सफल पाण्डेले सुरूमा अर्कै कथा लेखेका थिए — तराईबाट काठमाडौं आएको व्यक्तिको दुःखको कथा।
यसमा रहेर छोटो फिल्म बनाउने तयारी थियो। 'सहर' नाम समेत जुराएका थिए।
त्यही बीचमा उनी बिहेका लागि रौतहट गए। बिहेको माहोलमा नाचगानको रमझम थियो। साना केटाकेटीहरू मजाले नाचिरहेका थिए।
त्यत्तिकैमा सफलको ध्यान एक जना बालकतर्फ केन्द्रित भयो। उनको नाच प्रस्तुति सफललाई अलि भिन्न लाग्यो।
यसपछि उनले सोचे — पहिले यसबारे पो कथा भन्नुपर्ला!
बिहेबाट फर्किँदा आफ्नो घर हेटौंडा आएर बसे।
'पहिले लेखेको कथा पछि गर्छु भन्ने भयो। रातभरि बसेर नयाँ कथा लेखेर भ्याएँ,' सफलले सेतोपाटीसँग भने।
रातभर जागेर लेखेको त्यही कथामा उनले छोटो फिल्म बनाए — आर्केस्टा।
अस्कर इन्टरनेसनल कलेजका विद्यार्थी सफलले आफ्नो दोस्रो वर्षको फिल्म परियोजनाका रूपमा यसको लेखन एवं निर्देशन गरेका हुन्। फिल्मले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) मा ५० हजार रूपैयाँसहित पब्लिक च्वाइस अवार्ड पाएको थियो।
त्यस्तै नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। अब यो फिल्म काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
'आर्केस्टा' एकल बुबा र उनका छोराको कथा हो। र, यो बाबुछोराको आम कथाभन्दा अलि बेग्लै छ।
बुबा गोकुल आफ्ना छोरा आशिषसहित तल्लो गाउँको बिहेमा पुगेका छन्।
पृष्ठभूमिमा गीत घन्किरहेको हुन्छ —
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ...।
छोरा गाउँका अरू बालिकाहरूसँगै मजाले नाचिरहेका हुन्छन्। त्यो नाचलाई लिएर कोहीकोही कानेखुसी गर्न थाल्छन्। गोकुल अप्ठ्यारो मान्दै छोराको हाउभाउ नियालिरहन्छन्।
अर्को दिन —
बजारबाट फर्किँदै गरेका गोकुल मोटरसाइकल रोकेर चौतारीमा बसिरहेका छिमेकी वृद्धहरूसँग कुरा गर्न थाल्छन्। त्यहाँ उनकै छोराको कुरा हुन थाल्छ।
एक जना वृद्ध भन्छन्, 'हिजो बिहेमा बडो मज्जाले नाच्यो त्यो केटा!'
तिनै वृद्धले गोकुललाई थप भन्छन्, 'तेरो छोराको जिउ साह्रो हल्का रहेछ। केटीको झैं कम्मर मर्काइ मर्काइ नाच्यो।'
गोकुल प्रश्नसहितको जबाफ दिन्छन्, 'कम्मर मर्काउने भन्ने पनि केटी र केटाको भन्ने हुन्छ र?'
आफ्नो छोराको जीवनशैलीमा आएको परिवर्तन गोकुलले बुझ्न, चिन्न सकिरहेका हुँदैनन्। केबल अचम्म मानेर छोराका क्रियाकलाप नियालिरहन्छन्।
कथा अगाडि बढ्दै जाँदा गोकुल छोरालाई अझ धेरै नियाल्दै जान्छन्।
आखिरमा उनलाई छोरामा अन्तरनिहित नारी पक्षबारे हेक्का हुन्छ।
लेखक एवं निर्देशक सफल यो फिल्मबारे भन्छन्, 'छोरामा देखिएको परिवर्तनलाई बुबाले कसरी लिइरहेका छन्, समाजले कसरी हेरिरहेको छ, सन्तान वा बच्चाको स्वभावमा ध्यान दिइएको छ कि छैन, त्यही नै फिल्मको कथा हो।'
कोही व्यक्तिले आफ्नो जन्मिँदाको लैंगिकताभन्दा आफूलाई फरक रूपमा पाएको हुन सक्छ। हरेक व्यक्तिले आफ्नो वास्तविक पहिचान आफैले निधो गर्न पाउँछ। र, उसले आफूलाई जुन लैंगिकताको रूपमा स्वीकार गर्छ, समाज र राज्यले पनि त्यसलाई त्यही रूपमा स्वीकार गर्नुपर्छ।
सफलको बुझाइमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लिएर सहरी क्षेत्रमा मानिसहरू केही मात्रामा भए पनि सचेत छन्। ग्रामीण क्षेत्रमा भने यो कुरालाई लिएर अझसम्म पनि चेतना पुग्न सकिरहेको छैन। यसलाई सहज रूपमा नलिने र संवेदनशीलता के छ भन्ने नबुझी जिस्क्याउने र होच्याउने गलत परिपाटी समेत देखिन्छ।
यो परिपाटी बदल्न जरूरी छ।
'बिहेमा बालक नाचिरहेको दृश्य दिमागमा घुमिरहेको थियो। हाम्रो जस्तो समाजमा ऊ कसरी भिजिरहेको होला भन्ने जिज्ञासा जाग्यो। त्यसपछि पहिले यही कथा भन्ने निर्णयमा पुगेको थिएँ,' सफलले सम्झिए।
उनी आफूलाई समाजको सदस्यका रूपमा उभ्याएर यसको कथा लेखेको बताउँछन्।
उनको बुझाइ थियो — बालकको पक्षबाट कथा लेख्दा न्याय हुँदैन। किनकि त्यो उनले भोगेको कुरा थिएन। देखेको थियो!
