,’ उनले भने, ‘दर्शकहरू ‘कता हेर्ने कता’ भएका थिए। त्यो दिन सम्झँदा निकै रमाइलो लाग्छ। म अचेल यस्तै कन्सर्ट गर्न रुचाउँछु।’
उनले ‘वरपर’ गीतमा पनि तानमा लुगा बुन्ने दृश्य राखेर परम्परागत संस्कृति चिनाउने प्रयास गरेका छन्। अब आउने हरेक गीतमा नेपाली बाजा र संस्कृति जोड्ने उनले बताए।
संगीतमै दैनिकी बिताउने दीपकको घरको माहोल पनि सांगीतिक छ। छोरी चेरिसा उनलाई पछ्याउन थालेकी छन्। हालै ‘रम्थेँ तिमीसित झुमी झुमी’ गीत च्यानल आर्बिटरीमार्फत् उनले रिलिज गरेकी छन्। दीपकले त्यसमा गितार बजाएका छन्।
‘स्टुडियोमा काम गरिरहँदा छोरी आएर ड्रम बजाउने भन्थिन्। पछि पियानो सिक्न रहर गरेर काठमाडौं ज्याजमा पठाएँ,’ उनले भने, ‘छोरी आफूले जस्तै संगीतमा मात्रै लागेर पढाइ नबिगारोस् जस्तो लाग्छ। बुवाको मन न हो।’
‘किन? संगीतमै भविष्य नदेख्नु भएर हो?’
‘होइन,’ उनले भने, ‘आफ्नो समयमा त म परीक्षा नै छाडेर गीत रेकर्ड गर्न जान्थेँ। ती दिन सम्झँदा कहिलेकाहीँ पढाइलाई पनि निरन्तरता दिन सकेको भए हुन्थ्यो जस्तो लाग्छ।’
उनकी छोरी समाजशास्त्र र मनोविज्ञान पढिरहेकी छन्।
केही समययता दीपक ‘भ्लग’ मा पनि सक्रिय देखिन्छन्। ‘युरोप टुर’, ‘अनप्लान्ड होलिडे इन इस्तान्बुल’, ‘ट्रिप टु फिन्ल्यान्ड’ भन्दै युट्युबमा विभिन्न देशका सांगीतिक यात्राको भिडियो हालिरहेका छन्।
‘के यो तपाईंको नयाँ रुचि हो?’
जवाफ दिनुअघि उनले विगत सम्झिए।
‘पहिले पहिले मलाई फोटो खिच्न फिटिक्कै मन पर्थेन। त्यही भएर घुमेको ठाउँ र समयको धेरै कुरा बिर्सिसकेँ। अहिले भने त्यो बेला फोटो नखिचेर ठूलै गल्ती गरेजस्तो लाग्छ,’ उनले भने, ‘त्यसैले यात्राको स्मरण कैद गर्न खोजेको हो। फ्यानहरूले पनि गन्तव्यबारे चासो देखाउन थालेपछि त्यसलाई भिडियोमै किन नदेखाउने भनेर देखाउन थालेँ।’
दीपक आफ्ना यिनै रुचि पछ्याउँदै सफल भएका हुन्। उनले पढाइ, पुर्ख्यौली पेसा र भविष्य सबै दाउमा लगाएर संगीत रोजेका थिए। उनको गीत ‘मन मगन’ ले अर्थ्याउने पनि आफ्नै मनले भनेको गर्ने हो।
गीतले भन्छ, ‘कल्ले देला धन, कल्ले देला मन...म त आफैं मन मगन...’
उनी नयाँ पुस्तालाई गीतको सार सम्झाउँदै भन्छन्, ‘हामी धन–सम्पत्ति केही नसोचेर आफूले रुचाएको काममा लाग्नुपर्छ। सफलता ढिलो–चाँडो अवश्य पाइन्छ।’
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी