'पृथ्वीनारायण शाहबारे हामीले थाहा पाउन बाँकी के छ?' लेखक तथा पत्रकार नारायण वाग्लेले शनिबार एक कार्यक्रममा इतिहासकार महेशराज पन्तलाई सोधे।
जबाफमा उनले भने, 'खास भन्दा केही पनि थाहा छैन।'
पन्तको भनाइ अर्थपूर्ण छ।
गोर्खा राज्य विस्तार क्रममा काठमाडौं उपत्यका लगायत साना–ठूला राज्यहरूमाथि विजय प्राप्त गर्दै आधुनिक नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहबारे कतिपय कुरा भ्रमपूर्ण छन् भने कतिपय अतिरञ्जित।
उनलाई एकथरीले राज्य एकीकरण गरेको जस दिँदै नायकभन्दा माथि दैवी दर्जा नै दिन्छन्। कतिपयले विभिन्न जातजाति, संस्कृति र सभ्यता मासेर आफ्नो एकाधिकार लादेको भन्दै खलनायकको श्रेणीमा राख्छन्।
इतिहासकार पन्तकै शब्दमा भन्दा, पृथ्वीनारायणका पालामा लेखिएका थुप्रै चिठीपत्र र दस्तावेज राष्ट्रिय अभिलेखालयमा सुरक्षित त छन्, तर पढिएका छैनन्। ती चिठीपत्र र अभिलेख पढेर पृथ्वीनारायणको इतिहास दूधको दूध, पानीको पानी छुट्टयाउने काम बाँकी छ।
'जसका हातमा अभिलेख छन्, उनीहरूसँग पढ्ने क्षमता छैन। जोसँग पढ्ने क्षमता छ, उनीहरूको पहुँचमा ती अभिलेख छैनन्,' पन्तले भने, 'यही अवस्थाले पृथ्वीनारायणबारे अझै पनि हामीले थाहा पाउन र लेखिन बाँकी इतिहास थुप्रै छन्।'
करिब ६० वर्षभन्दा बढी समयदेखि संशोधन मण्डलमार्फत् इतिहास अध्ययन र पुनर्लेखनमा सक्रिय महेशराज पन्तले पनि पृथ्वीनारायणबारे ऐतिहासिक तथ्य उत्खनन् धेरै गरेका छन्। यसै क्रममा शनिबार उनको नयाँ किताब सार्वजनिक भयो — पृथ्वीनारायण शाहः नायक, प्रतिनायक अनि नायकदेशीय।
नेपालयले प्रकाशन गरेको यो किताब नेपालयकै हलमा एक अनौपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको थियो।
किताबमा लेखकको हस्ताक्षर गराउँदै हामीले सोध्यौं, 'पृथ्वीनारायण शाहका दिव्योपदेश उनले नै भनेका हुन् कि उनका नाममा अरूले रचना गरेका हुन्? यो विवादको खास कुरा के हो?'
प्रश्न सुन्नेबित्तिकै पन्त मुसुक्क हाँसे।
किताबको पहिलो पानामा दस्तखत गरे र विषयसूचीको पाना पल्टाउँदै चौथो अध्यायमा औंला लगे।
त्यो अध्यायको शीर्षक थियो — के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो?
'मैले तपाईंको जिज्ञासाको हल यहाँ गरेको छु,' उनले सात पृष्ठको उक्त अध्याय पढ्न सुझाउँदै भने।
हामी पन्तको नयाँ किताबमा संकलित त्यही अध्यायका आधारमा पृथ्वीनारायण शाहको 'दिव्योपदेश' माथि उब्जिने शंका-उपशंका के हुन् र पन्तको ऐतिहासिक अध्ययनले यसबारे के देखाउँछ भन्ने चर्चा गर्दैछौं।
सबभन्दा पहिला कुरा गरौं, पृथ्वीनारायण शाहको उपदेश कसरी फेला पर्यो?