'म समाजको सदस्य भएर देखिरहेको कुरा थियो। समाजमा के कुरा हुन्छ भन्ने अलिअलि भए पनि जानकारी हुन्छ,' उनले भने, 'अहिले पो म हुर्केँ, पढेँ, अलिकति मलाई थाहा छ। तर एउटा समयमा मेरो पनि आफ्नै दृष्टिकोण थियो होला। त्यसैले समाजको सदस्यको आँखाबाट कथा लेखेको हुँ।'
सफलको कथा लेखन उनका पुर्खादेखि नै प्रेरित हो भन्दा फरक पर्दैन।
उनको पुर्ख्यौली गृहजिल्ला रौतहट हो। त्यहाँ उनको घरसँगै मामाघर पनि नजिकै थियो। दुवैतिरका हजुरबुबाहरू गाउँमा नाट्क लेख्ने, देखाउने गर्थे।
सफल सानै हुँदा परिवारसहित हेटौंडा आए। हेटौंडामा कक्षा दसमा पढ्दै गर्दा एउटा लेख लेखेका थिए। तर उनले कक्षामा सबैसामु सुनाउन सकेनन्। साथीले उठेर सुनाउँदा सबैले ताली पिटेको उनी अहिलेसम्म सम्झिरहन्छन्।
प्लस टुमा विज्ञान विषय लिएर पढिरहँदा उनलाई लागेको थियो — यो मेरो लागि होइन रहेछ!
उनलाई एनिमेसनतर्फ केही रूचि थियो। तर त्यसका लागि आधारभूत कुरा मानिने चित्र कोर्न उनलाई आउँदैन थियो। सानैदेखि फिल्म हेर्ने भएकाले अलिकति भए पनि यसतर्फ रूचि थियो।
उनले आफ्नो मनलाई सोधे — फिल्म मेकिङ पढौं कि?
फिल्म पढ्ने सोच बनाएर परिवारसामु कुरा राखे। सल्लाहपछि स्नातकमा फिल्म पढ्न काठमाडौं आए।
अस्कर कलेज भर्ना भएपछि सुरूआती दिनबाटै राम्रो हुँदै आएको उनले बताए।
'कलेज प्रोजेक्टमा मेरा कथाहरू छानिँदै गए। छानिएका कथामा मैले निर्देशनको अवसर पाएँ। त्यही क्रममा दोस्रो वर्षको कलेज प्रोजेक्टमा छानिएको कथा थियो आर्केस्टा,' उनले भने, 'यसको अर्थ तराईतिर विशेष गरी मेला वा सामान्यतया पनि हुने एक किसिमको नाचको प्रकार हो। जसमा केटा मान्छे केटीको पहिरनमा नाच्ने गर्छन्।'
सफलले रौतहटकै गाउँमा फिल्म छायांकन गरेका थिए। हजुरबुबाहरूलाई 'ट्रिब्युट' दिने इच्छाले फिल्म खिच्न पुर्ख्यौली गाउँ पुगेको उनले बताए।
'मेरा हजुरबुबाले ज-जसलाई नाटकमा खेलाउनु हुन्थ्यो, उहाँहरूमध्ये तीन जना मेरो फिल्ममा पनि हुनु हुन्छ। हजुरबुबासँग पनि, नातिसँग पनि अभिनय गर्न पाइयो भनेर उहाँहरू निकै खुसी हुनुभयो,' सफलले उत्साहित भावमा सुनाए।
अस्कर कलेजको १४ औं ब्याचका विद्यार्थी हुन् सफल। फिल्म लेखन र निर्देशनमा स्नातक सक्न थालेका उनको बुझाइमा नेपालमा छोटा फिल्म (लघु चलचित्र) को संस्कार भर्खरै सुरू हुँदैछ। सोही कारण प्रतिफल त्यति धेरै छैन।
'यसको बजारबारे म पनि बुझ्दै छु। अहिलेको सन्दर्भमा आर्थिक हिसाबले भन्दा पनि फेस्टिभलतिर गयो भने आफूलाई चिनाउने माध्यम बन्दो रहेछ भन्ने लाग्यो,' सफलले भने।
फिल्मलाई विदेशी महोत्सवहरूमा पठाउन सके धेरै सम्भावनाका ढोका खुल्ने उनले बुझेका छन्।
'आगामी फिल्म विदेशी फेस्टिभलमा पठाउने सोचका साथ तयारी गरिरहेको छु। अहिल्यै फिचर फिल्ममा हाम फाल्न मन छैन। धेरै कुरा सिक्न बाँकी नै छ,' सफलले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी