आठ वर्षीय युगको ठूलो रहर छ – हावामा उड्ने।
हलिउड पात्र सुपर-म्यानका कार्टूनहरू हेरेर उनलाई हावामा उड्ने रहर जागेको हो।
उनी आमा, हजुरआमाको पछ्यौरा घाँटीमा बेरेर लगातार उड्ने प्रयास गरिरहन्छन्। बारम्बार उनको नाकमा चोट लागिरहन्छ। आमा र हजुरआमाले यस्तो नगर भनेर गाली गरिरहन्छन्। उनी रोकिँदैनन्।
एक पटक उनकी आमा भन्छिन्, 'सुपर-म्यानले बिल्डिङबाट हाम फाल्यो भन्दैमा तँ पनि हाम फाल्छस् अब?'
युगको बालमस्तिष्कमा यसरी हाम फाल्नु हुँदैन भन्ने कुरा बस्दैन। उनी उल्टै घरको छतबाट हाम फाल्ने तयारीमा जुट्छन्।
यही सेरोफेरोमा घुमेको छ ११ मिनेटको छोटो फिल्म 'हावा-म्यान'।
यो फिल्म समलकुमार बज्राचार्यले निर्देशन गरेका हुन्। उनी नेपाल फिल्म क्याम्पसमा अध्ययनरत छन्।
स्नातक दोस्रो वर्षमा पढ्दै गर्दा उनले 'हावा' को विषयवस्तुलाई लिएर छोटो फिल्म बनाउनु पर्ने थियो।
'कोरोनाको समय थियो। हामीलाई जूम मिटिङमै फिल्मको तयारी गर्न भनियो,' समलले भने, 'त्यति बेला शिक्षकले मान्छे भनेको हावा हुनुपर्छ भन्नुभएको थियो।'
समल पनि आफूलाई 'हावा-म्यान' कै रूपमा लिन्छन्।
'म हावा नै छु। मैले सुरूमा नाम मन परेर टिपेर राखेको थिएँ,' उनले भने, 'पछि फिल्मको स्टोरी के हुन सक्छ भनेर सोचेँ। सोच्दै जाँदा आफ्नै बाल्यकालमा पुगेँ। मैले के कस्ता क्रियाकलाप गर्थेँ भनेर नियालेँ। त्यसै क्रममा फुरेको कथा हो हावा-म्यान।'
फिल्ममा बालक पात्रको भूमिका निर्वाह गर्ने इभान धाख्वामा समल आफ्नै छवि देख्छन्। इभान उनका साथीका छोरा हुन्। इन्स्टाग्राममा उनी नाचेको भिडिओ देखेर समलले आफ्नो फिल्ममा लिएका थिए।
'उनलाई फिल्मको स्टोरी सुनाउँदा अँ म पनि यही गर्छु, मलाई पनि ममीले यस्तै भन्नुहुन्छ भन्थे। उसलाई फिल्मको स्टोरी बुझाउन गाह्रो भएन,' समलले भने, 'तर सुटका बेला केटाकेटीलाई काम गराउन अलि गाह्रै हुन्छ। स्वाभाविक हो।'
इभानलाई मनाउन समलले दोस्रो दिन जुक्ति निकाले। उनलाई हेर्न एक जना मान्छे राखे। ती व्यक्तिले उनलाई मन पर्ने खानेकुरा खुवाउँथे। इभानका दृश्य छायांकन समयमा मात्रै क्यामरा अगाडि ल्याउँथे।
यसले फिल्म छायांकनमा सहज भयो।
हावा-म्यान फिल्म भक्तपुरमा खिचिएको हो। यसमा समलले आफ्नै हजुरआमालाई पनि खेलाएका छन्। उनकी हजुरआमा खुब टेलिशृंखला र फिल्म हेर्छिन्।
'मेरी हजुरआमालाई अभिनयमा रूचि छ भन्ने मलाई थाहा थियो। मैले फिल्म बनाएँ भने उहाँलाई अभिनय गराउँछु भन्ने लागिरहेको थियो,' उनले भने, 'उहाँ मेरो फिल्मको उत्कृष्ट पात्र हुनुहुन्छ। उहाँलाई एक पटक यस्तो गर्नु भन्नेबित्तिकै गरिहाल्नु हुन्थ्यो।'
समललाई पनि फिल्मप्रति बाल्यकालदेखि नै रूचि थियो। उनी पढ्नै छाडेर कति पटक फिल्म हेर्न गएका छन्। उनको सपना नै हिरो बन्ने थियो।
तर समयले उनलाई लेखक तथा निर्देशक बनायो।
'सानो बेला मैले फिल्मको स्क्रिप्ट लेख्छु या निर्देशन गर्छु भनेर सोचेको थिइनँ। राम्रो निबन्ध लेख्ने मान्छेले फिल्मको कथा लेख्छन् होला भन्ने सोच्थेँ। तर म कक्षामा बस्दा आफूलाई हिरोको रूपमा उभ्याउँथे र यस्तो यस्तो भइराछ भनेर दिमागमा कथा बुनिरहेको हुन्थेँ। सायद त्यसले आज मलाई सजिलो बनाइरहेको होला।'
फिल्ममै काम गर्ने अडान भने सानैदेखि थियो उनको। १२ कक्षाको पढाइ सकिँदै गर्दा परिवारलाई आफ्नो सपनाबारे बताए। समलले यसै मजाकमा भनेका होलान् भनेर परिवारका सदस्यले यसलाई सामान्य रूपमा लिए। समलले त्यसलाई अडान बनाए। केही समयपछि परिवारले पनि उनको सपनालाई स्वीकार गर्यो।
हावा-म्यान समलको पहिलो फिल्म हो।
पहिलो फिल्म बनाउँदाको अनुभव सुनाउँदै उनी भन्छन्, 'फिल्म सुट गर्दा रमाइलो चाहिँ लागेन। धेरै तनाव हुँदो रहेछ। जति नै योजना बनाए पनि कहिले के नमिल्ने, कहिले के। सुट गरेको तीन दिनपछि मैले केही न केही कमी कमजोरी हुन्छ भनेर स्वीकार गरिसकेको थिएँ। त्यो समयमा म अर्कै मान्छे हुँ जस्तो महसुस भइरहेको थियो।'
हावा-म्यान थाहा फिल्म फेस्टिभल, नेपाल ह्युमन राइट्स फिल्म फेस्टिभल, पामे फिल्म फेस्टिभल र नेपाल युरोप–युनियन फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।
अब यो फिल्म काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।