महेशराज पन्तले किताबमा लेखेअनुसार पृथ्वीनारायणका उपदेश संकलित कागजपत्र १३० वर्षसम्म कीरा र मुसाको आहार भई हराएको अवस्थामा थियो।
विक्रम सम्बत् १९९० सालको भुइँचालोपछि काठमाडौंका घर-घरमा रहेका पुराना कागजपत्र बाहिर निस्कने क्रममा यो पनि फेला परेको उनी लेख्छन्।
उनका अनुसार यी कागजपत्र काठमाडौं केलटोलको एउटा घरबाट फेला परेका हुन्।
पन्तले यसबारे इतिहासकार बाबुराम आचार्यलाई उद्धृत गर्दै लेखेका छन् —
'श्री ५ पृथ्वीनारायण शाहको देहान्त भएपछि पनि ३० वर्षसम्म दिव्योपदेश लेखिएको पुस्तिका गोर्खाली भारदारका घरघरमा रहेको थियो। पछि मन्त्री स्वयं अधिनायक बन्ने प्रथा चालू भएपछि यो दिव्योपदेशको पुस्तिका रद्दी कागजपत्रमा घुसेर १३० वर्षसम्म कीरा र मुसाका आहार भई नष्ट भएको देखिन आएका छन्।'
उनी अगाडि लेख्छन् —
'१९९० सालको भुइँचालोले काठमाडौंका घरहरूको बिचल्ली गराइदिँदा घरघरमा रहेका कागजपत्र छरिएका हुनाले काठमाडौं केलटोलका एक निरक्षर सज्जनका घरमा दिव्योपदेशको पुस्तिका फेला पर्नु एक अपूर्व घटना भएको थियो। नेपाली काँचा कागजमा लेखिएका हुनाले कागज च्यातिएको थिएन र मसीको रंग उडेको थियो। तैपनि पढ्न सकिने अवस्थामा रहेकाले त्यसको प्रतिलिपि सूर्यविक्रम ज्ञवालीकहाँ पुग्यो र त्यसका सारांश उनको 'पृथ्वीनारायण शाह' नामक पुस्तकमा १९९२ सालमा प्रकाशित भयो।'
पृथ्वीनारायणका उपदेश फेला पार्ने केलटोलका ती व्यक्ति को थिए त?
बाबुराम आचार्यले उनको नाउँ नखुलाएका भए पनि महेशराज पन्तले आफ्नो किताबमा उनको वृत्तान्त लेखेका छन्।
उनका अनुसार पृथ्वीनारायणका उपदेशलाई पुस्ता-दर-पुस्ता जोगाएर राख्ने केलटोलका ती व्यक्ति मुखिया भक्तबहादुर थिए।
भक्तबहादुरको बसोबास काजी अभिमानसिंह बस्न्यातको मानमन्दिर अर्थात् तिलंगाघर, केलटोलमा थियो। उनै भक्तबहादुरबाट अभिमानसिंहका वंशधर बखतमानसिंह बस्न्यातले १४ वर्ष उमेरमा विक्रम सम्बत् १९८२ मा त्यस उपदेशको मूल प्रति पाएका थिए।
पछि बखतमानबाट बाबुराम आचार्य, नयराज पन्त र नरहरिनाथलाई उपदेशको प्रतिलिपि उपलब्ध भएको महेशराजले लेखेका छन्।
सूर्यविक्रम ज्ञवालीले भने सोझै बखतमानबाट प्रतिलिपि पाएका होइनन्। उनलाई बाबुराम आचार्यले प्रतिलिपि उपलब्ध गराएको महेशराजको भनाइ छ।
यसरी कुनै समय गोर्खाली भारदारका घर-घरमा रहेको उपदेशको मूलप्रति मुखिया भक्तबहादुर हुँदै बखतमानसिंह बस्न्यातको हातमा परेको र बखतमानबाट अन्य इतिहासकारले प्रतिलिपि पाएको बुझिन्छ।
अब हामी पृथ्वीनारायणका उपदेशमाथि उठेका विवादको कुरा गरौं।
कतिपयले २०१७ सालको शाही 'कू' पछि राजा महेन्द्रले राष्ट्रवादी कार्यक्रम अघि बढाउन पृथ्वीनारायणका नाममा दिव्योपदेश रचना गराएको बताउने गरेका छन्।
महेशराज पन्त यसको खण्डन गर्छन्।
राजा महेन्द्रका पालामा पृथ्वीनारायणको उपदेश खोतलखातल गरेर निकालिएको भन्ने आरोप पत्याउन चित्तबुझ्दो प्रमाण नभएको उनको भनाइ छ।
महेन्द्रका बुबा राजा त्रिभुवनकै पालामा सूर्यविक्रम ज्ञवालीले 'पृथ्वीनारायण शाह' किताब लेखेर उनका उपदेशको सारांश प्रकाशन गरिसकेकाले यस्तो दाबी स्वतः खण्डित हुने पन्त बताउँछन्।
यति मात्र होइन, कतिपयले 'दिव्योपदेशको मुख्य भाग पृथ्वीनारायण शाहले नुवाकोटमा बोलेका होइनन्, बरू भीमसेन थापाले अंग्रेजसँगको युद्ध बेला केयरसिंह बस्नेतद्वारा लेखाएका हुन्' भन्ने चर्चा गरेको पन्त लेख्छन्।
पृथ्वीनारायणको मृत्यु विक्रम सम्बत् १८३१ मा भएको थियो। जबकि, अंग्रेजसँग १८७१-१८७२ मा लडाइँ भएको थियो। यस हिसाबले पृथ्वीनारायण बितेको ४० वर्षपछि मात्र दिव्योपदेश लेखिएको हो कि भन्ने बुझिन्छ।
पन्तले यसको पनि खण्डन गरेका छन्।
उनी किताबमा लेख्छन्, 'केयरसिंह बस्नेत को हुन् मलाई थाहा छैन। केहरसिंह बस्न्यातबारे भने मलाई केही थाहा छ। सरदार केहरसिंह बस्न्यात पृथ्वीनारायण शाहकै पालामा विक्रम सम्बत् १८२८ मा सतहूँको लडाइँमा परेका थिए। उनै केहरसिंहलाई नै केयरसिंह भनी ठानेको हो भने कुरा निकै आनतान पर्यो। यसैले यस विषयमा बढी चर्चा गर्नु आवश्यक छैन।'
'अब बाँकी रह्यो, पृथ्वीनारायण शाहले बोलेर गएको भनी कहलिएको उपदेश भीमसेन थापाले लेखाएको भन्ने,' उनी अगाडि लेख्छन्, 'भीमसेन थापालाई धेरैजसो बुद्धिजीवी ठूला राजनीतिज्ञ मान्छन्, तर गहिरिएर नेपालको इतिहास परिशीलन गर्नेहरू उनलाई त्यस कोटिमा राख्दैनन् ...भीमसेन थापाको बूताले पृथ्वीनारायण शाहको उपदेशमा जुन विचारको प्रतिपादन छ, त्यो प्रतिपादन गर्न भ्याउने होइन।'
महेशराज पन्तले आफ्नो किताबमा केही ऐतिहासिक तथ्य पनि दिएका छन्।
उनका अनुसार, पृथ्वीनारायणले आफ्नो अन्तिम अवस्थामा भाइभारदारका अगाडि बोलेर गएका कुराको लिपिबद्ध रूपको कुनै नाम थिएन। जुन कागजमा त्यो लेखिएको छ, त्यसमा यस्तो बेहोरा उल्लेख छ —
'श्रीश्रीश्री ५ बुढामहाराजाले तिन सहर नेपाल र हिँडुपतिको राज लियापछि पछिल्लापटक नुहाकोटमा पाउ लाग्नुभायामा गुरू प्रोहित गरघर भैयाद् भारादार र आफ्ना ददा सुरथिसिं राना सबैका बुढापाकाछेउ हुकुम भयाका कुरा।'
यही आधारमा इतिहासकार बाबुराम आचार्यले यसलाई 'पृथ्वीनारायणको व्याख्यान' भनेका छन्। सूर्यविक्रम ज्ञवालीले पनि बाबुरामकै अनुसरण गरे।
त्यही पुस्तक २००९ सालमा छाप्दा नरहरिनाथले 'पृथ्वीनारायण शाहको दिव्योपदेश' नाम राखे। कालान्तरमा यही नाउँ प्रचलित हुन पुग्यो।
इतिहासकार नयराज पन्तले यसलाई संस्कृत पद्यमा उल्था गरी २०१०-२०११ मा 'संस्कृत-सन्देश' मासिक पत्रिकामा प्रकाशन गराएका थिए। उनले त्यस उपदेशमा 'दिव्य' भन्ने शब्द कहिल्यै जोडेनन्, 'उपदेश' मात्र भने।
पृथ्वीनारायणका यी उपदेश कहिले लिपिबद्ध भए भन्ने प्रश्न पनि बारम्बार उठ्दै आएको छ।
उपदेशमा पृथ्वीनारायणलाई 'बुढामहाराज' भनी सम्बोधन गरिएकाले यी टिपोट राजा रणबहादुर शाहका पालामा लेखिएको हुनसक्छ भन्ने कतिपयको भनाइ छ।
महेशराज पन्त भने यो तर्कमा सहमत छैनन्।
उनका अनुसार, भूतपूर्व राजालाई 'बुढामहाराजा' भन्ने चलन थियो। यस आधारमा प्रतापसिंह शाहकै पालामा पृथ्वीनारायण 'बुढामहाराजा' भइसकेका थिए। त्यसैले त्यही समय पृथ्वीका उपदेश लिपिबद्ध भएको हुनसक्ने पन्तको भनाइ छ।
'राज्यच्यूत ३४ वर्षका श्री ५ राजेन्द्रलाई विक्रम सम्बत् १९०४ मा श्री ५ बुढामहाराजा भनी तात्कालिक सरकारीपत्रमा लेखिएकाले लगत्तैका भूतपूर्व राजालाई बुढामहाराजा भन्ने चलन चलेको देखिन्छ,' पन्त लेख्छन्, 'त्यसैले पृथ्वीनारायण शाहको मृत्युपछि लिपिबद्ध यस उपदेशको पुस्तकमा भूतपूर्व राजालाई बुझाउन बुढामहाराजा शब्द प्रयोग भएको देखिन्छ।'
महेशराज पन्तको यो किताबमा पृथ्वीनारायणका उपदेशसँग सम्बन्धित विवादका अतिरिक्त पृथ्वीनारायणले कीर्तिपुरेहरूका नाक काटेका हुन् कि होइनन्, काठमाडौंका द्यौभाजू, नाकाबन्दी, भक्तपुर विजयको प्रत्यक्ष वर्णन लगायत विषय समेटिएका छन्।
***