कोसँग साथी बन्ने? कस्तो घर-परिवारकोलाई साथी बनाउने? कुन जातको मान्छेलाई साथी बनाउने?
सबै व्यक्तिले आफूले छनोट गरेको मान्छेलाई साथी बनाउन पाउँछन्? यस्ता कुरा कसले निर्धारण गर्छ?
यो कुरा केही हदसम्म घरपरिवार र समाजसँग जोडिएको देखिन्छ।
अभिभावकहरूले नै 'फलानो जस्तो मान्छेसँग नहिँड्नू' भनेको प्रशस्तै सुनिन्छ।
रंगकर्मी आकांक्षा कार्कीको मनमा यही कुरा खेलिरहन्थ्यो।
'म आफैले यस्तो कुरा सुन्दै आएकी थिएँ,' उनले भनिन्, 'एक दिन मलाई यस्तो कथा पनि भनिनुपर्छ भन्ने लाग्यो।'
आकांक्षा विगत दस वर्षदेखि रंगमञ्चमा सक्रिय छिन्। यो कथा भन्नका निम्ति भने उनले फिल्म रोजिन्।
नाम राखिन् — सनाई।
'पहिला पहिला एक जातका पुरूषले मात्रै यो बाजा बजाउँथे। अहिले महिलाले पनि बजाउँछन्। यो कसरी परिवर्तन भइरहेको छ भनेर देखाउन पनि एउटा माध्यम चाहिएको थियो। त्यसैले सनाई प्रयोग गरेकी हुँ,' आकांक्षाले भनिन्।
रंगमञ्चमा जमेकी आकांक्षाले पहिलो पटक फिल्म निर्देशन गरेकी हुन्।
१४ मिनेट लामो सनाईले जातीयताको आडमा मित्रतामा लगाउन खोजिएको पर्खाल देखाउन खोजेको छ।
सनाई अमेरिका, अस्ट्रेलिया, भारत लगायत देशका विभिन्न फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ। नेपालमा भने युरोपियन फिल्म फेस्टिभल, नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) र ह्युमन राइट्स फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ। ह्युमन राइट्समा यसले उत्कृष्ट फिल्मको अवार्ड समेत जितेको थियो।
अब यो फिल्म मे ३० तारिकमा काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा प्रदर्शन हुँदैछ।
फिल्ममा माया र रूपा दुई पात्र छन्।
माया ब्राह्मण समुदायकी हुन् भने रूपा दलित। जातकै कारणले उनीहरूलाई एकअर्काको साथी नबन् भनिन्छ।
तर सात/आठ वर्षका बालिकालाई यो समाजले बनाएको कथित जातको के पर्वाह! उनको मित्रता अझै घनिष्ठ हुन्छ।
मायालाई सनाई बजाउने रहर छ। उनको परिवारले छुन समेत दिँदैन। उनको रहर रूपाले पूरा गरिदिन्छिन्।
सनाईको कथा यिनै दुई जनाको मित्रता वरिपरि घुम्छ।
यो फिल्म छायांकनका निम्ति आकांक्षा धादिङको एउटा गाउँ पुगेकी थिइन्। कोरोनाको समयमा जब चारैतिर त्रास थियो, उनी छायांकन गर्न तम्सिइन्।
यसबीच उनले सजिला-अप्ठ्यारा दुवै पाटा सामना गर्नुपर्यो।
उनले अनुभव सुनाउँदै भनिन्, 'धादिङ मेरो श्रीमान हुर्किएको ठाउँ हो। त्यहाँ हामी कलाकारहरू खोज्न गएका थियौं। गाउँलेहरूमा को आयो भनेर चासो बढिरहेको थियो। त्यही बेला एक जना पुरूष आएर तपाईं को भनेर सोधे।'
उनले आफ्नो परिचय दिइन्। आफ्नो कामबारे पनि बताइन्।
'ती पुरूषले त्यसपछि आफ्नै भाउजू हुनुहुँदो रहेछ भनेर प्याट्ट हिर्काए। मलाई अस्वाभाविक लागिरहेको थियो,' उनले भनिन्।
चिनजानका बहिनीहरूले पनि 'दाइ खै त' भनेर आकांक्षालाई सोधे।
जबाफमा उनले 'ऊ काठमाडौंमै छ केही समयपछि आउँछ' भनिदिइन्।
आकांक्षाको कुरा सुनेर ती पुरूषले तुरून्तै भने, 'कहाँ ऊ ऊ भनिरहेको। उहाँ भन्नुपर्छ!'
यो सबै आकांक्षाका लागि नौलो थियो।
उनले त्यहाँ जातीय विभेदसमेत अनुभव गरिन्। एक दलित परिवारमा उनी बाजा खोज्दै गएकी थिइन्। त्यहाँ कुराकानीका क्रममा उनले चिया पिइन्।
उनी घर पुग्न नपाउँदै उनले चिया खाएको खबर पुगिसकेको थियो।
'घरमा आएपछि मलाई सुनपानी छर्किदिए। यस्तो कुरा पहिलो पटक अनुभव गरेँ। यसअघि मैले पढेकी थिएँ, सुनेकी थिएँ। तर आफैले भोग्दा नराम्रो लाग्यो। मैले यस्तो गर्नु हुँदैन भनेर घरमा सम्झाएँ। तर उहाँहरूले मान्नुभएन,' उनले भनिन्।
त्यस्तै अर्काे घटना उनको मनमा ताजै छ।
यो फिल्ममा प्रायः सबै कलाकार दलित समुदायका छन्। रातभर छायांकन गर्नुपर्थ्यो। आकांक्षाका अनुसार उनीहरूलाई लुकाएर राख्नुपरेको थियो। यो देखेर आफूलाई भक्कानिएर रून मन लागेको उनले बताइन्।
फिल्म सनाईमा सबैजसो गैर-कलाकार छन्। उनीहरूले पहिलो पटक अभिनय गरेका हुन्। माया र रूपाको ठूला भएपछिको भूमिका निर्वाह गर्नेहरू भने कलाकार नै हुन्।
पहिलो पटक फिल्म बनाउँदाको चुनौती सम्झिँदै आकांक्षाले भनिन्, 'मैले सोचेभन्दा एकदमै गाह्रो हुँदो रहेछ फिल्म बनाउन। यो फिल्म अहिले मलाई ठीकै मात्र लाग्छ। फिल्मले दिन खोजेको सन्देश राम्रो भए पनि मैले जति बनाउन सक्थेँ, त्यति भएको छैन भन्ने लाग्छ।'
अरू फिल्म बनाउने सोच भए पनि नाटकमा समय दिनुपर्ने भएकाले तत्काल बनाइहाल्ने मनस्थिति उनको छैन।
'नाटकमा सबै आफूले नियन्त्रण गर्न मिल्छ। यस्तो गरौं, यस्तो नगरौं भन्दा हुन्छ तर फिल्ममा अरूको भर पर्नु पर्छ। कसैले राम्रोसँग काम गर्छन्, कसैले गर्दैनन्। कहिले पानी परेर छायांकन रोक्नु पर्छ, कहिले घाम लागेर। धैरे समय लाग्ने भएकाले अहिले नै फिल्म बनाउँदिनँ,' उनले भनिन्।
आकांक्षाले भारतको बेंगलुरूस्थित क्राइस्ट युनिभर्सिटीबाट साहित्य, मनोविज्ञान तथा थिएटरमा डिप्लोमा गरेकी छन्। उनले त्यहाँ पढ्दा नै थुप्रै नाटकमा अभिनय र निर्देशन गरेकी थिइन्। विगत दस वर्षदेखि उनी कौसी थिएटरमा सक्रिय छिन्।
उनले फिल्म भने पढेकी छैनन्। केही कार्यशालाहरूमा सहभागी भएर फिल्म निर्देशन थालेकी हुन्।
अब उनी महिला निर्देशकबारे नाटक बनाउने तयारीमा छिन्।
'जब अरूको कुरामा हस् भनिन्छ, त्यति बेलासम्म सबै ठीक हुन्छ। तर महिलाले आफ्नो विचार राख्न थाले भने हरेक क्षेत्रमा टिक्न गाह्रो हुन्छ। कुनै न कुनै हिसाबले टिक्न गाह्रो बनाइदिन्छन्। आफू बलियो हुँदै गएपछि समर्थकहरू कम भएको महसुस हुँदो रहेछ,' उनले भनिन्।
आकांक्षाले थप भनिन्, 'तर आफूमा विश्वास गर्दै अगाडि बढ्यो भने खासै मतलब हुँदैन। हामी महिला भावुक पनि हुन्छौं। त्यसैले जति नै बलियो छु भने पनि कहिलेकाहीँ एक्लो महसुस हुन्छ। मैले वाह वाह आकांक्षादेखि लिएर आँखाको कसिंगर आकांक्षासम्मको यात्रा तय गरेकी छु।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी